Successfully Copied

विवाहपछिको परिवर्तन

विवाहपछि नै म अत्यन्त सहनशील, शान्त र निश्चिन्त भैसकेकी छु। अजयले मेरो जीवनमा स्टेबिलिटीका साथै थुप्रै खुसी दिएका छन्।

काजोल

विवाहपछि नै म अत्यन्त सहनशील, शान्त र निश्चिन्त  भैसकेकी छु। अजयले मेरो जीवनमा स्टेबिलिटीका साथै थुप्रै खुसी दिएका छन्। हामी दुवैको स्वभाव अलग-अलग छ, तर पनि हामी दुवै धेरै हदसम्म एउटै ढंगले सोच्छौं। त्यसबाहेक मेरो विचार के छ भने यदि कसैलाई माया गरिन्छ भने उनलाई पर्याप्त समय र मान-सम्मान पनि दिनुपर्छ। म पनि अजयलाई धेरै सम्मान दिन्छु। त्यसैले हामीबीच कहिल्यै मनमुटाव वा समस्या सिर्जना भएन। सफल वैवाहिक जीवनका लागि दम्पतीले हरेक दिन एक-अर्काका लागि केही न केही समय निकाल्नु आवश्यक छ। विशेषगरी वेडिङ एनिभर्सरी, चाडपर्व, पारिवारिक जमघट आदिमा एक-अर्कालाई साथ दिनुपर्छ।

करिना कपूर

विवाहपछि पनि मेरा प्रशंसक कम भएनन्, मलाई यही कुरामा सबैभन्दा बढी खुसी लाग्छ। त्यसो त विवाहपछि नायिकाहरूको डिमान्ड घट्छ। सरनेमबाहेक विवाहपछि मेरो जीवनमा केही परिवर्तन आएको छैन। म र सैफ एक-अर्कालाई चाहन्छौं, हामीले विवाह गर्‍यौं र आज पनि हामीलाई सबै कुरा पहिलेकै जस्तो लाग्छ। हाम्रो वैवाहिक जीवन अत्यन्त सुखपूर्वक बित्दैछ। हामी पहिले जस्तो थियौं, विवाहपछि पनि त्यस्तै नै छौं। मेरो विचारमा विवाहले कहिल्यै करियरको बाटोमा बाधा पुर्‍याउँदैन। विवाहपछि मानिस अझ बढी जिम्मेवार तथा समझदार हुन्छ। मानिसको जीवन सेट हुन्छ। आफूलाई मेन्टली सपोर्ट गर्ने व्यक्ति आफ्नो साथमा भएपछि विश्वास पनि बढ्छ। व्यक्तिले मूर्खतापूर्ण व्यवहार गर्न छोड्छ। विवाहपछि मेरो सोच र दृष्टिकोणमा परिवर्तन आएको छ, साथै कामप्रतिको अप्रोचमा पनि धेरै सुधार आएको छ। विवाहलाई कहिल्यै बन्धन वा बोझका रूपमा लिनु हुँदैन। विवाहअघि जसरी कसैसित व्यवहार गरिन्थ्यो त्यसलाई कायम राख्नुपर्छ। एउटा सीमापछि कसैको पर्सनल स्पेसमा हस्तक्षेप गर्नुहुँदैन। श्रीमान्का सम्बन्धमा पहिले नै सपनाको महल बनाउनु ठीक होइन। पुरुषको यो सोच नारी या त सीता हुन्छिन् वा वेश्या सही होइन। यसैगरी पुरुषले शिशुको राम्रोसँग लालनपालन गर्न सक्दैन भनेर सोच्नु पनि गलत हुन्छ। वास्तवमा समय, परिस्थिति र समझदारीले जो कोहीलाई राम्रो गर्न सिकाउँछ र उसले गर्छ पनि।

शिल्पा सेट्टी

त्यसो त सबै कुरा राम्रो छ, तर विवाहपछि मेरो जीवन अझ बढी चुनौतीपूर्ण बन्न पुगेको छ। पहिले म के सोच्थें भने विवाहपछि जीवन अझ बढी सहज हुनेछ तर त्यो भने भएन। मैले श्रीमान्, सन्तान र परिवार सबैको ख्याल राख्नुपरेको छ। विवाहपछि घरपरिवार सम्हाल्न सहज हुँदैन, कारण एकसाथ सबै कुरा म्यानेज गर्नुपर्ने हुन्छ। घरलाई नयाँ ढंगबाट सजाउनु, फ्यामिली फङसन, श्रीमान्को बर्थ डे, बिजनेस डिल, आईपीएललगायत धेरै कुरा छन् र सबैलाई समयमै निर्वाह गर्नुपर्ने हुन्छ। यद्यपि ती सबै काममा आनन्द पनि उत्तिकै छ।

