Successfully Copied

आर्थिक मात्र होइन, सामाजिक र मानसिक परिवर्तन हुनु जरुरी छ’

सिंगो परिवारका लागि बिहानैदेखि काममा तल्लीन रहने महिलाको आर्थिक विकासमा धेरै योगदान छ ।


मीना आचार्य, अर्थशास्त्री
राजनीतिका कारण बुवा पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य जेल पर्दा मीना जम्मा तीन वर्षकी थिइन् । श्रीमान् जेल परेपछि रेवन्तकुमारीले छोरी मीनालाई जनकपुर बस्ने हजुरबुवाकहाँ पठाइन् । हजुरबुवाले मीनालाईलिएर बनारसतिर लागे, उनी हजुरबासँगै तीन वर्ष बनारस रहिन् । बनारसबाट सिर्सिया फर्किन् र पढ्न थालिन्, गाउँकै धूले विद्यालयमा । २००४ सालमा आमासँग काठमाडौं आई गौशालाको एक स्कुलमा पढिन् । पद्मकन्या क्याम्पसबाट आई.ए. पास गरेपछि भारतको युनिभर्सिटी अफ दिल्लीबाट अर्थशास्त्रमा बी.ए. अनर्स, सोभियत संघको मस्को युनिभर्सिटीबाट आर्थिक साइबरनेटिक्समा एम.एस. र अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट विकास अध्ययनमा विद्यावारिधि गरिन् । विश्व बैंक, युएनडिपी, एसियाली विकास बैंकजस्ता संस्थामा परामर्शदाता र नीति तथा अनुसन्धान प्रतिष्ठानको सञ्चालक समिति सदस्य भएर पनि काम गरेको अनुभव उनीसँग छ । एक महिनाअघि मात्रै उनको आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ सार्वजनिक भएको छ । अहिले रिटायर्ड लाइफ बिताइरहेकी ८८ वर्षीया उनीसँग जीवन भोगाइ र महिलाका विविध विषयमा गरिएको कुराकानी ः

आत्मकथा नै प्रकाशन गर्नुभयो, किन ?
म हुर्किएको समय ९० को दशकदेखि आजसम्म पनि नेपाल अभूतपूर्व राजनीतिक तथा सामाजिक परिवर्तनबाट गुज्रिरहेको छ । मेरो जन्म राजनीतिक परिवारमा भयो । बुवाको राजनीतिका कारण परिवारले भोग्नुपरेको सास्ती, आमाको संघर्ष र मेरो बाल्यावस्थाको सोचाइलाई यो आत्मकथामा समावेश गरेकी छु । त्यो समयमा जन्मिएका, हुर्किएकाहरूको जीवनमा तत्कालीन राजनीतिक चहलपहल र सामाजिक चेतनाको प्रभाव यसमा छ । विगतको समाज–इतिहासको जानकारी होस् भनेर पनि यो पुस्तक लेखेकी हुँ ।
२५ वर्ष राष्ट्र बैंकमा जागिरे हुनुभयो । कस्तो रह्यो त्यो अढाइ दशक ?
मैले जीवनको ऊर्वर समय २५ वर्ष राष्ट्र बैंकमा अनुसन्धान अधिकृत, आर्थिक सल्लाहकार, प्रमुख आर्थिक सल्लाहकार र वित्त विभाग प्रमुख भएर काम गरें । राष्ट्रबैंकमा काम थाल्दाबैंकिङ क्षेत्रमा महिला अफिसर थिएनन् । सुरुमै सिनियर कर्मचारीका रूपमा प्रवेश गरें । बैंकले धेरै । विषयमा अध्ययन–अनुसन्धान गर्नुपर्ने भएकाले अनुसन्धान विभागमा म जोडिएँ । आर्थिक विकास र सरकारी वित्त शाखा प्रमुख भएँ ।यसले गर्दा विभिन्न मन्त्रालय र विशेष गरी अर्थ मन्त्रालयसँगप्रत्यक्ष कुराकानी गरिरहनुपर्ने हुन्थ्यो। राष्ट्रबैंकबाट बिदा लिएर अमेरिकामा विकास अध्ययनमा विद्यावारिधिगर्न गएँ । उता पढेर आउँदा यताको राजनीतिक वातावरण (बहुदलपछि) का कारण समावेशिताका कुरा उठे । त्यसैले डेपुटी गभर्नरमा राजनीतिक नियुक्ति भएर अरु नै आए । योग्यताका आधारमा भइदिएको भए गभर्नरसम्म पुग्थें होला । राजनीतिक नियुक्ति हुन थालेकाले जागिर छाडें ।
महिलाले आर्थिक विकासमा कसरी योगदान पुर्‍याउन सक्छन् ?
आर्थिक विकासमा घर वा बाहिरको काम गरेर महिलाले योगदान पुर्‍याउँदै आएका छन् । महिलाले घर सम्हालेकाले पुरुष निर्धक्क भएर आफ्नो काममा लाग्न पाएका छन् । कृषिमा होस् वा साना पसल राखेर, आ–आफ्नै तवरबाट काम गरिरहेका छन् । सिंगो परिवारका लागि बिहानैदेखि काममा तल्लीन रहने महिलाको आर्थिक विकासमा धेरै योगदान छ ।

