Successfully Copied

अस्टियोपोरोसिसको समस्या

२० अक्टोबरलाई विश्वका करिब नब्बे देशले अस्टियोपोरोसिस दिवसका रूपमा मनाउँछन् । अस्टियोपोरोसिस (सन्धिभंग) रोगको प्रबलता तथा भयावहता देखेर नै

२० अक्टोबरलाई विश्वका करिब नब्बे देशले अस्टियोपोरोसिस दिवसका रूपमा मनाउँछन् । अस्टियोपोरोसिस (सन्धिभंग) रोगको प्रबलता तथा भयावहता देखेर नै यसको उपचार, सुरक्षा एवं जनचेतना बढाउन सन् १९९९ देखि उक्त दिनलाई अस्टियोपोरोसिस दिवसका रूपमा मनाउन थालिएको हो ।

अस्टियोपोरोसिस हाडको एउटा गम्भीर समस्या हो । यो रोगमा हाडको घनत्व कम हुँदै जान्छ । फलस्वरूप हाडहरू कमजोर हुँदै जाँदा शरीरले साधारण काम पनि गर्न सक्दैन । शरीरको हाड फोस्रो हुने भएकाले भाँच्चिने खतरा बढ्छ । पुरूष र महिला दुवैमा यो रोग लाग्न सक्छ, तर महिलाहरूमा मासिक धर्म बन्द भैसकेपछि यो समस्या बढी देखापरिरहेको छ । टाइप वान प्रकारको अस्टियोपोरोसिस महिलाहरूमा मासिक धर्म बन्द भएपछि हुन्छ भने टाइप टु सत्तरी वर्षपछि हुने क्याल्सियमको कमी, सही खानपान एवं व्यायामको अभावमा महिला र पुरुष दुवैमा हुनसक्छ । मेनोपजपछि महिलाहरूको शरीरले एस्टोजेन नामक रसायन बनाउन सक्दैन । त्यसैले महिलाहरूमा यो रोग बढी देखा पर्छ । यो रोगले अति गम्भीर रूप धारण गरेपछि मेरुदण्डमा असर पर्छ । त्यसपछि रोगीको जीवन अत्यन्त कष्टकर हुँदै जान्छ । सानो चोटपटक लागे पनि हाड भाँच्चिन्छ र हाड कमजोर भएका कारण ठीक हुने सम्भावना अत्यन्त कम हुन्छ । त्यसैले यो रोगलाई साधारण सम्झेर उपेक्षा गर्नु हानिकारक सिद्ध हुनसक्छ ।

रोगको कारण

यो रोगको सबैभन्दा कठिन पक्ष यसको पहिचान हो किनभने यो रोगका कारण शरीरमा कुनै प्रत्यक्ष लक्षण बिरलै देखा पर्छ । चिकित्सकहरूले यसलाई मौन रोगको संज्ञा दिएका छन् । प्रारम्भिक अवस्थामा यसका लक्षण देखा पर्दैनन् ।  

-    जुन महिलाको रजोनिवृति ४५ वर्षभन्दा अगाडि हुन्छ, उनीहरूमा यसको खतरा उच्च हुन्छ ।

-    जुन महिलाको पाठेघर र अण्डाशय अप्रेसनद्वारा निकालिएको हुन्छ, उनीहरूमा शरीरबाट एस्टोजेन नामक हार्मोन निस्कने प्रक्रिया बन्द हुन्छ । एस्टोजेनको कार्य हाडलाई बलियो बनाउनु तथा हाडको लचकता कायम राख्नु हो । यो प्रक्रिया बन्द भैसकेपछि महिलाहरूमा अस्टियोपोरोसिसको खतरा उच्च हुन्छ ।

-    परिवारमा आमाबुबा वा अन्य कुनै आफन्तलाई यो रोग भए बढी जोखिम हुन्छ ।

-    भोजनमा क्याल्सियम, भिटामिन डी तथा प्रोटिनको कमीबाट यो रोग लाग्ने सम्भावना वृद्धि हुन्छ ।

