Successfully Copied

चामल खाँदा मोटोपन बढ्छ ? जानौं खास कुरा

जब हामी टन्न खाएर आराम गर्छौ, इनर्जी खर्च गर्दैनौं । त्यतिबेला इनर्जी फ्याट भएर जम्मा हुन्छ र मोटोपन बढ्छ ।


मोटोपन रोगको मुख्य जड हो । मोटोपनकै कारण शरीरमा धेरै प्रकारको रोग लाग्ने सम्भावना बढ्छ । मुख्यतः स्वास्थ्यप्रति सचेत व्यक्तिहरू मोटोपन कम गर्न डाइट चार्ट फलो गर्छन् । कतिपयले दैनिक भोजनमा चामलको कटौती गर्छन् । के चामलको सेवनले मोटोपन बढ्छ ?

पोषणविद् वर्षा भट्टराईका अनुसार शरीरलाई चाहिने मात्रामा चामलको सेवन गर्दा मोटोपन बढ्दैन । उनी भन्छिन्, ‘चामलसँग हरियो सागपात, दाल सबै मिलाएर खाँदा तौल सन्तुलित राख्नमा सहयोग गर्छ ।’ शरीरमा चाहिले भन्दा बढी खाएमा मात्र तौल बढ्छ । टेवल वर्क गर्ने व्यक्तिको तुलनामा शारीरिक परिश्रम गर्नेहरूलाई बढी क्यालोरी चाहिने उनी बताउँछिन् ।


‘चामल कार्बोहाइड्रेटको प्रमुख स्रोत हो ।’ वर्षा भन्छिन्, ‘यसबाट इनर्जीमा परिणत हुन्छ । जब हामी टन्न खाएर आराम गर्छौ, इनर्जी खर्च गर्दैनौं । त्यतिबेला इनर्जी फ्याट भएर जम्मा हुन्छ र मोटोपन बढ्छ ।’ अर्को कुरा चिनीले मोटोपन बढ्छ भन्छौं भात पनी चिनी नै हो । भातको पाचन मुखबाटै सुरु हुन्छ । भातबाट ग्लुकोज बन्छ । ग्लाइसेमिक इन्डेक्स बढी हुने भएकाले धेरै खाँदा ब्लड सुगर बढ्न सक्ने उनको भनाइ छ ।

हार्वर्ड युनिभर्सिटीबाट गरिएको एक अध्ययनमा तीनदेखि चार छाक चामल खाँदा मधुमेह हुने तथ्य सार्वजनिक भएको छ । केही अध्ययनले चामलको सेवनले मोटोपन बढ्ने सम्भावना देखाएको छ तर सन्तुलित मात्रामा यसको सेवन गरे मोटोपन हुँदैन ।

चामल कस्तो खाद्य तत्व हो ?

चामल हाम्रो मुख्य आहार हो । हामीले मात्र होइन, सयभन्दा बढी देशका मानिसहरूले चामललाई मुख्य भोजनका रूपमा खाने गरेका छन् । चामलले तत्कालै ऊर्जा प्रदान गर्छ । यसमा फाइबर, प्रोटिन, भिटामिन बी १, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र म्याग्निजमजस्ता तत्व पाइन्छन् । सेतो चामलभन्दा खैरो चामल स्वास्थ्यका लागि बढी लाभदायक मानिन्छ । यसमा फाइबरको मात्रा बढी हुन्छ ।

शरीरमा कार्बोहाइड्रेटको भूमिका के हुन्छ ?

कार्बोहाइड्रेट शरीरको ऊर्जाको स्रोत हो । शरीरलाई चलायमान बनाउन शक्ति चाहिन्छ । शक्ति कार्बोहाइड्रेटबाट पाइन्छ । पोषणविद्हरूले मोटा व्यक्तिहरूलाई मात्र क्यालोरी कम गर्न भन्छन् वा कम क्यालोरी दिइन्छ । किनभने जब शरीरलाई ग्लुकोज वा फ्याटको आवश्यकता पर्छ त्यसबेला शरीरले जम्मा भएर बसेको फ्याटको प्रयोग गर्छ । तौल नियन्त्रण गर्दा कार्बोहाइड्रेटबाट क्यालोरी घटाएर फ्याट र प्रोटिनमा क्यालोरी बढाउनुपर्छ । कार्बोहाइड्रेटको तुलनामा फ्याटले बढी क्यालोरी दिन्छ । एक ग्राम फ्याटमा नौ क्यालोरी पाइन्छ भने एक ग्राम कार्बोहाइड्रेटमा चार क्यालोरी मात्र पाइन्छ ।  

कार्बोहाइड्रेट पूर्णरूपमा त्याग्दा के हुन्छ ?

कार्बोहाइड्रेट पूर्णरूपमा त्याग्नु हुँदैन । मस्तिष्क र शरीरलाई ऊर्जा दिन यसको सेवन आवश्यक हुन्छ । शरीरमा ऊर्जाको मुख्य स्रोतका रूपमा कार्बोहाइड्रेट हुँदैन त्यतिबेला अन्य पोषकतत्वमा निर्भर हुन्छ । शरीरमा लगातार यसको कमीले गम्भीर समस्या निम्त्याउन सक्छ । खानामा कार्बोहाइड्रेटको कमीले थकान, कमजोरी महसुस हुन्छ । यसको कमी हुँदा अल्छी लाग्ने, दिमागले राम्रोसँग काम नगर्ने हुन्छ ।

चामल कति खाने ?

चामल हरेक व्यक्तिको उमेर, तौलअनुसार खानुपर्छ । कुनै रोग लागेको छ वा उसको काम कस्तो प्रकारको छ सोहीअनुसार चामलको आवश्यकता पर्छ । एक वयस्कको कुल क्यालोरीमा लगभग ४५ देखि ६५ प्रतिशत कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ ।

 Image