Successfully Copied

रोहिणीको नयाँ परिचय

साहित्यले मलाई लेख्न सहज बनायो । पुस्तकमा मैले राणाको थोरै भए पनि इतिहास र परिचय लेखेकी छु ।

अवागढका राजासाहेब दिग्विजय पल सिंह र रानी अनन्तकुमारीका छ जना सन्तानमध्येकी कान्छी छोरी हुन् रोहिणी राणा ‘डली’ । भारत उत्तर प्रदेशको आगरामा ६३ वर्षअघि जन्मिएकी उनी नैनीतालमा हुर्किइन् । राणाले स्कुले शिक्षा र ११ कक्षासम्मको अध्ययन स्थानीय सेन्ट मेरिज स्कुलबाट गरी अजमेरस्थित सोफिया कलेजबाट अंग्रेजी साहित्यमा स्नातक पूरा गरिन् । स्नातक पढ्दै गर्दा रोहिणीको विवाह राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति गौरवशमशेर राणासँग हुने पक्का भयो । राणा परिवार (बबरमहल) मा दुई–तीन पुस्तादेखि छोरीहरू भारतमा दिने र बुहारी त्यताबाट ल्याउने गरिन्थ्यो । त्यसैले आफ्नो विवाह नेपालमा भएको उनले नोस्टाल्जिक हुँदै प्रस्ट्याइन् । स्कुल र कलेज जीवन होस्टेलमा बिताएकी रोहिणीकी आमालाई छोरीको विवाह हुने खबरले खुसी बनाएको थियो । तर छोरीलाई पकाउनै नआउने कुराले आमालाई पिरोलेको थियो । भान्सामा कामदार हुने भएकाले पकाउने जिम्मेवारी उनको थिएन । तर पनि पाककलाबारे रुचि भएकाले सन् १९७७ मा इन्गेजमेन्ट र विवाह हुनुबीचका आठ महिनामा रोहिणीले घरमै कन्टिनेन्टल र भारतीय परिकार पकाउन सिकिन् ।

पाककलामै रुचि भएकाले उनको हालै ‘द राणा कुक बुक, रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ नामक पुस्तक पेन्गुइन र्‍यान्डम हाउस भारतबाट प्रकाशित भएको छ । उक्त पुस्तकमा राणा प्रधानमन्त्रीका दरबारमा के पाक्थे ? १०४ वर्ष नेपालमा शासन गरेका राणा खलकले खाने, पकाउने विधि, कसले के पकाउने, कसरी खाइन्थ्यो ? भन्ने कुरा उल्लेख छ । पुस्तकमा जंगबहादुरदेखि मोहनशमशेरसम्मका ९ प्रधानमन्त्रीको दरबारमा पाक्ने १४० परिकार र पाक विधि, चाडपर्व, पास्नी, श्राद्धका बेला के खाने, के गरिन्थ्यो भन्ने कुराको वर्णन पनि पुस्तकमा छ । पुस्तकबारे रोहिणीसँग गरिएको कुराकानी :

पाककलाप्रतिको रुचि कसरी भयो ? पुस्तक लेख्न प्रेरणा कहाँबाट पाउनुभयो ?

पाककलाप्रति मेरो रुचि बाल्यकालदेखि नै थियो । त्यसो त हाम्रो ‘फुडी फेमिली’ हो । भर्खर खाना खाए पनि दिउँसो र बेलुकी के खाने भन्ने सल्लाह हुन्थ्यो । कसले के पकाउने भन्ने सल्लाह हुन्थ्यो । जे भए पनि खाना मीठो हुनुपर्थ्यो । रुचि र सीप विवाहपछिका वर्षमा थप निखारियो । जहाँ गए पनि त्यहाँको खानासम्बन्धी कुक बुक जम्मा गर्ने, फुर्सदमा पढ्ने र नयाँ–नयाँ परिकार पकाउन सिक्थें । पाककलाको यही सोख र अध्ययन–अनुसन्धानपछि पुस्तककै रूपमा निकाल्ने योजना भने २८ वर्षअघि बन्यो । त्यतिबेला मेरा श्रीमान् गौरवशमशेर हेटौंडा सुपारीटार ब्यारेकका गणपति हुनुहुन्थ्यो । छोरीहरू होस्टेलमा बसेर पढ्थे । परम्परागत राणाकालीन बंगलामा बस्दा मलाई खाली समयमा के गरौं भन्ने भयो र त्यतिबेला मैले पुस्तकको परिचय लेखेकी थिएँ । र यसलाई पुस्तकको आकार दिने सोच त्यतिबेलै बनाए पनि विविध कारणवश धेरै वर्षपछि मात्रै पुस्तक तयार भयो ।

