रंगमञ्चको संसारमा राम्रै सम्भावनासहित अघि बढिरहेकी कलाकार उषा रजक पछिल्लो समय ‘महारानीको जात्रा’ नाटकमार्फत विशेष रूपमा चर्चामा आएकी छिन् । नाटकमा उनले साधारण महिलाको पहिचान खोजिरहेको एउटा जटिल पात्रलाई सजिव बनाइन् जहाँ संघर्ष, चोट, विद्रोह र पुनर्जन्मको अनुभूति जोडिएको छ । उषाले नाटकको मूल सन्देशबारे भन्छिन्, ‘सामान्य महिलाको स्वतन्त्रता र पहिचान खोज्ने यात्रालाई राजदरबारको परिवेशभित्र ल्याइएको छ । महिलाले जति शक्ति प्रयोग गरे पनि समाजले उसलाई अझै पूर्ण मान्दैन, यही पाटोलाई नाटकले उजागर गर्छ ।’
उनी महारानीको पात्रमा उभिएको नाटक हो, यो । महारानी आफैं शक्तिशाली पात्र भए पनि समाजको अंकुशबाट उन्मुक्त थिइनन् । राजदरबारकी सदस्य भएर पनि आफ्नो पहिचान सधैं अपूर्ण ठानिनु, विवाह नभएसम्म समाजले परिपक्व नमान्नु आदि कुराले नाटकलाई अझै गहिरो र मर्मस्पर्शी बनाएको उनको भनाइ छ । ‘आजको समाजमा पनि महिलाले कति उपलब्धि पाए उनी कति योगदान दिए, आखिरमा विवाहकै आधारमा उनको उचाइ नापिन्छ अब समाजको यो सोच बदलिन आवश्यक छ’ उषाको भनाइ छ ।
उनलाई लाग्छ, महिला सम्बन्धित कथाहरूमा अब पुरानै पीडाको दोहोराइ भन्दा त्यसभन्दा फरक कथा आवश्यक छ । महिलालाई रोएका, सताइएका पात्रमा मात्र सीमित राख्ने समय सकियो अहिले महिलाको चाहना, आकांक्षा, शक्ति र भविष्य निर्माण गरेको कथा भन्नुपर्ने बेला आएको उनी बताउँछिन् । नाटक र चलचित्रमा महिलालाई केन्द्रमा राख्दा, उनको आवाज, सोच र निर्णयलाई सम्मान दिन थाल्दा समाज विस्तारै बदलिन थाल्छ भन्ने उनी विश्वास गर्छिन् ।
रजकका अनुसार पछिल्लो केही वर्षमा नाटक तथा चलचित्रमा महिला–मुख्य कथा उल्लेख्य रूपमा बढेका पनि छन् । यो बढ्नु केवल ट्रेन्ड नभई, महिलाको वास्तविक कथा सुन्ने वातावरण बनेको अनुभूति उनले गर्छिन् । ‘पोस्टरमा महिला देखिनु, कथाको केन्द्रमा महिला हुनु यी दृश्यले कलाकार मात्र होइन, दर्शकलाई पनि एउटा शक्ति अनुभव गराउँछ ।’ दर्शकले नै भन्न थालेका छन् हिरो त महिला नै रहेछन् । दर्शकको यस्तै प्रतिक्रिया र उत्साहले कलाकारमा ऊर्जा थप्ने उनी बताउँछिन् । उनका अनुसार अब महिला पात्रलाई आत्मनिर्भर, विचारशील र संसार बुझ्ने पात्रका रूपमा प्रस्तुत गर्नु आवश्यक छ । विशेष गरी आर्थिक स्वतन्त्रताका मुद्दालाई नाटकले गहिरोसँग उठाउनुपर्ने उनको धारणा छ । महिलाको समस्या मात्र देखाएर समाधान दिन नसक्ने कथा अब पर्याप्त छैनन् । कथाले महिलाको क्षमता, नेतृत्व र स्वतन्त्रताको बाटो पनि देखाउनुपर्ने उनको भनाइ छ ।
