Successfully Copied

सदावहार परम्परागत गहना

नेपाली समाजमा गहनाको ठूलो महत्व छ । हाम्रो समाजमा गहनाको सामाजिक, धार्मिक, सांस्कृतिक एवं आर्थिक महत्व रहिआएको छ ।

नेपाली समाजमा गहनाको ठूलो महत्व छ । हाम्रो समाजमा गहनाको सामाजिक, धार्मिक, सांस्कृतिक एवं आर्थिक महत्व रहिआएको छ । गहना नारीको शोभा हो । प्राचीन कालदेखि नै गहनालाई नारीहरूको श्रृंगारको बलियो पक्ष मानिएको पाइन्छ भने आजभोलि पनि त्यो पक्ष अझ सशक्त रूपमा अघि बढेको देख्न सकिन्छ । नेपाली समाजमा परम्परादेखि नै विभिन्न प्रकारका आकर्षक गहनाको चलन छ । त्यस्ता गहना जुनसुकै अवसरमा  उत्साहका साथ लगाइन्छ । 

 

तिलहरी : विवाहमा पुरुषले नारीलाई लगाइदिएपछि जीवनभर एक–अर्काको बन्धन बलियो बनाउने गहनाका रूपमा लिइन्छ तिलहरीलाई । नेपाली समाजमा तिलहरीलाई श्रीमान्ले दिएको सौभाग्यका रूपमा लिइन्छ तसर्थ यो नेपाली नारीको विशेष गहना पनि हो । यो एक इन्चदेखि तीन इन्चसम्म लामो तथा काँडे ढाँचामा ढालेर बनाइन्छ । तिलहरीलाई विवाहित महिलाले पोतेमा उनेर गलामा लगाउँछन् । 

नौगेडी : यो विवाहित महिलाहरूको गहना हो । नौगेडी नौवटा वा त्यो भन्दा कम–बेसी सुन वा मुगाका काँडादार गेडी, पोते, धागो आदिका बीचबीचमा उनेर बनाइएको हुन्छ । नौगेडीलाई विवाहित महिलाहरूले गलामा लगाउँछन् ।

बुलाकी : यो महिलाहरूले नाकका दुई पोराबीच छेडिएको तल्लो भागमा लगाउने सुनबाट तयार गरिएको गहना हो । यसलाई झम्केबुलाकी पनि भनिन्छ तर त्यो केही फरक स्वरूपको हुन्छ । यो माछाकाँडे र झम्के दुई खालको हुन्छ । यसमा पात वा झुम्का हुन्छ । झुम्काका ठाउँमा माछाको काँडाजस्तो पनि बनाउन सकिन्छ । 

कण्ठमाला : यो घाँटीमा लगाइने गहना हो । मखमलको कपडा काटेर गोलाकार बनाई बीच–बीचमा मुगा तथा सुनका गेडी मिलाएर कण्ठमाला बनाइन्छ । कण्ठमाला मगर, गुरुङ, कुमाल, राई, लिम्बू आदि जातिमा प्रचलित छ । यसलाई कण्ठश्री वा मुगामाला पनि भनिन्छ ।

जन्तरमाला : अहिले सबैभन्दा बढी फेसनमा आएको गहना हो–जन्तरमाला । यो चारपाटे सुनको बीचमा मुगाको पत्थर जडेर बनाइएको हुन्छ । जन्तरमाला घाँटीमा लगाइने गहना हो । यो अहिलेको ट्ेरन्डको गहना भएकाले धेरैजसो महिला यही गहनामा हिँड्छन् । पहिले यो गहना तामाङ  समुदायका महिलाहरूले लगाउने चलन थियो तर अहिले यो सबै समुदायका महिलाहरूको लोकप्रिय गहना भएको छ ।

फुली : यो स्त्रीजातिले नाकमा लगाउने गहना हो । यो फूलको आकारको सुनको गहना हो । यसलाई नाकफुली पनि भनिन्छ । नेपालमा नेवार जातिबाहेक प्राय: सबै जातिले लगाउने फुली धेरै प्रकारका हुन्छन् जसलाई झम्के फुली, तारे फुली, डल्ले फुली आदि पनि भनिन्छ । नाकको देब्रे प्वालमा नत्थी लगाउने चलन छ । यसलाई नथिया वा नत्था भनिन्छ । यो गहना विवाहित वा अविवाहित दुवै महिलाले लगाउने चलन छ । 

शिरबन्दी : यो सुनको गहना हो । नेवार समुदायमा यो गहना सौभाग्यको प्रतीकका रूपमा सधवाहरूले लगाउने तथा शुभ साइतहरूमा प्रयोग गर्ने चलन छ । नारीले शिरमा लगाउने शिरबन्दी फूलको आकारमा खोपिएको हुन्छ र यसको बीचमा पत्थर जडिएको हुन्छ । यस्तै शिरमा लगाइने अर्काे गहना हो, चन्द्रमाला । यो सुन वा चाँदीबाट बनेको हुन्छ । चन्द्रमाला विभिन्न जातिमा प्रचलित छ । यसैगरी शिरमा लगाइने अर्काे गहना हो–शिरफूल । 

बाला : यो गहनालाई प्रचलित रूपमा चुरा पनि भनिन्छ । महिलाहरूले हातमा लगाउने चुरा सुन, चाँदी वा अन्य बहुमूल्य धातुको मिश्रणबाट बनाइन्छ । बाला चुराभन्दा मोटो हुन्छ । 

पोते : यो विभिन्न रंगका काँचका स–साना दानालाई धागोमा उनेर बनाइएको माला हो । यसलाई हिन्दू नारीहरूले घाँटीमा लगाउने सौभाग्यसूचकका रूपमा लिइन्छ । 

मंगलसूत्र : यो सुन र पोते जडित घाँटीमा लगाइने लामो गहना हो । विवाहित महिलाहरूले लगाउने यो गहना निकै प्रचलित छ । मंगलसूत्रलाई दुलाहा–दुलहीको बन्धनको प्रतीकका रूपमा पनि लिइन्छ । सामाजिक एवं धार्मिक महत्व बोकेको यो गहनालाई फेसनेबल गहना पनि मानिन्छ ।

 

 Image