प्रजनन् स्वास्थ्यबारे छलफल गर्दा महिलाहरूले आफ्ना केही समस्या अरुलाई भन्नै लाज मान्छन् । तर, उनीहरूलाई व्यथाले दैनिक जीवनमै अप्ठ्यारो पारेको हुन्छ । केही वर्षअघि ५० वर्षीया मेरी एकजना साथीले मलाई भनेकी थिइन्, ‘म अफिस बाहिर कतै एक दिन जाँदा पनि ब्यागमा लुगा हालेर जान्छु । त्यो नगरे त मलाई समस्या पर्छ ।’ ‘के समस्या हो ?’ भनेर सोध्दा उनले अप्ठ्यारो मान्दै भनिन्, ‘अरु कसैलाई भन्नै गाह्रो छ ।’
‘मलाई त हाच्छ्युँ गर्दा, धेरै हाँस्दा, लामो समय उभिरहँदा, खोक्दा अलि–अलि पिसाब चुहिन्छ । लुगा भिज्छ, आफैंलाई गन्हाउँछ, अनि लुगा फेर्नैपर्छ । त्यसैले मैले एक जोर लुगा बोक्नैपर्छ । यसरी धेरै पिसाब नचुहियोस् भनेर पानी पनि कम पिउँछु ।’
मैले भने, ‘यस्तो त धेरै महिलाहरूलाई हुन्छ ।’ तर महिलाको स्वास्थ्य विषयमा कुरा गर्दा यो प्रायः त्यति छलफल हुँदैन । महिलाहरू व्यथा बोकेर चुप लाग्छन् । सल्लाह लिने, उपचार गर्ने चलन छैन । ‘यो मलाई मात्र हो’ भनेर अस्पताल जाँदैनन् । तर सुरुकै अवस्थामा दैनिक व्यायाम गरे यो समस्या धेरै नियन्त्रणमा आउँछ । पिसाब चुहिन्छ भनेर पानी कम खानु त हानिकारक हुन्छ । यसले अन्य समस्या निम्तिने हुन्छ । पानी कम भए पिसाबको संक्रमण हुनसक्छ । यसरी संक्रमण भइरहे मिर्गौलामा पनि समस्या पर्न सक्छ । गर्भवती महिलालाई यो समस्या भए झनै जटिलता हुनसक्छ । पानी कम पिउँदा पिसाब चुहिने समस्याको समाधान हुँदैन, यो अरु रोगको कारणले हुन्छ ।
३४–४० वर्षको उमेरमा हाँस्दा र हाच्छ्युँ गर्दा वा कति महिलालाई महिनावारी सुकेपछि पिसाब चुहिने समस्या हुनसक्छ । कतिपयले केही गह्रौं सामान उचालेपछि पिसाब तुरुक्क चुहिने समस्या सुरु भएको भन्छन् । गाउँघरमा धेरै भारी बोक्ने, धेरै बच्चा जन्माएका महिलालाई यो समस्या हुनसक्छ । नियमित व्यायाम र शरीरलाई मोटो हुन नदिने हो भने यो समस्या कम हुन्छ ।
के हो पिसाब चुहिने समस्या ?
