धादिङका रबिन परियारको नाटकमा अभिनय गर्ने विद्यालयदेखिकै रुचि हो । विद्यालयमा हुने नाटक प्रदर्शन उनले कहिल्यै छुटाएनन् ।
उनले धेरै नाटक खेले पनि बुझ्ने अवसर प्रशिक्षण लिएपछि मात्र थाहा पाए । ०७३ मा काठमाडौंबाट गएको टोलीले उनलाई धादिङमै प्रशिक्षण दियो । उनले मानिसले नाटक गरेरै जीवन धानेको तथ्य थाहा पाए । उनको नाटक सिक्ने हुटहुटीले नै उनलाई ‘शिल्पी थिएटर’ मा पु¥यायो । विगत पाँच वर्षदेखि उनी सोही थिएटरमा आबद्ध छन् ।
नाटक ‘थिएटर’ मा ‘सानो वृत्तमा कमिला’ उनको पहिलो नाटक हो । त्यसपछि नाटक खेल्ने क्रम बढ्दै गयो । उनले ‘आइएम नट सरी’, ‘आँधीको मनोरम नृत्य’ मा अभिनय गरे । काठमाडौंमा सीमित उनको अभिनयले नाटक ‘कचरी’ देश घुमायो ।
विभिन्न जिल्लामा पुगेर उनलाई उक्त नाटक देखाउने अवसर मिल्यो । त्यतिबेला उनले ‘थिएटर’ को ‘क्रेज’ गाउँगाउँमा भएको कुरा बुझे । लामो यात्रा गरेर नाटक हेर्न आउने दर्शकहरू पनि भेटिए । त्यसपछि उनले ‘थिएटर’ लाई देशव्यापी रूपमा फैलाउन आवश्यक भएको महसुस गरे ।
‘थिएटर’ को पाँच वर्षको अनुभवले उनलाई समाजको संरचना र मानिसको व्यक्तित्व बुझाएको छ । उनमा पनि सकारात्मक सोचको विकास भएको छ । उनले भने, ‘कला र साहित्य हरेक मानिसले बुझ्नु आवश्यक छ, थिएटरले त मानिसमा कला बुझाउँछ र सकारात्मक सोचाइको विकास गर्छ ।’
पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक गर्दै गरेका उनलाई पढाइ र अभिनयलाई एकसाथ लानु छ । तर नाटक छोडेर अन्त जाने उनको सोचाइ छैन । उनले भने, ‘नाटक छोड्ने कुरा हुँदैन सधैभरि स्टेजमा अभिनेताका रूपमा भइन्छ भन्ने पनि हु“दैन । थिएटर निर्देशक र लेखनमा निरन्तरता दिन सकिन्छ ।’