थाइल्यान्डको राजधानी बैंककमा नोभेम्बर १६ मा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट्स २०२४’ मा नेपालका तर्फबाट हेरिटेज विधामा सहभागिता जनाएका बालबालिकाले सफलता हात पारेका छन् ।
फाइनल प्रतिस्पर्धामा प्रणय मानन्धरले ‘हेरिटेज जेम्स इन्टरनेसनल २०२४’ को शीर्ष उपाधि हात पारे भने क्यारिन दोङले ‘हेरिटेज जेम्स वर्ल्ड’को ताज पहिरिइन् ।
निशान उलक ‘हेरिटेज जेम्स अर्थ’ फस्ट रनर अप तथा नभ्नी उलक ‘हेरिटेज जेम्स एसिया’ फस्ट रनर अपका रुपमा छानिए । सहभागी चारै बालबालिका इभेन्ट बेटर ग्यालेक्सीकै आयोजनामा सम्पन्न ‘नेसनल किड्स अफ द इयर २०२४’ का विभिन्न उपाधि विजेता हुन् ।
‘हेरिटेज प्याजेन्टस् २०२४’ मा सहभागी बालबालिकाको विभिन्न प्रस्तुतिमा लगाएका पहिरन कुसम क्रिएसन, मेराकी बुटिक, ला बेला क्रिएसन, मध्यपुर ड्रेस हायर सेन्टरले तयार पारेका थिए । ट्यालेन्ट राउन्डको तयारी निर्देशक लिजा श्रेष्ठले गराएकी थिइन् भने फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए ।