Successfully Copied

जाडो मौसमको स्किन र हेयर केयर

मंसिरको सुरुवातसँगै चिसोको अनुभव हुन्छ अनि छाला रुखो र सुख्खा हुँदै जान्छ । यस्तो बेला छालालाई सुन्दर, चम्किलो एवं नरम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ ।

मंसिरको सुरुवातसँगै चिसोको अनुभव हुन्छ अनि छाला रुखो र सुख्खा हुँदै जान्छ । यस्तो बेला छालालाई सुन्दर, चम्किलो एवं नरम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ । छालामा सुख्खापन देखिन थाले दिनहुँ २–३ पटक मोइस्चराइजर लगाउनुपर्छ । सुख्खा छालामा वाटर बेस क्रिम वा मोइस्चराइजर लगाउन सकिन्छ भने बडी लोसन वा ओलिभ आयल पनि उपयुक्त हन्छ । जाडो मौसममा कोल्ड क्रिम वा एसपीएफ युभी प्रोटेक्सन क्रिम लगाउनुपर्छ । मोइस्चराइजर आफ्नो छालाअनुरूप प्रयोग गर्नुपर्छ । जाडोमा हल्का मेकअप गर्नुपर्छ । आँखालाई सुहाउने हल्का कलरको आइस्याडो लगाउने । जाडो मौसममा अनुहार ड्राई हुने हुँदा कम्प्याक्ट पाउडर लगाउनु हुँदैन । जाडोमा मिनिरल मेकअप उपयुक्त हुन्छ ।

जाडोमा स्पा ट्रिटमेन्ट पनि एकदमै राम्रो विकल्प हो । स्पाले शरीरमा रहेको सबै फोहोर बाहिर निकाल्छ । यसले छालामा जम्मा भएको अतिरिक्त तेलसमेत बाहिर निकाल्छ । यतिबेला समय–समयमा छालामा स्क्रब गर्नुपर्ने सौन्दर्यविद् सीता पाठक बताउँछिन् । पाठकका अनुसार स्क्रब गर्दा छालामा रहेका मृतकोषहरू हुन्छन् जसले गर्दा छाला नरम भएर ग्लो हुन थाल्छ । स्क्रबले छालाको पोर खुल्ने भएकाले स्क्रबपछि अनिवार्य रूपमा फेसप्याक लगाउनुपर्ने सौन्दर्यविद् पाठकले बताइन् । 

जाडोमा चिसो हावाले शरीरको देखिने भाग र हात–खुट्टाको छाला फुट्छ र सुख्खा हुन्छ ।  त्यसैले अनुहारका साथमा हात–खुट्टाको पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोइस्चराइजर वा ह्यान्ड तथा फुट लोसनका साथमा सुत्नुअघि ग्लिसरिन लगाउनुपर्छ । जाडो मौसममा पनि धेरै तातोपानीले ननुहाउने । यसले स्किनलाई सुख्खा बनाइदिन्छ । जाडोमा केमिकलयुक्त साबुन तथा क्लिन्जरबाट जोगिनुपर्छ । एलोबेरा वा ग्लिसरिनयुक्त ओयल बेस साबुन प्रयोग गर्न सकिन्छ भने केमिकल र अल्कोहल प्रयोग गरिएका उत्पादन प्रयोग गर्नुहँुदैन । 

विन्टर स्किन क्लिन्जर 

केही थोपा कागतीको रस र गुलाबजल, एक चम्चा ओलिभ आयल, अरेन्ज जुस, अण्डाको पहेंलो भाग मिसाएर नुहाउनुभन्दा १५ मिनेटअघि लगाउने । 

लिप केयरका लागि

थोरै बटर, केही थोपा कागतीको रस र गुलाबजल मिसाएर सुत्नुअघि लगाउँदा ओठ फुट्दैन र नरम पनि हुन्छ ।

होम फेसियल

मुल्तानी माटो र महलाई बराबर मात्रामा मिसाएर पेस्ट बनाउने । यो पेस्ट लगाएको १५ मिनेटपछि मनतातो पानीले धुने र आल्मन्ड आयल लगाउने ।