-    धेरै दुब्ला-पातला  महिलामा पनि यो रोगको सम्भावना बढी हुन्छ ।

-    धूम्रपान, मद्यपान तथा कफीको बढी सेवनबाट पनि अस्टियोपोरोसिसको खतरा बढ्दै जान्छ ।

-    व्यायामको आभावले पनि  अस्टियोपोरोसिस हुनसक्छ ।

-    हार्मोनसम्बन्धी रोग तथा थाइराइड भए वा किड्नी बिग्रिए यो रोगको सम्भावना उच्च हुन्छ ।

लक्षण

शरीरको कुनै ठाउँको हाड भाँच्चिएपछि मात्र अस्टियोपोरोसिसको पहिचान हुन्छ । अचानक हाडहरूको सन्धिस्थलमा हुने तीव्र पीडा वा सुइलेजस्तै घोच्ने पीडामा हामी त्यति ध्यान दिँदैनौ तर ती अस्टियोपोरोसिसका लक्षण  हुन सक्छन् । सबैभन्दा बढी खतरा हातको जोर्नी भाँच्चिने, कम्मर र खुट्टाको सन्धिस्थल भाँच्चिने तथा रिढका हाडहरू भाँच्चिने हुन्छ । कसैकसैमा ढाडको पीडा भित्रभित्रै विकसित भैरहेको हुन्छ । रोगीले त्यसलाई साधारण पीडा सम्झेर उपेक्षा गर्छन् तर मेरुदण्डको हाड बिस्तारै बाङ्गो भएर विकृत हुँदै जान्छ । रोगीको आकार खुम्चिदै जान्छ । रोगी कहिल्यै ठाडो भएर हिँड्न सक्दैन । कसैकसैलाई नसामा सधैं हाडको दबाब परिरहेका कारण पक्षाघात हुनसक्छ । असहनीय स्थिति आइसकेपछि मात्र साधारण व्यक्ति सचेत हुन्छन् तर उपचार हुन नसक्ने अवस्थामा पुगिसकेपछि केही गर्न सकिँदैन । त्यसैले महिलाहरूले यो विषयमा बढी सचेत एवं जागरुक हुनु आवश्यक छ किनभने यो रोग महिलाहरूमा बढी पाइन्छ ।

सुरक्षाको उपाय

सक्रिय जीवनशैली अपनाए अस्टियोपोरोसिसको जोखिमलाई रोक्न सकिन्छ । सकारात्मक रूपमा सक्रिय भए जुनसुकै रोगविरुद्ध लड्न सकिन्छ र आफूलाई आजीवन स्वस्थ राख्न सम्भव हुन्छ । नियमित भोजनमा क्याल्सियम, भिटामिन डी एवं प्रोटिन समावेश गर्नुपर्छ । प्रतिदिन बिहानको सूर्यको ताप दस मिनेट लिए शरीरका लागि आवश्यक भिटामिन डी प्राप्त हुन्छ । चिकित्सकहरूको सिफारिसअनुसार महिलाहरूले क्याल्सियम १४ वर्षसम्म १२ सय मिलिग्राम, २५ देखि ४५ वर्षसम्म १ हजार मिलिग्राम तथा ४५ वर्षपछि १५ सय मिलिग्राम दैनिक खानुपर्छ । क्याल्सियमको सहज उपलब्ध स्रोत दूध हो भने दही, पनीर, सिमी, बन्दा, काउली एवं मुलाबाट पनि पर्याप्त क्याल्सियम प्राप्त हुन्छ ।

