Successfully Copied

सजिलो विद्युतीय चुल्हो

प्रविधिको विकासले हरेक क्षेत्रमा परिवर्तनले तीव्रता पाएको छ । वर्षौंसम्म दाउरा, गुइँठा, मट्टीतेलले चुल्हो बाल्दै आएकाहरूले अहिले भान्सामा बिजुली चुल्हो भित्र्याउन थालेका छन् ।

प्रविधिको विकासले हरेक क्षेत्रमा परिवर्तनले तीव्रता पाएको छ । वर्षौंसम्म दाउरा, गुइँठा, मट्टीतेलले चुल्हो बाल्दै आएकाहरूले अहिले भान्सामा बिजुली चुल्हो भित्र्याउन थालेका छन् । भक्तपुरकी इन्द्रमाया कोइरालाको घरमा बिजुली चुल्हो पुगेको ८ वर्ष भैसक्यो । भोजपुरमा पाँच दशक बिताउँदा उनी दाउरामै निर्भर थिइन् । काठमाडौं झरेपछि भने उनी दाउराबाट मुक्त भइन् र ग्यास चलाउन थालिन् । पछिल्लो समय उनको घरमा इन्डक्सन चुल्हो चल्ने गरेको छ । ‘दाउरामा खाना पकाउँदा आगो फुकिरहनुपर्ने, हात वा लुगामा सबैतिर कालो लाग्थ्यो तर अहिले यो चुल्होमा त्यस्तो केही हुँदो रहेनछ’ उनले भनिन् ।

बिजुलीको सहज आपूर्तिले इन्डक्सन चुल्होको प्रयोग बढ्दै गएको छ । ग्यास अभाव भएका बेला धेरैले यो चुल्हो प्रयोग गर्छन् । राजधानीकी एक गृहिणी पुष्पा ढकालले भनिन्, ‘ग्यासभन्दा धेरै सहज र खर्च पनि कम हुने गरेको छ । म सबै खानेकुरा इन्डक्सनमै पकाउँछु, बत्ती गएका बेला मात्र ग्यासको प्रयोग गर्छु ।’

बीएस्सी कम्प्युटिङ अध्ययनरत आशिस्त तथा उनका दाइ निश्चल कार्कीले सहजताका लागि इन्डक्सन चुल्हो किने । ग्यास बोक्नु तथा भर्नुको झन्झटले नै आफूले इन्डक्सन चुल्हो प्रयोग गर्न थालेको निश्चलले बताए । ६ महिनादेखि विद्युतीय चुल्हो चलाउन थालेकोमा आफूलाई राहत पुगेको उनको भनाइ छ । उनले भने, ‘ग्यास सकियो भनेर टेन्सन पनि नहुने, बोक्न झन्झट पनि नहुने भएकाले मेरा लागि त एकदमै सहज छ ।’ ग्यासभन्दा सस्तो र सहज भए पनि बत्ती जाँदा भने गाह्रो हुने उनको अनुभव छ । उनले भने, ‘खाना पकाउँदै गर्दा बत्ती गयो भने मात्र समस्या हुन्छ नभए यो चुल्होको बेफाइदा खासै छैन ।’

नेपालमा ब्रान्ड र मूल्य 

नेपालमा मुख्यतया बाल्ट्रा, सिजी, वेबरलगायतका ब्रान्डले इन्डक्सन चुल्हो भित्र्याएका छन् । अल्ट्रा टेक कम्पनीले एक मुखे र दुई मुखे इन्डक्सन चुल्हो ल्याएको छ । एक मुखेको र सेरामिक प्लेटको मूल्य २५ सयदेखि ४ हजार रुपैयाँसम्म छ । त्यसमा क्रिस्टल उपलब्ध छ । अर्को मोडल दुई मुखे चुल्हो उपलब्ध छ । त्यसमा पनि सेरामिक र क्रिस्टल प्लेटमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ११ देखि १३ हजार रुपैयाँसम्म छ । इन्डक्सन चुल्होका लागि भने चुम्बकीय भाँडाहरू आवश्यक पर्छन् । इन्फ्रारेड चुल्होमा जुनसुकै भाँडाको प्रयोग गर्न सकिन्छ । यस्तो चुल्होको मूल्य ४ हजारदेखि ५ हजारसम्म पर्ने कम्पनीका उत्तम खनालले बताए । ‘ग्यासको तुलनामा बिजुली निकै सस्तो छ, करिब ६० प्रतिशत सस्तो पर्न आउँछ,’उनले भने । 