१६ दिने महिला हिंसाविरुद्धको अभियानकै समयमा देशभरका थिएटरहरूमा महिलामैत्री नाटकहरू प्रदर्शन भए । काठमाडौंको कौशी थिएटरमा शक्ति समूहले मञ्चन गरेको ‘कोमल’ नाटकले समाजमा महिलामाथि हुने विभेद, बेचबिखन, शोषण र उत्पीडनलाई प्रस्तुत गर्यो । नाटकमा अभिनय गरेका कलाकारले प्रस्तुत गरेको पीडा, पीडाभित्रको शक्ति र पीडाभित्रबाट उठ्ने हिम्मतले धेरैलाई सोच्न बाध्य बनाएको थियो ।
कौशी थिएटरकी सञ्चालक आकांक्षा कार्कीका अनुसार महिलासम्बन्धी मुद्दा, भोगाइ र वास्तविकता थिएटरले धेरैपटक उठाउँदै आएको भए पनि अझै पर्याप्त छैनन् । उनी भन्छिन्, ‘थिएटरमा महिलाप्रधान नाटक प्रशस्त छन्, तर कथाहरू जतिसुकै भए पनि प्रस्तुत गर्ने ठाउँ र अवसर हरेक महिला कलाकारलाई समान रूपमा छैन तर महिला सञ्चालक भएकाले हामीले आफ्ना भोगाइ र कथालाई बढी प्रस्तुत गर्न सकेका छौ । ’
उनका अनुसार महिला निर्देशक र महिला सञ्चालकको वृद्धि अनुभवलाई कलामार्फत व्यक्त गर्ने अभियानका रूपमा बढेको हो । हामीले बुझेका, भोगेका, महसुस गरेका कथाहरू नै मञ्चमा आउँछन् । त्यसैले मैले यस वर्ष पनि यौन हिंसाविरुद्ध नाटक बनाइरहेकी छु, जहाँ महिला वकिल मुख्य पात्र हुने आकांक्षा बताउँछिन् ।
उनका अनुसार थिएटर र चलचित्रबीच महिलालाई दिइने स्थानको भिन्नता हो । ‘चलचित्रमा महिला अनेक सीमामा बाँधिन्छन् तर थिएटरमा त्यस्तो छैन । यहाँ महिलालाई भूमिका, जिम्मेवारी र स्वतन्त्रता सबै दिन सकिन्छ ’ उनी स्पष्ट पार्छिन् । केही समयअघि प्रदर्शन गरिएको’ प्लेस अफ सिस्टम’ नाटकमा कार्यस्थलमा महिलाले भोग्ने मानसिक तथा भौतिक हिंसालाई संवेदनशील तरिकाले प्रस्तुत गरिएको थियो । दर्शकले प्रशंसा गरे तापनि पुरुषप्रधान समाजका केही तहले यसलाई सहजै स्वीकार गर्न नसकेको आकांक्षाले बताइन् । नेपाली फिल्मकी चर्चित नायिका रेखा थापाको रंगमञ्च प्रवेश पनि पछिल्लो समय निकै चर्चा भएको विषय हो ‘मीरा’ नाटकमार्फत । उनले पहिलोपटक रंगमञ्चमा पाइला राखिन् र पहिलो प्रस्तुतिमै दर्शकको उत्साहपूर्ण प्रतिक्रिया पाइन् । नाटकमा रेखाले निर्वाह गरेको मुख्य पात्र मीराको भूमिका बलियो, निर्भीक र भावनाले भरिएको थियो ।
रेखाले आफूले रंगमञ्चमा अनुभव गरेका भाव र संवेदनाबारे बताउँदै भन्छिन्, । ‘मीरा पात्रमा आफूलाई हेरिरहँदा मभित्र जीवन्तता बढिरहेको महसुस भएको थियो मभित्र पुन: ऊर्जा जन्मिएको छ । अब सबै पाएकी छु भन्ने घमण्ड भित्रतिर कतै थियो होला, तर रंगमञ्चले मलाई फेरि साधक बनाइदियो ।’
उनका अनुसार आफूलाई कलाको साधकजस्तै पाएकी छन् । नाटकले उनलाई अभिनयको नयाँ सिकाइ र अनुभव भयो । कलाकारहरू उषा रजक, आकांक्षा कार्की र रेखा थापा अनुभव, भोगाइका साथ थिएटरमा देखिएका महिला शक्तिहरुका रूपमा देखिएका छन् । रंगमञ्च अहिले महिलाको संसार, भोगाइ, चाहना र संघर्षलाई समाजमाझ पुर्याउने एउटा शक्तिशाली माध्यम बन्दै गएको छ । महिलाका कथा, आवाजले समाजमा सकारात्क सन्देश दिन सफल हुने उनीहरू बताउँछन् ।