Successfully Copied

चाउरी रोक्ने क्रिम

हरेक महिला बढ्दो उमेरमा पनि जवान देखिन चाहन्छन् । उमेरको पहिलो प्रभाव मुहारको चाउरी नै हो । हरेक महिलालाई चाउरीबाट कसरी मुक्त हुने र मुहारको आकर्षण कसरी कायम राख्ने भन्ने चिन्ता हुन्छ ।

हरेक महिला बढ्दो उमेरमा पनि जवान देखिन चाहन्छन् । उमेरको पहिलो प्रभाव मुहारको चाउरी नै हो । हरेक महिलालाई चाउरीबाट कसरी मुक्त हुने र मुहारको आकर्षण कसरी कायम राख्ने भन्ने चिन्ता हुन्छ । महिलाहरूको यही चाहना बुझेर हिजोआज विभिन्न कम्पनीले थरीथरीका एन्टी–रिङ्कल क्रिम बजारमा ल्याएका छन् । ती कम्पनीले बढ्दो उमेरमा पनि छालालाई चाउरिनबाट मुक्त राख्ने र जवान बनाइरहने प्रतिबद्धता जाहेर गर्दै आएका छन् ।

जसरी उमेर बढ्दै जान्छ, छाला खुम्चिने, अनुहारमा चाउरी पर्ने, दागहरूबाट मुहारमा आकर्षण कम हुने डरले महिलाहरूलाई सताउन थाल्छ र उनीहरू बजारमा उपलब्ध असंख्य सौन्दर्य उत्पादनमध्ये कुनै एक खरिद गरेर प्रकृतिको यो चक्रलाई रोक्ने प्रयास गर्छन् । पछिल्ला वर्षमा वैज्ञानिकहरू त्यस्तो प्रविधिको खोजीमा जुटेका छन्, जसबाट छाला, मुहार तथा शरीरका अन्य भागमा बढ्दो उमेरको प्रभाव रोक्न सकिन्छ । 

किन पर्छ चाउरी  ? 

 जब उमेर बढ्दै जान्छ तब कोमल छालाको माथिल्लो तह खुम्चन थाल्छ अनि भित्री तहमा सघनता कम हुनाले छाला पातलो हुन्छ । बढ्दो उमेरमा मुहारको कोशिकाको उभार कम भएर छाला थिचिन्छ, परिणामस्वरूप छाला कमजोर र पातलो देखिन थाल्छ । मुहारमा आउने यस्तो परिवर्तनमा सूर्यको किरणको प्रमुख भूमिका हुन्छ । हाम्रो मुहार तथा हातको छाला बढी संवेदनशील हुन्छ र सूर्यको किरण सीधा त्यहाँसम्म पुग्छ, त्यसैले हाम्रो मुहार तथा हातमा उमेरको छनक चाँडै देखिन थाल्छ । चाउरी दुई प्रकारको हुन्छ । पहिलो मुहारको माथिल्लो तहमा देखिने मसिना रेखाहरू र दोस्रो भित्रसम्म पुगिसकेका कठोर रेखाहरू । वैज्ञानिकद्वारा खोज गरिएका उत्पादनमा निम्न सोल्युसन पाइन्छन् जुन छालाको उमेर घटाउन सहयोगी सिद्ध हुन्छन् । 

–ट्रिटिनोनिन, रेटिन ए र अन्य रेटिनोयड्स । 

–मोस्चराइजर्स र लोसन्स ।

–एल्फा हाइड्रोक्सी एसिड्स ।

–केमिकल पिलिङ ।

–डर्माब्रेसन ।

–लेजर रिसर फेसिङ ।

–प्लास्टिक सर्जरी फेस लिफ्ट ।

रेटिनौलले छालामा राम्रो प्रभाव देखाउँछ । यसले पिग्मेन्टेसनदेखि लिएर चाउरीजस्ता समस्याबाट छुटकारा दिलाउँछ । रेटिनौल भिटामिन ‘ए’ को संशोधित रूप हो । रेटिनौलले कोशिकाहरूलाई क्रियाशील बनाउँछ र छालाको बन्द प्वाल खोल्छ । यसले गर्दा प्राकृतिक तेल जुन छालाको प्वाल बन्द हुँदा छालाभित्र हुन्छ र मुहारमा पिग्मेन्टेसनका रूपमा उभार्छ, त्यसलाई छालाको माथिल्लो सतहमा विनाअवरोध बग्न मद्दत गर्छ । भिटामिन एले छालाको कोशिकालाई जवान बनाउनुका साथै घाममा ओइलाएको कोशिकालाई रिजुमिनेट गर्छ । छालाको प्राकृतिक एक्सफोलिएसन रेट बढाएर सतहभित्र लुकेको कोलाजनलाई पनि रिपेयर गर्छ । 

रेटिनौलले के गर्छ ? 

–आँखा वरपरको मसिनो रेखा कम गर्छ ।

–मुहारको दाग हटाउँछ ।

–मुहारको रंगमा निखार ल्याउँछ ।

–छाला चिल्लो बनाउँछ ।

–पिग्मेन्टेसन हटाउँछ ।

रेटिनौलले के गर्न सक्दैन ?

