उज्यालो छरिरहेका चेपाङ युवती
समस्या, अभाव र चुनौतीबीच संघर्ष गरेर आफ्नो खुट्टामा आफैं उभिनेहरू समाजमा उदाहरण बनेका छन् । तिनैमध्येकेही चेपाङ युवतीको चर्चा हामी गर्नेछौं, जो नर्सिङ पढेर बिरामीको सेवामा तल्लीन छन् ।

नेपाल पत्रकार महासंघले सात दशकको इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । केन्द्रसँगै चार जिल्ला शाखाको अध्यक्षमा महिला पत्रकार निर्वाचित भएका छन् । विगत हेर्ने हो भने पुरातन समाज र पितृसत्तात्मक सोचले कुनै पनि क्षेत्रमा अघि बढ्न महिलाका लागि धेरै तगारा थिए । समयक्रमसँगै शिक्षा र चेतना विस्तारले नेतृत्वमा महिला पनि पुग्ने अवस्था बन्यो । पत्रकारिताभित्र महिलाका मुद्दा र समस्या उठानमा महिला पत्रकार नै आएपछि धेरै सुधार देखिएका छन् । नारीको यो अंकमा हामीले संगठनभित्रका अनेक चुनौती चिरेर अगाडि बढ्दै नेतृत्व लिन सफल महिला पत्रकारको अनुभव प्रस्तुत गरेका छौ ।
अबको पहल पत्रकार वृत्ति विकास’
निर्मला शर्मा, अध्यक्ष, नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघको नेतृत्वमा ७० वर्षसम्म रहेको पुरुष वर्चस्व तोड्न सफल भइन्, निर्मला शर्मा । महासंघको इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी उनी यसरी नेतृत्व पाउनुलाई ‘छिटो परिवर्तन’ भएको ठान्छिन् । सञ्चार गृहहरूले चाहेको परिवर्तनसँगै पत्रकारितामा आफ्नो निरन्तरता र संघर्षले नै यो अवसर प्राप्त भएको उनको बुझाइ छ । ‘मिडियाहरूले वर्षौंदेखि समावेशीका मुद्दा उठाउँदै आएका छन्, पत्रकारले पनि समावेशी र समानताका हकमा कलम चलाएका छन्,’ उनी भन्छिन्, ‘त्यसैले अन्य क्षेत्रको तुलनामा महासंघलाई महिला नेतृत्व पाउन सहज भएको हो ।’ पत्रकारितामा ३० वर्षको निरन्तरता र संघर्षले नै उनलाई नेतृत्वमा पु¥याएको छ । महासंघमा २०५४ सालमा नै उनले केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी थिइन् । जतिबेला मतदाता संख्या नै कम थियो । महिलालाई स्वीकार गर्न नसक्ने हिजोको समाज बुझ्दै उनी महिला नेतृत्वको आवश्यकता बोध गर्ने समाजसम्म आइपुगेकी छन् ।
महासंघको नेतृत्वमा पुग्दै गर्दा उनका अगाडि चुनौती र समस्याका चाङ छन् । महासंघ दलीय राजनीतिबाट ग्रस्त रहेको आरोप पनि उत्तिकै छ । नेतृत्वमा पुग्न दलको खुट्टा टेकेको आरोप उनीमाथि पनि छ । पत्रकारका शुभेच्छुक संस्थाहरूले चुनावको दौरान सहयोग गरेकामा यसलाई नकारात्मक रूपमा हेर्न नहुने उनको भनाइ छ । ‘चुनावको समयमा पक्ष विपक्ष भएर निर्वाचनमा जानुपर्ने हुन्छ, तर निर्वाचनपछि भने मूल मर्मलाई छोड्न हुन्न,’ उनी भन्छिन्, ‘महासंघमा पुगेपछि सबैको भावनानुसार काम गर्न आवश्यक छ ।’ तीन दशकको पत्रकारितामा आफूले स्वतन्त्र र निष्पक्ष पत्रकारिता गरेको बताउँदै उनले महासंघमा पनि साझा व्यक्तिका रूपमा नै जिम्मेवारी सम्हाल्ने बताइन् ।
