Successfully Copied

सरोगेसीले मान्यता पाउनुपर्छ

टेस्टट्युब बेबी भनेको आमाको डिम्ब र बाबुको शुक्रकीट लिएर निषेचन (फर्टीलाइज) पछि त्यो डिम्बलाई महिलाको पाठेघरमा राखेर प्राकृतिक तरिकाले नै बच्चा जन्मिने गर्छ । जसलाई इनभिट्रो फर्टिलाइजेसन भनिन्छ ।

डा. भोला रिजाल
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ, ह्याम्स हस्पिटल, धुम्बाराही


टेस्टट्युब बेबीको सुरुवात
एमएबीबीएस सकेसँगै कामको सिलसिलामा नेपालका धेरै जिल्लामा काम गरे । निःसन्तान महिलाहरूको अवस्था दर्दनाक देखे । उनीहरू समाजले गरेको दुव्र्यवहार र मानसिक अवस्थाको सिकार भइरहेका थिए । बिएन चक्रवर्ती जो भारतको पहिलो आइभीएफ सेन्टरका सञ्चालक थिए । उनीसँग काम गरेसँगै उपचार विधिबारे अध्ययन–अनुसन्धान गर्न पाए । नेपालमा आइभीएफ कहिले र कसरी सुरु गर्ने सोहीे विषयमा अध्ययन हुन थाल्यो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको २०५८ आइभीएफ सेन्टरसहितको सेन्टर फर सब फर्टिलिटी सुरु भयो । आगराका मलहोत्रा ब्रदर्श जयदीप र महेन्द्र मल्होत्रा बम्बईका सुरेश कामतलाई हामीले विज्ञका रूपमा नेपाल भित्र्यायौं । २०५९ सालमा सुरुवात गर्यौ । २०६० साल जेठ १२ महिनामा पहिलो बच्चा ओममणि तामाङको जन्म भयो । जेठ १२ गते डाक्टर सुशील कोइरालाका जुम्ल्याहा बच्चाको जन्म भयो । यसले अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सफल भयौं । यो भनेको विश्वमा टेस्टट्युबबेबी जन्मेको २७ वर्षपछिको उपलब्धि थियो ।


सामाजिक चेतना
सुरुवातमाआइभीएफ प्रविधिबाट बच्चा जन्मिन्छ भन्ने बुझाउन गाह्रो भयो । कृत्रिम गर्भधारण तथा टेस्टट्युबबाट बच्चा जन्मने भनेर भ्रम फैलाइयो । तर टेस्टट्युब बेबी भनेको आमाको डिम्ब र बाबुको शुक्रकीट लिएर निषेचन (फर्टीलाइज) पछि त्यो डिम्बलाई महिलाको पाठेघरमा राखेर प्राकृतिक तरिकाले नै बच्चा जन्मिने गर्छ । जसलाई इनभिट्रो फर्टिलाइजेसन भनिन्छ । कृत्रिम हो, कसरी यसको सुरुवात गरियो, किन अनुमति मागिएन भनेर आलोचना भयो । स्त्रीरोग विशेषज्ञ भएर जानेको कुरा र कुनै पनि दम्पतीले निःसन्तानको पीडा भोग्नु नपरोस् भनेर हामीले प्रयोगमा ल्याएका थियौं । नौलो कुरा नभए पनि समाजदेखि सरकारले बुझ्न धेरै समय लाग्यो ।

उपलब्धि
नेपालमा सबैलाई बच्चा चाहिने तर टेस्टट्युब बेबीबाहेक अरू कुनै पनि विधिले बच्चा हुन नसक्ने अवस्था थियो । पैसा खर्च गरी बाहिर उपचार गर्न जान नसक्ने दम्पतीका लागि यो सेवाले सहज बनाएको छ । निःसन्तान हुनु भगवान्को श्राप हो भन्ने मान्यता हट्दै गएको छ । यो उपचारका लागि सहरदेखि दुर्गम क्षेत्रबाटआउने दम्पतीको संख्या बढ्दै गएको छ । पहिले सन्तान नहुँदा महिलामा मात्र समस्या देखाइन्थ्यो तर पुरुषमा पनि समस्या हुँदो रहेछ भन्ने कुरा थाहा भएको छ । अहिले पनि अस्पतालमा ८० प्रतिशत निःसन्तानका समस्या लिएर आउँछन् । मेरो कार्यकालमा ओम अस्पतालमा आएभीएफमार्फत १ हजारको संख्यामा बच्चा जन्मिए । पछिल्लो समय नेपालको तथ्यांकलाई हेर्दा १२ हजार जति आइभीएफ बच्चा जन्मिसकेका छन् ।


अबको पाटो
बच्चा प्राप्त गर्ने सबै ढोका बन्द भएको अवस्थामा सरोगेसी आवश्यक छ । आमाको डिम्ब र बाबुको वीर्य छ भने त्यसलाई अरुको कोखमा जन्माएर सन्तान सुखको अवसर दिनुपर्छ । डोनेसन र डोनरका लागि सरकारले नियम बनाउनुपर्छ । बाहिरको कम्पनी आउन रोक्नुपर्छ । समाजले अझै पनि स्वीकार गर्न सकेको छैन । यसमा हामीले छलफल पनि गरिरहेका छौं । यसको सुरुवात हुन सके कुनै पनि दम्पतीले निःसन्तानको पीडा भोग्नुपर्ने छैन ।

(वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिजालसँग प्रकृति दाहालले गरेको कुराकानीमा आधरित)

 Image