–लुज छालालाई कसिलो बनाउन सक्दैन ।

–आँखा वरपरको कालो घेरा हटाउन सक्दैन ।

–निधारमा देखिने रेखा हटाउन सक्दैन ।

–मुहारको चाउरी पूर्णरूपले हटाउन सक्दैन ।

–छालालाई हरेक तरिकाबाट जवान बनाउन सक्दैन । 

एन्टी–रिङ्कल क्रिम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा 

–यो क्रिम स्ट्रङ हुन्छ । अत: यसको प्रयोग नियमित नगरी एकदिन बिराएर राति सुत्नुअघि गर्नुपर्छ । 

–क्रिम लगाएपछि छालामा जलन भयो वा छालामा राता स–साना बिबिरा देखापरे वा छाला खुइलियो भने क्रिमको प्रयोग तुरुन्त बन्द गरी कैलामाइन प्रयोग गर्नुपर्छ । 

–यसको प्रयोग आइलिड जस्तो संवेदनशील स्थानमा गर्नु हुँदैन । गल्तीले क्रिम आइलिडमा पर्न गए तुरुन्तै पानीले सफा गर्नुपर्छ । 

–क्रिमको प्रयोग राति नै गर्नुपर्छ, कारण घाममा निस्कदा स्किन पिलिङ हुन थाल्छ । 

–छाला सुख्खा छ भने एन्टी–रिङ्कल क्रिम लगाएपछि मोस्चराइजर प्रयोग गर्नुपर्छ । 

–क्रिम लगाउनुपूर्व मुहारलाई क्लिन्जरले राम्रोसँग सफा गर्नुपर्छ । 

–एन्टी–रिङ्कल क्रिमका साथ स्क्रब प्रयोग गर्नु हुँदैन ।  

–गर्भवती भए वा गर्भधारण गर्ने तयारीमा भए यो केमिकलको प्रयोगबाट जोगिनुपर्छ । 

अल्फा हाइड्रोक्सी एसिड 

रेटिनौलपछि एउटा अर्को उत्पादन, जसले छालालाई बालबालिकाको छाला समान कोमल बनाउने वाचा गर्छ, त्यो हो एएचए अर्थात् अल्फा हाइड्रोक्सी एसिड । पर्यावरण विशेषज्ञ तथा छाला विशेषज्ञहरूले यसको सुरक्षामा प्रश्नचिन्ह लगाएका छन्, तर पनि अल्फा हाइड्रोक्सी एसिडबाट निर्मित यो सौन्दर्य प्रसाधनले बजारमा तहल्का मच्चाएको पाइन्छ । केही अध्ययनअनुसार यस्ता उत्पादनले छालालाई अझ पातलो बनाउँछ र युवी रेडिएसनबाट छालामा असर पर्छ । यदि अल्फा हाइड्रोक्सी एसिड निर्मित उत्पादन प्रयोग गर्ने हो भने भरसक सूर्यको किरणको सीधा सम्पर्कमा आउनु हुँदैन । घाममा निस्कनुपूर्व ठूलो रिम भएको ह्याट तथा एसपीएफ २५ सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ । अल्फा हाइड्रोक्सी एसिडयुक्त क्रिमको प्रयोगबाट हल्काफुल्का जलनदेखि छालामा फोका पर्न पनि सक्छ । अत: यिनको प्रयोग छाला विशेषज्ञको रेखदेखमा मात्र गर्नुपर्छ । अल्फा हाइड्रोक्सी एसिडयुक्त उत्पादन मुहारको रेखा, रिङ्कल हटाउन, छाला निखार्न, छालाको बन्द प्वाल खोल्न, तैलीय छाला तथा पिग्मेन्टेसनबाट छुटकारा प्राप्त गर्न उत्तम मानिन्छ । 

एएचएको ग्लाइकोलिक एसिड, लेक्टिक एसिड, मेलिक एसिड, साइट्रिक एसिड, मिक्स्ड फ्रुट एसिड, ट्राइ अल्फा हाइड्रोक्सी फ्रुट एसिड, ट्रिपल फ्रुट एसिड, सुगरकेन एक्सट्रेक्ट, अल्फा हाइड्रोक्सी एण्ड बोटेनिकल कम्प्लेक्स, लाअल्फा हाइड्रोक्सी एसिड, ग्लाइकोमान क्रस लिङकड फेटी एसिड्स, अल्फान्युट्रियम आदि अन्य नाम पनि छन् ।  

त्यसका अतिरिक्त छालाको नियमित मसाजबाट पनि छालालाई जवान राख्न सकिन्छ । मसाजका लागि लेनोलिनयुक्त क्रिम प्रयोग गर्नुपर्छ । यसले लामो समयसम्म छालाको लचक कायम राख्छ । मसाजबाट मुहारको मांसपेशी बलियो हुन्छ । मसाजका साथै मुहारको एक्सरसाइज पनि सहायक हुन्छ । त्यसबाहेक फेसियल र पिलिङजस्ता उपाय पनि मद्दतगार सिद्ध हुन्छन् । आफ्नो मुहारको भावमा विशेष ध्यान दिनुपर्छ । सदैव मुस्कुराइरहनुपर्छ । मुहारमा रिस, तनाव, चिडचिडेपन आदि आउन दिनुहुँदैन ।  

–रोजिन शाक्य

 Image