लक्ष्मी भण्डारी
उच्च शिक्षा हासिल गरेकोदक्ष जनशक्तिले जागिर पाउँछ, अशिक्षित तर सीप र कला भएकाहरूको ज्ञान–सीप र दक्षता यसै खेर गइरहेको हुन्छ । यही कुरालाई मनन गरेकी रुबिना कर्णलाई हुँदाखाँदाको जागिर छाडेर आफ्नै काम गर्ने प्रेरणाले हौस्यायो । ‘शैक्षिक योग्यता भएका डाक्टर, इन्जिनियर, सरकारी कर्मचारीले आ–आफ्नो योग्यता र क्षमताले भ्याएसम्मको जागिर पाउन सक्छन् । तर म ती लाखौं अशिक्षित र ग्रामीण महिलाहरूका बारेमा सोच्छु जो कामको खोजीमा छन्, तिनीहरूसँग परम्परागत सीप र क्षमता छ तर राज्यले पहिचान गर्न सकेको छैन ।’ आफू उद्यमी बन्नुपछाडिको कथा उनी यसरी सुनाउँछिन्–‘मेरी सासू आमा जनकपुरमा हुनुहुन्छ, सामान्य लेखपढ मात्रै गर्न सक्नुहुन्छ । तर उहाँमा तराईका विभिन्न परिकार बनाउने सीप छ । त्यस्ताधेरै अशिक्षित ग्रामीण महिलाहरूको कथा–व्यथा एकनासको छ । यो कुराले मलाई भावुक बनायो । तिनै ग्रामीण महिलाहरूको परम्परागत सीपलाई उजागर गर्न यो पेसामा लागें । हाल मलाईतिनै दिदीबहिनीहरूले तराईका विभिन्न खाद्यवस्तु उत्पादन गरेर, उत्पादन पठाएर सघाइरहेका छन् । ती सबैले पार्ट टाइम रोजगारी पाएका छन् ।’ बीबीएस गरेकी रुबिना अहिले कानुन पढिरहेकी छिन् । ११ वर्ष माध्यमिक विद्यालयको लेखासम्बन्धी काम गरेकी उनले त्यसपछि सेयर बजार, बिमालगायत विविध क्षेत्रमा केही समय काम गरिन् । बाल्यकालदेखि नै उद्यम मन पर्ने रुबिनालाई अरुकोजागिर खानुभन्दा आफैं केही गरेर स्वरोजगार भई रोजगार दिने चाहना थियो । यही रुचिले उनलाई उद्यमतर्फ डोर्यायो । तराईका रैथाने खाद्यपदार्थ बेचेर कति कमाउँछिन् त रुबिना ? ‘कति कमाउँछु भन्दा पनि कति जना अशिक्षित महिलाले रोजगारी पाएका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । म र मेरो समूहमा काम गर्नेहरू ज्यालाबाट सन्तुष्ट छौं । कमाइ भने सिजनमा भर पर्छ । नयाँ वर्ष र माघ महिनामा मेरो उत्पादन बिक्री हुने महत्वपूर्ण महिना भएकाले कमाइराम्रै हुन्छ ।’
उनले उत्पादन गर्ने पकवान सीधै खान र केही पकाएर खान मिल्नेछन् । तराईमा लोकप्रिय मानिने सक्खर र गहुँको पिठोको मिश्रणबाट बन्ने ठेकुवा, खजुरी, गुजिया (पिरुकिया), निम्की, आलुचिप्स, पावर वाल(ड्राइफ्रुट्स), पुष्टकारी, तिलको लड्डु आदि । त्यस्तै बेथेको सागलगायत विभिन्न किसिमकासागको बिरिया (अरिकन्चन), कुम्हरौरी (कुभिन्डोको मस्यौरा), अदौरी (मासको दालको मस्यौरा), तिसियौरी (आलसको), तिलौरी (तिलको), फुलौरी (चामलको) लगायतका सामग्री उत्पादन अनलाइन–अफलाइनमा बिक्री भइरहेका छन् । साथै मागका आधारमा विभिन्न अफिस र संघसंस्थामा खाजाको सेट (चामलको दाल हालेको पुरी, तरकारी, पुवा, खुवा) पनि होम डेलिभरी गर्ने गरेकी छिन्।
उपत्यकास्थित विभिन्न मार्ट, सपिङ सेन्टर, डिपार्टमेन्टस्टोरलगायत अहिले उपत्यकामा लोकप्रियताका साथ संचालनमा रहेका मटका चिया पसल छन् । तिनीहरू रुबिनाका नियमित ग्राहक हुन् । उनले उत्पादन गरेको खजुरी, निमकी, गुजियालाई मटका चियासँग सेट बनाएर उपभोक्तालाई पस्किइरहेका छन् । उनी भन्छिन्–‘सरकारी निकाय तथा निजी संघसंस्थाहरू मेरो उत्पादनका नियमित ग्राहक हुनुहुन्छ । साथै नयाँ युवापुस्ताले पनि हाम्रा उत्पादन मन पराएका छन् ।’ बजारमा अहिले छ्यापछ्याप्ती पाइने प्रिजरभेटिभ्स राखिएका खाद्यपदार्थहरूको तुलनामा शुद्ध र घरमा पकाइएको खानेकुरा भएकाले उनका परिकार धेरै महँगा छैनन् । सामान्यतया ग्राहकहरूबाट आएको प्रतिक्रियाले उनको उत्पादनलाई बजारभन्दा सस्तो नै मानेको देखिन्छ । गुणस्तरमा विश्वास गर्ने रुबिना आफ्ना उत्पादन एकपटक खाएपछि ग्राहकहरू लोभिने बताउँछिन् । उनी बिहान १० बजेदेखि आफ्ना कर्मचारीसँग दिउँसो ५ बजेसम्म काम गर्छिन् ।
रुबिनाको चुनौती, संघर्ष र सफलता
मेरो परिवारका सबै सदस्य सरकारी सेवामा कार्यरत भएकाले मैले यस्ता काम गर्दा समाजबाट नराम्रो प्रतिक्रिया आउला भन्ने उतिबेला डर थियो । के नपुगेर यस्तो गरेको होला अथवा यस्ता कामभन्दा बैंकको जागिर वा कानुन पेसामा गएको भए राम्रो कमाइ हुन्थ्यो भन्नेहरू थिए । तर मैले पैसाभन्दा पनि उद्यमी बन्ने सपना देखेकीले अशिक्षित र ग्रामीण परिवेशका महिलालाई रोजगारी दिने, अरू दिदीबहिनीलाई पनि आर्थिक रूपमा आत्मनिर्भर बनाउने अठोटका साथ निर्णय गरें । मसँग काम गर्ने कर्मचारी सबै महिला भएकाले म खुसी छु । तीमध्ये केही अपाङ्ग पनि छन् । पढेलेखेका महिलाले आफूलाई सहरबाट अलग राखेर चुल्होमा सीमित गर्नु ठूलो चुनौती र संघर्षपूर्ण नै छ । तथापि म सफल उद्यमी हुँ । म र मेरो कामलाई सम्मान र माया गर्ने हजारौं दिदिबहिनीछन् । मलाई प्रेरणा दिइरहने सासू आमा, श्रीमान्, छोराछोरी र सम्पूर्ण परिवारको साथ पाएकी छु । काठमाडौं महानगरपालिकाको ‘काठमाडौं मेट्रो आइडिया इनोभेसन टप–५०’ भित्र पर्न सफल भएकी थिएँ । यो गर्वको कुरा हो ।