Successfully Copied

भर्चुअल फेसन गतिविधि

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नभएको कुनै क्षेत्र नै छैन । संक्रमण नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनका कारण विश्वभरि फेसन र मोडलिङ गतिविधि महिनौं ठप्प नै रह्यो । संसारकै प्रतिष्ठित ‘फेसन–शो’ तथा फेसन सप्ताहहरू सञ्चालनमा आउन सकेनन् ।

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नभएको कुनै क्षेत्र नै छैन । संक्रमण नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनका कारण विश्वभरि फेसन र मोडलिङ गतिविधि महिनौं ठप्प नै रह्यो । संसारकै प्रतिष्ठित ‘फेसन–शो’ तथा फेसन सप्ताहहरू सञ्चालनमा आउन सकेनन् । मोडल प्रतिस्पर्धा तथा सौन्दर्य प्रतियोगिताहरू पनि कि त स्थगित भए या यो वर्षको संस्करण खारेज गरिए । अबचाहिँ त्यसको विकल्पका रूपमा भर्चुअल माध्यमलाई लिन थालिएको छ ।

भर्चुअल फेसन शोहरू

कोभिड–१९ र लकडाउनले भर्चुअल परिवेशको विकल्पलाई अनलक गर्ने अवसर प्रदान गरेको छ । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैं उपलब्ध तथा विकसित डिजिटल तथा सामाजिक सञ्जालका विविध प्लेटफर्म प्रयोग गर्दै भर्चुअल तथा अनलाइन माध्यमबाट फेसन गतिविधिहरू सञ्चालनमा आएका छन् । संसारभरिकै फेसन प्रोफेसनलहरूका लागि यो धेरै हदसम्म नौलो प्रयोग हो । धेरै अर्थमा यो प्रयोग सफल पनि रह्यो । पछिल्ला दिनहरूमा यसको मोडालिटीमा थप प्रभावकारी परिमार्जन देखिन थालेका छन् ।

फेसन व्यवसायलाई चलायमान राख्न यो प्रतिकूल अवस्थामा सोचिएका अनेकन विकल्पमध्ये डिजिटल प्लेटफर्म नै सबैभन्दा सुरक्षित, समयसापेक्ष र सान्दर्भिक देखिएको छ । यसलाई अवलम्बन गर्नुअघि सर्यो एफएनएल नेटवर्क, विश्वकै पहिलो इन्टरनेसनल डिजिटल फेसन विकको अवधारणासहित । जसमा विश्वभरिकै फेसन डिजाइनरहरूले आफ्ना सिर्जनालाई अनलाइनका माध्यमबाट विभिन्न डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गर्न सक्ने परिवेश बन्न पुग्यो । फेसन न्युज लाइफस्टाइल (एफएनएल) नेटवर्कले संसारभरिकै फेसन, ट्राभल, हेल्थलगायत क्षेत्रका विविध गतिविधिको लेटेस्ट अपडेट सम्प्रेषण गर्ने गर्छ । यसको फेसन न्युज लाइभ, मोडल मन्डे, फ्लासब्याक फ्राइडेलगायत नियमित सोहरूले ग्लोबल फेसन र ब्युटीबारे विभिन्न जानकारी तथा समाचारहरू प्रसारण गर्छन् ।

इन्टरनेसनल डिजिटल फेसन विकलाई एफएनएल नेटवर्कका विभिन्न प्लेटफर्ममार्फत विश्वभरि नै ब्रोडकास्ट गरिएको थियो भने विश्वभरका फेसन प्रेमीहरूमाझ रोकु टीभी, अमेजन फायर टीभी, एप्पल टीभी, एन्ड्रोइड टीभीलगायतका एप तथा अन्य एन्ड्रोइड र आईओएस डिभाइसमा उपलब्ध थियो । डिजिटल फेसन विकमा भिडियो रनवे, फेसन फिल्म, डिजाइनर स्टोरी, डिजाइनर टक शो तथा भिडियो रेकर्ड गरिएका प्रेजन्टेसन समावेश थिए ।