कफीको बढी सेवन यो रोगका लागि घातक हुनसक्छ । आजभोलि प्रत्येक पाँचमध्ये तीन महिला हाड, खुट्टा एवं कम्मर दुख्ने गुनासो गरिरहेका हुन्छन् । पीडा सहेर काम गर्नु बहादुरीको लक्षण होइन । महिलाहरूमा एउटा लक्षण अति प्रबल हुन्छ, त्यो हो आफूलाई उपेक्षित एवं परिवारका अन्य सदस्यको तुलनामा आफूलाई महत्वहीन बुझ्नु । यो घातक मानसिकता हो । आज पनि हाम्रो समाजमा महिलाहरू आन्तरिक व्यवस्थाका आधार स्तम्भ हुन् । हाम्रो समाजमा श्रीमान् रोगी भए महिला कुनै न कुनै रूपमा सेवाका लागि उपलब्ध हुन्छन् तर महिला रोगी भए उनको अवस्था दयनीय हुन्छ । यस्तो अवस्थामा महिलाहरूले आफ्नो ध्यान आफैले जति राम्रोसँग राख्नसक्छन् त्यति अरूले राख्न सक्दैनन् । नेपालमा महिलाहरूमा अस्टियोपोरोसिसको समस्या गम्भीर बन्दैछ । टिचिङ अस्पतालले गरेको एक सर्वेक्षणअनुसार नेपालमा ५० वर्षभन्दा बढी उमेरका २० प्रतिशत महिलामा यो रोग देखा परेको छ । रजोनिवृत्तिपछि महिलामा यो रोगको जोखिम ६४ दशमलव ५ प्रतिशतका दरले बढ्ने कुरा सर्वेक्षणले देखाएको छ । रोग लागिसकेपछि नियमित रूपमा औषधि सेवन गरे यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ । चिकित्सकहरूको सल्लाहअनुसार औषधिको प्रयोगबाट पीडारहित, फ्याक्चररहित स्वस्थ बुढेसकाल व्यतीत गर्न सकिन्छ । सबैले बुझ्नुपर्ने कुरा के हो भने-शरीर स्वास्थ रहनु आफैंलाई अनमोल उपहार दिनु हो ।

बालबालिकामा मोटोपन भए हड्डी खराब

धेरैजसो आमाबुबा आफ्ना बालबालिकालाई मोटो बनाउन चाहन्छन् तर बालबालिका आवश्यकता भन्दा मोटा भए हड्डी खराब हुनसक्छ । फलस्वरूप स्कुल जाने बेलासम्ममै आर्थराइटिस तथा अस्टियोपोरोसिसजस्ता समस्या देखा पर्न सक्छन् । धेरै मोटो हुँदा अतिरिक्त बोसो सुरुमा कम्मर तथा खुट्टाको माथिल्लो भागमा जम्छ । त्यसपछि बोसो कलेजो, मांसपेशीको हड्डी एवं हड्डीमा पनि जम्छ । त्यसले गर्दा कोशिकाको विकास राम्रोसँग हुन पाउँदैन । परिणामस्वरूप हड्डी अविकसित तथा कमजोर हुन्छ । हड्डी कमजोर भए हल्का चोट लाग्नासाथ फ्राक्चर हुने सम्भावना बढ्छ ।

मोटोपन बढ्नुमा जंकफुड, फास्टफुड तथा तारेका खानेकुराले भूमिका खेल्छन् किनभने त्यसबाट शरीरमा बोसो बन्छ । त्यसले गर्दा शरीर तथा हड्डीका लागि आवश्यक खनिजको कमी हुन्छ । हड्डीमा पनि खनिज पदार्थको घनत्व कम हुन्छ र हड्डी कमजोर हुन्छ । बालरोग विशेषज्ञ डा. दीपेश्वरा नेपालका अनुसार हड्डीको समुचित विकासका लागि क्याल्सियमको सही मात्रा आवश्यक हुन्छ । त्यसैले बालबालिकालाई क्याल्सियमयुक्त खाना दिनुपर्छ । भिटामिन डीको कमी हुन दिनुहुँदैन ।

