‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

ललितपुरस्थित कुपण्डोलमा ६६ वर्षअघि वीणा पौड्यालको जन्म भएको हो । पुल्चोकस्थित एउटा स्कुलबाट एसएलसी पूरा गरेकी उनले प्रवीणता प्रमाण तह, पद्मकन्या क्याम्पसबाट स्नातक र त्रिविबाट संस्कृति विषयमा स्नातकोत्तर गरेकी छन् । प्राध्यापन, लेखनमा आबद्ध उनी ०४९ मा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट शैव मूर्तिकलामा विद्यावारिधि गरिन् । उनका हालसम्म नेपाली संस्कृति, समाज र पौराणिक गहन अध्ययन समावेश गरिएका पुस्तक प्रकाशित भइसकेका छन् । वीणाले धेरै जनाको शोध निर्देशन, शोध प्रबन्ध समितिको विज्ञ सदस्य, विभागीय प्रमुख भई काम गरिसकेकी छन् । झन्डै ४० वर्ष पाटन क्याम्पस र त्रिविमा नेपाली, इतिहास, संस्कृति तथा पुरातत्व विषय अध्यापन गरेकी उनी अवकाश प्राप्त जीवन बिताइरहेकी छन् । उनले पछिल्लो समय भने कीर्तिपुर ललितकला क्याम्पसमा पीएचडीका विद्यार्थीलाई पढाउँछिन् । दसैंको सेरोफेरो र उनको जीवनमा केन्द्रित रही वीणासँग गरिएको संवादको सम्पादित अंश :
हाल के गर्दै हुनुहुन्छ ?
४० वर्ष अध्यापन गरी अहिले अवकाश प्राप्त जीवन बिताइरहेकी छु । तर, जीवनमा अवकाश भन्नका लागि मात्रै रहेछ । वर्षौंसम्म मैले संगालेको आफ्नो अनुभव साट्न भने हाल कीर्तिपुरस्थित ललितकला क्याम्पसका पीएचडीका विद्यार्थीलाई अध्यापन गराइरहेकी छु । त्यस्तै, ०३६ मा लिएको पर्यटक पथप्रदर्शक तालिमको सदुपयोग गर्न बेला–बेलामा टुरिस्ट गाइडसमेत गर्छु । टुरिस्ट गाइडहरूलाई मूर्तिकला, वास्तुकला र नेपाली संस्कृतिको कक्षा पनि लिने गरेकी छु । पुस्तक लेखनमा पनि उत्तिकै व्यस्त छु ।
तपाईका कतिवटा पुस्तक प्रकाशित भए ? पुस्तक लेखनका लागि उपयुक्त समय कुन हो ?
हालसम्म ‘हिन्दू डेथ राइट्स’ देखि ‘जात्रैजात्राको काठमाण्डू उपत्यका’ सहित १५ वटा पुस्तक प्रकाशित भइसकेका छन् । दुई–तीन वटा पुस्तक लेख्दैछु । प्रकाशनको प्रतीक्षामा छन् । बिहान ४ः४५ बजेबाट ७ बजेसम्म लेखपढ गर्ने समय छुट्याएकी छु ।
पुस्तक लेखन सजिलो कि अध्यापन ?
दुवै कामका आ–आफ्नै महत्व छन् । अध्यापन गराउँदा विद्यार्थीसँग प्रश्न–उत्तर गर्दा रमाइलो महसुस हुनुका साथै ऊर्जा प्राप्त हुन्छ । पुस्तक लेख्दा वा पढ्दा भने सन्तोष लाग्छ । नयाँ विषयबारे जान्न पाइने भएकाले आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ ।
दसैं कस्तो पर्व हो ? दसैं किन सर्वाधिक महत्वको चाड बनेको होला ?
दसैं मातृशक्ति आराधनाको ठूलो पर्व हो । सनातन धर्मावलम्बीहरू सबैले दसैं मनाउँछन् । दुर्गा माताको उपासना एवं भजन गर्छन् । जनबोलीमा दसैंलाई नौरथा, विजयादशमी, बडादसैं एवं शारदीय दसैं पनि भनिन्छ । नेपालमा दसैंले धार्मिक कर्मकाण्डसँगै सांस्कृतिक र पारिवारिक घेरालाई अझ बढी समेटेको देखिन्छ । अग्रजको आशीर्वाद र पारिवारिक भेटघाटको सुनौलो अवसरका रूपमा यो चाडले व्यापकता पाउँदैछ ।
घटस्थापनाबाट सुरु भएर नवमी अर्थात् नौ दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वतीलाई विभिन्न ढंगले, वैदिक एवं तान्त्रिक विधिले पूजा गरिन्छ । दसौं दिन देवीको प्रसाद मान्यजनको हातबाट लगाइन्छ । दसमीदेखि पूर्णिमासम्म पाँच दिनै टीका लगाउन जानेको संख्या पनि बढ्दो छ । नेपालका केही भागमा बसोबास गर्ने समुदायमा दशमीको दिन मात्रै टीका लगाउने प्रचलन छ ।
दसैंका धार्मिक पक्षबारे केही बताइदिनुहोस् न ।
सनातन धर्मावलम्बीहरूमा चैत, असार, असोज र माघ शुक्ल गरी वर्षमा चारवटा नवरात्र दसैं मनाउने चलन छ । तीमध्ये चैते दसैं र शारदीय दसैं प्रसिद्ध छन् । कालिकापुराण, देवी पुराण, मार्कण्डेय पुराण, देवी भागवत, ब्रह्माण्ड पुराणमा दुर्गाको महिमा र पूजा विधि उल्लेख छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको नौ दिनसम्म पूजा गर्ने चलन छ । मार्कण्डेय पुराणअन्तर्गत देवी माहात्म्यमा भएको ७ सय श्लोकको सप्तशती, चण्डी नौ दिनसम्म पाठ गर्ने चलन छ ।
दसैंका बेला महिलाले पूजाआजा गर्न र चण्डी पाठ गर्न हुँदैन भनिन्छ नि ?