विश्वकै बृहत् फेसन सप्ताहहरूमध्येको एक ‘लन्डन फेसन विक’ पनि यो वर्ष पूर्ण डिजिटल फेसन विकको स्वरूपमा प्रस्तुत भयो । यसको लाइभ रनवे, फ्रन्ट रो सेलिब्रेटीहरूको जमघट, रेड कार्पेट सेसन, ककटेल पार्टी तथा ब्याकस्टेजका रोमाञ्चक दृश्यलाई रेकर्डेड फिल्म, भर्चुअल शोरुम, पोडकास्ट, कलेक्सन लन्चिङ, प्लेलिस्ट, लाइभ स्ट्रिम प्यानल छलफल, लाइभ अनलाइन टक शो आदिले प्रतिस्थापित गरे । पहिलो डिजिटल लन्डन फेसन विक गत १२ जुनदेखि १४ जुनसम्म प्रस्तुत गरिएको थियो । यो विकले नेटफ्लीक्स एपलाई प्रयोग गरेको थियो । जसमा नेटफ्लीक्स स्टाइल होम पेजमार्फत सम्पूर्ण स्ट्रिमिङलाई प्रस्तुत गरिएको थियो । यस्तै, मोडालिटीमा पेरिस डिजिटल फेसन विक मेन्स स्प्रिङ वेयर कलेक्सन पनि गत जुलाईमा सम्पन्न भएको छ ।

उल्लेखित दुईवटा फेसन विकको डिजिटल भर्सन प्रस्तुत भएसँगै यसपछिका डिजिटल फेसन गतिविधिमा अनेकन् परिमार्जित मोडालिटी पनि देख्न पाइएको छ । दर्शकबिनाको रनवे सेटअपमा समग्र क्याटवाक प्रस्तुति भिडियो रेकर्ड गरी निर्धारित समयमा विभिन्न डिजिटल प्लेटफर्ममार्फत विश्वभरिकै फेसनप्रेमी दर्शक तथा फेसन प्रोफेसनका माझ प्रसारण/प्रस्तुति गर्ने मोडालिटी पछिल्लो समय निकै प्रयोगमा आएको छ । यसलाई विश्व विख्यात डिजाइनरहरूले आफ्ना नयाँ कलेक्सन प्रस्तुत गर्नका प्रयोगमा ल्याएका हुन् । कतिपयले भने ‘थ्रीडी मोडल’ मार्फत् डिजिटल फेसन शो प्रस्तुत गरेका छन् ।

ब्युटी पेजेन्ट पनि भर्चुअल

कोभिड–१९ को प्रभावसँगै विश्वभरि सञ्चालन हुँदै आएका विभिन्न सौन्दर्य प्रतियोगितामा बिराम चिह्न लागेको छ । कतिपय प्रतियोगिताले वर्ष २०२० को संस्करणलाई खारेज नै गरिसकेको छ । केहीले वर्षको अन्तसम्मका लागि स्थगन गरेका छन् । अहिलेको विषम परिस्थितिमा कतिपय सौन्दर्य प्रतियोगिताले अनलाइन फर्म्याटलाई विकास गरी भर्चुअल रूपमा प्रतियोगिता सञ्चालनमा ल्याएका छन् ।

भर्चुअल रूपमा सौन्दर्य प्रतियोगिता प्रस्तुत गर्ने मामिलामा ‘मिस युनिभर्स फिलिपिन्स’ले प्रतियोगिताको प्रस्तुतीकरणमा दर्शकको सहभागिता र उनीहरूको मतलाई प्राथमिकता दिने अवधारणामा धेरै परिमार्जन गरेको छ । यसअन्तर्गत सौन्दर्य प्रतियोगितालाई ‘रिङ लाइट’ नामक अनलाइन सिरिजका रूपमा प्रस्तुत गरिने भएको छ । जसमा पाँचवटा ग्रुमिङ, च्यालेन्ज, टास्क, स्विमसुट र गाउनजस्ता राउन्ड र ग्रान्ड फिनाले गरी आठवटा शृङ्खलाहरू रहनेछन् । यी सबै अवलोकन गर्न दर्शकले एकमुष्ट दुई सय ९९ फिलिपिनो पैसा तिरेर एम्पायर डट पीएचमार्फत मिस फिलिपिन्सको प्रारम्भदेखि ग्रान्ड फिनालेसम्मको शृङ्खलाहरू हेर्न, आफ्नो मन परेको सहभागीलाई भोट गर्न लगायतका क्रियाकलापमा प्रत्यक्ष रूपमा प्रतियोगितामा संलग्न हुन सक्नेछन् । प्रतियोगिताको पहिलो शृङ्खला आगामी सेप्टेम्बर २७ मा प्रिमियर हुँदै छ ।

भर्चअल प्लेटफर्मलाई नै प्रयोग गरी ‘मिस साउथ अफ्रिका’ र ‘मिस इङ्ल्यान्ड’ को २०२० को अनलाइन अडिसन तथा प्रिलिमिनरी राउन्डहरू सञ्चालन भएका छन् ।

