Successfully Copied

दुलही सिँगार्ने हातहरू

काठमाडौंको वसुन्धारामा पार्लर संचालन गर्दै आएकी रितु शर्मालाई हरेक लगनमा बेग्लै चटारो हुन्छ । लगनसँगै युवा–युवतीले देख्ने रंग र जीवनको सपनाजस्तै रितुको पनि एउटा सपना हुन्छ–कसरी दुलहीलाई सबैभन्दा राम्री बनाउने । दुलही सिँगार्ने बेला रितुको मन मेकअपका सामग्रीसँगै विवाहमा सामेल हुने आम मान्छेसम्म पुग्छ ।

काठमाडौंको वसुन्धारामा पार्लर संचालन गर्दै आएकी रितु शर्मालाई हरेक लगनमा बेग्लै चटारो हुन्छ । लगनसँगै युवा–युवतीले देख्ने रंग र जीवनको सपनाजस्तै रितुको पनि एउटा सपना हुन्छ–कसरी दुलहीलाई सबैभन्दा राम्री बनाउने । दुलही सिँगार्ने बेला रितुको मन मेकअपका सामग्रीसँगै विवाहमा सामेल हुने आम मान्छेसम्म पुग्छ । रितुले लगनका बेला दिनमा ५ जनासम्म दुलही सिँगार्छिन् । रितुका हात बिहान ४ बजेदेखि नै दुलही सिँगार्न व्यस्त हुन्छन् । २० वर्षदेखि लगातार दुलही सिँगार्दै आएकी रितु समयसँगै दुलही सिँगार्ने तरिका र सामग्रीमा समेत परिवर्तन आएको बताउँछिन् । पहिलेको तुलनामा हिजोआजका दुलहीहरू बढी फर्माइस गर्ने स्वभावका भएको उनको अनुभव छ । अधिकांश समय दुलही मेकअपका सामग्री समायोजनमा रमाउने रितु कहिलेकाहीँ दुलहीको माग र आफ्नो मेकअपबीच तालमेल नबस्दा दिक्क हुन्छिन् । एउटी दुलही तयार गर्न १ घन्टा समय खर्च गर्ने रितु आफ्नो सुरमा मेकअप गर्न नपाउँदा भने कहिलेकाहीँ निराश हुन्छिन् । 

यता १७ वर्षदेखि दुलही सिँगार्ने पेसामा आबद्ध सुमित्रा रञ्जितलाई भने एउटी दुलही सिँगार्न करिब दुई घन्टा लाग्छ । एक सिजनमा १५ जनासम्म दुलही सिँगार्ने सुमित्रालाई हरेक पटक आजसम्मकी सबैभन्दा राम्री दुलही बनाउँछु भन्ने लाग्छ । त्यसैले उनी केशदेखि पहिरन र अनुहारमा समेत फरक क्रिएसन गर्न रुचाउँछिन् । सुमित्रासँग पहिले र अहिलेका दुलहीको सोचमा निकै परिवर्तन आएको अनुभव छ । पहिलेका दुलहीहरू धेरै मेकअप गर्न मान्दैनथे । सिम्पल तरिकाले जस्तो मेकअप गरिदिए पनि केही भन्दैनथे, तर हिजोआज जस्तो पायो त्यस्तो मेकअपले सबै दुलहीको चित्त बुझाउन सकिँदैन । दिनमा दुई–तीन जनासम्म दुलही सिँगार्ने सुमित्रालाई सुरु–सुरुमा थकान महसुस हुन्थ्यो, तर हिजोआज उनका हात अभ्यस्त भैसकेका छन् । मेकअपमा आएको निखार र दुलहीको मागसँगै आफ्नो आम्दानी पनि राम्रो रहेको सुमित्रा बताउँछिन् । 

पाटनकी कुमारी लामासँग भने दुलही सिँगारेको अनुभव धेरै छैन । केही वर्षदेखि पाटनको मंगलबजारमा पार्लर संचालन गरिरहेकी कुमारीका हात दुलहीका अनुहारमा अभ्यस्त भैनसकेका कारण उनलाई एउटी दुलही सिँगार्न झन्डै ३ घन्टा लाग्छ । 

एउटी दुलही तयार पार्न ब्युटिसियनलाई मात्र होइन फेसन डिजाइनरहरूलाई समेत उत्तिकै चटारो हुन्छ । विगत ६ वर्षदेखि फेसन डिजाइन गर्र्दै आएका डिजाइनर आस्तिक शेरचन एउटी दुलहीको पहिरन तयार गर्न ४ महिनासम्म लाग्ने कुरा बताउँछन् । हिजोआजका दुलहीहरूले अहिलेसम्म कसैले नलगाएको फेसन डिजाइन गरिदिन आग्रह गर्छन् । उनी आफैलाई पनि आफूले गर्ने हरेक क्रिएसनमा फरकपन झल्कियोस् भन्ने लाग्छ । दुलहीका पहिरनमा मेसिनले बुट्टा नभर्ने आस्तिक भन्छन्–यस्ता पहिरनमा हातले बनाइएको बुट्टा नै राम्रो देखिन्छ । त्यसैले एउटै पहिरन तयार गर्न चार महिनासम्म लागेको हो । विगत दुई वर्षदेखि पुल्चोकमा बुटिकसमेत संचालन गरिरहेका आस्तिक अहिले विवाहका लागि विशेष पहिरनहरू मात्र डिजाइन गर्छन् । एउटी दुलहीको एक सेट पहिरन तयार गर्न ३० जनादेखि ४० जनाको समूहले काम गर्नुपर्ने आस्तिक बताउँछन् । 

 Image