उच्च रक्तचाप अर्थात् हाई ब्लडप्रेसर मुटुसँग सम्बन्धित रोग हो । यो रोगले हिजोआज प्रशस्त चर्चा पाएको छ । ब्लडप्रेसरले हानेर युवावस्थामै मानिसको मृत्यु भएको समाचार बेलाबखत सुन्न पाइन्छ । ब्लडप्रेसरले असर गरेको खण्डमा पक्षघात, अन्धोपन, ह्दयघात, मिर्गौला फेल आदि हुन सक्छ भन्ने कुराको पनि धेरै चर्चा भैसकेको छ । संसारभर ३० वर्ष कटेका ३० प्रतिशतभन्दा बढी मानिस ब्लडप्रेसर बढ्ने रोगबाट पीडित छन् । नेपालका गाउँघरमा १८ वर्ष कटेका २० प्रतिशत जनता यो रोगबाट पीडित छन् । सहर–बजारको कुरा गर्ने हो भने १८ वर्ष कटेका २५ देखि ३० प्रतिशतलाई ब्लडप्रेसर बढ्ने रोग छ ।
उच्च रक्तचाप यो युगकै ठूलो स्वास्थ्य समस्या हो । औद्योगिकीकरण, सहरीकरण एवं सामाजिक आर्थिक विकासको गतिका साथ यो रोग पनि बढ्दै गएको छ । धेरैजसो अवस्थामा यो रोग आधुनिक सभ्यताद्वारा सिर्जित मानसिक तनाव एवं जीवनशैलीमा आएको परिवर्तनको नतिजा हो । यो रोगले कुनै पनि लक्षण नदेखाई शरीरका प्रमुख अङ्गहरू जस्तै मुटु, मिर्गौला, मस्तिष्क, आँखा आदिलाई एकै पल्ट झड्का दिएर क्षतिग्रस्त तुल्याउँदै मानिसलाई मृत्युको मुखमा पुर्याउँछ । थाहै नदिई, कुनै पनि लक्षण नदेखाई मृत्युको मुखमा पुर्याउने भएको हुनाले उच्च रक्तचापलाई सुषुप्त हत्यारा अर्थात् साइलेन्ट किलर (थाहै नदिई मार्ने रोग) को संज्ञा दिइएको हो ।
मुटु शरीरको महत्वपूर्ण अङ्ग हो । यो नियमित रूपले खुम्चन्छ र फुक्छ । यो प्रक्रियालाई हामी मुटुको धड्कन भन्छौं । शरीरमा रक्त सञ्चारका लागि मुटुले पम्पको काम गर्छ । मुटु खुम्चने र फुक्ने क्रममा रक्तनलीहरूमा उत्पन्न हुने चापलाई ‘रक्तचाप’ अर्थात् ‘ब्लडप्रेसर’ भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२०–८० वा त्यसभन्दा कम हुनुपर्छ । रक्तचाप बढी भए रक्तनलीहरू बढी तन्किएर फुट्न सक्छन् । दिमागभित्रको रक्तनली फुटे पक्षघात हुन्छ, मुटुको रक्तनली फुटे ह्दयाघात हुन्छ, आँखाको रक्तनली फुटे अन्धोपन र मिर्गौलाको रक्तनली फुटे मिर्गौला फेल हुन्छ । उच्च रक्तचाप भएकाहरूले विशेष गरी मानसिक तनाव भएका बेला, धेरै खुसी वा दुु:खी भएका बेला, धेरै शारीरिक श्रम गरेका बेला, धेरै रक्सी वा चुरोट पिएको बेला, धेरै चिसो हावामा हिँडेको बेला एकाएक रक्तचाप बढेर माथि उल्लेख गरिएको खतरनाक अवस्था उत्पन्न हुनसक्छ जसबाट मानिसको मृत्यु हुन्छ ।
ब्लडप्रेसरले महिला र पुरुषमा भेदभाव गर्दैन । दुवैलाई यसले आफ्नो प्रभावमा पार्छ तर महिलाहरूमा हुने उच्चरक्तचाप तथा मुटुका रोगहरू पुरुषहरूमा भन्दा केही भिन्न हुने विशेषज्ञहरू बताउँछन् । यो विषयमा सबैले, अझ विशेष गरी महिलाहरूले थाहा पाउनु जरुरी छ ।
