Successfully Copied

तीजको मेकअप

तीजमा लाइटमा धेरै ब्राइट देखिने हुँदा हल्का मेकअपमै आकर्षक देखिन सकिन्छ । हेभी मेकअप आफूलाई मात्र होइन हेर्नेलाई पनि गार्‍हो हुन्छ । तीजमा व्रत बस्ने, मठमन्दिर जाने तथा नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप गर्नुपर्छ । क्लिन्जिङ क्रिमले अनुहार सफा गर्ने, ओयली स्किन

मेकअप

दीपा शाही, ब्युटी दिभा मेकअप स्टुडियो, कालिमाटी 

तीज भन्नासाथ ट्रेन्डी र फेसनेबल सोच आइहाल्छ । त्यसैले महिलाहरू डिजाइनर पहिरनका साथ आफूलाई सुहाउने मेकअपले सिंगार्न चाहन्छन् । तीजमा लाइटमा धेरै ब्राइट देखिने हुँदा हल्का मेकअपमै आकर्षक देखिन सकिन्छ । हेभी मेकअप आफूलाई मात्र होइन हेर्नेलाई पनि गार्‍हो हुन्छ । तीजमा व्रत बस्ने, मठमन्दिर जाने तथा नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप गर्नुपर्छ । क्लिन्जिङ क्रिमले अनुहार सफा गर्ने,  ओयली स्किन छ भने वेट टिस्युले अनुहार सफा गर्ने अनि हल्का मोइस्चराइजर लगाएर स्किन टोनअनुसारको फाउन्डेसन लगाउने । 

मेकअप फाउन्डेसनमै भर पर्ने भएकाले फाउन्डेसन आफू सुहाउँदो हुनुपर्छ अन्यथा जति राम्रो मेकअप भए पनि फिक्का हुन्छ । त्यसपछि कम्प्याक पाउडरले सेट गर्दा मेकअप दिनभरिका लागि रहन्छ । लिपिस्टिक लगाउनुअघि फाउन्डेसन तथा कम्प्याक पाउडर लगाएर लिपिस्टिक लगाई टिस्युले ड्याप गर्नुपर्छ । पाउडर लगाएर फेरि लिपिस्टिक लगाउँदा लिपिस्टिक लामो समयसम्म टिक्छ ।  तीजका लागि भाइब्रेट कलर ओरेञ्ज, पिंक तथा रेड लिपिस्टिक उपयुक्त हुन्छन् । आई मेकअप डार्क छ भने गोल्ड, पिंक, ब्राउन आदि लिपिस्टिक राम्रो देखिन्छ । रातो पहिरनमा स्मोकी आई खुल्छ । त्यसमा गोल्ड स्याडो बेस गरेर कालोले मर्ज गर्दा अझ आकर्षक देखिन्छ । 

हल्का फाउन्डेसन आई लिडमा लगाउँदा आइस्याडोको रियल कलर आउँछ । आई बोनमा हाई लाइटर आइस्याडो लगाई तलको भागमा जुन कलरको आइस्याडो मन पर्छ त्यही लगाउन सकिन्छ । गाजल लगाइसकेर मस्कारा लगाउँदा आँखा आकर्षक देखिन्छ । वाटरप्रुफ आइस्याडो, गाजल र मस्कारा लगाइसकेपछि अन्त्यमा हल्का पिच कलर वा पिंक कलर ब्लस प्रयोग गरेर मेकअप पूरा गर्न सकिन्छ ।

हेयर स्टाइल

सीता पाठक, अध्यक्ष एबीसी ह्याण्ड

गर्मी मौसम र घाममा मठमन्दिर गएर नाच–गान गरिने हुँदा तीजमा केश छोड्दा गार्‍हो हुनसक्छ । केश सीधा छ भने हेयर स्पा गराउन सकिन्छ । सकभर मुस प्रयोग नगरेकै उपयुक्त हुन्छ । स्पाबाहेकका अन्य केमिकलले केश बिगार्छन् भने स्पाले केश तथा सेटिङमा सकारात्मक प्रभाव पार्छ । स्पापछि अलिअलि पानी हालेर कोरेपछि केशलाई फेन्सी रोल गरेर सेट गर्न सकिन्छ । 

यस्तो केशलाई सीधै माथिबाट सेन्टर प्वाइन्टमा लगेर पिन अप गर्दा पनि राम्रो देखिन्छ भने साइडमा गर्दा पनि राम्रै देखिन्छ । यो हेयर स्टाइल सबै प्रकारको पहिरन तथा केशलाई सुहाउँछ । यो साडी, कुर्ता, लेहेंगा आदि हरेक पहिरनमा सुहाउँछ र आफैले घरमै गर्न पनि सकिने हुँदा तीजका लागि यो हेयर स्टाइल उपयुक्त छ । जुरो बनाउन मन लाग्दैन भने नयाँ स्टाइलमा बाटेर बीचबीचमा फ्लावर पिन अप गर्दा पनि तीजको रातो पहिरनमा निकै सुन्दर देखिन्छ । यसमा केशका कारण हुने गर्मीको समस्या पनि रहँदैन । टिनएजरहरूका लागि केश छोटो छ भने विभिन्न डिजाइनमा हेयर क्लिप वा हेयर ब्यान्ड नै उपयुक्त हुन्छ, लामो छ भने फेन्सी रोल एवं जापनिज जुरो पनि राम्रो देखिन्छ । केशमा रबर ब्यान्ड लगाउन, अगाडिको केही केश निकाल्न र कर्ल गर्न सकिन्छ । समय कम छ भने कुनै मन परेको स्टाइलमा हातैले स्टाइल दिएर क्लिप गरी जुरो बनाउँदा पनि स्टाइलिस्ट देखिन्छ । तीजका दिन पूजापाठमा बढी व्यस्त हुनुपर्दा केही दिनअघि नै कुन पहिरनमा कुन स्टाइलको हेयर स्टाइल बनाउने हो योजना बनाई कलर, कटिङ आदिको तयारी गर्नुपर्छ । रातो साडी, कुर्तामा लेटेस्ट धागो तथा स्टिकरहरू टाँसेर अगाडिको केश अलिकति छोडेर बाट्दा पनि आकर्षक देखिन सकिन्छ ।  

