Successfully Copied

आरामदायक ‘नाइट ड्रेस’

रातिको समय ‘नाइट ड्रेस’ लगाएर सुत्दा शरीरलाई आराम मिल्छ र निद्रा राम्रो लाग्छ । स्वस्थ जीवनशैलीका लागि पर्याप्त निद्रा धेरै जरुरी हुन्छ ।


काठमाडौं भोटाहिटीमा पसल गरिरहेकी सीता न्यौपानेले पछिल्लो समय ‘नाइट ड्रेस’को राम्रो व्यापार भइरहेको बताउँछिन् । ‘अहिले त यसको पनि फेसन नै चलेको छ’ उनले सुनाइन्, ‘पहिले बालबालिकाहरूको मात्र फाट्टफुट्ट बिक्री हुन्थ्यो भने अहिले जुनसुकै उमेर समूहकाले खोज्दै आउँछन् ।’ बाह्रै महिना बिक्री हुने यो पहिरन जाडो र गर्मीका लागि छुट्टाछुट्टै फेब्रिकमा आउँछ । धेरैले सिल्क फेब्रिक नै रुचाउने उनले बताइन् । पछिल्लो समय‘नाइट ड्रेस’ धेरैका लागि अपरिहार्य भइसकेको छ । जमलमा एक दशकयता ‘इनर वेयर’को व्यापार गर्दै आएकी विन्दु श्रेष्ठले भनिन्, ‘ब्याचलर्स पार्टीका लागि युवतीहरू एउटै डिजाइन र रंगको नाइट ड्रेस खोज्दै आउँछन् ।’ त्यसैले यसको व्यापार बढेको उनको भनाइ छ ।

यस्ता पहिरन सहज र हल्का हुन्छन् । पर्याप्त निद्राका लागि सहज र आरामदायक पहिरन हुनुपर्छ । पहिला ‘म्याक्सी’ जस्तो ‘नाइट वेयर’ चल्तीमा थियो । सीताले भनिन्, ‘अहिले सर्ट र पाइन्ट स्टाइलको ट्रेन्डमा छ । म्याक्सी डिजाइनको कमैले मात्र खोज्छन् । यो पातलो र पारदर्शी हुन्छ ।’ सर्ट र पाइन्ट डिजाइनको ‘नाइट ड्रेस’ कटन र सिल्क फेब्रिकमा पाइन्छ । यो ‘नाइट डे«स’ बालबालिकादेखि वृद्धवद्धासम्म जुनसुकै उमेर समूहकाले पनि लगाउन सक्ने उनी बताउँछन् ।

अनिवार्य नाइट ड्रेस

धेरैले ‘नाइट ड्रेस’लाई आवश्यक मान्दैनन् । दिउँसो लगाएको कपडा नै लगाएर सुत्छन् । दिनभरिको भागदौड र थकानले शरीरलाई आरामको आवश्यकता पर्छ । यस्तोमा दिनभरि लगाएको पहिरनले शरीरलाई आराम पुग्दैन । रातिको समय ‘नाइट ड्रेस’ लगाएर सुत्दा शरीरलाई आराम मिल्छ र निद्रा राम्रो लाग्छ ।  स्वस्थ जीवनशैलीका लागि पर्याप्त निद्रा धेरै जरुरी हुन्छ । किनभने अघिल्लो दिनको सुताइले अर्को दिन कस्तो हुन्छ भन्ने कुरा निर्भर गर्छ । सुत्नका लागि आरामदायक ओछ्यान जति जरुरी हुन्छ त्यति नै शरीरमा भएको पहिरन पनि सहज र हल्का हुनु जरुरी हुन्छ । दिउँसो मात्र नभएर राति पनि सजिलो पहिरन लगाउनुपर्छ । कसिलो पहिरन लगाएर सुत्दा शरीरमा पर्याप्त हावा पुग्दैन ।

गर्मीका लागि नाइट ड्रेस

गर्मीमा बाक्लो फेब्रिक लगाउन उपयुक्त हुँदैन । यो मौसमका लागि बजारमा छुट्टै फेब्रिकका ‘नाइट ड्रेस’ उपलब्ध छन् । मौसमअनुसार पहिरन लगाउँदा छालासँग जोडिएको समस्या पनि आउँदैन । त्यसका साथै सहज र आरामदायक पनि हुन्छ । यो मौसममा कटन, लेनिनको कपडा उपयुक्त हुन्छ । अहिले बजारमा सेटमा फुल पाइन्टको सट्टा हाफ पाइन्ट पनि पाइन्छ । यस्तो पहिरनले शरीरमा शीतलता प्रदान गर्छ । यो पहिरन लुज हुन्छ ।
प्रिन्टेडमा यो पहिरन एकदमै राम्रो देखिन्छ । त्यसका अतिरिक्त चेक प्रिन्टेड रोज्न सकिन्छ । बालबालिकाहरूका लागि जनावर तथा फलफूलको प्रिन्ट भएको सुहाउँछ । सिल्क फेब्रिकमा भने प्लेन नै राम्रो देखिन्छ । यसमा विभिन्न रंगमा पाइन्छ ।

सर्ट र हाफ पाइन्ट

दिनभरिको थकानपछि सुत्ने बेला आरामदायक र हल्का पहिरनको आवश्यकता हुन्छ । यसले शरीरलाई आराम दिन्छ । बजारमा सर्ट र हाफ पाइन्टको सेट पाइन्छ । धेरै गर्मी हुनेहरूका लागि यो पहिरन उपयुक्त हुनसक्छ । लुज फिटिङमा पाइने यसको मूल्य एक हजारदेखि १३ सयसम्म पर्छ ।

 
‘साटन म्याक्सी ड्रेस’

साटनको म्याक्सी गर्मी महिनाका लागि उपयुक्त हुन्छ । यो सदाबहार नाइट पहिरन पनि हो । यो हल्का र खुकुलो हुने भएकाले निकै सहज हुन्छ । यो छोटो र लामो दुवैमा पाइन्छ । आफ्नो रोजाइअनुसारको लगाउन सकिन्छ । यसमा सादा र प्रिन्टेड दुवैमा पाइन्छ । यसको मूल्य आठ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ ।

‘फुल स्लिभ’

फुल स्लिभ भएको नाइट पहिरन विशेषगरी जाडो मौसमका लागि उपयुक्त हुन्छ । तर कटन, सिल्कजस्ता फेब्रिकको नाइट डे«स गर्मीका लागि पनि उपयुक्त मानिन्छ । पूरा शरीर ढाक्न मन पराउनेहरूले फुल स्लिभ भएको नाइट ड्रेस लगाउन सक्छन् । यसको मूल्य १२ सयदेखि १७ सय रुपैयाँसम्म पर्छ ।

सर्ट र पाइन्टको सेट

यो अहिले धेरै चलेको नाइट ड्रेस हो । यो डिजाइन धेरै युवतीहरूको रोजाइमा पर्ने गरेको छ । यो आरामदायक हुन्छ । कटन फेब्रिकमा अझ बढी आरामदायक हुने भएकाले राम्रोसँग निद्रा लाग्छ । यसमा पनि धेरै प्रिन्ट उपलब्ध हुन्छ । यसको मूल्य १२ सयदेखि १५ सयसम्म पर्छ ।

 Image