चिकित्सकीय भाषामा यसलाई ‘युरिनरी इन्कन्टिनेस’ वा ‘मूत्र असंयम’ भनिन्छ । महिलालाई यसले दैनिक जीवनमै अप्ठ्यारो गराउँछ । सामाजिक क्रियाकलापमा पनि सहभागी हुन वा खुलेर हाँस्न पनि गाह्रो हुन्छ । धेरै उमेर पुगेपछि पुरुषहरूलाई पनि यो समस्या फाट्टफुट्ट देखिन सक्छ । तर महिलालाई जति समस्या हुँदैन । महिलामा यस किसिमको समस्या हुनुको कारण पिसाब थैलीको मांसपेसी कमजोर वा खुकुलो हुनु हो । हाँस्दा, उफ्रिँदा, हाच्छ्युँ गर्दा, गह्रौं सामान उचाल्दा पेटको मांसपेसीमा बल परेपछि पिसाब थैलीमा जोड पर्दा पिसाब चुहिन्छ । यस्तो समस्या हुँदा छिटो–छिटो पिसाब गर्न जान मन लाग्ने तर शौचालय नपुग्दै पिसाब चुहिने गर्छ । अनि शरीर गन्हाएर गुप्ताङ्ग चिलाउँछ । घाउ
हुन्छ । यो समस्या कसैलाई भन्न पनि
गाह्रो हुन्छ ।
मूत्राशयमा, मूत्रनलीमा संक्रमण भए यो समस्या झन् बढ्छ । महिनावारी रोकिएपछि, धेरै मोटा, मधुमेह भएका महिलालाई पनि यस्तो समस्या हुनसक्छ । त्यसैले सुत्केरी भएपछि नै प्रजनन् अंगको मांसपेसी बलियो बनाउने व्यायाम गर्नुपर्छ । ‘किगल’ व्यायाम गर्न सिकेकी मेरी एउटी साथीको उक्त व्यायामबाट ८० प्रतिशत समस्या कम भएको थियो । यो व्यायाम ‘किगल’ नामका डाक्टरले पहिलोपटक सुरु गरेका थिए । यो व्यायाम एक/दुई दिन गरेर हुँदैन, यसलाई दैनिक जीवनको अङ्ग नै बनाउनुपर्छ ।
गर्भावस्थाको सुरुवातदेखि घरीघरी पिसाब लाग्ने हुन्छ भने गर्भावस्थाको अन्तिम महिनामा पनि मूत्राशयमा दबाब बढ्नाले बारम्बार पिसाब लाग्न थाल्छ । यस्तो अवस्थामा कतिपय गर्भवती महिलालाई खोकी लाग्दा पनि पिसाब चुहिन सक्छ । गर्भावस्थामा पेटको आकार बढ्छ र भित्री अङ्गहरूमा परिवर्तन हुन्छ ।
विशेषगरी गर्भावस्थाको तेस्रो त्रैमासिकमा यो समस्या बढ्छ । केही महिलाहरूलाई सुत्केरी भएपछि पनि पिसाब चुहिने समस्या हुनसक्छ । यो समस्या कम गर्न केही व्यायाम गर्नु आवश्यक हुन्छ । जसले गर्दा पुठ्ठाका मांसपेसीहरू बलियो हुनुका साथै यो समस्या बिस्तारै कम हुन्छ । खानामा रेसादार तत्व कम छ भने कब्जियत हुन्छ जसले गर्भावस्थामा पुठ्ठाका मांसपेसीहरूमा दबाब हुन्छ ।
स्वास्थ्यकर्मीको सल्लाह लिएर केही सामान्य योगासन र पुठ्ठाको मांसपेसीलाई बलियो बनाउने व्यायाम गर्न सकिन्छ । आहारमा रेसादारको मात्रा बढाउँदा कब्जियत कम हुन्छ, जसले गर्दा गर्भावस्थामा पुठ्ठाको मांसपेसीमा दबाब कम गर्छ । यसले पेटलाई राम्रो राख्छ र घरीघरी पिसाब लाग्ने समस्या पनि कम गर्न सक्छ । कोक, यान्टा आदि गुलिया पेय पदार्थ पिउँदा धेरै पिसाब र पिसाब चुहिने समस्या बढाउँछ । पानीको प्रयोगले गर्दा कब्जियत कम हुन्छ । शरीरमा पानीको कमी नहोस् भनेर पानीमा कागती, तुलसी हालेर पिउनुपर्छ ।
उपचार