महासंघका अनेक समस्या समाधानका साथै श्रमजीवी पत्रकारको हकहितको सुरक्षा गर्नु आफ्नो प्राथमिकता रहने उनी बताउँछिन् । महासंघमा सदस्यता वितरणको विवाद, श्रमजीवी पत्रकारको पारिश्रमिका समस्यालाई उनले प्राथमिकतासाथ अगाडि बढाउने उनको अठोट छ । ‘पत्रकार सदस्यको विवाद लामो समयदेखि चलिरहेको छ, पत्रकारिता गर्ने व्यक्ति सदस्य नबन्ने र अन्य सदस्य बन्दा समस्या उत्पन्न भएको छ,’ उनी भन्छिन्, ‘यसलाई आवश्यक छानविन र शुद्धीकरणको व्यवस्था मिलाउने महासंघको प्रयास रहने छ ।’ अर्को मूल समस्या श्रमजीवी पत्रकारको हो । पछिल्लो समय मिडिया हाउसमा आर्थिक संकट बढ्दै जाँदा पत्रकारले समयमै तलब नपाउने अवस्था देखिएको छ । यसलाई लगानीकर्तास“गको उचित वार्ताबाट समाधानको प्रयास गरिने उनले बताइन् । ‘मिडियाका लगानीकर्ताले मिडियाको नाफा अन्य क्षेत्रमा लगानी गर्दा सञ्चारक्षेत्र संकटग्रस्त छ, जसको प्रत्यक्ष असर श्रमजीवी पत्रकारमा परेको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा महासंघले लगानीकर्तासँग छलफल र समन्वय गरी समाधानको बाटो खोज्नुपर्छ ।’ पत्रकारलाई आर्थिक स्थायित्वका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने महासंघको योजनालाई सार्थक तुल्याउन आफ्नो पहल रहने उनले बताइन् ।
आफू नेतृत्वमा पुग्नुले धेरै महिलामा उत्साह बढेको र नेतृत्वमा पुग्ने आँट, विश्वास स्थापित भएको उनको अनुभव छ । ‘महिलाले नेतृत्व लिन सक्छन् भनेर स्थापित भएको छ । भोलिको नेतृत्वमा आफूलाई देख्न थालिसक्नुभएको छ,’ उनले सुनाइन् । महिला पत्रकार उत्पादनका लागि तालिम प्रदान गर्नमा सधै सक्रिय रहिन् उनी । सञ्चारिका समूहको दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहेर महिला पत्रकारलाई टिकाउन र पत्रकारितामा आकर्षित गराउन उनको भूमिका रह्यो । सञ्चारमाध्यममा महिलाका लागि सकारात्मक विभेदको अवधारणा अवलम्बन गर्नुपर्ने आवश्यकता देख्छिन्, उनी ।
महासंघले अब पत्रकार वृत्ति विकासका लागि पहल गर्ने उनको योजना छ । पछिल्लो समय सञ्चारगृहहरूले पत्रकारमाथि लगानी नगरेको बताउँदै उनले थपिन्, ‘मिडिया हाउसले समाचार र कन्टेन्ट मात्र खोजिरहेका छन्, तर पत्रकारलाई तालिम र वृत्ति विकासमा लगानी छैन । त्यसैले पनि महासंघले पत्रकारको वृत्ति विकासका लागि पहल गर्नेछ ।’
‘पत्रकार हितका लागि सधैँ मैदानमा’
शोभा अर्याल, अध्यक्ष, काठमाडौं शाखा
पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले स्थापनाको ३२ वर्षमा पहिलो पटक पहिलो नेतृत्व पाएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत शोभा अर्याल नेतृत्वमा पुगेकी हुन् । शाखामा लामो समयदेखिको पुरुष वर्चस्व तोड्दा गर्वको महसुस भएको बताउँछिन् उनी । प्रेस सेन्टरमार्फत प्रतिनिधित्व गर्दै नेतृत्वमा आएकी उनी यसअघिको कार्यकालमा शाखा सदस्य थिइन् । सदस्यका रूपमा रहँदा महासंघका गतिविधि नियाल्नेदेखि श्रमजीवी पत्रकारका मुद्दा र समस्याका बारेमा वकालत पनि गरिन् । सदस्यको अनुभवले नै उनलाई अध्यक्ष बन्ने हुटहुटी जागेको हो । नेतृत्वमा पुग्नुपर्छ भन्ने अठोटले अध्यक्षको तयारीमा जुटिन् । सक्षम र दक्ष भएर चुनावी मैदानमा होमिँदा महिला भएकै कारण पछाडि पर्नुपर्ने अवस्था नभएको उनको भनाई छ । ‘३२ वर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष हुँदा गर्वको विषय त भयो नै,’ उनी भन्छिन्, ‘तर सक्षम र दक्ष भएरआउँदा पद र पोजिसनमा भने लैगिंकताले असर नपार्ने रहेछ ।’
अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा उनमा थप उत्तरदायित्व महसुस भएको छ । महासंघको काठमाडौं शाखा तुलनात्मक रूमा बढी सदस्य भएको शाखा पनि हो । उनका अनुसार १ हजार ५ सय सदस्य रहेको शाखामा शुद्धीकरणपछि १ हजार ६४ सदस्य कायम छन् । शाखामा महासंघको नेतृत्व लिने वरिष्ठ पत्रकारदेखि नया“ पत्रकार आबद्ध छन् । २० जनाको कार्यसमिति रहेको शाखामा सबैको भावना समेटेर अगाडि बढ्ने प्रयासमा आफू रहेको उनले बताइन् । शाखाको भौतिक संरचना र पूर्वाधारको समस्या पनि समाधान गर्ने योजना पनि उनले बनाएकी छन् । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्दै मिडिया हाउस र श्रमजीवी पत्रकारबीचको समस्या समाधान गर्न सदैव मैदानमा रहने उनको अठोट छ । पहिलो कार्यकालमा श्रमजीवी पत्रकारको समस्या समाधानमा सुधार भएको अनुभव सुनाउँदै उनले आगामी दिनमा पनि आशावादी रहनुपर्ने बताइन् । ‘कोभिडपछि हरेक क्षेत्रमा झैं मिडियामा पनि मन्दीको अवस्था छ, तर केही सुधारोन्मुख भएको छ । आगामी दिनमा आशा गरेर अगाडि बढ्न सक्ने अवस्था छ,’ उनले भनिन् । पछिल्लो समय परिवर्तनशील पत्रकारिताको स्वरूपलाई समेट्दै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्नुपर्ने आवश्यकता देखेकी छन् उनले ।
अहिले कन्टेन्ट बेस पत्रकारिता सुरुवात भएकाले कन्टेन्ट राम्रो दिन सकेमा पत्रकारिता गर्नका लागि मिडिया हाउस नै आवश्यक नरहेको उनको भनाइ छ । प्रविधिको बढ्दो प्रयोगसँगै अहिलेको पुस्ताले युट्युब, सोसल मिडियामार्फत नै कन्टेन्ट बेसका आधारमा राम्रो आम्दानी गर्न सक्ने उनी सुनाउँछिन् । उनी २०६४ सालदेखि पत्रकारितामा प्रवेश गरेकी हुन् । पत्रकारिताको परिवर्तित स्वरूपदेखि महिलाको बढ्दो सहभागिताको प्रत्यक्षदर्शी पनि हुन् । यस क्षेत्रमा महिला सहभागिता बढाउन र टिकाउनका लागि पनि आफू प्रयासरत रहेको उनले बताइन् ।
‘क्रियाशील पत्रकारको अभाव’
खुबिना सुनारी मगर, अध्यक्ष, रोल्पा शाखा
मंसिर अन्तिम साता पत्रकार महासंघको निर्वाचनले देशभरका शाखालाई तताएको थियो । रोल्पा शाखामा पनि निर्विरोध अध्यक्ष उठाउने सहमति जुटेको थियो । तर, अन्तिम समय विभिन्न संगठनको विवादले निर्वाचन प्रणालीमार्फत नै पदाधिकारी चयन गर्नेमा शाखा पुग्यो । उम्मेदवारी छनोटका क्रममा प्रेस सेन्टरका तर्फबाट खुबिना मगरले अध्यक्षको उम्मेदवारी दिइन् ।
५२ सदस्य रहेको जिल्लामा २७ मत ल्याएर पहिलो महिला अध्यक्ष बन्न सफल भइन् । पहिलोपटक अध्यक्षमा उठेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘अध्यक्षमा उठ्ने कुनै योजना थिएन तर संगठनहरूमा विवाद भएपछि जितहार जे भए पनि आँट गरेर उम्मेदवारी दिएकी थिएँ, सफल भएँ ।’ शाखामा पहिलो महिला अध्यक्ष भए पनि उनले यसअघिको कार्यसमितिमा उपाध्यक्षका रूपमा ३ वर्ष पूरा गरेकी थिइन् । पत्रकारहरूको अपेक्षा र शुभेच्क्षा उनी माथि छ । पत्रकार सदस्यता शुद्धीकरणको अवस्थालाई लिएर शाखामा उत्पन्न विवादलाई समाधान गर्नु पहिलो प्राथमिकता रहेको उनी बताउँछिन् । ‘शुद्धीकरणका क्रममा धेरै क्रियाशील पत्रकार हटेको गुनासो आएका छन्, अबका दिन सबैलाई समेटेर अगाडि बढ्ने प्रयास शाखाको हुनेछ,’ उनी भन्छिन्, ‘पत्रकारलाई आवश्यक तालिम र वृत्तिविकासका कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’