बालबालिकालाई बारम्बार हड्डीमा पीडा भए उपचार गराउनुपर्छ । यसैगरी क्याल्सियम, प्रोटिन, भिटामिन तथा मिनरलयुक्त खानेकुराहरू ख्वाउनुपर्छ । दूध तथा दूधबाट बनेका खानेकुराले क्याल्सियमको आवश्यक मात्रा पूरा गर्छन् । हरियो सागपात, सलाद, फलफूल, दाल, माछा आदि क्याल्सियमका राम्रा स्रोत हुन् ।

स्याउले हटाउँछ मस्तिष्कको कमजोरी

स्याउ मस्तिष्कको कमजोरी हटाउने राम्रो औषधि हो । मस्तिष्कका रोगीले दिनमा एउटा स्याउ खानुपर्छ । त्यसका अतिरिक्त बिरामीले दिउँसो तथा रातको भोजनमा काँचो आँपको सब्जी खानुपर्छ । साँझ एक गिलास स्याउको जुस तथा राति सुत्दा एउटा पाकेको स्याउ खानुपर्छ । यसले एक महिनामै बिरामीको स्थितिमा सुधार आउँछ । आँखा कमजोर भएकाले दिनमा स्याउको एउटा पुल्टिस केही दिन आँखामा बाँध्नुपर्छ । खानाका साथमा नियमित रूपमा ताजा मख्खन तथा स्याउ खानुपर्छ । यसले आँखाको ज्योति तेज बनाउनुका साथै पिसाब पनि खुल्छ र अनुहारमा चमक आउँछ । स्याउमा भिटामिन ए, ओ, सी, क्याल्सियम, पोटासियम तथा फाइबरको मात्रा प्रशस्त हुन्छ । यही पोषक तत्वले नै शरीरलाई फाइदा पुर्‍याउँछ । रातो स्याउमा अन्य रंगको स्याउमा भन्दा बढी मात्रामा एन्टीअक्सिडेन्ट हुन्छ फलस्वरूप स्याउले क्यान्सर, मधुमेह, मुटुरोग तथा अल्जाइमरजस्ता बिरामीमा फाइदा पुर्‍याउँछ ।

बदाम खाने मौसम

जाडो महिनामा घाम ताप्दै बदाम खानुको मज्जा बेग्लै हुन्छ । बदाममा सबै किसिमको पौष्टिक तत्व पाइन्छ । यद्यपि बदामको सेवनबाट हुने फाइदाका सम्बन्धमा भने कतिपयलाई जानकारी छैन । बदामबाट मानिसले पर्याप्त पौष्टिक तत्व प्राप्त गरिरहेका हुन्छन् । बदाममा एउटा अण्डामा पाइनेजति प्रोटिन पाइन्छ भने बदाम खाए दूध, घिउ आदिले दिने पोषणको पूर्ति पनि हुन्छ ।

उच्चरक्तचापमा नुनभन्दा चिनी खतरनाक

सामान्यतया उच्चरक्तचाप भन्नासाथ नुन कम खाने भन्ने सोच सबैको मस्तिष्कमा आउँछ तर हालै भएको एक अध्ययनले उच्चरक्तचापका लागि नुनभन्दा चिनी खतरनाक हुने देखाएको छ । विशेषज्ञहरूका अनुसार चिनी अर्थात् गुलिया खानेकुरा बालबालिकाको दाँतका लागि शत्रु हो । चिनीको बढी प्रयोगले शिशुको सिक्ने क्षमतामा समेत असर पुर्‍याउँछ । अमेरिकी जनरल अफ कार्डियोलोजीका अनुसार उच्च रक्तचापमा नुनको तुलनामा चिनीको उपयोग मुटुको बिरामी तथा हृदयाघातको आशंका बढाउन बढी जिम्मेवार हुन्छ । शरीरमा चिनीको उच्चस्तरले मस्तिष्कको मुख्य भाग (हाइपोथलेमस) लाई प्रभावित गर्छ, फलस्वरूप मुटुको धड्कन तीब्र हुन्छ र उच्च रक्तचाप बढ्छ ।