साहित्यको विद्यार्थी, पाककलासम्बन्धी पुस्तक नै किन लेख्न मन लाग्यो ?

साहित्यले मलाई लेख्न सहज बनायो । पुस्तकमा मैले राणाको थोरै भए पनि इतिहास र परिचय लेखेकी छु । मसलाका बारेमा पनि लेखेकी छु । यसमा राणाको पक्वान्न मात्र नभै, कसरी गर्थ्यो, कसरी बस्थ्यो, के खान्थ्यो, चाडबाडको छुट्टै सेक्सन छ ।

राणाका दरबारमा धेरै भान्से हुन्थे, किन आफैंलाई पकाउन मन लाग्यो ?

विवाहपछि नेपाल आउँदा भाषागत समस्या भयो । नेपाली भाषा बुझे पनि बोल्न सक्दिनथें । परिकार पकाउने सीप भने श्रीमान् गौरव शमशेरलाई हुर्काएकी दिदी चिनियाँ चम्पाबाट सिकेकी हुँ । जिजुसासू पनि खानाकी सौखिन हुनुहुन्थ्यो र जति भान्से भए पनि मीठो खाना खानुपर्ने भएकाले आफैं पकाउनुहुन्थ्यो । नेपाली परिकार र खानासँग जोडिएका परम्पराका कारण म खानाप्रति आकर्षित भएँ । त्यसो त मलाई कुनै कुरामा टेन्सन भएमा भान्सामा पसेर पकाएपछि रिल्याक्स महसुस हुन्छ ।

दरबारमा पाक्ने खाना कस्ता हुन्थे ?

नेपाली खाना (दालभात, तरकारी, अचार) नै हो । यसमा विभिन्न भेराइटी हुन्थे । विशेष अवसर भए पुलाउ र अरु परिकार, बिदाका दिनमा अलि भिन्न नयाँ परिकार बन्थ्यो ।

खाना स्वादिष्ट बनाउने सूत्र के हो ?

त्यो त आ–आफ्नो स्वादमा भर पर्छ । खानामा अलिकति चिल्लो–पिरो पुगेपछि स्वाद बढ्छ । यसैगरी राम्रो मुडमा पकाएमा खाना स्वादिष्ट हुन्छ । आनन्दले पकाएको खाना मीठो हुन्छ ।

खाना स्वादिष्ट हुनु आवश्यक छ कि स्वास्थ्यवर्द्धक ?

खाना धेरै स्वास्थ्यवर्द्धक हुनुपर्छ । नेपाली खाना जस्तो स्वस्थ, सन्तुलित र पोषणयुक्त खाना कुनै छैन जस्तो लाग्छ । सागपात, दाल, भात, तरकारी ब्यालेन्सयुक्त खाना हो । युवावस्थामा हेभी खाना खाए पनि उमेर पुगेकाले रातको खाना हल्का खानु राम्रो हुन्छ ।

पकाउन सजिलो कि त्यसलाई पुस्तकको आकार दिन ?