अर्को कम्पनी होम ग्यालरीले पनि इन्डक्सन र इन्फारेड चुल्होहरूमा एक वर्ष वारेन्टीका साथ बिक्री गरिरहेको छ । बजारमा यो कम्पनीको १०४ मोडलको ग्रेस र टच चुल्हो उपलब्ध छ । कम्पनीका चुल्होहरूका २०० देखि २ हजार भोल्टेज विद्युत् खपत हुने होल ग्यालरीका मेनेजर सुमन कार्कीले बताए । उनका अनुसार कम्पनीको विद्युत् चुल्होको मूल्य ४ हजारदेखि ७ हजारसम्म पर्छ । बाल्ट्रा कम्पनीको इन्डक्सनको मूल्य ४ हजार रुपैयाँबाट सुरु हुन्छ । यो कम्पनीको इन्फ्रारेड चुल्होको मूल्य ५ हजार ५ सय रुपैयाँ पर्छ । त्यस्तै, फिलिप्सको मूल्य ४८ सयदेखि ११ हजार रुपैयाँसम्म रहेको छ । अर्को कम्पनी सिजीको ४ हजारदेखि १२ हजार मूल्यका विद्युत् चुल्हो बजारमा उपलब्ध छन् । 

स्विफ्टन इन्डक्सन 

स्विफ्टन नेपालले सामान्य घर, अफिस, हस्पिटल, क्यान्टिन, मोडुलर किचेन, मेस आदिमा प्रयोग गर्न मिल्ने घरायसी तथा व्यापरिक प्रयोजनका लागि २ हजार वाटदेखि ६ हजार ५ सय वाटसम्मका विद्युतीय सामग्री बजारमा ल्याएको छ । स्विफटन ब्रान्डका १ मुखेदेखि २, ३, ४, र ५ मुखेसम्मका इलेक्ट्रिक बिल्ट–इन हब तथा पोर्टेबल टेबलटप, इन्डक्सन, सेरामिक (इन्फ्रारेड) र ओक डिजाइनका चुल्होलगायतका सामग्री बजारमा ल्याएको हो । कम्पनीका यी सामग्रीहरू ५ हजार ५ सयदेखि १ लाख १४ हजार ९ सय रुपैयाँसम्मको मूल्यमा बजारमा उपलब्ध छन् । 

इन्फ्रारेड र इन्डक्सनमा के फरक ?

विशेषगरी बजारमा दुई प्रकारका विद्युतीय चुल्हो उपलब्ध छन् ःइन्डक्सन र इन्फ्रारेड । इन्डक्सन चुल्होमा तामा तारबाट कोइल गरिएको हुन्छ भने इन्फ्रारेड चुल्होमा ह्यालोजेन ल्याम्प कोइल प्रयोग गरिएको हुन्छ । इन्डक्सन चुल्होले छिट्टै हिट उत्पन्न गर्छ, यसको हिट चुल्होको बीच भागमा हुन्छ । इन्फ्रारेड चुल्होमा बिस्तारै हिट उत्पन्न हुन्छ र सबैतिर बराबर तापक्रम बाँड्छ ।

किन्नुअघि के कुरामा ध्यान दिने ?

सबैभन्दा पहिले पावरमा ध्यान दिनुपर्छ । पावरअनुसार खाना पाक्ने हुनाले जति बढी पावर हुन्छ त्यति नै चाँडो खाना पाक्ने हुन्छ । इन्डक्सनमा दुई हजारसम्मको वाट हुन्छ । चुल्होको सुरक्षालाई पनि ध्यान दिनुपर्ने हुन्छ । करेन्ट लाग्ने हुनाले सुरक्षालाई ध्यान दिनुपर्छ । कम्पनीको ग्यारेन्टी र वारेन्टीमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । 

कति हुन्छ आयात ?

आर्थिक वर्ष २०७८/७९ मा २३ करोड ५२ लाख बराबर मूल्य पर्ने १ लाख १६ हजार ८ सय १० वटा इन्डक्सन चुल्हो आयात भए । त्यस्तै, इन्फारेड चुल्हो ४१ हजार ४ सय ५४ वटा आयात भए, जसको मूल्य ८ करोड ७५ लाख ६७ हजार रहेको छ । भारत, चीन, बंगलादेश, इन्डोनेसियालगायतका देशबाट विद्युतीय चुल्होहरू आयात हुने गरेका छन् । नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ इन्डक्सनहरू उपलब्ध छन् । 

 Image