महिला–पुरुष दुवैले देवीको पूजा, पाठ गर्न पाउने विधान भए पनि बली चढाउने परिवारमा महिलालाई पूजा कोठामा निषेध गरिएको पाइन्छ । शक्तिको प्रतीक अधोमुख त्रिकोण बनाएर देवीहरूको पूजा गर्ने विधान छ । शाक्त धर्मको समाचीन शाखाअन्तर्गत चक्र र देवीपूजा गर्ने प्रचलन हो । कौलशाखा, कौलाचार विधानअनुसार कन्या–केटीहरूका विभिन्न अंग, योनिको समेत पूजा गर्ने चलन छ । नेपालमा विभिन्न समुदायका कन्याहरूलाई समावेश गरेर जीवित रूपमै पूजा गरी उपहार दिने चलन छ । मल्ल राजा जयप्रकाशले कुमारी छनोट गरेपछि बस्ने बेग्लै घरको व्यवस्था गरेका थिए । जुन कुमारी प्रथा आजसम्म पनि चलिरहेकै छ ।
कतिपयले शरीरमा जमरा राख्ने गरेका छन् ? यसबारे बताइदिनुहोस् न ।
तन्त्र सार नामक ग्रन्थमा सुन, चाँदी, तामा आदि धातुबाट निर्मित कलशमा महाकाली, महालक्ष्मी र महासरस्वतीलाई आह्वान गर्ने विधान बताइएको छ । तर सबैभन्दा उत्तम कलश माटोको मानिएको छ । त्यही कलशको बाहिरी भागमा र भुइँमा शास्त्रीय परम्पराअनुसार जौ छरी जमरा राख्ने विधान छ । पछिल्लो समय केही माता र गुरुले आफ्नै शरीरमा, छातीमा बालुवा, माटो राखेर जमरा उमार्ने गरेका छन् । यसले धेरैको ध्यानाकर्षण गरे पनि शरीरलाई अनावश्यक रूपमा दुःख दिने भएकाले विचारणीय मानेका छन् । धेरैले यस्तो चलनले पर्वप्रति नकारात्मक सोच बढ्ने चिन्ता गरेका छन् ।
दसैंमा लगाइने टीका, जमरा र दिइने दक्षिणाको महत्व के रहेको छ ?
दसैंमा टीका–जमरा देवीको प्रसादस्वरूप लगाइन्छ । आशीर्वाद र हात खाली नहोस् भनेर नगद दिने चलन हो ।
चाडपर्वलाई महिलामैत्री कसरी बनाउन सकिन्छ?
चाडपर्वलाई महिलामैत्री बनाउन घरका पुरुष सदस्य र स्वयं महिलाले पनि प्रयत्न गर्नुपर्छ । हुन त पहिलेको तुलनामा महिलाको भूमिका परिवर्तन हुँदैछ । घरपरिवारका सदस्यलाई छोरा–बुहारी, छोरी–ज्वाईंले बुझाउनुपर्छ । यतिबेला कतिपयका घरमा मद्दत गर्न आउने सहयोगीहरू पनि आ–आफ्नो घर जाने भएकाले खानपान घरमै बनाउँदा सहज र सरल परिकार सल्लाह गरेर बनाउनुपर्छ । खाने भाँडा प्लास्टिक तथा पेपरको प्रयोग गरेमा पनि घरका महिलालाई कामको बोझ केही कम हुन्छ । यसैगरी घरका सबै सदस्यले काममा सहयोग गर्न सकिन्छ । चाडपर्वको महिमा, चुरो बुझेर पाखण्डरहित भएर मितव्ययी ढंगले मनाउनुपर्छ । अनावश्यक तडकभडक होइन साधारण तर स्वस्थकर खाना र मनोरञ्जन
गरेर चाडपर्वको मज्जा लिनुपर्छ ।
आगामी योजना के छ ?
लेख्दै गरेको पुस्तक समाप्त गर्ने योजना छ । यसैगरी स्वदेश तथा विदेशका केही ठाउँ घुम्ने योजना छ ।