हात–खुट्टाका लागि

भिटामिन ई तेल र ऐलोबेरा मिसाएर हात–खुट्टामा दल्ने । यसले हात–खुट्टालाई मोइस्चराइज गर्छ । 

नर्मलदेखि सुख्खा छालाका लागि स्मार्ट टिप्स

एलोबेरायुक्त क्लिन्जर प्रयोग गर्ने । एलोबेराले छालाको सुन्दरता निखार्छ अनि छालालाई नरम बनाई डेड स्किनलाई हटाउँछ । त्यसपछि सनस्किन लगाउनुका साथै छालाको पोषणका लागि भिटामिन ए र ईयुक्त क्रिम लगाउनुपर्छ ।

सुख्खा छालाका लागि 

साबुनको प्रयोग बन्द गर्ने । नुहाउनुअघि बेसारयुक्त क्रिमले मसाज गर्ने । बेसारले हिलिङ गरी छालालाई मुलायम बनाउँछ । नुहाउनासाथ भिजेकै छालामा मोइस्चराइजर लगाउने ।

फुटेको खुट्टाका लागि 

राति १५ मिनेट मनतातो पानीमा खुट्टालाई भिजाउने । फुट स्केपरले डेड स्किनलाई निकाल्ने । एप्रिक्राट क्रिम लगाउने । 

हातका लागि स्क्रब

कागतीको रसमा थोरै मह भिजाएर स्क्रब गर्ने । पानीमा काम गर्दा पन्जा लगाउने । यसले हातको छालालाई सुरक्षित राख्छ । 

सुदिना खड्गी ब्युटिसियन

सुख्खा छालाका लागि घरेलु टिप्स

पाकेको मेवामा केरा मिसाएर लेदो बनाउने । त्यसमा दुई चम्चा मह हाली तयार पारिएको लेदो अनुहार तथा शरीरमा लगाउने । मेवामा एन्टी अक्सिडेट्स हुन्छ भने केरामा भिटामिन । मेवाले छालालाई मोइस्चराइज गर्छ । 

१ चम्चा बदामको पाउडरमा २ चम्चा काँचो दूध मिसाई अनुहारमा लगाएर १० मिनेटजति मसाज गर्ने ।

दही र दूधको तरलाई बराबर मात्रामा मिसाएर पूरै शरीरमा लगाई २० मिनेटपछि धुने । 

२ चम्चा महमा आधा कागतीको रस मिसाएर कपासले बिस्तारै अनुहारमा लगाउने । कागती भिटामिन सीले भरिपूर्ण हुन्छ र महमा एन्टी इम्फ्लेमेटरी हुन्छ ।

दही र कागतीको रस मिसाएर अनुहारको मसाज गर्ने । यसले अनुहारमा ग्लो ल्याउँछ । 

अनुहारमा एलोबेरा दल्दा छालामा नरमपन आउँछ ।

अण्डाको पहेंलो भागमा १–१ चम्चा मह र दूधको पाउडर मिसाएर बनाइएको पेस्ट अनुहारमा लगाएर २० मिनेटपछि पखाल्ने । यो पेस्ट सुख्खा छालाका लागि एकदमै प्रभावकारी हुन्छ । 

एक–एक चम्चा ग्लिसरिन, कागतीको रस र गुलाबजल मिसाएर सुत्नुअघि लगाउने । यसले छालाई फुट्नबाट जोगाई मोइस्चराइज गर्छ ।

अंशु भटराइ, ब्युटिसियन

जाडोका घरेलु टिप्स

–नुहाउने पानीमा दुई कप दूध मिसाउने, दूधमा रहेको फ्याट ल्याक्टिक एसिडले छालालाई नरम बनाउँछ ।

–नुहाउने पानीमा २ चम्चा ओलिभ आयल हालेर नुहाउँदा छालाको सुख्खापनबाट मुक्ति मिल्छ । 