पकाउन मन पर्ने मानिसका लागि पकाउन जस्तो सजिलो केही छैन । भान्सामा पसेर पकाएपछि रिल्याक्स महसुस हुन्छ । आफ्नो रुचिलाई पुस्तकको आकार दिन भने गाह्रो हुँदो रहेछ । पकाउने मान्छेले नाप्न वा तौलन पर्दैन । पुस्तकको आकार दिन राणा इतिहासको अध्ययन, विभिन्न पक्वान्नको स्वाद, नुन, तेल एवं मसलाको टिपोट गरें । त्यही परिकार घरमा आएर पुनः बनाएँ । कतिपय परिकारका लागि आफन्तका घरमा गएँ, कति यहाँ आउनुभयो । लेखेका कुरा दुई–तीनपटक रुजु गरें । यो पुस्तकमा मैले धेरै परिश्रम गरेकी छु ।

महिलाको पहिचान भान्सामा मात्र सीमित हुनुपर्छ भन्ने मान्यता छ नि ?

अहिलेको सन्दर्भमा महिला भान्सामा मात्र सीमित हुनुपर्छ भन्नु उचित नहोला । अहिलेका महिला राष्ट्रपति, अन्तरिक्ष यात्री, डाक्टर, इन्जिनियर, पाइलट तथा विभिन्न तहमा पुगिसके । भान्साको काम महिला र पुरुष दुवैले गर्नुपर्छ । मिलेर मीठो पकाउन र खान सके अझ राम्रो हुन्छ । अहिलेको समाजमा महिला र पुरुष संगसँगै अघि बढिरहेका छन्, त्यसैले घरको काम पनि त्यति नै भाग लगाए राम्रो हो । श्रमको विभाजन हुनुपर्छ ।

कुन खाना बढी मनपर्छ ?

नेपाली, कन्टिनेन्टल, चाइनिज, थाई सबै खाना मनपर्छ । जुन खाना भए पनि मीठो र स्वादिष्ट भने हुनैपर्छ ।

पाककलापछि रुचिको विषय ?

पाककलापछि गार्डेनिङ र पुस्तक पढ्न रुचि छ ।

शिक्षित भएर पनि अन्य पेसामा किन लाग्नु भएन ?

पहिले रेस्टुराँ चलाउँथें, व्यापारको हिसाबले भन्दा पनि रहरले गर्दा । अहिले छैन । आफूलाई जे काम गर्दा सन्तुष्टि मिल्छ त्यही गर्ने हो ।

महिला सशक्त र सफल हुने मन्त्र ?

यसका लागि शिक्षा अपरिहार्य छ । शिक्षा पाएपछि महिलाले जे पनि गर्न सक्छन् । विभिन्न तालिम लिनुपर्छ । सफल हुनका लागि महिला होस् वा पुरुष दुवै लगनशील भई कडा परिश्रम गर्नुपर्छ । त्यसपछि सोचाइ र धारणा सकारात्मक राखेमा नतिजा राम्रो हुन्छ ।

जीवन के हो ? जीवनको उपलब्धि ?

जीवन तीता–मीठा अनुभवको संगालो हो । यसलाई रमाइलो मान्नुपर्छ । जीवनमा उतारचढाव आइरहन्छन् । जस्तोसुकै परिस्थिति आइपरे पनि सामना गर्दै अघि बढेमा जीवन सुन्दर हुन्छ । यसैगरी आत्मसन्तुष्टि भए जीवन रमाइलो हुन्छ । नारीले परिवारको सम्बन्ध खुसी भएर निभाए परिवार नै राम्रो हुन्छ । घरपरिवारमा राम्रो वातावरण सिर्जना गर्न सक्नु नै जीवनको वास्तविक उपलब्धि हो । सदैव खुसी रही अरुलाई पनि खुसी राख्ने प्रयास गर्नुपर्छ ।

भविष्यको योजना ?

दोस्रो पुस्तक (खानासम्बन्धी) तयारीमा लाग्नेछु । नेपालका विभिन्न समुदायका बारेमा खानासम्बन्धी पुस्तक लेख्ने योजना छ । सामाजिक कार्यमा पनि मेरो रुचि छ ।

 Image