Successfully Copied

मासु कति फाइदाजनक ?

खानामा ४–५ पिस मासु सँगसँगै तरकारी, सलाद, दाल वा गेडागुडी पनि समावेश गर्नुपर्छ किनभने यिनमा फाइबर हुन्छ, जसले हामीले खाएको खानालाई पचाउनमद्दत पुर्‍याउँछन् ।


मासुको इतिहास विश्वमा फरक–फरक पाइन्छ । प्राचीन कालदेखि मानिसहरूले मासुलाई मुख्य खाद्य स्रोतका रूपमा प्रयोग गर्दै आएका छन् । प्रारम्भिक मानव सभ्यतामा शिकार गरेर मासु प्राप्त गर्नु मुख्य जीवनशैली थियो । प्राचीन कालमा मासुको महत्वपूर्ण स्थान थियो । मासुलाई विभिन्न किसिमका खाना र धार्मिक अनुष्ठानमा प्रयोग गरिन्थ्यो । ग्रिक र रोमन सभ्यतामा मासु विशेष अवसरका भोजमा प्रमुख परिकार थियो । मध्यकालमा धर्मका कारण मासुको उपभोगमा केही नियम थिए । औद्योगिक क्रान्तिसँगै मासु उत्पादनमा ठूलो परिवर्तन आयो, जसले मासुको उपलब्धता र मूल्यमा सुधार ल्यायो ।
आजको समयमा मासुको उत्पादन र उपभोगमा विविधता छ । प्राविधिक प्रगति, जनसंख्या वृद्धि र स्वास्थ्यसम्बन्धी चिन्ताले मासुको उत्पादन र प्रयोगमा परिवर्तन ल्याएको छ । नेपालमा पनि मासु एक महत्वपूर्ण खाद्य वस्तु हो, जसको इतिहास र सांस्कृतिक महत्व गहिरो छ । विभिन्न सांस्कृतिक पर्व र परम्परामा मासुको विशिष्ट भूमिका रहेको छ । जसले गर्दा यसलाई हाम्रो खानपानको अभिन्न भाग बनाएको छ । मासु एक स्वस्थ आहारको भाग हो । यसले प्रोटिन मात्र प्रदान गर्दैनअन्य महत्वपूर्ण पोषक तत्वहरू पनि उपलब्ध गराउँछ ।


मासुमा प्रोटिनका अतिरिक्त अन्य भिटामिन र खनिज पदार्थका साथै भिटामिन बी १२ र आइरन, जिंक अझ बढी मात्रामा पाइन्छ । यी पोषक तत्वले मांसपेशी मर्मत, रगतको कक्ष उत्पादन र समग्र स्वास्थ्यलाई समर्थन गर्छ । भिटामिन बी १२ प्रायः वनस्पतिमा आधारित खाद्यमा प्राकृतिक रूपमा पाइँदैन । यो विशेषगरी मासु, माछा र दूध उत्पादनमा पाइन्छ । वनस्पतिमा आधारित आहारमा यो भिटामिनको कमी हुनसक्छ । त्यसैले शाहाकारीहरूलाई यसको पूर्ति गर्न विशेष ध्यान दिनु आवश्यक छ ।
मासुको हड्डी र जोड्ने उतक (हड्डीलाई मांसपेशी वा अन्य हड्डीसँग जोड्ने संरचना) कोलाजन पाइन्छ जुन छाला, जोर्नी र हड्डीको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कोलाजनले हड्डीलाई बलियो बनाउँछ । जोर्नी र छालाको लचकता र मजबुतीमा योगदान पुर्‍याउँछ ।
पशु स्रोतबाट उच्च गुणस्तरका प्रोटिन मानिन्छन् । यस अर्थमा मासु, माछा, अण्डा, दूधजस्ता पशु स्रोतका प्रोटिनपूर्ण प्रोटिन हुन्छन् ।