धेरैजसो महिला स्तन तथा पाठेघरको क्यान्सरबाट तर्सने र बढी सचेत भएको पाइन्छ । मुटु रोगका सम्बन्धमा महिलाहरू त्यति सचेत देखिँदैनन् । वास्तवमा भन्ने हो भने महिलाहरूमा क्यान्सर भन्दा मुटु रोगको समस्या बढी छ । जति महिलाको मुत्यु स्तन र पाठेघरको क्यान्सरबाट हुन्छ त्यो भन्दा १० गुना बढी महिलाको मृत्यु मुटु रोगबाट भएको पाइन्छ । महिनावारी (मासिक रक्तस्राव) नरोकिँदासम्म अर्थात् करिब ५०–५५ वर्षको उमेरसम्म महिलाहरूको शरीरमा पर्याप्त मात्रामा एस्ट्रोजेन नामक रासायनिक तत्व (हार्मोन) हुन्छ । यो रसायनले जवान महिलाहरूलाई ह्दयाघातबाट जोगाउँछ । महिनावारी रोकिएपछि महिलाहरूको शरीरमा एस्ट्रोजेन हार्मोनको मात्रा धेरै घट्छ जसका कारण महिला एवं पुरुषलाई ह्दयघात हुने सम्भावना बराबर हुन्छ । महिनावारी रोकिएपछि महिलाहरूमा मुटुसँग सम्बन्धित उच्च रक्तचाप, ह्दयघात, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन आदि थुप्रै स्वास्थ्य समस्या देखिन थाल्छ । ५५ वर्षभन्दा माथिका धेरै महिलालाई उच्च रक्तचाप भएको देखिन्छ । यो उमेरका महिलाहरूको शरीरको तौल बढी छ, धूम्रपान गर्ने बानी छ, शारीरिक निस्क्रियता छ भने उच्चरक्तचाप हुने र त्यसका खतरनाक नतिजाहरू देखिने सम्भावना बढी हुन्छ । अनुसन्धानबाट प्रमाणित भैसकेको छ कि पुरुषहरूमा भन्दा महिलाहरूमा मुटु रोगको आक्रमण कडा हुन्छ र यसबाट मृत्यु हुने सम्भावना पनि पुरुषमा भन्दा महिलामा बढी हुन्छ ।
महिला गर्भवती भएको अवस्थामा मुटु र रक्तसंचालनमा विभिन्न परिवर्तन देखा पर्छन् । ती परिवर्तन गर्भधारण गरेको ५ देखि ८ हप्तामा सुरु हुन्छ, २४ हप्तासम्ममा ती परिवर्तनको असर अत्यधिक हुन्छ र बच्चा जन्मिएपछिको १ महिनासम्म कायम रहन्छ । गर्भवती महिलाहरूमा रक्तसंचालनको गति, मुटुको ध्डकन एवं रगतको मात्रा बढ्छ तर रक्तकणहरूको मात्रा भने घट्छ । पहिलो ३ महिनामा रक्तचाप घट्न थाल्छ, ४–५ महिनासम्ममा न्यून रहन्छ त्यसपछि फेरि रक्तचाप बढ्दै गएर ९ महिनासम्ममा पुरानै स्थितिमा फर्कन्छ । गर्भवती महिलाको रक्तचाप आवश्यकभन्दा बढी देखियो भने त्यसलाई असामान्य मानिन्छ । कतिपय स्वस्थ महिलामा गर्भधारणकै कारण रक्तचाप बढ्ने समस्या देखिन्छ । यस्ता महिलाहरूमा गर्भधारण गरेपछि, गर्भावस्थाभरि, शिशु जन्माउने बेलामा र शिशु जन्माएको केही दिनसम्म रक्तचाप बढ्छ तर पिसाबमा प्रोटिन देखिँदैन र शरीर सुन्निँदैन । यस्तो उच्च रक्तचाप शिशु जन्माएको १०–१५ दिनभित्र ठीक हुन्छ ।
उच्च रक्तचापद्वारा पीडित महिलाहरूले गर्भधारण गरे पर्याप्त होस पुर्याउनुपर्ने हुन्छ किनभने गर्भावस्थामा रक्तचाप धेरै बढ्यो, पिसाबमा प्रोटिन देखा पर्यो र शरीर सुन्नियो भने छारे रोगमा जस्तै महिलाको सम्पूर्ण शरीर बटारिने र बेहोस हुने स्थिति आउँछ । यस्तो अवस्थामा गर्भवती महिला, गर्भस्थ शिशु वा दुवैको मृत्यु हुन सक्छ । यो अत्यन्तै खतरनाक अवस्था हो । त्यसैले उच्चरक्तचापद्वारा पीडित महिलाहरूले गर्भधारण अघि र पछि निम्न कुरामा ध्यान पुर्याउनु आवश्यक हुन्छ ।