–आफ्नो डाइटको पूरा ख्याल राख्ने । ताजा फलफूल, सागसब्जी तथा जुसलाई नियमित भोजनमा समावेश गर्ने र प्रशस्त पानीे पिउने ।

–हातको छाला शरीरको अरू भागको अनुपातमा पातलो हुन्छ । त्यसैले जाडोमा हात छिट्टै सुख्खा हुन्छ  तसर्थ हातको छालालाई पनि मोइस्चराइज गर्नुपर्छ । 

–नुहाउनुअघि आल्मन्ड र कोकोनटको तेलले मसाज गर्ने ।

–ग्लिसरिन र पेट्रोलियम जेलीको प्रयोगले यो मौसममा हुने सुख्खापनको समस्याबाट छुटकारा दिलाउँछ भने फुटेको ओठ पनि ठीक हुन्छ । 

–नरिवल तथा सनफ्लावरको तेलमा पनि नेचुरल फ्याटी एसिड हुन्छ । यसले छालालाई मोइस्चराइज गर्न सहयोग गर्छ । 

लक्की श्रेष्ठ महत, ब्युटिसियन

स्वस्थ केशका लागि

–जाडोमा स्काल्प सुख्खा हुन्छ जसले चायाँको समस्या बढाउँछ । यस्तो समस्यामा आयल मसाज राम्रो उपाय हो । तेललाई तताएर त्यसमा कागतीको रस हाली स्काल्प मसाज गर्ने । 

–जाडो महिनामा केशलाई चायाँमुक्त बनाउन ताजा कागतीको एक चम्चा रसलाई केश धुने पानीमा मिसाउने । नुहाउनुभन्दा आधा घन्टाअघि दहिले केश मसाज गर्ने । १५ मिनेट राखेर मनतातो पानीले पखाल्ने । हरेक दिन यो उपाय अपनाउँदा चायाँ हट्छ । राति सुत्ने बेलामा मनतातो नरिवलको तेलमा खाने कपूर मिसाएर केशको जरामा मसाज गरी बिहान उठेर स्याम्पु गर्ने । 

–एक चम्चा अदुवाको रसमा १ चम्चा ओलिभ आयल र २ चम्चा कागतीको रस मिसाउने । केशमा लगाएर ४५ मिनेटपछि स्याम्पु गर्ने । 

–एकदमै तातोपानीले केश नधुने । मनतातो पानी मात्र प्रयोग गर्ने । हेयर ड्रायर पनि सकेसम्म  प्रयोग गर्नुहुँदैन । 

–२ चम्चा ओलिभ आयल तताएर बिस्तारै केशको मसाज गर्ने । यसले तेल भित्रसम्म पुग्छ र केशलाई पोषण पुग्छ अनि चायाँ पर्ने र केश झर्ने समस्या कम हुन्छ ।

–भिजेको केशलाई बाँध्दा समस्या अझ बढ्छ । दिनहुँ स्याम्पु प्रयोग गर्नु हुँदैन । स्वस्थ खाना खाने र प्रशस्त पानी पिउने । 

केशका लागि घरेलु उपाय 

–२ वटा अण्डामा २ चम्चा मह मिसाई राम्रोसँग ब्लेन्ड गर्ने र केशमा लगाउने । सावर क्याप लगाई आधा घन्टापछि धुने । यसले केश चम्किलो र स्वस्थ राख्नुका साथै झर्न पनि दिँदैन ।

–मेथीलाई रातभरि भिजाएर भोलिपल्ट पिस्ने । त्यसलाई तोरीको तेलमा मिसाई आधा घन्टासम्म केशको जराका साथै पूरै केशको मसाज गरी ३० मिनेटपछि मनतातो पानीले पखालेर स्याम्पु गर्ने ।

–एलोबेरा जेलमा केही थोपा कागतीको रस तथा १ चम्चा ओलिभ आयल वा नरिवलको तेल मिसाएर ब्लेन्ड गर्ने । यसलाई केशमा प्रयोग गर्दा प्रभावकारी परिणाम प्राप्त हुन्छ ।

 Image