किगल व्यायाम ः सुरुमा पिसाब गर्दा एकछिन रोकेर, सास फेरेर जननेन्द्रियका मांसपेसीहरू माथितिर ल्याउने प्रयास गर्नुपर्छ । यसो गर्दा मांसपेसीहरू खुम्चिन्छन् । यसरी १० सेकेन्डसम्म खुम्च्याएर फेरि पिसाब छोडिदिनुपर्छ । पहिले पिसाब गरिसकेपछि १० सेकेन्ड अड्याएर राख्न केही गाह्रो भए ५ सेकेन्डसम्म अड्याउन सकिन्छ । अनि बिस्तारै समय बढाउनुपर्छ । तर हरेक पटक पिसाब गर्दा ४–५ पटक गरेपछि पिसाब नफेरेको बेला पनि यो व्यायाम गर्दा बिस्तारै मांसपेसीहरू बलिया हुन्छन्् । यो व्यायाम बसिरहेको बेला, हिँड्दै सुत्केरी बेला गर्दा पनि गर्न सकिन्छ । पाठेघर झरेर पिसाब चुहिने महिलालाई पाठेघरको शल्यक्रिया गरेकालाई यो व्यायामले फाइदा गर्छ । किगल व्यायाम कुनै स्वास्थ्यकर्मीसँग सिकेर गर्न पनि सकिन्छ ।
योगासन ः यसका केही आसनहरू दैनिक प्रयोग गर्दा पनि समस्या केही कम गर्न सकिन्छ ? सर्वाङ्गासन, उष्ट्रासन, उत्कटासन, ताडासन आदिले मेरुदण्डमा पुठ्ठाको, जननेन्द्रियको मांसपेसीलाई बलियो बनाउँछ । ३०–४० वर्षका सुत्केरीले यस्ता योगासनहरू गरे ‘पिसाब चुहिने’ समस्या कम हुन सहयोग पुग्छ ।
सफाइ ः सुत्केरी अवस्थामा जननेन्द्रियमा संक्रमण नहोस् भन्ने महिलाले निम–तीतेपाती आदि पानीमा उमालेर जननेन्द्रिय धुनुपर्छ । विभिन्न किसिमको चिसो पेयपदार्थ, मोटो हुने चिनी आदि खानुहुन्न सकेसम्म प्रयोग एकैचोटि ठूलो बोझ बोक्नुहुँदैन । त्यसैले चार–चार घण्टामा पिसाब फेर्ने बानी गर्नुपर्छ । ४०–४५ वर्षको उमेरमा महिनावारी सुक्ने बेलामा महिलाको शरीरमा ‘एस्ट्रोजन’ नामक हर्मोनको कमीले पाठेघर र पिसाब थैलीका मांसपेसी पातलो हुने सम्भावना हुन्छ । अनि पिसाब चुहिने समस्या हुनसक्छ ।
जीवनशैली ः स्वस्थकर जीवनशैली, खानपान, अनुशासन आदिले यो समस्या केही कम गर्न सकिन्छ । यस्तो समस्या परेका महिलाहरूले पिसाब धेरै लाग्छ भनेर पानी, झोल पदार्थ पिउन कम गर्नुहुँदैन । धूम्रपान गर्ने महिलालाई बारम्बार खोकी लाग्ने भएकाले धूम्रपान त्यागेकै राम्रो हुन्छ । पिसाब चुहिने समस्या शारीरिक मात्र नभई सामाजिक समस्या पनि हो । यस्तो समस्या भएपछि समाजमा घुलमिल हुन अप्ठ्यारो हुन्छ । शरीर गन्हाएर अरुले पनि अपहेलना गर्न थाल्छन् । सामाजिक रूपमा अपहेलना हुन थालेपछि फेरि मानसिक समस्या पनि थपिन सक्छ । पुरुषहरूलाई पनि यो समस्या प्रोस्टेटको शल्यक्रियापछि हुनसक्छ ।
परामर्श ः पार्किनसन्स, मोटोपनको कारणले पनि यो समस्या हुनसक्छ । समयमै परामर्श नपाउँदा र उपचार नगर्दा यो समस्या बढ्न सक्छ । विश्वमा झन्डै २० प्रतिशत महिलालाई यो समस्या भएको तथ्यांक पाइन्छ । नेपालमा यसको खासै अनुसन्धान त गरिएको छैन तर प्रजनन उमेरका, पाठेघरको शल्यक्रिया गरेका, महिनावारी रोकिएका महिलालाई यो समस्या बढी हुनसक्छ । यो समस्या भएका महिलाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर किगल व्यायाम, योगासन सिक्नुपर्छ । तौल धेरै छ भने घटाउने, मधुमेहको समस्या भएकाले औषधि गरेर खानपिनमा ध्यान दिनुपर्छ । यो समस्यालाई बोझ नमानेर पिसाब चुहिने समस्या ‘रोग’ नमानेर व्यवस्थापन गर्न सकिन्छ ।