केही वर्षयता नेपालमा थुपै्र ब्युटी प्याजेन्टहरू हुन थालेका छन् । साधारण व्यक्तिलाई २५–३० दिनको बन्द सेसनमा अरूका अगाडि बोल्न, खान, र्याम्पमा हिँड्न आदि सिकाउने एवं ड्रेस सेन्सदेखि लिएर अन्य आवश्यक कुरामा ग्रुम गर्ने काम परिकल्पनाकारकै हुन्छ । १९ वर्षअघिदेखि आयोजना भैरहेको नेपालको सबैभन्दा ठूलो ब्युटी प्याजेन्ट मिस नेपालकी सुरुदेखि हालसम्मकी कोरियोग्राफर हुन्–रचना शर्मा गुरुङ । जति पनि मिस नेपाल भए ती सबैको ग्रुमिङ गाइड रचना गुरुङ नै हुन् । मिस नेपाल घोषित हुनेहरू एकैपटक सेलिब्रेटी बन्छन् भने रचना गुरुङ पर्दा पछाडि बसेर आफूले सिकाएकाहरूको प्रगतिमा दंग हुन्छिन् ।
१६ वर्षको उमेरमा मोडलिङ सुरु गरेर दुई वर्षपछि कोरियोग्राफीको काम थालेकी जयन सुब्बा मानन्धर अहिलेसम्म व्यस्त परिकल्पनाकारका रूपमा परिचित छिन् । उनले फेसन शोको कोरियोग्राफीबाट आफ्नो करियर सुरु गरेकी हुन् । उनले कोरियोग्राफी गरेको ब्युटी प्याजेन्ट तथा फेसन शोहरूको संख्या ३ सय नाघिसकेको छ । सुब्बाले नै पहिलो पटक २००० मा सेलिब्रेटी वाक शीर्षकमा सेलिब्रेटीहरूलाई र्याम्पमा हिँडाएकी थिइन् । सिक्वेन्स वाकमा त्यतिबेलाका ९ जना मिस नेपाललाई एकै पटक र्याम्पमा मात्र हिँडाइएन, रुक्माङ्गद कटुवाललाई समेत सोज टपरका रूपमा र्याम्पमा उतारिएको थियो । जयनका अनुसार चलचित्र बनाउन निर्देशकको जुन भूमिका हुन्छ, त्यही नै र्याम्पमा परिकल्पनाकारको भूमिका हो । कोरियोग्राफीमार्फत राम्रै पारिश्रमिक लिने सुब्बा पारिश्रमिकमा जस्तै आफ्नो काम पनि सम्झौता गर्दिनन् । उनी नयाँ आउन चाहने महिलाहरूका लागि यो क्षेत्र सुरक्षित र राम्रो भएको बताउँछिन् । नाम एवं दाम पनि पाइने यो क्षेत्रमा उमेरको हदबन्दी छैन ।
अर्की व्यस्त कोरियोग्राफर हुन्–अनिला श्रेष्ठ । १० वर्षअघि मिस नेवामा भाग लिएकी अनिलाले मिस नेवामै कोरियोग्राफरका रूपमा काम गर्ने अवसर प्राप्त गरिन् । किड क्विन नेपाल, मास्टर स्टार, लिटिल मिस नेवाबाट कोरियोग्राफी सुरु गरेकी श्रेष्ठले त्यसपछि मिस फेरि, मिस टिन काठमाडौंमा कोरियोग्राफी गरिन् भने २००७ देखि आफैले ग्रिन आर्टस मिडिया खोलेर कलेज एम्बेसडर, लिटिल स्टारको कोरियोग्राफी गर्दैछिन् । अनिला फेसन शोको कोरियोग्राफीमा समेत त्यत्तिकै व्यस्त छिन् । उनका अनुसार यो क्षेत्रमा नाम बिक्यो भने कमाइ पनि राम्रो हुन्छ । उनी यो कामलाई चुनौतीपूर्ण मान्छिन् । सामान्य व्यक्तिलाई २०–२५ दिनको अवधिमा ग्रुम गर्नु चानचुने कुरा पक्कै होइन । अनिला आफूले सिकाएका नगमा श्रेष्ठ, सुरज गिरी, निकुम, प्रेक्षा उदास, सोनिया श्रेष्ठ आदिको सफलतामा खुसी हुन्छिन् ।