नेपाली परिवेशमा

नेपाली परिप्रेक्ष्यमा पनि सौन्दर्य तथा मोडल प्रतिस्पर्धामा भर्चुअल अवधारणाको विकास भइसकेको छ । केही प्रतियोगिताले यसमा आफ्नो उपस्थिति दर्ज गराउन उन्मुख देखिएको छ । ‘मिस युनिभर्स नेपाल– २०२०’ यही स्वरूपलाई पछ्याएको छ । यही मेसोमा ‘म नेपाली लिमिटेड’ नामक नयाँ संस्थाको जन्म भयो । संस्थाले गत जुलाई ११ मा डिजिटल प्रेस कन्फ्रेन्स गरी ‘अल इन एप डिजिटल प्याजेन्ट’ को घोषणा गर्‍यो । अब एपमार्फत ‘मिस युनिभर्स नेपाल– २०२’ सञ्चालन हुनेछ । योसँग सम्बन्धित एप गुगल प्लेस्टोरमा उपलब्ध हुनेछ ।

यस प्रतियोगिताका लागि आवेदन भर्ने कार्य, प्रतियोगीहरूको छनोट पनि एपमार्फत हुनेछ । प्रतियोगिताको प्रशिक्षण कार्य अनलाइन हुने र फिनाले लाइभ स्ट्रिमिङमा पनि एपको प्रयोग गरिने मिस युनिभर्सका लागि नेपालका नेसनल डाइरेक्टर नगमा श्रेष्ठले बताइन् । उनका अनुसार ‘मिस युनिभर्स नेपाल– २०२०’ अझ बढी समावेशी हुनेछ । यसमा सहभागीको उचाइ, शारीरिक तौलका सम्बन्धमा लचकता अपनाइनेछ भने ट्रान्सजेन्डरले पनि समान रूपमा सहभागी हुने व्यवस्था गरिएको नगमाले बताउँछिन् ।

यसै सन्दर्भमा नेपालमै पहिलो पटक अनलाइन मोडल प्रतियोगिताको अवधारणा ‘मि. एन्ड मिस भर्चुल रनवे मोडल अफ द इयर’ लाई अगाडि सारेको थियो । यो अवधारणा ‘द र्‍याम्प फेसन एन्ड मोडलिङ एजेन्सी’ले ल्याएको थियो । यसमा ‘फोर यु’ नामक इभेन्ट म्यानेजमेन्ट संस्थाको सहकार्य छ । प्रतियोगिताबारे जिज्ञासा राख्दा अहिले अवस्था सुहाउँदो र मोडलिङ गतिविधिलाई चलायमान राख्नका लागि यो प्रतियोगिता लञ्च गरिएको कुरा ‘द र्‍याम्प’ की जयन सुब्बा मानन्धरले बताइन् ।

‘मि. एन्ड मिस भर्चुअल रनवे मोडल अफ द इयर’ मा सहभागिता जनाउन इच्छुक महिला तथा पुरुषले आफ्नो उत्कृष्ट ‘र्‍याम्प वाक’ को भिडियो इमेलमार्फत पठाउने व्यवस्था गरिएको थियो । प्राप्त भिडियोबाट सहभागीहरूको मूल्यांकन गरी छानिएकालाई अर्को चरणको टास्क प्राप्त दिने र त्यसपछि उत्कृष्ट पाँच महिला तथा पाँच पुरुषको फाइनलिस्ट चयन गर्ने र तीमध्येबाट विजेता छान्ने फर्म्याट छ ।

यसैगरी, दिइएको कार्यमा आधारित भएर सञ्चालन हुने गरी अनलाइन मोडलिङ प्रतिस्पर्धाका रूपमा ‘फेस अफ लकडाउन’ प्रतियोगिता पनि प्रारम्भ गरिएको छ । ढाका इभेन्टले आयोजना गर्ने यो प्रतियोगिता ‘अल नेपाल कम्पिटिसन’ का रूपमा प्रस्तुत गरिएको छ । अनलाइन अवधारणामै विवाहित महिलाहरूका लागि लक्षित ‘मिसेस् नेपाल लक डाउन ट्यालेन्ट हन्ट’ प्रतियोगिता ‘सिजन मिडिया’ ले अघि सारेको छ । यसका प्रबन्ध निर्देशक प्रदीपराज वन्तका अनुसार अहिलेको प्रतिकूल अवस्थामा महिलाहरूमा रुचि वा आन्तरिक प्रतिभाका रूपमा रहेको अभिनय, नृत्य, गायन, रेसिपी कला तथा मेकअप लगायतमा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले अनलाइनमार्फत यो कार्यक्रम तयार पारिएको हो । यी प्रतियोगिताहरूबाहेक अनलाइन माध्यमबाट मेकअप तथा हेयर स्टाइलिङ र फोटोजेनिक फेस चयन गर्ने प्रतियोगिताहरू पनि सञ्चालनमा आएको पाइन्छ ।

 Image