Successfully Copied

गाउन : सौन्दर्यको सहयात्री

​ओस्कर फिल्म समारोहमा मिडियाकर्मी विशेषत: फोटोग्राफरहरूको उत्सुकता हेर्न लायक हुन्छ। सायदै संसारमा यस प्रकारको अर्को कुनै कार्यक्रम होला, जसलाई कभर गर्न फोटोग्राफरहरू यति धेरै उत्सुक हुन्छन्।

ओस्कर फिल्म समारोहमा मिडियाकर्मी विशेषत: फोटोग्राफरहरूको उत्सुकता हेर्न लायक हुन्छ। सायदै संसारमा यस प्रकारको अर्को कुनै कार्यक्रम होला, जसलाई कभर गर्न फोटोग्राफरहरू यति धेरै उत्सुक हुन्छन् । यसको एकमात्र कारण हो ओस्कर पुरस्कार समारोहमा उपस्थित हुने अभिनेतृ एवं अन्य महिला सेलिब्रेटीहरूले लगाउने गाउन। 

अहिले कांस फिल्म फेस्टिबल, मोसन पिक्चर्स, एकेडेमी एवार्ड (ओस्कर पुरस्कार समारोह) तथा अमेरिकाको राष्ट्रपति भवन अर्थात् ह्वाइट हाउसमा हुने अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा लगाइने गाउन सबैको आकर्षण र पहिचान बन्न पुगेको छ । यी सबै समारोहको विशेषता हो, रेड कार्पेटमा संसारभरिका सुन्दरीहरूको यात्रा । अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा विश्व प्रसिद्ध राजनेता, व्यापारी, महान् खेलाडी, अभिनेता एवं अन्य क्षेत्रका सेलिब्रेटीहरूको उपस्थिति रहन्छ भने कोडक थिएटरको रेड कार्पेटमा पाइला चाल्नेहरू फिल्म क्षेत्रका महान् हस्तीहरू हुन्छन्। कांस फिल्म फेस्टिबलमा पनि प्राय: कोडक थिएटरमा पुग्ने विशिष्ट मानिसहरू नै हुन्छन्। 

धेरैजसो कांस एवं ओस्कर एवार्ड समारोहमा आफ्नो सुन्दरताले संसारको निद्रा हरण गर्ने स्वप्न सुन्दरीहरू हरेकको नजर आफूतर्फ आकर्षित गर्ने गाउन लगाएर पुगेका देखिन्छन् । चाहे ती मर्लिन मुनरो हुन् वा ग्रेटा गार्बी वा एलिजावेथ टेलर । जुलिया रोबर्ट्स वा आजकी एन्जेलिना जोली, पेरिस हिल्टन, केट विन्सलेट, ऐश्वर्या राय, काइली मेनाग वा मल्लिका शेरावत, यी सबै स्वप्न सुन्दरीहरू रेड कार्पेटमा मादकताका लागि आकर्षक, मनमोहक एवं सुन्दर गाउन नै छनोट गर्छन् । 

पछिल्ला केही वर्षयता बलिउडका ऐश्वर्या राय र मल्लिका शेरावत कांस फिल्म फेस्टिबलमा नियमित रूपमा उपस्थित हुन थालेका छन् । चार वर्ष पहिले कांस समारोहमा ऐश्वर्या राय, इवा लांगोरियाका साथमा रेड कार्पेटमा सहयात्रीका रूपमा देखा परेकी थिइन् । त्यतिबेला उनको सुन्दरता सबैको पाइला रोक्ने खालको थियो र त्यो सुन्दरताको हकदार थियो उनले लगाएको गाउन पनि । उक्त समारोहमा मल्लिका शेरावत, सलमा हायक र केट विन्सलेटका डिजाइनर गाउनको पनि निकै चर्चा भएको थियो । 

समारोहको शान 

चाहे ठूलो फिल्म फेस्टिबल होस् वा कुनै विश्वप्रसिद्ध सेलिब्रेटीको विवाह । पश्चिमी देशको राज्याभिषेक समारोह होस् अथवा विश्व विद्यालय वा अन्य शैक्षिक संस्थानहरूको दीक्षान्त समारोह नै किन नहोस्, वेटीकन सिटीमा वर्षमा एकपटक हुने पोपको सम्बोधन समारोह होस् वा पारम्परिक इसाई विवाह सबै विशिष्ट समारोहको शान सधैं सुन्दर गाउन रहँदै आएको छ । त्यसो त गाउन युरोपीय संस्कृतिको विशेष उपहार हो । अहिले यो विश्वकै उपहार साबित भैसकेको छ । परम्परागत हिन्दूहरूको विवाहमा पनि कतिपय अवस्थामा बेहुलीको पहिरन गाउन हुने गरेको छ । यसको अर्थ गाउन मात्र विशिष्ट समारोहको विशेष पोसाक हो भन्ने होइन । यो कतिपय अवसर र अलग–अलग समयको प्रतीक पनि हो । गाउन महिलाहरूको मात्र पोसाक होइन । गाउनलाई अलग–अलग समयमा रिसर्च स्कलर, पादरी, डाक्टर, जज, वकिल आदि व्यावसायिक पुरुषले पनि लगाएको देख्न सकिन्छ जसले पहिले पनि राजामहाराजादेखि सेनापति, पुरोहित आदिको शरीरको शोभा बढाउँथ्यो । 