शारीरिक तन्दुरुस्तीका लागि

व्यायाम

आफूलाई जवान अनुभव गराउन व्यायामको रुटिन बनाउनुपर्छ । यसले आफ्नो स्ट्रेन्थ तथा क्षमतालाई सन्तुलित राख्छ । स्वास्थ्य समस्याबाट बच्न तथा आत्मविश्वास बढाउन व्यायामले सहयोग गर्छ । यसले फुर्तिलो अनुभव गराउँछ । व्यायाम गर्नुभन्दा पहिले कुन व्यायाम गर्ने चिकित्सकसँग सल्लाह लिनुपर्छ । सुरुका दिनमा थोरै समय व्यायाम गरेर विस्तारै बढाउँदै लानुपर्छ । व्यायामका लागि जिम जानैपर्छ भन्ने छैन घरको काम, हिडाइ, साइक्लिङ, स्वीमिङ आदि पनि व्यायामकै अङ्ग हुन् ।

खाना

सन्तुलित खाना खाए मेटाबोलिज्म सुस्त हुन्छ । त्यसैले खाना सन्तुलित तथा पोषक हुनुपर्छ । ताजा फलफूल, तरकारी, प्रोटिन एवं फाइबरयुक्त खाना खानुपर्छ । वजन बढेको अनुभव भए कम खाना खानुपर्छ । आफ्नो भोजनमा विविधता ल्याउनुपर्छ ।

व्यस्त रहनुपर्छ

घरपरिवारबाहेक आफूलाई अन्य काममा पनि व्यस्त राख्नुपर्छ । पहिले नगरेका काम गरेर आफूलाई व्यस्त राख्न सकिन्छ । समाज सेवामा सक्रिय रहनुका साथै घुमेर एवं तालिमहरू लिएर पनि आफूलाई व्यस्त राख्न सकिन्छ ।

निद्रा

जीवनमा निद्रा निकै आवश्यक छ । राति छिटो ओछ्यानमा जानुका साथै बिहान छिट्टै उठ्ने बानी बसाल्नुपर्छ । धेरै महिलामा उमेर बढ्दै गएपछि निद्रा नलाग्ने समस्या उत्पन्न हुन्छ । उमेर बढ्दै गएपछि जिम्मेवारी कम हुन्छ र दिनभरि खाली भइन्छ अनि राति निद्रा कम लाग्न सक्छ । त्यसैले बिहान छिट्टै उठ्नुपर्छ । बिहान छिट्टै उठेर आफूलाई दिनभरि सक्रिय बनाएपछि मात्र ऊर्जा प्राप्त हुन्छ ।

केही कुरा ध्यानमा राखौं

- अरूलाई खुसी बनाऔं ।

- कुनै गाना बजाएर गुनगुनाऔं । मस्त भएर डान्स गरौं ।

- आफ्नो जीवनको खुसीलाई सम्झिएर दु:खलाई बिर्सौं ।

- समस्याको समाधान हाँसी-हाँसी निकालौं ।

- आफ्नो वरिपरि हँसमुख मानिसहरूलाई राखौं ।

- मनमा भएको क्रोध तथा द्वेषलाई बाहिर निकालौं ।

- हरेक समय निराश हुनुको साटो रुचिकर काम गरौं ।

- दिनहुँ कमसेकम एकपटक खुसी रहौं ।

- अरूलाई सहयोग गर्न आफ्नो हात बढाऔं ।

- चुरोट तथा रक्सीबाट टाढै रहौं ।

- दिनहुँ लामो-लामो सास लिऊँ -एक मिनेटमा १४ देखि १५ पटक) र वजन नियन्त्रण गरौं ।

- यौनजीवनमा रमाऔं ।

 

 Image