Successfully Copied

एक-अर्काका लागि जन्मिएका धाख्वा दम्पती

जीवनमा चाहेको र खोजेको सबैले पाउँदैनन् भन्ने भनाइ छ। कतिले चाहेको जीवनसाथी पाउन सक्दैनन् भने कतिले रोजेको काम गर्न

जीवनमा चाहेको र खोजेको सबैले पाउँदैनन् भन्ने भनाइ छ। कतिले चाहेको जीवनसाथी पाउन सक्दैनन् भने कतिले रोजेको काम गर्न पाउँदैनन् तर नेपालकै पहिलो फेसन डिजाइनर राजेश धाख्वाको जीवनमा भने यो भनाइ लागू हुँदैन। सानैदेखि फेसन डिजाइनिङमा लाग्ने सोच पालेका धाख्वाले त्यही काम गर्न पाए र नाम पनि कमाए भने आफूलाई एक नजरमै राम्री लागेकी युवतीलाई नै जीवनसाथीका रूपमा पाए। पब्लिक युथ कलेजमा अध्ययनरत टिनएजर राजेशका आँखा साथीहरूसँग कलेजहरू घुम्ने क्रममा पुल्चोक कलेजमा पुग्दा एउटी हँसिली युवतीमा गएर अडिए। देख्नासाथ मुटुको धड्कन बढेको अनुभव गरेका धाख्वाले त्यस दिनदेखि ती युवतीसँग विवाह गर्न पाऊँ भन्ने कल्पना गर्न थाले। संयोगले एरेन्ज म्यारिज गर्दा पनि तिनै युवतीलाई दुलहीका रूपमा पाउने भाग्यमानी हुन्-राजेश धाख्वा।

कुपण्डोलमा चाहत बुटिक खोलेपछि कलाकार, मोडलहरू आउने क्रमसँगै नेपाल टेलिभिजनकी समाचारवाचिका सम्मी जोशी पनि धाख्वाको राम्रै ग्राहक बनिन्। धाख्वाको डिजाइन र व्यक्तित्वबाट प्रभावित सम्मीले आफ्नी दाइकी छोरी पूनमको विवाह उनीसँग गराउने सोच बनाएर कुरा अघि बढाइन्। सम्मी जोशीलाई आफ्नी भदै पूनम इन्जिनियरिङ क्षेत्रमा भए पनि कुकिङ तथा डिजाइनिङमा रुचि भएकाले यी दुईको जोडी जम्ने अनुमान थियो। कुरा चलेर घरबाट स्वीकृति प्राप्त भएपछि उनीहरूको पहिलो डेटिङ २०५४ सालको फागुन २ गते भ्यालेन्टाइन डेका दिन महाराजगञ्जको एउटा रेस्टुराँमा भएको थियो। त्यो दिनको पहिलो भेटमा उनीहरूले जुनी-जुनीसम्म साथ दिने संकल्प मात्र गरेनन् एकअर्काका लागि जन्मिएको महसुस पनि गरे। अचम्म फागुनको त्यो दिन काठमाडौंमा अचानक पानी मात्र होइन हिउँ पनि पर्‍यो। उनीहरूले उक्त संयोगलाई राम्रो संकेतका रूपमा लिए। त्यो दिन उनीहरू दुवैले बिर्सिएका छैनन्। त्यसपछि काठमाडौंमा त्यसरी हिउँ परेको उनीहरूलाई थाहा छैन। पहिले नै आफ्नो आँखाले रोजेर मनमा सजाइसकेकी युवतीकै विवाहका लागि कुरा आएकोमा राजेशका भुइँमा खुट्टा थिएनन् तर पूनम भने उक्त कुराबाट अनभिज्ञ थिइन्। उनी परिवारबाट छानेको केटा राम्रै होला भनेर भेट्न पुगेकी थिइन्। पूनम र राजेशले त्यो दिन ८ घन्टा सँगै बिताए। पहिलो पटक भेटे पनि यी दुईलाई कुनै असहज महसुस भएन बरु भगवान्ले एक-अर्काका लागि बनाएको अनुभूति भयो।