गाउन मध्यवर्ती ल्याटिन भाषाको गुन्ना शब्दबाट बनेको हो, जसको अर्थ हुन्छ एउटा त्यस्तो लुज खालको बाहिरी पोसाक जुन घाँटीदेखि एङ्कल लेन्थ वा फ्लोर लेन्थ हुन सक्छ । यो महिला र पुरुष दुवैको पोसाकका रूपमा परिचित छ र १७ औं शताब्दीको प्रारम्भिक समयदेखि नै युरोपमा लगाइँदै आएको पाइन्छ । समयसँगै यो पहिरन पुरुषका लागि केही व्यवसाय र औपचारिक समारोहमै सीमित हुन पुग्यो भने महिलाहरूका लागि यो पोसाक कुनै पेसा वा समारोहमा सीमित रहेन । त्यसैले अहिले गाउनले अनेकौं डिजाइन, शैली र विविधतासँगै महिलाहरूको सुन्दरतामा आकर्षण र ग्ल्यामर संचार गर्न सफलता प्राप्त गरेको पाइन्छ । 

कामुकताको प्रतीक 

गाउन महिलाहरूलाई लोभ्याउने र आकर्षक कामुक पहिरन पनि मानिएको छ । यो लामो र फिटेड अर्थात् शरीरका कटहरूअनुसार फिट हुने पहिरन हो । १८ औं शताब्दीमा गाउनलाई एउटा इन्फर्मल कोटका रूपमा लगाइन्थ्यो । युरोपमा क्राउन प्रिन्सदेखि धनाढ्य एवं नवाबहरूले यो पहिरनलाई आफ्नो शान प्रस्तुत गर्न लगाउँथे । जब पुरुषले गाउन लगाउँछन् तब त्यो कुनै परम्पराको प्रतीकजस्तो लाग्छ वा त्यो एक प्रकारको युनिफर्म हुन्छ तर महिलाहरूले लगाउँदा गाउन उनीहरूको सुन्दरता र मादकताको प्रतीक बन्न पुग्छ ।

कुनै समय गाउनलाई पेटिकोटजस्तै ओभर ड्रेसका रूपमा पनि लगाइन्थ्यो । यो भिक्टोरियन युगभन्दा पहिलेको कुरा हो । त्यसपछि बिस्तारै यो मात्र महिलाको पहिरनका रूपमा परिचित हुँदै गयो । उतिबेला पनि यो पहिरन इभनिङ, मर्निङ, ट्रावलिङ र फुल ड्रेसका रूपमा वर्गीकृत थियो । १८ औं शताब्दीको मध्यसम्म पनि गाउन र फ्रक एक–अर्काका पर्याय थिए र दुवैका लागि एउटै शब्द ‘ड्रेस’ प्रयोग हुन्थ्यो । त्यतिबेला फ्रकका लागि हल्का कपडा प्रयोग गरिन्थ्यो र त्यो इन्फर्मल हुन्थ्यो । गाउन प्राय: पारम्परिक वा हेभी कपडाको हुन्थ्यो र फर्मल रूपमा प्रयोग हुन्थ्यो । अहिले यो शैलीले केही कलात्मक प्रयोगका साथमा सुन्दरता र ताजापन प्राप्त गरेको पाइन्छ । यो अनौठो प्रयोगलाई फ्युजन भनिन्छ । गाउन पनि फ्युजनको यो कलाबाट समृद्ध भएको छ । अब यो कलात्मक सौन्दर्यबोधका साथै ज्यामितीय कुशलतासँगै अघि बढ्ने क्रममा महिलाहरूको सौन्दर्य एवं व्यक्तित्व निखार्ने माध्यम बन्न पुगेको छ । त्यसैले गाउन धेरैजसो सुन्दर महिला एवं सेलिब्रेटीहरूको रोजाइमा पर्ने गरेको छ ।

 Image