गुल्मीकी कालीमाया राहाणीलाई पिसाब चुहिने समस्याले सताएको १४ वर्ष भएको थियो। त्यो समयमा उनलाई सुत्केरी हुने बेलामा लामो समय लाग्नुका साथै उनको शिशु गर्भमै मरेको थियो। उनको शिशु अप्रेसन गरेर निकालिएको थियो। लामो प्रसूति व्यथा लागेकाले पछि गएर उनमा पिसाब चुहिरहने समस्या देखा पर्यो। कालीमायाकै जस्तो समस्या श्रीवती मण्डललाई पनि परेको थियो। श्रीवतीमा दुई वर्ष अघि पिसाब चुहिने समस्या सुरु भएको थियो। काठमाडौंमा आएर उपचार गराएपछि अहिले उनको समस्या समाधान भएको छ। हाल उनीहरू चौबीसै घन्टा पिसाबमै डुबिरहनुपर्ने समस्याबाट मुक्त हुन पाउँदा खुसी छन्।
के हो प्रसव फिस्टुला ?
प्रसव फिस्टुला प्रसूति भएका महिलाहरूमा देखिने एउटा स्वास्थ्य समस्या हो। यसले महिलाहरूलाई शारीरिक, मानसिक एवं सामाजिक रूपमा असर पुर्याउँछ। सामान्य अवस्थामा योनिमार्गलाई पिसाब थैली र मलद्वार वा मलाशयसँग जोड्ने कुनै प्वाल हुँदैन। योनिमार्गबाट पिसाब थैली वा मलाशय वा दुवैमा खुल्ने अस्वाभाविक प्वाललाई फिस्टुला भनिन्छ। बच्चा जन्माउने क्रममा योनिमार्गमा बन्ने यस्तो प्वाललाई प्रसव फिस्टुला भनिन्छ। महिलाहरूमा योनिमार्गको अगाडि पिसाब थैली र पछाडि मलाशय हुन्छ। प्रसूति हुने क्रममा ल्ाामो समयसम्म सुत्केरी व्यथा लाग्दा शिशुको टाउकोले योनिमार्ग र आमाको पिसाब थैली वा मलाशयलाई लगातार लामो समयसम्म च्यापेर, थिचेर प्वाल पार्छ र प्रसव फिस्टुला हुनसक्छ।
हाम्रो देशमा अझै पनि सुविधायुक्त स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने चलन कम छ। त्यसैले पनि यस्तो समस्या घट्न सकेको छैन। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार १ हजार जनामध्ये ३ जना महिलामा प्रसव हुँदा यो समस्या देखा पर्छ। संसारभर प्रत्येक वर्ष १ लाख महिलामा यो समस्या देखापर्छ। नेपालमा प्रत्येक वर्ष ४ सयदेखि ५ सय महिलामा यो समस्या देखापर्छ भने अहिले देशभर करिब ४ हजार ३ सय ६० जना महिला यसबाट पीडित छन्। प्रसव फिस्टुला रोगीको संख्या बढ्दै जानुले महिलामा शारीरिक तथा मानसिक तनावका साथै सामाजिक असहजता उत्पन्न गराउँछ। तुलनात्मक रूपमा हेर्दा योनिमार्ग र मलाशयबीच बन्ने फिस्टुला भन्दा पिसाब थैली र योनिमार्गबीच बन्ने फिस्टुलाको समस्या धेरै पाइन्छ।
कसरी हुन्छ प्रसव फिस्टुला ?
पिसाब थैली र योनिमार्गबीच खुल्ने प्वाल बनेको छ भने पिसाब रोकिँदैन, लगातार चुहिरहन्छ। मिर्गाैलामा निर्मित पिसाब थैलीमा जम्मा हुन नपाउँदै उक्त प्वालबाट योनिमार्गमा आउने भएकाले लगातार पिसाब चुहिरहन्छ। योनिमार्ग र मलाशयबीच खुल्ने प्वाल बनेको छ भने योनिमार्गबाट दिसा पनि निस्कन्छ।
प्रसव फिस्टुला भएका महिलामा देखिने थप समस्या
- महिलाले पिसाब चुहिने डरले खुट्टा सधै खुम्च्याएर बस्दा खुट्टा खुम्चिँदै जान सक्छ।
- पिसाब आइरहने भएकाले कम गर्न पानी कम खानाले मिर्गौलासम्बन्धी समस्या तथा पत्थरी हुनसक्छ।
- महिनावारी रोकिन सक्छ। गर्भधारणमा कठिनाइ हुन्छ।
- पिसाब चुहिरहने भएकाले नियमित एवं दैनिक काम गर्न कठिनाइ हुन्छ।
- घरपरिवार, समाजमा अवहेलना एवं दुव्र्यवहार हुनसक्छ।
- मानसिक तनाव हुन्छ।
के कारणले हुन्छ प्रसव फिस्टुला ?
