डा.बालकृष्ण साह , प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
मोरङ सहकारी अस्पताल, विराटनगर
पहाडी जनजीवन, मध्यमवर्गीय भने पनि घरको मुख्यकमाउने मानिस श्रीमान्को मृत्युुपछिको अवस्था सहजै अनुमान गर्न सकिन्छ । त्यसमाथिमहिनावारीमा समस्या, पिसाब फेर्न पनि अप्ठ्यारो । श्रीमान् भए सहर लान्थे होला । उपचार गराउँथे होला । आफू एक्लै कता जानु ? कसलाई भन्नु ? पैसाको जोहो कसरी गर्नु ? सुन्दाकाल्पनिक कथाजस्तो लागे पनि खोटाङ रावाबेंसी गाउँपालिका–६ हंसुकी ३८ वर्षीया महिलाको आफ्नै पीडा थियो यो ।
पाठेघरको समस्याले हिँडडुल गर्न अनि पिसाब फेर्न निकै कठिन हुन्थ्यो । महिनावारीमा धेरै रक्तस्रावहुने र कमजोर हुने त छँदै थियो । तर संयोगले गाउँमै स्वास्थ्यशिविर आयो । कहाँ जाऊँ, के गरूँ भनेको अवस्थामा डाक्टर नै गाउँमा आए । उनको परीक्षण भयो । चिकित्सकले पिसाब जाने पाइप (क्याथेटर) लगाइदिए । पाठेघरमा ठूलो ट्युमर छ, शल्यक्रिया गर्नुपर्छ, ठूलो अस्पताल जानू भनेर सुझाए । ठूलो ट्युमर, शल्यक्रिया र अप्रेसन । भन्न सजिलो तर उनका लागि त्यति सजिलो थिएन । साथी कसलाई लानु, अप्रेसनमा कति पैसा चाहिने होला ? अप्रेसन गर्दा ज्यान तलमाथि भए बच्चाहरूलाई कसले हेरिदिने ? उनले श्रीमान्लाई सम्झिन् । आफन्तलाई सम्झिइन् । बच्चालाई च्यापिन् । रातभरि सुत्न सकिनन् ।
दिनहरू बित्दै गए । पिसाबका लागि पाइप खोलिएको छैन । अप्रेसन नगरी खोल्दा फेरि पिसाब फेर्न कठिन हुने थियो । ठूला अस्पताल कता खोज्ने ? खोटाङ जिल्ला अस्पतालमा पनि नहुने रे । धरान, विराटनगर वा काठमाडौं नै जानुपर्ने रे । कताजाने सोच्न सकेकी थिइनन् । आफन्तहरूको सल्लाहले पिसाबको पाइप (क्याथेटर) लगाएरै जेठ १४ गते मोरङ सहकारी अस्पताल आएकी चन्द्रकुमारीलाई मैले परीक्षण र अन्य टेस्टहरू गरेपछि,उनको पाठेघरमा मासु पलाएको ट्युमर (ऐजेरू) भएको र रक्तस्रावका कारण रक्तअल्पता रहेको पत्तालाग्यो ।
के हो पाठेघरको ऐजेरू ?