रातो वा सेतो मासु ?
यो व्यक्तिगत आवश्यकता, पकाउने तरिका र समग्र आहार सन्तुलनमा निर्भर गर्छ । स्वास्थ्यमा मुख्य प्रभाव पर्ने कुरा रातो वा सेतो मासु होइन, समग्र आहार र संतृप्त वसा (फ्याट) सेवन हो । संतृप्त वसा सेवन गर्दा हामी सजग रहनुपर्छ । किनभने यसले हृदय रोगको जोखिम बढाउन सक्छ । रातो मासुमा सन्तृप्त वसाको उच्च मात्रा हुन्छ, जसले एलगडीएल (खराब) कोलेस्टेरोलको स्तर बढाउन सक्छ । सेतो मासु संतृप्त वसामा कम हुन्छ तर कोलेस्टेरोलको स्तरमा रातो मासुको तुलनामा महत्वपूर्ण लाभ प्रदान गर्दैन । जब दुवैको संतृप्त वसा सेवन समान हुन्छ । माछामा ओमेगा–३ चिल्लो पाइन्छ । जुन हाम्रो शरीरको फाइदाका लागि समावेश गर्न राम्रो हुन्छ ।
सामान्यतया स्वास्थ्यको दृष्टिकोणबाट भित्री अंगको मासुभन्दा मांसपेशी वा सामान्यतया हामी फल मासु भन्ने गर्छौं, यो राम्रो मानिन्छ । किनभने यो भागहरूमा चिल्लो, क्यालोरी र कोलेस्टेरोलको स्तर कम हुन्छ । यद्यपि, भित्री अंगको मासु पोषकतत्वले भरिपूर्ण भए पनि यसमा उच्च कोलेस्टेरोल र प्युरिन पनि हुन्छ । जसले गाउट र युरिक एसिडका समस्यालाई बढावा दिन्छ । त्यसैले सामान्यतया फलमासु स्वस्थ विकल्प मानिन्छ । जबकि अंगको मासु सन्तुलित तरिकामा प्रयोग गर्दा फाइदाजनक हुन सक्छ ।

कति मात्रामा खानुपर्छ ?
हामीले प्रत्येक दिन मासु खान सक्छौं तर मात्रा उचित र सन्तुलित हुनुपर्छ । दिनमा ८५ देखि ११५ ग्राम (४–५ पिससम्म) खान सकिन्छ । हामी भात र मासु बढी खान्छौं तर दाल–तरकारी कम खान्छौं । यो एकदमै असन्तुलित खाने तरिका हो । जसका कारण मोटोपना बढ्न सक्ने कोलेस्टेरोल वृद्धि हुन्छ । उच्च रक्तचाप, मधुमेह र अन्य जोखिमपूर्ण रोगहरू लाग्न सक्छन् ।
खाना विभिन्न खाद्य पदार्थको संयोजनबाट बनेको हुन्छ । यसले प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन र खनिजको आवश्यक मात्रा प्रदान गर्छ । खानामा एकैपटक धेरै अन्न र मासु पनि एकै पटक धेरै खानुहुँदैन । खानामा ४–५ पिस मासु सँगसँगै तरकारी, सलाद, दाल वा गेडागुडी पनि समावेश गर्नुपर्छ किनभने यिनमा फाइबर हुन्छ, जसले हामीले खाएको खानालाई पचाउनमद्दत पुर्‍याउँछन् ।
त्यसैले फलफूल, तरकारी, अन्न र कम वसायुक्त प्रोटिन स्रोत समावेश गरी सन्तुलित आहार लिनु आफ्नो शरीर स्वास्थ्य राख्ने उत्तम तरिका हो । त्यसैगरी, मासु खरिद गर्दा त्यसको सुरक्षा र गुणस्तरलाई ध्यान राख्न महत्वपूर्ण छ । हामीले स्वास्थ्य र गुणस्तरसम्बन्धी मानक पूरा गरेका विश्वसनीय र स्वच्छ ठाउँबाट मात्र मासु किन्नुपर्छ । मासु राम्रोसँग भण्डारण गरिएको हुनुपर्छ । उचित तापक्रम कायम राखिएको हुनुपर्छ । यो ताजा, स्वस्थ रंगको र कुनै अप्रिय गन्धविनाको हुनुपर्छ ।


मासुसँग के खाने ?
मासुमा आइरनको मात्रा हुन्छ । मासुसँगै दूध, दही बढी मात्रामा खाएमा शरीरमा आइरनको अवशोषण कम हुन सक्छ । त्यसैले, क्याल्सियम भएको खाना मासुसँग खानु हुँदैन । खाए पनि कम खानुपर्छ । मासुसँग साग एवं अन्य तरकारी पनि खानुपर्छ । यसले फाइबर दिनुका साथै भिटामिन सी प्रदान गर्छ । यसले शरीरलाई आइरन अवशोषणमामद्दत गर्छ । मासु केसँग खाने वा केसँग नखाने भन्दा पनि कति खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ । 

 Image