पछिल्लो समय पत्रकारहरू क्रियाशील हुन नसकेको उनले चिन्ता व्यक्त गरिन् । पत्रकार आर्थिक समस्याबाट गुज्रिँदै गएकाले क्षमता अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणमा जोड दिन सके पत्रकारिता बलियो हुनसक्ने उनको विश्वास छ । हुन त शाखा सञ्चालनमा पनि आर्थिक संकट भोग्नुपरेको उनको अनुभव छ । महासंघको शाखा भए पनि बजेट नभएको संस्था भएकाले विभिन्न निकायसँगको सहकार्यमा पत्रकारलाई तालिम दिने व्यवस्था मिलाउने योजना रहेको उनी बताउँछिन् । २०६५ सालदेखि पत्रकारितामा प्रवेश गरेकी उनी ग्रामीण भेगमा पत्रकारिता गर्न सहज नभएको सुनाउँछिन् । पत्रिका, रेडियोलगायताका सञ्चारमाध्यममा काम गरेको अनुभव उनीसँग छ । श्रीमान् यही क्षेत्रमा भएकाले उनलाई काम गर्न सहज छ ।
उनका अनुसार ग्रामीण भेगमा रिपोर्टिङमा यातायातको सुविधा नहुनु, दिगो र भरपर्दो मिडिया हाउस निर्माण नहुनुले श्रमजीवी पत्रकार टिक्न सक्ने वातावरण छैन । अझ महिलाले लामो समय निरन्तरता दिन सक्ने अवस्था देखिन्न । जिल्लामा महिला पत्रकार कम संख्यामा रहनु, पारिवारिक सहयोग र साथ कम हुनाले बीचमै पेसा छोड्ने अवस्था निर्माण हुँदै गएको उनले सुनाइन् ।
‘पत्रकार टिकाउनु नै मुख्य चुनौती’
सुशीला पाठक, अध्यक्ष, मोरङ शाखा
पत्रकार महासंघ मोरङ शाखामा पहिलो महिला अध्यक्ष बन्न सफल भइन्, सुशीला पाठक । यसअघिको कार्यकालमा उपाध्यक्षको जिम्मेवारी बहन गर्दा उनी अध्यक्षको तयारीमा थिइन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस मञ्च नेपालबाट संयुक्त उम्मेदवारी दिएकी उनी १ सय ९१ मतदाता रहेको शाखामा १ सय २७ मत ल्याएर विजयी भइन् । ‘पितृसत्तात्मक सोचले महिला अध्यक्षलाई स्वीकार गर्न सकेको छैन, संगठनभित्रका चुनौती चिरेर अगाडि बढ्दा नेतृत्वमा पुग्न सफल भएकी हुँ,’ उनले भनिन्, ‘तथापि महिला नेतृत्वमा आउन सक्दैनन् उपाध्यक्षमा नै सीमित हुन्छन् भन्ने सामाजिक संरचना परिवर्तन हुन सकेको छैन ।’ अध्यक्षको कार्यकालमा केही नयाँ र केही पुराना योजनालाई नै निरन्तरता दिने पक्षमा उनी छिन् ।
उनका अनुसार कार्यसमितिको पहिलो बैठकले महिला पत्रकार सुत्केरीका लागि १ हजार ५ सय भत्ताको व्यवस्था गर्ने निर्णय गरेको छ । स्वरोजगार मिडियाको संरक्षण, पत्रकारको वृत्ति विकास, तालिम र विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनका योजना छन् । ‘अहिलेको समयमा पत्रकार टिकाउनु नै मुख्य चुनौती छ, यसका लागि उचित तालिम र वृत्ति विकासका क्षेत्रमा लगानी गर्न आवश्यक देखिन्छ,’ उनी भन्छिन्, ‘यसका लागि शाखाले नयाँ प्रविधिसँग अभ्यस्त हुने किसिमको तालिमलाई प्राथमिकता दिनेछ ।’