ऐश्वर्या राय बच्चन

विवाह एउटा सुन्दर अनुभूति हो। यसका सम्बन्धमा आफ्नो कमिटमेन्टप्रति इमानदार रहनुपर्छ। जीवनसाथीलाई आफ्नो दुनियाँ मान्ने र उनीप्रति समर्पित रहने हो भने जीवनमा धेरै कुरा गर्न सकिन्छ। जुन दिन म विवाहित भएँ र मेरो जीवनमा श्रीमान्, सासू, ससुरा र श्रीमान्का परिवारजन समावेश भए, त्यसको अर्थ यो होइन कि मेरा लागि मेरा अभिभावकको महत्त्व घट्दै गयो। विवाहपछि मैले श्रीमान्, सन्तान र घरपरिवारका साथमा आफ्ना अभिभावकलाई पनि पर्याप्त समय र साथ दिएँ। विवाह अनि सन्तान भएपछि पनि मैले करिअर तथा घरलाई राम्रोसँग म्यानेज गरेकी छु। यसको अर्थ विवाहपछि ममाथि बन्धन-बन्देज आयो भन्ने होइन। छोरी आराध्या जन्एिपछि भने मैले स्वयंलाई केही सीमामा बाँधेकी छु।

विद्या बालन

विवाहपछि महिलाहरूले थुपै्र परिवर्तनको अपेक्षा राख्छन्। यद्यपि विवाहपछि महिलाले परिवर्तन हुनुहुँदैन, तब मात्र वैवाहिक जीवन राम्रोसँग अघि बढ्छ। त्यसो त म आफ्नो वैवाहिक जीवनमा अझै पनि अलग-अलग एवं नयाँ अनुभवबाट अघि बढिरहेकी छु। तैपनि यति भन्न सक्छु-तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै रहनुहोस्, कारण महिलाहरू विवाहपछि परिवर्तन हुन्छन्, जसका कारण तिनलाई सहज हुन धेरै समय लाग्छ।

करिश्मा कपूर

मैले विवाहपछि आफ्ना प्राथमिकताहरू तय गरेकी थिएँ। मेरो घरपरिवार र सन्तान नै मेरो प्राथमिकता थिए। त्यसपछि समय प्राप्त भए मात्र फिल्म खेल्ने मेरो योजना थियो। मैले कतिपय स-साना कुरा पनि विवाहपछि नै विशेष रूपले जान्न-बुझ्न थालंे। विवाहले व्यक्तिलाई समझदार एवं परिपक्व बनाउँछ। विवाहपछि घर सम्हाल्नुका साथै मैले टिभी सिरियल, शो, एड आदिमा पनि काम गरेकी छु।

कोंकणा सेन

मैले विवाहपछि होइन आमा बनेपछि पूर्णरूपमा परिपक्व हुँदै गएको महसुस गरेकी छु, अहिले ममा पर्याप्त परिवर्तन आएको छ। त्यसो त घरपरिवारका साथमा शिशुको हेरचाह गर्नमै मेरो धेरै समय बित्छ। मैले गत वर्षदेखि पुनः आफ्नो काम थालेकी छु। विवाह र सन्तानको जन्मपछि पनि म धेरै हदसम्म पहिलेकी जस्तै छु। यद्यपि ममा अहिले बढी धैर्य छ। म कुनै पनि कुरामा पहिले जस्तो तुरुन्तै प्रतिक्रिया दिन्न। एक प्रकारले विवाहपछि मेरो सहनशक्ति बढेको छ। विवाह र सन्तान जन्मिएपछि फेमिली र करिअरमा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण हुन्छ। विवाहित कामकाजी महिलालाई देख्दा तब मलाई गर्व महसुस हुन्छ। अहिले मैले उनीहरूका समस्या बुझ्न थालेकी छु।

 Image