Successfully Copied

फरक धारकी कलाकार दिया

फरक धारको अभिनय यात्रामा तल्लीन नायिका दिया मास्के जीवन्त अभिनय गर्न रुचाउँछिन्। सामान्य परिवारमा जन्मिएकी दिया ४ वर्षको उमेरदेखि होस्टेल बसेकी हुन्।

फरक धारको अभिनय यात्रामा तल्लीन नायिका दिया मास्के जीवन्त अभिनय गर्न रुचाउँछिन्। सामान्य परिवारमा जन्मिएकी दिया ४ वर्षको उमेरदेखि होस्टेल बसेकी हुन्। नर्सरीदेखि कक्षा ४ सम्म अमर शिशु विद्यालय तथा कक्षा ५ देखि मोर्डन इन्डियन स्कुलमा पढेकी दिया अभिभावकलाई महिनामा एकपटक मात्र भेट्न पाउँथिन्। स्कुलको नियममा बसेर पढ्ने क्रममा उनी पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल भइन्। त्यसमा पनि ४ वर्षको उमेरदेखि नै नृत्य सिकेकी दियाले सानैदेखि राम्रो नृत्यांगना तथा कोरियोग्राफर बन्छु भन्ने सपना पालेकी थिइन्। भारतीय गुरु गोपीकृष्णसँग कत्थक सिक्ने चाहना थियो उनको तर आफ्नो स्कुलको पढाइ सकिँदा गुरुको मृत्यु भैसकेको हुँदा त्यो सपना सपनामै सीमित भयो। स्कुलमै उनले कत्थक, भरत नाट्यम् तथा आधुनिक नृत्यहरू सिकिन्।

स्कुलपछि दियाले सुरसुधाका सुरेन्द्र श्रेष्ठको सहयोगले मह जोडीको शोमा भाग लिने अवसर पाइन्। हुन त उनले कक्षा ६ मा पढ्दा नै चलचित्र देउताको जून त लाग्यो ताराले गीतमा नाचेकी थिइन्। पछि मह जोडीसँग लण्डन, सुरसुधासँग जापान तथा फ्रान्ससम्म नाच्न पुगेकी दियाले प्लस टु पढ्दा भिज्यो सिरानी रातमा गीतको म्युजिक भिडियोमा अभिनय गरिन्। ब्याचलरको परीक्षा दिने क्रममै उनी नवीन सुब्बाले दलान सिरियलको अडिसनमा पुगेकी थिइन्। त्यतिबेला निर्देशक अनुप बरालसँग भेट भयो। अनुपबाट प्रभावित भएर दियाले वर्कसपमा भाग लिइन्। २२ वषर्ीया दियाले आफ्नो पहिलो अभिनयै आफूलाई बूढी काली महिलाका रूपमा उभ्याइन्। सहरमा त्यो पनि होस्टेल जीवनमा हुर्किएकी दियाले गाउँमा अनुप बरालको अपोजिटमा नराम्रो गेटअप र बूढी महिलाका रूपमा सशक्त अभिनय गरिन्। त्यसपछि अनुप बरालको एक्टेस स्टुडियो भर्ना भइन्। अभिनयलाई नै जीवनको अभिन्न अंगका रूपमा लिएर जाने निर्णयका साथ अघि बढेकी दियाले चलचित्र कागबेनी एवं साँघुरोमा गरेको अभिनयलाई धेरैले राम्रो कामका रूपमा मूल्यांकन गरेका छन्। समलिंगीको कथामा आधारित सुनगाभामा उनको अभिनय जीवन्त छ भने उक्त चलचित्र ओस्कारका लागि मनोनयनमा समेत परेको थियो। धेरैजसो किन एउटै खालको चलचित्रमा भन्ने प्रश्नमा दिया भन्छिन्, कस्तोलाई एउटै धार भन्ने ? म हिरोको पछि-पछि मात्र नाच्ने भूभिकामा नायिका भएर चिनिन चाहन्न। म आफ्नो पहिचान हुने र अभिनयमार्फत समाजलाई केही नयाँ कुरा दिने भूमिका निर्वाह गर्न चाहन्छु। अहिले भने प्रदर्शन हुन लागेको फिटकीरीको प्रतीक्षामा छिन्, उनी। त्यसमा उनी ग्ल्यामरस युवतीको भूमिकामा देखापर्दै छिन् भने दर्शकले उनको नृत्यको मज्जा पनि लिन सक्नेछन्। दिया फिटकीरीको रेस्पोन्स हेरेपछि मात्र अर्को प्रोजेक्टमा हात हाल्ने सुरमा छिन्।