बुवा प्रधानमन्त्री हुँदा क्याम्पसमा आन्दोलन गर्नुभयो होइन ?
बुवा पो प्रधानमन्त्री, म त होइन नि, मलाई के भयो र ‘पद्मकन्या क्याम्पसमा आई.ए. पढ्दा अन्य गतिविधिमा पनि उत्तिकै सक्रिय थिएँ । इन्टरकलेज युनियनमा पद्मकन्याको तर्फबाट प्रतिनिधि थिएँ । त्यो समय पद्मकन्यामा भारतीयलाई क्याम्पस प्रमुख बनाइयो भनेर विद्यार्थीले विरोध गर्दाम पनि त्यसमा सक्रिय रहें । पछि बाध्य भएर भारतीयलाई हटाएर नेपालीलाई नै राखियो। महिलाका लागि मात्र नभएर पुरुषका लागि पनि आन्दोलन गरियो ।
महिला आत्मनिर्भर कसरी हुने ?
सबै महिला आत्मनिर्भर छन् । आफूले कमाएको पैसालाई मेरो पैसा भन्न सक्नुपर्‍यो । सामाजिक परिपाटी र पहिलेदेखिको चालचलनका कारण महिला पछाडि परेका हुन् । आर्थिक मात्र होइन, सामाजिक र मानसिक परिवर्तन हुनु जरुरी छ । परिवर्तन आफैंबाट हुनुपर्छ ।

वैवाहिक सम्बन्धका बारेमा बताइदिनुस् न

म ठूलो संघर्ष गरेर रुसमा पढ्न गएँ ।रुसी नागरिकसँग विवाह गरें । नेपाली नागरिकता ऐनसँग लडेर नेपालकै नागरिकता कायम राखें । श्रीमान्ले नेपाल बस्न असमर्थ व्यक्त गरेपछि घरमा थाहा नदिई पारपाचुके गरेकी हुँ ।
तीज पर्व नजिकिरहेको छ । धेरै महिला निराहार व्रत बस्ने गरेका छन्, यहाँको धारणा कस्तो छ ?
तीज महिलालाई श्रीमान्प्रति समर्पित हुनुपर्छ भनेर पाठ पढाइएको जस्तो लाग्छ । यसका बाबजुद यो पर्वले धेरै नेपाली महिलालाई वर्षको एकपटक साथीसंगी भेट्ने, खुलेर नाच्ने र आफ्ना भावना साटासाट गर्ने अवसर दिएको छ । यो पर्व बाहुन, क्षेत्री समाजमा महिलाका लागि परम्परा र बाध्यता जस्तो लाग्छ । यद्यपि मैले पनि ३–४ वर्ष पञ्चमीको व्रत बसेर पूजा गरेकी थिएँ ।
भावी पुस्ताका लागि के सन्देश दिन चाहनुहुन्छ ?
पहिलेभन्दा समय परिवर्तन भएको छ, त्यहीअनुसार चल्नुपर्छ । युवा पुस्ताले आमाबुवालाई चित्त बुझाउन सक्नुपर्छ । सही कुरा पहिल्याएर त्यसकै आधारमा संघर्ष गर्दै अघि बढ्नुपर्छ । शिक्षा, आँट र आत्मबल हुनुपर्छ । सबैले आफूलाई परिवर्तन गर्नुपर्‍यो । आ–आफ्नो क्षेत्रमा अब्बल हुनका लागि रुचिको विषय छानेर अघि बढ्नुपर्छ ।

तस्बिरहरुः महेशमान प्रधान

 Image