Successfully Copied

फूल सुकाउने पाँच तरिका

यतिबेलाको मौसममा ताजा फूलले सजाउँदा चाँडै बिग्रन्छन् । लामो समयसम्म टिकाउन सकिँदैन । छिटो ओइलाउँछन्, पानी गन्हाउँछ र ढुसी पर्ने समस्या आउँछ ।


घरभित्रको सजावटमा सुख्खा फूल आधुनिक अवधारणा हो । यतिबेलाको मौसममा ताजा फूलले सजाउँदा चाँडै बिग्रन्छन् । लामो समयसम्म टिकाउन सकिँदैन । छिटो ओइलाउँछन्, पानी गन्हाउँछ र ढुसी पर्ने समस्या आउँछ । ताजा फूललाई समय–समयमा परिवर्तन गरिरहनुपर्छ । प्रत्येक दिन परिवर्तन गर्न सम्भव हुँदैन । अझ दिनहुँ फूल खरिद गर्नुपर्ने अवस्था झन्झटिलो हुनसक्छ । सुकाएको फूल हेरचाह गर्न सजिलो हुन्छ । त्यसैले सुख्खा फूल राम्रो विकल्प हुनसक्छ ।


गुलाब, टुलिप, हाइडेन्जिया, लेभेन्डर, कार्नेसन आदि धेरै फूललाई सुकाएर सजावटका लागि प्रयोग गर्न सकिन्छ । सुकाएका फूललाई फूलदानीका स्टिकसँग टाँसेर सजाउन सकिन्छ । सुकेका फूल एकदमै नाजुक हुन्छन् र विस्तारै झर्दै जान्छन् । यसले फूलको गुच्छा पातलिँदै जान्छ । त्यसैले ठाउँ फिक्स गरेर राख्नुपर्छ । धेरै यताउति चलाउनुपर्ने ठाउँमा राख्दा फूलको आयु घट्दै जान्छ ।


ताजा फूललाई सुकाउने धेरै तरिका हुन्छन् । ताजा फूललाई सुकाउँदा विशेष सावधानी अपनाउनुपर्छ । फूललाई सही तरिकाले सुकाउन सकिएन भने त्यसको रंग र सेप बिग्रन्छ । ताजा फूललाई विस्तारै सुकाएर मोस्चर हट्न दिनुपर्छ । पाँच तरिकाले फूल सुकाएर सजावटका लागि प्रयोग गर्न सकिन्छ ।



१. हावामा सुकाउने
यो पुरानो विधि हो ।हावामा फूल राम्रोसँग सुक्छ । हावामा फूललाई सुकाउन पहिले ताजा फूलको बुके तयार पार्नुपर्छ । त्यसलाई उल्टो पारेर डोरीको सहायताले झुन्डाइदिनुपर्छ । यो विधिबाट फूल सुक्न दुईदेखि चार हप्ता लाग्न सक्छ । हावामा फूल सुक्न निकै समय लाग्छ । सजावटका लागि राम्रोसँग सुकेको फूल राम्रँे हुन्छ ।


२. माइक्रोवेभमा सुकाउने
धेरै पत्र भएका स–साना फूललाई सुकाउन माइक्रोवेभ एकदमै उपयुक्त हुन्छ । यस्ता फूल झुन्डाएर सुकाउँदा सुक्न थालेपछि झर्न थाल्छन् । गुलाब, जिनिया, गोदावरी, सयपत्रीजस्ता फूल सुकाउन यसको प्रयोग गर्न सकिन्छ । यो विधिबाट छिटो फूल सुक्छन् । हावाबाट सुक्नका लागि कम्तीमा एक हप्ता लाग्छ भने माइक्रोवेभमा एकै दिनमा पनि सुकाउन सकिन्छ ।

३. डेसिकेन्टको प्रयोग
फूल सुकाउने अर्को विधि डेसिकेन्टको प्रयोग हो । डेसिकेन्टमा फूललाई डुबाएर राख्दा फूलमा भएको मोस्चर यसले सोस्छ । रंगीन फूलहरूका लागि यसको प्रयोग उपयोगी हुन्छ । डेसिकेन्ट बजारमा सजिलै उपलब्ध हुन्छ । त्यसका लागि डेसिकेन्टमा फूललाई एक हप्तासम्म डुबाएर मोस्चर हटाउन दिनुपर्छ । यो विधि ढिलो भए पनि रंगीन फूलहरूका लागि प्रभावकारी हुन्छ । यसले रंग जस्ताको तस्तै राख्छ ।


४.बेकिङ
फूलहरूलाई सुकाउन तातो हिटमा राख्ने विधि बेकिङ हो । यो विधिबाट फूल चाँडै सुक्छन् । तर यसमा रंगीन फूलहरू सुकाउन सकिँदैन । यसले फूलको रंगमा प्रभाव पार्छ । साथै पत्र भएका फूललाई सुकाउनु हुँदैन ।


५.थिच्नु
ताजा फूललाई गह्रौं वस्तुले थिचेर त्यसमा रहेको नरम तत्व सुकाउने प्रक्रिया हो । यो शिल्पकलाका लागि उपयुक्त विधि हो । यसरी सुकाएका फूललाई फ्रेममा राखेर भित्तामा सजाउन सकिन्छ ।



ध्यान दिनुपर्ने कुरा
–ओइलाएका फूल वा रोग लागेका फूल सुकाउँदा राम्रो हुन्छ ।
–फूलको छनोट गर्दा केका लागि फूल तयार गर्ने हो पहिले नै थाहा पाउनुपर्छ ।
–सुकेका फूललाई फूलदानीमा राख्दा पानी राख्नुहुँदैन । साथै अरु समयमा पनि पानीबाट बचाउनुपर्छ ।
–सुकेका फूललाई सेरामिकको फूलदानीमा राख्दा राम्रो देखिन्छ ।
–फूललाई सफा र सुरक्षित ठाउँमा राख्नुपर्छ ।
–भरसक ओसिलो कोठा भन्दा घाम लाग्ने कोठामा राख्नुपर्छ । तर सीधा घामको किरण पर्नुहुँदैन । यसले फूल लामो समय टिक्छ ।
–सुकाएका फूललाई चिसो ठाउँमा राख्नु हुँदैन ।
–धेरै हावा लाग्ने कोठामा पनि फूल राख्नुहुँदैन ।
–बेलाबेलामा फूलबाट निस्कने फोहोर वा धूलो सफा गरिरहनुपर्छ । त्यसका लागि फेदर डस्टरबाट धूलो झार्नुपर्छ ।
–सुख्खा फूल आन्तरिक सजावटका लागि मात्र हो । यसलाई बाहिर राख्न सकिँदैन ।
–राम्रोसँग हेरचाह गरे सुकाएका फूलहरू दुई–तीन वर्षसम्म टिक्छन् ।

 Image