Successfully Copied

रंगीबिरंगी एक्वेरियम

एक्वेरियमले घरको सुन्दरता बढाउँछ । यसमा रंगीबिरंगी माछाहरूको चहलपहलले मनलाई खुसी बनाउँछ । एक्वेरियमले घर र मन दुवैलाई शान्त एवं तरोताजा बनाउँछ ।

एक्वेरियमले घरको सुन्दरता बढाउँछ । यसमा रंगीबिरंगी माछाहरूको चहलपहलले मनलाई खुसी बनाउँछ । एक्वेरियमले घर र मन दुवैलाई शान्त एवं तरोताजा बनाउँछ । माछालाई हेर्दा तनाव कम हुन्छ । एक्वेरियम आफ्नो रुचि र आवश्यकता कोठाको साइजअनुसार छनोट गर्नुपर्छ ।
नेपालमा थाइल्यान्ड र भारतबाट माछा आयात गरिन्छ । घरमा माछा र कछुवा राख्नु वास्तुशास्त्रको हिसाबले शुभ मानिन्छ । माछा र कछुवाले घरमा भएको नकारात्मक ऊर्जालाई हटाउने विश्वास गरिन्छ । माछालाई स्वस्थ र जीवित राख्न उचित हेरचाह गर्नुपर्छ ।

कसरी गर्ने ?
एक्वेरियमको पानी चाँडै बदल्नु हुँदैन । पानीमा भएको गुणी ब्याक्टेरियाले माछालाई जीवित राख्न सहयोग गर्छ । त्यसैले ट्याङ्कको पूरै पानी बदल्नु हुँदैन । आधा पानी छोड्नुपर्छ । १५ दिनमा आधा र एक महिनामा पूरै पानी सफा गर्नुपर्छ । सातामा एकपटक १०–२० प्रतिशतमात्र पानी बदल्नुपर्छ । फिल्टरेसनको सिस्टम भए महिनामा एकपटक ३०–५० प्रतिशत पानी बदल्नुपर्छ । एक्वेरियममा स्वच्छ पानी भएन भने माछा मर्न सक्छन् । माछाका लागि धाराको पानी सबैभन्दा राम्रो हो । पानीको ‘पिएच’ स्तर ६–७ हुनुपर्छ । पिएच स्तर नाप्न बजारमा स्टिकर र मेसिन पाइन्छन् ।

एक्वेरियमको छनोट
सानो एक्वेरियमको साटो ठूलो राख्नु फाइदाजनक मानिन्छ । सानोको तुलनामा ठूलो एक्वेरियमको माछाको मृत्युदर कम हुन्छ । त्यस्तै एक्वेरियमको क्षमताअनुसार माछा राख्नुपर्छ । क्षमताभन्दा धेरै राख्दा माछा मर्न सक्छन् ।
एक्वेरियम आफ्नो कोठाको स्पेसअनुसार खरिद गर्नुपर्छ । साथै त्यसमा कस्तो प्रकारको माछालाई राख्न सकिन्छ त्यो पनि बुझ्नुपर्छ । सानो र गोलाकार एक्वेरियममा स–साना माछा वा गोल्ड फिस राख्न सकिन्छ भने ठूलो एक्वेरियममा आफ्नो इच्छानुसार जुनसुकै माछा राख्न सकिन्छ । अन्य माछासँग फाइटर माछा राख्नुहुँदैन ।

सजावटी सामग्री
कृत्रिम बिरुवा भन्दा प्राकृतिक बिरुवा एक्वेरियममा राख्दा राम्रो हुन्छ । यसले माछाका लागि एक्वेरियमको वातावरण अनुकूल बनाउन मद्दत गर्छ । तर प्राकृतिक बिरुवा राख्दा सही तरिकाले हेरचाह भने गर्नुपर्छ । यसमा सिधा सूर्यको प्रकाश पार्नुहुँदैन । पर्याप्त उज्यालो परोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । साथै एक्वेरियमभित्र राखिने सजावटी सामग्रीहरू धारिलो हुनुहुँदैन । यसले माछालाई नोक्सान पुर्‍याउन सक्छ ।
त्यस्तै, एक्वेरियमलाई माछाको आरामदायक घर बनाउन त्यहाँ ढुंगाहरू राख्नुपर्छ । बजारमा पाइने रंगीबिरंगी ढुंगाहरूले माछाको वृद्धि विकास र स्वास्थ्यलाई असर पार्ने भएकाले प्राकृतिक वस्तुहरू राख्नुपर्छ ।


माछाको हेरचाह
माछाअनुसारको खाना दिनुपर्छ । कुन माछालाई कति पटकसम्म खाना दिनुपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । धेरै खाना दिँदा माछाले खाइनसकेर पानीमा जम्छ र एक्वेरियम फोहोर हुन्छ । माछाको स्वास्थ्यका लागि खानासँगै पानीको पिएच स्तर, फिल्टर, अक्सिजनको मात्रा मिल्नुपर्छ । जाडोमा माछालाई हिटरको पनि आवश्यकता पर्छ ।
(कृष्ण श्रेष्ठसँगको कुराकानीमा आधारित)

 Image