थिएटरमा काम गर्न रमाउने दियामा फरक-फरक भूमिकामा काम गर्ने चाहना छ भने नायिका नै भनेर कोट हुने इच्छा छैन। चलचित्रमा लिमिटेसन हुने अनि नायकका अघिपछि सीमित हुनुपर्ने भएकाले पनि चलचित्र त्यति मन पर्दैन।  

स्टेजले आफ्नो कमजोरी एवं खुबी चिनाउँछ। दियाका अनुसार स्टेज कलाकारको हातमा र चलचित्र निर्देशकको हातमा राम्रो-नराम्रो हुन्छ। अहिले उनी नृत्यांगनाका रूपमा समेत काम गरिरहेकी छिन् जहाँ दिदी सुभीमासँग प्रोजेक्ट डान्स, वेस्टर्न र इस्टर्न मिक्स गरेर प्योर पर्फम गर्छन्। उनी त्यहाँ हरेक दिन नृत्यको अभ्यासका लागि पुग्छिन्। धेरैजसोले नाटक कोर्ट मार्सलमा उनको अभिनयको प्रशंसा गरेका छन्। दिया अहिले बाँकी उज्यालो र तीन एकान नाटकको तयारीमा छिन्। चाँडै नै विवाह गर्ने सुरमा रहेकी दिया नाटकमा नयाँ प्रयोग र नयाँ थिमहरू ल्याउने तयारीमा छिन्।

आफूलाई कस्ती नायिका मान्नुहुन्छ ?

म आफूलाई नायिका मान्दिन, म सिर्फ कलाकार हुँ। नायिकाहरू एउटा सीमित घेरामा हुन्छन् त्यहाँ मलाई उकुसमुकुस हुन्छ।

यो क्षेत्रमा आउनुको श्रेय कसलाई दिनुहुन्छ ?

नृत्यमा आउन अमर शिशु स्कुल, अभिनयका लागि अनुप बराल।

कस्तो स्वभावको हुनुहुन्छ ?

साधारण, छुच्ची, चित्त नबुझेको कुरा मुखैमा भन्ने, स्ट्रेट फरवार्ड।

घरको कुन-कुन काम गर्न आउँछ ?

खासमा म एकदम घरेलु छु। लुगा सिउने, बुन्ने, पकाउने सबै काम आउँछ।

तपाईंका अन्य रुचि के-के छन् ?

पेन्टिङमा रुचि छ। सानो छँदा कार्टुन बनाउँथें, अहिले बिर्सिएकी छु। फेरि कार्टुन बनाउन सिक्ने र बनाउने रुचि छ।

रमाइलो कसरी गर्नुहुन्छ ?

नृत्य, अभिनय र आर्टमै रमाउँछु। बढी हाहु मन पर्दैन।

घुम्ने रहर छैन ?

खासै घुम्न मन लाग्दैन। कामको सिलसिलामा नेपालका धेरैजसो ठाउँ पुगिसकें। घुम्नै भनेर कतै जाँदिन।

सबैभन्दा बढी कोसँग मिल्नुहुन्छ ?

आमासँग मिल्छु, सबै कुरा आमालाई नै भन्छु।

यो क्षेत्रमा लाग्दा घरबाट रोकटोक भएन ?

मेरी फुपूले नृत्यमा मास्टर गरेकीले नृत्यमा लाग्न कुनै कठिन भएन तर पहिलो सिरियल दलनमै ४ महिना बाहिर भएर खबर समेत गर्न नपाउँदा कराउनुभयो। चलचित्रमा काम गर्दा उहाँहरूलाई डर थियो तर अहिले गर्व गर्नुहुन्छ, मेरो हरेक काममा स्यावासी दिनुहुन्छ। खासै त्यस्तो रोकटोक भएन।

कत्तिको फेसन कन्सस हुनुहुन्छ ?

म फेसन कन्सस छैन। लुगा सुहाउनुपर्छ, सफा हुनुपर्छ त्यत्ति हो। क्याजुअल वेयरमै हिँड्छु। हिल लाउँदिन, स्वास्थ्यका लागि पनि हिल लगाउनु हुँदैन।

स्किन केयरका लागि के गर्नुहुन्छ ?

क्लिन्जिङ गर्छु, स्कुटर चलाउने हुँदा स्किन सफा राख्छु। पानी धेरै पिउँछु।  सनब्लक  र गाजल मात्र लगाउँछु।

ग्याजेटप्रति कत्तिको रुचि छ ?

मैले नौ वटा मोबाइल हराइसकेकी छु। ग्याजेट मेरा लागि आवश्यकता मात्र हो, रुचि होइन। मसँग मिनी ल्यापटप सधैं हुन्छ, जसमा गुगलबाट अपडेट हुन्छु। मोबाइल कुरा गर्नलाई मात्र हो। .

 Image