विमला तुलाधर
आर्किटेक्ट
कीर्तिपुरस्थित केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागको भवन विशेष डिजाइनयुक्त छ । पत्रकारितामा क्यामेराको परिवर्तनकारी प्रभावबाट जसरी प्रेरणा मिलेको छ, त्यसरी नै एक वास्तुकारका रूपमा मेरो परिकल्पना र दर्शन यो थियो कि, भवनको डिजाइनले दृश्य कथा र सारलाई मूर्तरूप दिनुपर्छ । क्यामेराको आविष्कार हुनुअघि पत्रकारिता शब्द र भाषामा मात्रै निर्भर थियो । फोटोग्राफीको आगमनले यस क्षेत्रमा क्रान्ति ल्यायो, समाचार रिपोर्टिङमा विश्वसनीयता र लोकप्रियता थप्दै गयो । यस ऐतिहासिक कथा र युगान्तकारी परिवर्तनलाई भवनको वास्तुकलामा कलात्मक रूपमा प्रतिबिम्बित गरिएको छ, जसले स्पष्ट रूपमा क्यामेराको रूप प्रदर्शन गर्छ ।
यो भवन डिजाइनले क्यामेराको भिजुअल प्रतिनिधित्वलाई जोड दिँदै ‘फङ्सन फलोज फर्म’ दृष्टिकोण पछ्याएको छ । यो अवधारणाले दृश्य प्रमाणद्वारा समर्थित र विश्वसनीय हुने हुँदा समाचार अझ भरोसायोग्य हुन्छ भन्ने विचारलाई जोड दिन्छ । भवनको डिजाइन गर्न क्यामेराका विभिन्न तत्वलगायत लेन्सलाई केन्द्रबिन्दु बनाइएको छ । लेन्सलाई हुबहु देखाउन अगाडिको भागमा रहेको ठूलो गोलाकार झ्यालले प्रतिनिधित्व गर्छ । क्लिक बटनलाई भर्याङ छोप्नेले प्रतिनिधित्व गरेको छ भने फिल्मको रिल, पछाडिको भागमा प्रदर्शन गरिएको छ । डिजाइन र निर्माण चरणहरूमा थुप्रै चुनौती आएका थिए । यद्यपि, सावधानीपूर्वक संशोधन र नियमित साइट भ्रमणमार्फत ती अवरोध पार गरियो । मुख्य चुनौती अप्ठ्यारा ठाउँहरूको व्यवस्थापन गर्नु थियो, जुन स्वाभाविक रूपमा डिजाइन गर्दा उत्पन्न हुने कुरा हो । योजना र परिकल्पनालाई ध्यानपूर्वक परिमार्जन गरेर व्यावहारिक र कार्यात्मक शैक्षिक सुविधाको परिणामस्वरूप यी ठाउँलाई सजिलो बनाउन सक्षम भयौं ।
फरक शैली बोक्दै विशेष कलाकौशलको नमुना बनेको छ । यसको उल्लेखनीय डिजाइनले पत्रकारिता जगत्मा दृश्य प्रमाणको महत्व र यसको निरन्तरतालाई इतिहासका रूपमा खडा गरेको छ । यो क्यामेरा भवन कालान्तरमा पनि वास्तुकला र शैक्षिक महत्व दुवैको ‘ल्यान्डमार्क’ बन्नेमा म विश्वस्त छु ।
योजना अवधारणा
केन्द्रीय पत्रकारिता तथा जनसञ्चार शैक्षिक भवनले ७३४.५ वर्ग मिटर क्षेत्रफल ओगटेको छ भने यसको कुल निर्माण क्षेत्र ४१३५.६५ वर्गमिटर छ । यो भवन सावधानीपूर्वक आधुनिक पत्रकारिता विद्यालयको विशिष्ट आवश्यकता पूरा गर्ने गरी डिजाइन गरिएको हो । यसमा पार्किङ क्षेत्र पनि समावेश छ । पहिलो तल्लामा ई–पुस्तकालयका साथै एक विशाल पुस्तकालय समेत छ, जुन आजको डिजिटल मिडिया र प्रविधिको युगलाई उपयुक्त छ । यसैमा मल्टिमिडिया हल र प्रशासनिक कार्यालय पनि छन् । विश्वव्यापी डिजाइन दिशानिर्देश पछ्याएर डिजाइन गरिएको भवन समावेशी र पहुँचयोग्य हुने गरी प्रत्येक तल्लामा लिफ्टको व्यवस्था गरिएको छ । विश्वव्यापी डिजाइनका शौचालयको समेतको सुविधा रहेको छ ।