लामो समयसम्म कठिन प्रसूति व्यथा लाग्नु नै यसको मुख्य कारण हो। लामो समय प्रसूति व्यथा लागिरहँदा शिशुले योनिमार्ग र पिसाबथैली वा मलाशयलाई धेरैबेर थिचेर घाउ बनाउँदा प्वाल पर्छ जुन पछिसम्म रहन्छ। १ सयमध्ये करिब ९५ जनामा प्रसव फिस्टुला हुनुको कारण लामो प्रसव व्यथा हो। यसबाहेक अन्य कारणले पनि फिस्टुला हुन सक्छ। सामान प्रयोग गरी वा अप्रेसन गरी प्रसूति गराउँदा वा अन्य अप्रेसन गर्दा गल्तीले प्वाल पर्दा पनि यो समस्या उत्पन्न हुनसक्छ। त्यसैगरी योनिमा चोटपटक लाग्दा (जस्तै यौन सम्पर्क राख्दा, अन्य कारणले योनिमा चोटपटक लाग्दा आदि) तथा योनिको संक्रमणबाट पनि कसैकसैमा यो समस्या देखा पर्नसक्छ।
कतिपय अवस्थामा प्रसव फिस्टुलाको समस्यामा निम्न कुराहरूले पनि सहायक भूमिका खेलेका हुन्छन् :
- यो समस्या सम्बन्धी जानकारीको कमी।
- गर्भवती स्याहार तथा प्रसूति सेवाबारे चेतनाको कमी, जन्मान्तर नराख्दा।
- समयमा उचित प्रसूति सेवा उपलब्ध नहुनु (प्रसूति गराउने संस्था नजिकै नहुनु, दक्ष जनशक्ति उपलब्ध नहुनु, स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने चलन कम हुनु तथा कमजोर आर्थिक अवस्था।)
- सानै उमेरमा विवाह गर्नु र कम उमेरमै बच्चा जन्माउनु।
- गर्भवती अवस्थामा पोषणको कमी।
कहाँ गरिन्छ प्रसव फिस्टुलाको उपचार ?
प्रसव फिस्टुलाको उपचार शल्यक्रियामार्फत गर्नुपर्छ। यसका लागि सुविधायुक्त अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सक हुनुपर्छ। रोग लागेको धेरै समय भएको छ भने कहिलेकाहीँ उपचारले निको नहुन सक्छ वा कसैकसैमा रोग पुन: बल्झन सक्छ।
अहिले काठमाडौं मोडल अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सकहरूबाट प्रसव फिस्टुलाको नियमित रूपमा नि:शुल्क शल्यक्रिया उपचार भैरहेको छ। मोडल अस्पतालमा केही महिनाअघि सुरु भएको यो उपचार सेवाबाट एक दर्जनभन्दा बढी महिलाले स्वास्थ्य सुविधा लिइसकेका छन्। यसबाहेक पाटन अस्पताल तथा सुर्खेत अस्पतालमा पनि यसको उपचार गरिन्छ।
प्रसव फिस्टुलाको उपचारपछि गर्न हुने तथा नहुने कुराहरू ?
प्रसव फिस्टुलाको शल्यक्रियापछि कम्तीमा ३ महिनासम्म यौन सम्पर्क राख्नु हुँदैन। यसैगरी कम्तीमा २ वर्षसम्म गर्भधारण गर्नु हुँदैन। गर्भधारण भएपछि पनि नियमित गर्भ जाँच गराउनुपर्छ र सुविधायुक्त स्वास्थ्य संस्थामा गएर शल्यक्रिया गरेर मात्र बच्चा जन्माउनुपर्छ। पौष्टिक तत्व तथा झोल कुराहरू बढी मात्रामा सेवन गर्नुपर्छ।
प्रसव फिस्टुलाको रोकथाम
- गर्भवती महिलाले नियमित गर्भ जाँच गराउनुुपर्छ। भरसक प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा जानुपर्छ।
- घरमा ८ घन्टाभन्दा बढी लगातार वा कडा प्रसव व्यथा लागे तुरुन्त शल्यक्रियाको सुविधा भएको अस्पतालमा जानुपर्छ। कम उमेरमै गर्भधारण गर्नुहुँदैन। गर्भावस्थामा पोषणयुक्त खानेकुरा खानुपर्छ। घरपरिवारले पनि उत्तिकै सहयोग गर्नुपर्छ।
(मोडल अस्पतालका डा. अरुणा कार्की तथा डा. गणेश दंगालसँग गरिएको कुराकानीमा आधारित।)