मेहन्दी र नेल आर्ट

जुनु चक्रधर, जुम ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर, कुपण्डोल

मेहन्दी

कुनै समय सीमित समुदायले मात्र मेहन्दी लगाउँथे । अहिले मेहन्दीले व्यापकता पाएको छ । तीजलगायत साउन महिना, विवाह आदि समारोहमा विशेष शुभ साइतका रूपमा मेहन्दी लगाइन्छ । तीजका बेला आफ्ना हातखुट्टामा इच्छाअनुसार रिसर्व, कोहिनुर, माडवारी, राजस्थानी आदि कलात्मक डिजाइन बनाउन सकिन्छ । महिलाहरू मेहन्दी लगाएर आफ्ना हातखुट्टा सफा देखाउन चाहन्छन् । अहिले सबैभन्दा बढी रुचाइने मेहन्दी अरेविक हो । यसमा प्यार्टेन फरक तथा सफा किसिमको हुन्छ । मेटालिक, फेब्रिक, गोल्डेन मेहन्दी आदि पनि फेन्सी डिजाइनका मेहन्दी हुन् । ग्लिटर टाटु, ब्ल्याक, ब्राउन मेहन्दी टेम्पररी टाटुजमा पर्छ । त्यसैले तीजमा मेहन्दी छानेर मात्र लगाउनुपर्छ किनभने मेहन्दी लगाइसकेपछि तुरुन्तै मेटाउन सकिँदैन । हिजोआज तीजमा मेकअप, हेयर स्टाइलजस्तै मेहन्दीको पनि उत्तिकै महत्व छ । 

नेल आर्ट

सौन्दर्य विज्ञानको प्रगतिसँगै अहिले महिलाहरू पनि आफू सजिन समय र पैसा खर्चिन गार्‍हो मान्दैनन् । महिलाहरूको सौन्दर्यमा नङको पनि महत्वपूर्ण भूमिका हुन्छ । महिलाहरूको रहर पूरा गर्न नेल एक्सटेन्सन तथा नेल आर्टका विभिन्न विधि उपलब्ध छन् । नेल एक्सटेन्सन गर्दा प्रोडक्टलाई ध्यान दिनुपर्छ । कमसल सामानले नङलाई भित्रबाटै कमजोर बनाउने, पत्रहरू जाने तथा भाँचिने डर हुन्छ । नेल एक्सटेन्सन ३ महिनासम्म टिकाउन एक्रिलिक नेल एक्सटेन्सन गराउन सकिन्छ । यो प्राकृतिक नङजस्तै देखिन्छ । त्यस्तै फेक नेल एक्सटेन्सन प्लास्टिकले बनेको हुन्छ । यो सस्तो हुनुका साथै चाँडै भाँचिन्छ । राम्रो खालको फेक नेल एक हप्तासम्म टिक्छ । यसमा पेन्टिङ फिनिसिङपछि प्राकृतिक नङजस्तो देखिन्छ । जेल नेल एक्सटेन्सन लेटेस्ट प्रविधि हो । यो आकर्षक अनि प्राकृतिक देखिन्छ । यो १ महिनादेखि ६ महिनासम्म टिक्छ भने नेलको ग्रोथअनुसार रिफिलिङ गर्न सकिन्छ । औंलाको सेप साइज तथा नङको लम्बाइअनुसार नङ बनाउनुपर्छ । फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । नङ आकर्षक देखाउन नेल आर्ट पनि गर्न सकिन्छ । नेल आर्ट तथा पेन्टिङप्रेमीहरूले टेम्पोररी नेल आर्ट गराउनु उपयुक्त हुन्छ । यसअन्तर्गत बन स्ट्रोक नेल आर्ट, वाटर मार्बल, डटिङ, सेप, कात्सिङ सेप, लिडब्रस आर्ट, स्पञ्ज नेल आर्ट, स्टाम्प नेल आर्ट, पिन आर्ट  आदि पर्छन् । यस्तो नेल आर्ट तुलनात्मक रूपमा सस्तो पनि हुन्छ । यस्तै पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त हुन्छ । यसलाई सफा, डिसेन्ट तथा स्टान्डर लुक्स दिने खालको मानिन्छ । यो पानीसँग खेल्दा वा लुगा धुँदा पनि बिग्रदैन । 

 Image