विमला थापा, पी.आर.हेड–एम.भी. दुगड ग्रुप
कर्पोरेट क्षेत्रमा प्रथम महिला हुन के कुराले सम्भव बनायो ?
म स्पष्ट वक्ता हुँ, सही–गलत छुट्टाउन र बोल्न सक्छु । होला, सायद, हुनसक्छ जस्ता अवस्था वा सर्तमा बसेर निर्णय गर्दिन । मेरो ११ वर्षको मिडिया अनुभवले मलाई दुगडसम्म ल्याएको हो । ममाथि मेरो संस्थाले समय र पैसा खर्चिएको छ । त्यो खर्चलाई लगानीमा परिणत गर्न मेरो प्रयास जारी छ । यो समय अब हामीजस्ता जाँगरिला युवाहरूको हो, हिजोको दिक्दार लाग्दो र साँघुरो सोचले भरिएको वर्किङ इन्भारमेन्टलाई चुनौती दिँदै म नयाँ र सिर्जनात्मक तरिकाले काम गर्न रुचाउँछु । ‘उही काम तर फरक तरिकाले’ भन्ने सिद्धान्तमा विश्वास गर्ने म परिणाममा केन्द्रित रहन्छु । जुन वातावरण मैले यहाँ प्राप्त गर्न र सिर्जना गर्न सकें, सायद यिनै कुराले मलाई यहाँसम्म ल्याइपुर्याएको हो ।
करिब ५० जनाको पुरुष टोलीमा एक्लो महिला त्यो पनि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सफल बनाएर फर्किनुभयो, त्यो साहस र खुबीलाई कसरी लिनुभएको छ ?
काममा महिला र पुरुष छुट्टिँदैनन् भन्ने मेरो बुझाइ छ । त्यही काम पुरुषले गर्दा फरक र महिलाले गर्दा फरक हुन्छ जस्तो मलाई लाग्दैन । म फरक सोच र बुझाइ बोकेकी युवा हुँ अनि मैले किन उस्तै सोच पाल्ने । म र हामीजस्ता युवाले अब आँट नगरे कसले गर्ने ? मलाई हेरेर अपकमिङ बहिनीहरूलाई ऊर्जा र साहस मिलोस् भन्ने मेरो धारणा हो । ‘आफू भलो त जगत् भलो’ नराम्रो नगरी आफू आफ्नो काम र क्रियसनमा दत्तचित्त रहने हो, अरू कुराको परवाह गरिरहनुपर्दैन ।
ठूलो संस्था हाँक्न चुनौती त छँदैछ यसभित्रका संदेनशील विषयहरूलाई कसरी सम्हाल्नुहुन्छ ?
मैले दैनिक हरेक प्रकारका व्यक्ति तथा संघसंस्थासँग डिल गर्नुपर्ने हुन्छ । राम्रा–नराम्रा, असल–खराब, चोर–फटाहा भन्ने कुरा निधारमा लेखिएको हुँदैन र त्यस्तालाई चिनिँदैन पनि । नेता र मन्त्रीको तोक ल्याएर धम्कीको शैलीमा व्यावसायिक डिल गर्न आउनेहरूको पनि राम्रै लिस्ट छ मसँग तर मैले कहिल्यै हरेस खाइन । एक–दुई धम्की र मन्त्रीको तोक लगाएको भरमा मेरो धरातल कहिल्यै डगमगाएन । मेरी आमाबाट मैले त्यो कुरा जन्मजातै लिएर आएकी छु–‘आँट र निडरता अर्थात् निर्भीकता ।’
अफिसबाहेक केमा व्यस्त हुनुहुन्छ ?
म रेडियोकर्मी पनि हुँ । हप्तामा तीनवटा कार्यक्रम चलाइरहेकी छु । आइतबार ८ देखि ९ बजे राति प्रसारण हुने ‘लबजस्तै माया’ लाई धेरैले रुचाउनुभएको छ । अत्यन्तै व्यस्तताका बाबजुद मैले आफ्नो क्षमतामार्फत केही योगदान गर्न सक्छु भनेर अफिसपछिको समय रेडियोलाई दिएकी हुँ । यसले युवा समूहमा राम्रो सन्देश फैलाइरहेको छ ।
कत्तिको फेसनेबल र ब्रान्ड कन्सियस हुनुहुन्छ ?
म आफै फेसन क्रियट गर्न चाहन्छु । त्यसो त ममा हरेक कुरामा भिन्न सोच्ने र गर्ने बानी छ । मलाई फ्लासी र क्लासिक फेसन मन पर्छ । ब्रान्डको कुरा गर्नुपर्दा मलाई ब्याग, घडी र परफ्युम ब्रान्डेड नै चाहिन्छ । ब्रान्डेड लगाउँदैमा आफ्नो सोच र ज्ञान ब्रान्डेड हुन्छ भन्ने मेरो तर्क होइन तैपनि ब्रान्डमा हालेको पैसा खेर जाँदैन भन्ने कुरा मैले बुझेकी छु । विदेश यात्रा गर्दा सपिङका लागि ब्रान्डेड सोरुमहरू छिरेकै हुन्छु ।
आफू खुसी हुन र अरूलाई खुसी बनाउन के गर्नुहुन्छ ?
जीवनलाई खुसी राख्न मेरा पाँच सिद्धान्त छन्–जे गर्छु खुसीका लागि गर्छु । आत्मैबाट खुसी छैन भने धनकै लागि मात्र कुनै काम गर्दिन, कालान्तरमा त्यो निराशाले मानिसलाई भित्रभित्रै खाइदिन्छ । खुसी जीवनको अक्सिजन हो । हरेक श्वासमा खुसी फेरेर त हेर्नुहोस् आयु लम्बिँदै जान्छ र जीवन सार्थक हुन्छ ।
अबको लक्ष्य ?
सफलता प्राप्तिका लागि कुनै एलिभेटर वा एक्ट्राभेटर लिफ्ट हुँदैन । आफ्नै परिश्रम र आत्मविश्वासले सिंढी चढ्दै जानुपर्छ । त्यसैले प्रयास जारी राख्नेछु । काम र जिम्मेवारीमा दत्तचित्त रही आफूसक्दो बेस्ट दिने हो । अर्को कुरा स्वतन्त्रता र आत्मनिर्भरताका साथ कसैको आडबिना संसार सयर गर्ने लक्ष्य छ ।