दोस्रो तल्ला सैद्धान्तिक शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्छ । यहाँ चार कक्षाकोठा र कार्यशालाका लागि छुट्याइएका सुविधायुक्त कोठा छन् । तेस्रो तल्लालाई शिक्षक क्षेत्रको रूपमा तोकिएको छ, जसमा पेन्ट्री र स्टोररूमसहितको शिक्षक कोठा छ । विभागको कार्यालय प्रमुखको कार्यकक्ष पनि यहीँ छ । अन्य ठाउंमा एकाउण्टरुम, दुईवटा रेडियो स्टुडियो भएको कन्ट्रोल रुम र शिक्षकको कोठा तथा सम्पादन कोठासहितको फराकिलो फोटोग्राफी प्रयोगशाला समावेश छ । चौथो तल्लामा १ सय ७० सिटको हल, फिल्म स्टुडियो, प्रोडक्सन रुम, मल्टिमिडिया रुम र टेलिभिजन स्टुडियो छ । टेलिभिजन स्टुडियो विशेष रूपमा मेजानाइन कन्ट्रोल रुम र ठूला झ्यालहरूबाट बाहिरी दृश्य खिच्नका लागि डिजाइन गरिएको छ, जसले अन्तर्वार्तालाई आदर्श र उच्च गुणस्तरको बनाउन मद्दत पुर्याउँछ । पांचौं तल्लामा अन्तर्राष्ट्रिय पाहुना र मिडिया पर्सनालिटीका लागि आवास इकाइका रूपमा डिजाइन गरिएको छ । यो तल्लामा दुई शयनकक्ष, निजी बाथरूम, बैठक कोठा, एउटा भान्सा कोठा र डाइनिङरुम समावेश छन् । दक्षिणपश्चिमका दृश्य नियाल्न सकिने सुन्दर टेरेस पनि यस भवनको आकर्षक भाग हो । साथै यही तलामा कन्फेरेन्स हल पनि समावेश छ ।
पत्रकारिता र आमसञ्चार शैक्षिक भवन केन्द्रीय विभागले पत्रकारितामा क्यामेराको रूपान्तरणकारी प्रभावको उदाहरण दिन्छ । ‘दृश्य कथा कथन’ को भावना र महत्वलाई यसको रचनात्मक डिजाइनद्वारा कलात्मक शैलीले उजागर गरेको छ । विभिन्न क्यामेरा र त्यसभित्रका तत्वबाट उत्प्रेरित भएर भवनले एक आकर्षक दृश्य, समकालीन पत्रकारिता र जनसञ्चार शिक्षाका लागि तयार पारिएको व्यावहारिक तथा समावेशी ठाउँ दुवैका रूपमा कार्य गर्दछ ।
एक वास्तुविद्का रूपमा मलाई यो भवनको डिजाइन गर्नु रमाइलो र पूरा गर्ने चुनौती पनि थियो । यसले मेरो डिजाइन दर्शनलाई प्रदर्शन गर्ने एक अद्वितीय अवसर प्रदान गर्यो । वर्षौंको अनुभवका बाबजुद यो ‘ल्यान्डमार्क’ सिर्जना गर्दा मलाई नयाँ डिजाइन दृष्टिकोण अन्वेषण गर्न तथा आफ्नो विशेषज्ञतालाई अझ तरोताजा र रोमाञ्चक तरिकामार्फत लागू गर्न थप कौतूहल बनाएको थियो ।
(तुलाधर त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका एसोसियट प्रोफेसर हुन् ।)
तस्बिरहरुः कुमारसिंह विष्ट