गर्मी मौसममा धेरैजसो बालबालिका रोगको सिकार हुन्छन्। यो मौसममा बढी गर्मी हुने भएकाले खाएको खाना राम्रोसँग पच्दैन। त्यसैले गर्मीमा बालबालिकाहरूमा झाडापखाला, आउँ, एलर्जी, ठेउला, दादुराजस्ता समस्या देखा पर्छन्। यो मौसममा चिसा खानेकुरा खाइने भएकाले हाँडे आउने सम्भावना पनि उत्तिकै हुन्छ। यसैगरी औलो, मस्तिष्क ज्वरो पनि आउन सक्छ भने तराईमा मलेरिया हुनसक्छ। त्यसबाहेक दूषित पानीबाट टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसले सताउनुका साथै जुका पनि पर्न सक्छ।
वरपरको वातावरण तथा बदलिदो जीवनशैलीका कारण रोगले आक्रमण गर्छ। बजारमा पाइने पानीपुरी, चटपटे आदि खुल्ला खानेकुरा खाने ट्रेन्ड बालबालिकाहरूमा पनि बढ्दो छ। बालबालिकाहरू घरमा बनाइएका खानेकुरा भन्दा यस्ता खानेकुरामा बढी नै लोभिन्छन्। यस्ता खानेकुरा खाँदा पेट दुखेर डायरिया तथा बान्ता हुनसक्छ। त्यस्तै फोहोर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै हुन्छ।
बालबालिकाको उमेर र रोग लाग्ने कारण
सामान्यतयाः एक वर्षमुनिका बालबालिका बढी बिरामी पर्छन्। गर्मीमा मात्र नभै जुनसुकै मौसममा पनि यो उमेरका बालबालिका बढी बिरामी पर्छन्। त्यसबाहेक पाँच वर्षसम्मका बालबालिका पनि बिरामी पर्छन्। बालबालिका बिरामी पर्ने कारण यही हो भन्ने छैन। बिरामी पर्ने धेरै कारण हुन्छन्। रोगको प्रकृतिअनुसार बिरामी हुने कारण पत्ता लगाउन सकिन्छ। गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान तथा पानी नै हो। बासी, सडेगलेका तथा झिंगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि रोग लाग्नसक्छ। खाना राख्ने तथा खाने भाँडा फोहोर भएर पनि रोग लाग्छ। बजारमा काटेर राखिएका फलफूल नधोई खानु हँुदैन। यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाए बिरामी भइन्छ। यो मौसममा झिंगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पुर्याउनु आवश्यक छ।
डा. निभा राजभण्डारी श्रेष्ठ
बालरोग विशेषज्ञ, बयोधा हस्पिटल