सीमित स्रोत र साधनमा रहेर मोफसलमा पत्रकारिता गर्नु सहज नहुने उनको अनुभव छ । २०६७ मा रेडियोबाट सुरु भएको उनको पत्रकारिता टेलिभिजनसम्म आइपुगेको छ । हाल उनी कान्तिपुर टेलिभिजनमा आबद्ध छिन् । पत्रकारको हकहित र संरक्षणमा महासंघदेखि शाखा र नेतृत्वको भूमिका महत्वपूर्ण रहने उनी बताउँछिन् । यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहँदा पत्रकारको दुर्घटना उपचारजस्ता समस्याका लागि विभिन्न अस्पतालसँग सहकार्य गरेर उपचार गर्ने व्यवस्था मिलाइएको उनले बताइन् । महिलालाई सुत्केरी भत्तादेखि उपचारको सुविधा दिलाउन शाखा सक्रिय रहेको उनको भनाइ छ । यसका साथै प्रोत्साहनका कार्यक्रम, फेलोसिपको योजनालाई निरन्तरता दिने उनको अठोट छ ।
‘पत्रकारिताप्रति समाजको बुझाइ बदल्नु छ’
सुनदेवी रसाइली, अध्यक्ष, मुस्ताङ शाखा
मुस्ताङमा पत्रकारिताको जग बसाल्ने व्यक्ति हुन्, सुनदेवी रसाइली । २०६५ सालअघि मुस्ताङमा न पत्रकारिताको चेतना थियो न कोही पत्रकार नै थिए । पत्रकारिता र पत्रकार जन्माउनुपर्छ भन्ने आवश्यकता महसुस गरेर २०६५ सालमा प्रेस चौतारी नेपालको गठन भयो । चौतारीले नै विभिन्न तालिम प्रदान गरेर पत्रकार उत्पादन गर्न थाल्यो । सुनदेवी यसमा प्रत्यक्ष संलग्न भइन् ।
पत्रकारिता सुरुवात गरेको १८ वर्षपछि उनी मुस्ताङ शाखाको पहिलो महिला अध्यक्ष भइन् । २८ सदस्य रहेको जिल्लामा ९ जनाको नयाँ कार्यसमिति बनेको छ । यो रेकर्ड ब्रेक गर्नका लागि चुनाव लड्नुपरेन । उनी निर्विरोध अध्यक्षमा निर्वाचित भइन् । साथीहरूसँगको सहमतिमा यो अवसर जुटेको उनी बताउँछिन् ।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा केही नयाँ योजनाका साथ अगाडि बढ्न उनलाई चुनौती छ । ‘पत्रकारलाई क्रियाशील बनाउनु मुख्य प्राथमिकता हो, तालिम लिने, परिचयपत्र बोक्ने तर पत्रकारिता नगर्ने अवस्थामा सुधार गर्नुपर्नेछ,’ उनी भन्छिन्, ‘सक्रिय पत्रकारिता हराउँदै गएको छ । यसमा सुधारका काम गर्न बाँकी नै छन् ।’ सदस्य शुद्धीकरण गरेर हटाउनुभन्दा पनि उनीहरूलाई पत्रकारिता गर्न प्रोत्साहन गर्ने योजना रहेको उनी सुनाउँछिन् । यसका साथै नया“ पुस्तालाई पत्रकारिता क्षेत्रमा आकर्षण गर्न तालिम र वृत्तिविकास मात्र नभई आवश्यक उपकरण उपलब्ध गराउन जरुरी रहेको उनको भनँइ छ । ‘कम्प्युटर, क्यामेराजस्ता उपकरणको व्यवस्था गर्न सकियो भने पत्रकारलाई टिकिरहन ऊर्जा मिल्छ,’ उनी भन्छिन्, ‘अहिलेसम्म पत्रकारिता गर्ने बाटो मात्रै देखाउने अवस्था रह्यो तर साधन जुटाउन सकिएन ।’
उनी ‘मुस्ताङ साप्ताहिक’ की सञ्चालक र सम्पादक हुन् उनी । उनका अनुसार जिल्लामा रहेर पत्रिका निकाल्नु र पत्रकारिता गर्नु चुनौतीको पहाड फोड्नु सरह हो । सीमित विज्ञापन बजारका साथै सामाजिक विकृति र विसंगतिलाई उजागर गर्न सहज नहुनु नै मुख्य चुनौती रहेको उनले सुनाइन्। ‘सामाजिक र सांस्कृतिक विकृतिलाई समाचार बनाँउदा धेरै विवाद हुने गरेको छ, स्थानीयमा पत्रकारिताप्रति समाजलाई सचेत बनाउँदै अघि बढ्न जरुरी छ,’ उनले भनिन् ।