भेटेको ६ महिनाभित्र विवाह गरेर आ-आफ्नो काममा व्यस्त यी दम्पती एकले अर्कालाई सहयोग, माया मात्र गर्दैनथे विचारसमेत आदान-प्रदान गर्थे। विवाह गरेकै एक वर्षभित्र बच्चा पनि भयो। घर, बच्चा र सासू-ससुराको समेत राम्रोसँग केयर गरेर काममा तालमेल मिलाउन सफल श्रीमती पाएकाले आफ्नो करिअरमा थप सहयोग पुगेको राजेशले बताए। घरको काम दुवै मिलेर गर्ने र विशेषतः सरसफाइमा श्रीमान्को ठूलै सहयोग पाएकोमा पूनम खुसी छिन्। राजेश मुड चल्दा मीठो पकाएर ख्वाउन सिपालु छन्। श्रीमती पूनम पनि श्रीमान्ले केही पकाएर ख्वाउँदा मीठो लाग्ने बताउँछिन्। उता राजेश आफ्नी श्रीमती बेकरी आइटम, इन्डियन, चाइनिज, स्पेनिस, जापानी, नेपाली, नेवारी आदि परिकार पनि बनाउन सिपालु भएकीले रेस्टुराँमा भन्दा उनकै हातबाट पकाएको खान पाउँदा मीठो मान्छन्। पूनम श्रीमान्लाई मिक्स एण्ड म्याच व्यक्तित्वका रूपमा लिन्छिन्। उनका अनुसार राजेश एकदम घुम्नुपर्ने, रमाइलो गर्नुपर्ने, डिमान्डिङ, परफेक्टनेसको मिक्स व्यक्तित्व हुन्। उनलाई श्रीमान्को डिजाइन र कलर कम्बिनेसन निकै राम्रो लाग्छ।

आफूले इन्जिनियरिङ पढे पनि काम म्यानेजमेन्टसम्बन्धी नै गरेकाले एक वर्षअघिदेखि पूनम प्रोजेक्टको काम छोडेर श्रीमान्कै फेसन डिजाइनिङ र बुटिकको कामलाई साथ दिने प्रण गरेर चाहतमै सहयोग गर्न थालेकी छिन्।

श्रीमान् डिजाइनिङ गर्छन् भने पूनमले प्रोडक्सन र मार्केटिङको जिम्मा सम्हालेकी छिन्। यसरी श्रीमतीको सहयोग र साथले आफूलाई धेरै सजिलो भएको राजेशको अनुभव छ। दुईजनाको आइडियाबाट अझ राम्रो रिजल्ट आउने धाख्वा बताउँछन्। धेरैले राजेश धाख्वाले डिजाइन गरेका पहिरन लगाएर आफूलाई ग्रुम गरे, स्टाइलिस्ट भए तर अहिलेसम्म श्रीमान्ले आफूले डिजाइन गरेर कुनै पनि पहिरन आफूलाई नदिएको पूनम बताउँछिन्। पूनमले नारीसँग यो कुरा भनिरहँदा डिजाइनर धाख्वाले झस्कदै ओहो यो कुरा त मैले कहिल्यै सोचिन भन्दै एउटा नेपाली उखान जोडिहाले, 'सिकर्मीको पुरानो भर्‍याङ' हुन पनि बिहान १० बजेदेखि साँझ ८ बजेसम्म ग्राहककै पहिरनको डिजाइन र डेलिभरीमा व्यस्त हुने भएकाले श्रीमती तथा छोरीहरूका लागि पहिरन बनाउन नपाएको राजेशले बताए। १७ वर्ष सँगैको बसाइमा उनीहरूमा गाढा माया र विश्वास थपिएको छ। अहिलेका युवापुस्ताको प्रेम र विवाह देखेर डराउने यो जोडी एक-अर्कामा समर्पित, विश्वास एवं कामप्रतिको सम्मानमा कमी भएरै प्रेम नटिक्ने, विवाह टुट्ने बताउँछ।  

   

सुखद् क्षण   

विवाहको पहिलो वर्ष नै लक्ष्मीका रूपमा छोरी जन्मिएको क्षण धाख्वा दम्पतीका लागि निकै सुखद् छ। छोरीको आगमनपछि उनीहरूमा थप मेहनत गर्ने बानी मात्र विकसित भएन कामप्रतिको रुचिका साथै सामाजिक, आर्थिक स्तर पनि बढेको उनीहरूको दाबी छ।