२००५ को मिस नेवाको ट्यालेन्ट अवार्ड जितेकी रोहिया महर्जनले त्यसको ३ महिनापछि नै मास्टर स्टार प्रतियोगिताको र्याम्प कोरियोग्राफरका रूपमा काम गरिन् । त्यसपछि उनको मेहनत देखेर लिटिल नेवा, मिस टिन, मिस नेवा, मिस टिन नेपाल, मास्टर स्टारका आयोजकहरूले पनि उनलाई काम दिए । डान्स कोरियोग्राफरबाट र्याम्प कोरियोग्राफीमा आएकी रोहियाका अनुसार यी दुवै कलाका भिन्न विधा हुन् । हुन त प्राय: सफल कोरियोग्राफरहरू डान्स ब्याक ग्राउन्डबाटै आएका देखिन्छन् । डान्स कोरियोग्राफर र्याम्पमा आउँदा अझ राम्रो हुने कोरियोग्राफर रोजिन शाक्य बताउँछन् । उनी आफै पनि राम्रो डान्सर हुन् भने रचना गुरुङ पनि डान्सबाटै आएकी हुन् । डान्स कोरियोग्राफर रेनेसा राई म्युजिक भिडियो, चलचित्र हुँदै इभेन्ट कोरियोग्राफी पनि गर्दैछिन् ।
अहिले महिला कोरियोग्राफरहरूको संख्या पनि निरन्तर बढ्दै गएको छ । नेपालमा कोरियोग्राफीको छुट्टै पढाइ भने अहिलेसम्म प्रारम्भ भएको छैन । प्रशान्त ताम्राकार, रचना गुरुङ, जयन सुब्बा मानन्धर, रोजिन शाक्य, राज फैंजू आदिले व्यक्तिगत रूपमा कोरियोग्राफीको प्रशिक्षण दिइरहेका छन् । कतिपयले प्रतिस्पर्धामा भाग लिएर आफ्नो अनुभवले कोरियोग्राफीको काम गरिरहेको पाइन्छ । नेपालकै प्रथम परिकल्पनाकार कान्ता क्षेत्रीले यसलाई निरन्तरता दिइनन् । कला सुब्बा पनि थुप्रै फेसन शो तथा ब्युटी प्याजेन्टमा कोरियोग्राफरका रूपमा काम गरिन् । स्वस्तिका राजभण्डारी प्राय: बालबालिकाहरूका इभेन्टमा कोरियोग्राफी गर्छिन् भने माल्भिका सुब्बाले यसपटकको मिस नेपालमा सहायक कोरियोग्राफरका रूपमा काम गरिन् । पहिले मिस टिनदेखि अन्य राम्रा–राम्रा प्याजेन्टको कोरियोग्राफी गरिसकेकी प्रभा अमात्य अहिले यो कामबाट टाढिएकी छिन् । त्यस्तै अहिले व्यस्त कोरियोग्राफरहरूमा प्रिया रानी लामा, कुन्छाङ मोक्तान, आस्था श्रेष्ठ, प्रंशसा श्रेष्ठ, आयुषी शाह, नेहा बजाज, आयुषा राई, लक्ष्मी बस्नेत आदि छन् । यीबाहेक अरू पनि थुप्रै महिला कोरियोग्राफर छन्, जसले कोरियोग्राफी जस्तो सिर्जनात्मक काम गरेर आफूलाई चिनाउन संघर्ष गरिरहेका छन् ।