यो पाठेघरमा हुने एक किसिमको ट्युमर हो, तर क्यान्सर होइन । यो मुख्यतया मांसपेसी तथा फाइबर तन्तुले बनेकाले यसलाई फाइबराइड भनिएको हो । यो पाठेघरको बीचको तहमा यो मेट्रियमबाट पलाउने भएकाले यसलाई मायोमावालियोमायोमा पनि भनिन्छ । सामान्य भाषामा यसलाई ऐजेरू पनि भन्ने चलन छ । महिलामा हुने समस्यामध्ये यो पनि एक प्रमुख समस्या हो । संसारका जुनसुकै मुलुकका महिलामा यो समस्या देखिन सक्छ । सन् २०१६ को तथ्याङ्क अनुसार विश्वका २१ दशमलव ४ प्रतिशत महिलामा फाइबराइड समस्या छ । सामान्यतया उमेर बढ्दै गएपछि फाइबराइड हुने सम्भावना पनि बढ्दै जान्छ र ४० वर्ष पार गरेका ४० प्रतिशत महिलाको पाठेघरमा फाइबराइड हुने तथ्याङ्कले देखाएका छन् । अधिकांश साना–साना फाइबराइड भएका महिलामा कुनै लक्षण वा असर नदेखिने गरेको पाइन्छ । यस्ता महिला अरु नै समस्याका कारण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गर्दा फाइबराइड देखिने गरेको पाइन्छ ।
फाइबराइड ठूलो भएमा वा सानै रहेमा पनि यसले गर्ने प्रमुख समस्या महिनावारीको गडबडी नै हो । महिनावारीमा बढी रक्तस्राव हुने, लामो समय रक्तस्राव हुने, थोरै–थोरै दिनको अन्तरालमा रक्तस्राव हुने, महिनावारीमा धेरै दुखाइ हुने जस्ता समस्या धेरैमा हुन सक्छन् । फाइबराइड ठूलो भएमा पेट ठूलो हुने तथा अन्य अङ्ग जस्तै आन्द्रा, पिसाबनली आदिलाई थिचेर थप समस्या गर्न सक्छ । ती महिलाको पाठेघरको तल्लो भागमा फाइबराइड रहेकाले पिसाब थैली तथा नली च्यापिएकाले पिसाब फेर्न समस्या भएको हो । फाइबराइड नै हो भन्ने निश्चित गर्न अल्ट्रासाउन्ड (भिडियो एक्सरे) वा अन्य इमाजिङ (सिटिस्कान वा एमआरआई) गर्नुपर्ने हुन्छ ।
फाइबराइडले क्यान्सर पनि हुनसक्छ भन्ने डर अधिकांश महिलामा पाइन्छ । यही डरकाकारण अधिकांश महिला आत्तिने र शल्यक्रिया गरेर भएपनि पाठेघर फाल्न हतार गरेको पाइन्छ । तर वास्तविकता त्यस्तो होइन । फाइबराइड एकदम सुस्त गतिमा बढ्ने ट्युमर हो । भनिन्छ यो बढेर सुन्तलाको आकारमा आउन तीन वर्ष लाग्ने हुन्छ । यसबाट क्यान्सर हुने सम्भावना शून्यदशमलव दुई प्रतिशत मात्र हुन्छ । तर कसैकसैमा फाइबराइडको वृद्धि तीव्र गतिमा हुनसक्छ । यस्तो अवस्थामा क्यान्सर हुने सम्भावना बढी हुन्छ । ती महिलाको चाहिं अलि तीव्र गतिमा ठूलो भएको थियो । दुई महिनामै उनको पाठेघर करिब छ महिनाको गर्भजस्तो भएको थियो । शल्यक्रियापछि पाठेघर नाप्दा दुई किलोग्रामको थियो ।
पाठेघरमा ऐजेरू भन्ने बित्तिकै शल्यक्रिया अर्थात् अप्रेसन सम्झन्छांै । तर फाइबराइडमा शल्यक्रिया गर्नैपर्छ भन्ने छैन । कुनै समस्या नगरेका फाइबराइडलाई कुनै उपचार चाहिँदैन । तर महिनावारीमा बढी रक्तस्रावभएमा तुरुन्त उपचार चाहिन्छ । यो अवस्थामा रक्तस्राव रोक्न तथा रगतको उत्पादन बढाउन औषधि प्रयोग गरिन्छ । तर फाइबराइडको दीर्घकालीन उपचार शल्यक्रिया हो । शल्यक्रिया गरेर ऐजेरू वा फाइबराइड मात्र निकाल्ने प्रक्रियालाई मायोमेक्टोमी भनिन्छ । कम उमेर तथा पाठेघर बचाउनुपर्ने अवस्थामामायोमेक्टोमी रोज्न सकिन्छ तर मायोमेक्टोमी गर्दा शल्यक्रियामा समस्या वा जटिलता आएमा पाठेघर नै निकाल्नुपर्ने हुनसक्छ । उमेर पुगेका अर्थात् सामान्यतया ४५ वर्ष पार गरिसकेको अवस्थामा फाइबराइडलगायत पाठेघर नै निकाल्न सकिन्छ । यस्तो शल्यक्रियालाई हिस्टेरेक्टोमी भनिन्छ ।
सफल हिस्टेरेक्टोमीपछि ती महिलालाई हिँडडुल मात्रै होइन पिसाब फेर्न पनि सहज भएको छ । अब उनले पिसाबको पाइप लगाउनु परेको छैन । उनले शरीर चङ्गाभएको बताइन् । ‘अहिले शरीरबाट काँडा झिकेर फालेजस्तो भएको छ,’ दुखाइको पीडा भुलेर हर्षित मुद्रामा रहेकी ती महिलाले भनिन्, ‘शरीरनै अहिले हल्का र फुर्तिलो भएको छ । त्यो पीडा सम्झँदा यस्तो समस्या त कसैलाई पनि नहोस् ।’ महिनौंदेखि आफूले भोगेको पीडा सुनाउँदै उनले भनिन्, ‘पहाडका धेरै अस्पतालमा गएँ । तर पनि पिसाब फेर्न सजिलो भएन । दुखाइ खपिनसक्नु हुने गरेको थियो । अहिले उपचारपछि पुनर्जीवन पाएको महसुस गरेकी छु ।’
फाइबराइडमा शल्यक्रियाबाहेक अन्य उपचार छैन भन्न मिल्दैन । फाइबराइडमा उपचार गर्नुपर्ने कारण लामो समयसम्म हुने रक्तस्राव नै हो । रक्तस्रावभएको छैन वा धेरै नभएको अवस्थामा कुनै उपचार नचाहिन सक्छ । तर रक्तस्राव धेरै हुन्छ र तुरुन्तै शल्यक्रिया गर्न नसकिने अवस्थामा रक्तस्राव रोक्ने र शरीरमा रगतको मात्रा बढाउने औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।
यो अवस्थामातत्काल रक्तस्राव रोकिने औषधि थोरै समयका लागि प्रयोग गरिन्छ । फेरि बढी रक्तस्राव हुन नदिन तथा महिनावारी पनि नियमित गर्न लामो समय (तीनदेखि छ महिनावा त्यसभन्दा बढी) सम्म पनि हर्मोन भएका औषधिहरू प्रयोग गरिन्छ । यी औषधिको प्रयोगले रक्तस्राव तथा महिनावारीमा आएका समस्याबाट छुटकारा पाइन्छ । उमेर पुगेपछि आफै महिनावारी सुकेपछि फाइबराइड पनि सुक्ने भएकाले सधैकालागि समस्या समाधान हुनसक्छ । तर औषधिहरूले फाइबराइडलाई नै सुकाउने हुँदैन । कम उमेरमै ऐजेरू पलाए पनि यसले धेरै समस्या गरेको छैन भने हेस्टेरेक्टोमी पनि गरिहाल्नु हुँदैन । पाठेघर तथा अण्डाशयले इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन उत्पादनगर्ने र हिस्टेरेक्टोमी गरिसकेपछि यस्ता हर्मोनको कमी भएर स्वास्थ्यमा समस्या आउने भएकाले कम उमेरमा हिस्टेरेक्टोमी गर्ने उपाय घातक पनि हुन सक्छ । यो अवस्थामा वा अन्य अवस्था जसमा लामो समयसम्म शल्यक्रिया नगर्ने वा गर्न नसकिने भएमा लामो समयसम्म हर्मोनल उपचार पद्धति अपनाउन सकिन्छ ।