–उच्चरक्तचाप र गर्भधारण दुवैले मुटु र मिर्गौलालाई असर पार्ने हुनाले उच्च रक्तचापद्वारा पीडित महिलाहरूले मुटु र मिर्गौलाको स्थिति कस्तो छ जँचाएर यदि ठीक छ भने मात्र गर्भधारण गर्नु उचित हुन्छ । यदि ठीक छैन भने ती अंगहरूको उपचार गराई सुरक्षित अवस्थामा आएपछि मात्र गर्भधारण गर्नुपर्छ । यदि उपचारपछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार आएन भने गर्भधारण गर्नु हुँदैन ।
–उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि सेवन गरिरहेका महिलाहरूले गर्भधारण गर्नेबित्तिकै आफूले खाइरहेको औषधि गर्भका लागि सुरक्षित छ कि छैन चिकित्सकसँग बुझ्नुपर्छ । गर्भको पहिलो ३ महिना कुनै पनि औषधि सेवन गर्नु हुँदैन किनभने औषधिले भू्रणको अङ्ग निर्माणमा नकारात्मक असर पारी विकृत शिशु जन्मिन सक्छ । यो अवधिमा औषधि नखाई रक्तचाप घटाउने उपायहरू जस्तै: नुन कम खाने एवं सागसब्जी तथा फलफूल बढी खाने एवं हलुका व्यायाम गर्ने आदि विधि अपनाउनु उचित हुन्छ । त्यति गर्दा पनि रक्तचाप बढिरह्यो भने चिकित्सकको सिफारिसमा औषधि सेवन गर्नुपर्छ ।
गर्भावस्थामा उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि प्रयोग गर्दा ती औषधि गर्भका लागि सुरक्षित छन् कि छैनन् बुझेर मात्र प्रयोग गर्नुपर्छ ।
–उच्च रक्तचापद्वारा पीडित महिलाले गर्भवती भएपछि कम्तीमा महिनामा एकपटक रक्तचाप जँचाउनुपर्छ ।
–उच्च रक्तचापद्वारा पीडित गर्भवती महिलाको शरीर सुन्नियो, पिसाब कम भयो, आँखा धमिलो देखियो भने तुरुन्त जँचाउनुपर्छ । यो अत्यन्त खतरनाक अवस्था हो ।
उच्च रक्तचाप भयो भन्दैमा आत्तिनु पर्दैन । यो सजिलै नियन्त्रण गर्न सकिने समस्या हो । यसको उपचार ठीक तरिकाले गरियो भने कुनै खतरा हुँदैन । उच्चरक्तचापका कतिपय रोगी बानी पर्छ, साइड इफेक्ट हुन्छ, मिर्गौला बिग्रन्छ भनेर औषधि सेवन गर्न मान्दैनन् । कतिपयले औषधि सेवन गरिहाले भने पनि रक्तचाप नियन्त्रणमा आएपछि औषधि सेवन बन्द गर्छन् । फलस्वरूप कसैलाई ह्दयघात हुन्छ त कसैलाई पक्षघात, कसैलाई किड्नी फेल त कसैलाई अन्धोपन हुन्छ । यी सबै लापरबाहीका नतिजा हुन् । नुन कम खाएर, व्यायाम गरेर, लौका वा घिउकुमारीको रस पिएर, योग–प्राणायाम गरेर मात्र उच्च रक्तचाप नियन्त्रणमा नआउन सक्छ । त्यस्तो अवस्थामा औषधिको सेवन अत्यावश्यक हुन्छ । उपचारबाट उच्चरक्तचाप नियन्त्रणमा आउँछ तर निर्मूल भने हुँदैन । यसको उपचार जीवनभर गर्नुपर्छ । नियमित औषधि सेवन तथा स्वस्थ जीवन शैली उच्चरक्तचापका कारण हुन सक्ने सम्भावित मुत्युबाट बच्न तथा सुखी जीवनका लागि हो भन्ने तथ्य सबैले बुझ्नु जरुरी छ ।
(लेखक राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालमा कार्डीयोलाजी युनिट–२ का प्रमुख तथा नेपाल ह्दय रोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)