झगडा

ठूलो झगडा त कहिल्यै भएको छैन तर घर र व्यापारको तालमेल मिलाउने कुरामा खटपट हुन्छ। तर्क दिने हिसाबले मत फरक हुन्छ तर दुवै जना एक-अर्कासँग नबोली बस्नै नसक्ने भएर त्यो मतमतान्तर छिनभरमै सकिन्छ।

धाख्वा दम्पतीको नजरमा अहिलेको फेसन डिजाइनिङ  

अहिले नेपालमा बुटिक र डिजाइनरहरू दिनप्रतिदिन बढिरहेका छन् जुन खुसीको कुरा हो। नेपाली डिजाइनर प्रबल गुरुङले अमेरिकामा तथा संयुक्ता श्रेष्ठले लण्डनमा आफ्नो प्रतिभा देखाएर आफ्नो अलग पहिचान बनाएका छन् जसले गर्दा नेपालीहरूले गर्व गर्ने ठाउँ पाएका छन्। अहिले युवापुस्ता पनि यो क्षेत्रमा समर्पित हुँदै गएको छ जुन राम्रो कुरा हो यद्यपि बुटिक भन्दै क्याटलकका भरमा पसल चलाउनेहरूले गर्दा बुटिकको अवधारणामै प्रश्न खडा भएको छ भन्छन्-धाख्वा दम्पती।

पूनम जोशी राजेश धाख्वा

बाजेको पालादेखि नै ल्हासासम्म पुगी कपडा ल्याएर व्यापार-व्यवसाय गर्ने परिवारमा जन्मिएका राजेश धाख्वामा यही कामलाई निरन्तरता दिने चाहना थियो। यद्यपि समयको मागअनुसार उनले फेसन डिजाइनर बन्न चाहे र सिंगापुरको सेलेजिया इन्स्िटच्युट अफ आर्ट एण्ड डिजाइनिङमा डिप्लोमा गरे भने पछि जापानबाट एड्भान्स कोर्स गरे। राजेशले सन् १९९६ मा कुपण्डोलमा चाहत बुटिक खोले जुन मध्यम वर्गलक्षित थियो।

धनकुटामा जन्मिएकी पूनम जोशीले पुल्चोक इन्जिनियर कलेजबाट ओभरसियर उत्तीर्ण गरेकी छिन्। त्यसपछि परिवारसहित धनकुटामा काम गरेर बसेकी पूनम बुबा, मुमा सबै काठमाडौंमा बस्न आएपछि काम छोडेर यतै आइन्। काठमाडौंमा उनी प्रोजेक्टहरूमा व्यस्त हुन थालिन्। समाचारवाचिका सम्मी जोशीकी भदै तथा कवि तुलसी दिवसकी भतिजी पूनम फेसन डिजाइनिङमा रुचि भएकै कारण घरमा सबैका लागि पहिरन स्केच गरेर, सिलाएर पठाइ दिन्थिन्।  

क्रस चेक

मन पर्ने कलर ?

राजेश ः कालो र सेतो।

पूनम ः पर्पल।

मन पर्ने पहिरन ?

राजेश ः क्याजुअल।

पूनम ः वान पिस स्कर्ट।

फेसन डिजाइनर ?

राजेश ः जापानी फेसन डिजाइनर योजी यामामोटो।

पूनम ः राजेश धाख्वा।

सिनेमा ?

राजेश ः हिन्दी कमेडी।

पूनम ः पारिवारिक कमेडी।

पुस्तक ?

राजेश ः साहित्यिक, बायोग्राफी।

पूनम ः हातमा जस्तो पर्‍यो त्यही।

मन पर्ने साहित्यकार ?

राजेश ः जगदीश घिमिरे।

पूनम ः पारिजात, तुलसी दिवस।

मोडल ?

राजेश ः नीरज शाक्य, मोनिमा खड्का तथा सृष्टि श्रेष्ठ।

पूनम ः मोनिमा खड्का तथा प्रशान्त ताम्राकार।

कलाकार ?

राजेश ः सौगात मल्ल, अनुप बराल तथा नम्रता श्रेष्ठ।

पूनम ः करिश्मा मानन्धर, राजेश हमाल र नम्रता श्रेष्ठ।

 Image