Successfully Copied

जाडोका लागि पहिरन

देशबाहिर उत्पादित पहिरनले धान्दै आएको नेपाली फेसन बजार अहिले केही फरक अवस्थामा पुगेको छ ।

देशबाहिर उत्पादित पहिरनले धान्दै आएको नेपाली फेसन बजार अहिले केही फरक अवस्थामा पुगेको छ । नेपाली बुटिकमा डिजाइन गरिएका पहिरनले यहाँको बजार ओगट्न थालिसकेको छ । त्यसैले बजारमा उपलब्ध हुँदै आएका तयारी पोसाकमा मात्र निर्भर हुने प्रचलन पनि परम्परागत बन्दै गएको छ  । फेसनको राम्रो अध्ययन गरी आफ्नै सिर्जनामा जाडोको पहिरन तयार गर्ने डिजाइनरहरूको संख्या बढ्दै गएका कारण पनि यसो भएको हो । यसपटक पनि बुटिकहरू जाडोका फेबि्रकले भरिएका छन् । कुपन्डोलस्थित क्रियटिभ एण्ड स्टाइल हाउस (क्यास) की सञ्चालिका तथा डिजाइनर संगीता खड्कालाई यतिबेला भ्याइनभ्याइ छ । जाडो मौसममै बढी विवाह पनि हुने भएकाले विवाह तथा जाडो दुवै अवस्थाका लागि पहिरनको अर्डर आएकाले उनी व्यस्त भएकी हुन् । न्यानोपनका लागि ऊनको टप्स, भेल्भेटको साडी, लेहेंगा, अनारकली, कटनको पाइन्ट आदि उपयुक्त भएको डिजाइनर खड्का बताउँछिन् । जुनसुकै सिजनका लागि पनि टे्रन्ड तथा फेसनअनुकूल पहिरनमा सबैको आकर्षण बढ्नु स्वाभाविक हो । सोहीअनुरूपको विविधता र आधुनिकता बुटिक क्रियसनको बलियो पक्ष मानिन्छ । सबै उमेर समूहका महिलाहरूका लागि बुटिकले नै पहिरन तयार गर्ने गरेका छन् ।  

फेसनमा नेपाली समाज सचेत बन्दै गएकाले बुटिकका पहिरनमा मानिसहरूको रुचि बढेकोे डिजाइनर संगीता खड्का बताउँछिन् । सिजनल पहिरन तयार गर्न सक्ने अहिलेका बुटिकहरूमा जाडोका स्टाइलिस्ट पहिरनको माग राम्रो भएको पाइन्छ । जाडो होस् वा गर्मी जुनसुकै पहिरन तयार गर्न सक्ने अहिलेको बुटिक बजारमा यो वर्षको जाडो छल्ने न्याना पहिरन खरिद-बिक्री उत्कर्षमा रहेको डिजाइनरहरू बताउँछन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि पहिरनहरू तयार गरिने भए पनि सबैभन्दा बढी माग भने २५ वर्ष उमेर भन्दा माथिका महिलाहरूको पहिरनको हुने बुटिक सञ्चालकहरू बताउँछन् ।

बुटिकमा तयार गरिएका फेसनेबल तथा ट्रेन्डका पहिरनले आफ्नो व्यक्तित्वमा निखार ल्याउने कुरा ग्राहकहरूले अनुभव गर्दै आएकोे कुपन्डोलस्थित एस फेसन ग्यालरीकी डिजाइनर अञ्जु श्रेष्ठ बताउँछिन् । त्यसैले पनि बुटिकमा प्रशस्त अर्डर आउने श्रेष्ठको ठम्याइ छ । जाडो महिनाको फेसनेबल पहिरनमा ऊनीको टप्स्ा र वान पिस, भेल्भेटको ब्लाउज र साडी, ऊलनकै पाइन्टका साथै भेल्भेटका अनारकली तथा लेहेंगा प्रमुख छन् । भेल्भेट बाक्लो र न्यानो कपडा भएकाले यसबाट तयार हुने पहिरन अधिंकाश महिलाको रोजाइमा पर्छन् । यसैगरी पस्मिनाले न्यानोपन दिने भएकाले चिसो मौसममा पस्मिना तथा ढाकाबाट निर्मित पहिरनमा पनि महिलाहरूको आकर्षण छ । नेपालमै उत्पादित हुने पस्मिना तथा ढाकाका पहिरनको माग विशेषगरी जाडो मौसममै बढी हुन्छ ।  यतिबेला फेसन र चिसो दुवैलाई समायोजन गरी तयार गरिएका पहिरन सबैजसो बुटिकमा उपलब्ध हुन्छन् । जाडोमा हुने पार्टीर् अथवा विवाहका लागि आवश्यक पहिरनको माग पनि यतिबेला राम्राे हुन्छ । बुटिक क्रियसन फेबि्रकहरूमा नेपाली परम्परागत पहिरनदेखि अन्तर्राष्ट्रिय बजारमा चलेका सिजनेबल पहिरन उत्पादन गर्ने क्षमतामा पुगिसकेको कुपन्डोल एटिलिएरकी डिजाइनर अर्चना नकर्मी दाबी गर्छिन् । यसैगरी जाडो मौसम लामो नहुने भएकाले गत वर्षको स्टकलाई पनि नयाँ डिजाइन दिएर राखिने नकर्मीले बताइन् । त्यसैले नयाँ र पुराना दुवै प्रकारका डिजाइनका पहिरन हेभी वर्क गरी बिक्रीका लागि राखिएको नकर्मीले बताइन् । कटनका पहिरनहरू पनि चिसो मौसमका लागि उपयुक्त हुन्छन् । त्यसकारण कटनका फेसनेबल पहिरन पनि जाडो मौैसममा बढी प्रयोगमा आउँछन् । विभिन्न कलरमा पाइने ऊलनबाट चाहनाअनुरूप टप्स वा टि-सर्ट तयार गर्न सकिन्छ । बुटिकहरूमा पनि अर्डरबमोजिमको पहिरन तयार गर्न सकिन्छ । तयारीभन्दा अर्डरअनुरूप निर्माण गरिएका ऊलनका पहिरनको माग बढ्दै गएको डिजाइनरहरू बताउँछन् । बुटिकमा शरीरमा फिट हुने खालका कोट, पाइन्ट, टप्स, आउटर, टाउजरजस्ता पहिरन पनि आकर्षक ढंगले बनाइन्छ । त्यसैले चिसो छल्न बुटिकहरूमा गएर आफूलाई मनपर्ने न्याना तथा आरामदायक पहिरन सहजै तयार पार्न सकिन्छ ।

 Image