Successfully Copied

चाउरीपन हटाउन खानपानको महत्व

चाउरीपन कम गर्न आफ्नो खानामा चिनीको मात्रा घटाउनुपर्छ । यसको बढी प्रयोगले शरीरका विभिन्न भागको छाला र अनुहारमा छिटै चाउरीपन देखिन सक्छ ।


डा.सीमा सिटौला

मानिसको उमेर बढेसँगै शरीरका कोषहरू पनि मर्दै जान्छन् । त्यसैले मानिसको अनुहारमा चाउरीपन देखा पर्छ । यो समस्यालाई पूर्णरूपमा हटाउन नसके पनि केही हदसम्म कम गर्न सकिन्छ । अनुहारमा चाउरीपन देखापरे लगत्तै बजारमा क्रिमहरूको खोजी हुन्छ । क्रिमले चाउरीपन हट्छ भन्ने भ्रम र मानसिकता धेरैमा पाइन्छ । तर, मानिसको बाहिरी रूपसँगै भित्री रूप पनि असल हुन जरुरी छ । व्यस्त जीवनशैलीले आफूमा भएको परिवर्तनबारे धेरैलाई थाहा नहुनसक्छ । अनुहार राम्रो बनाउन होस् वा शरीरलाई फुर्तिलो बनाउन–खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । मानिसको शरीरमा भएको ‘मेटाबोलिजम’ (उपापचयन) सन्तुलित हुनुपर्छ । शरीरमा हुने ‘मेटाबोलिजम’ अनुसार मानिसको शरीरमा भएको परिवर्तन थाहा पाउन सकिन्छ । यसैको कारणले कसैले थोरै बढी खाादा पनि शरीर नलाग्ने हुनसक्छ भने कसैले थोरै खाँदा पनि छिटै शरीर लाग्ने हुनसक्छ । ‘मेटाबोलिजम’ मा हुने गडबडीकै कारण मानिसमा चाउरीपन देखिन्छ । त्यसैले यो रोक्न खानपानमा विशेष ध्यान दिनुपर्छ । खानामा कार्बोहाइडे«टको मात्रा कम गर्दा यसमा फाइदा पुग्छ ।


चिनीको मात्रा घटाउने
चाउरीपन कम गर्न आफ्नो खानामा चिनीको मात्रा घटाउनुपर्छ । यसको बढी प्रयोगले शरीरका विभिन्न भागको छाला र अनुहारमा छिटै चाउरीपन देखिन सक्छ । अतः सबैले चिनीको प्रयोग कम गर्नुपर्छ । चिनी खान छाडेको केही समयपछि बिस्तारै अनुहारमा परिवर्तन आउनुका साथै छालामा चम्किलोपन देखिन्छ र छाला टाइट हुन्छ ।



प्रोटिनयुक्त खाना खाने
शरीरलाई स्वस्थ बनाउन र चाउरीपनबाट बच्न प्रोटिनयुक्त खानेकुराहरू बढी खानुपर्छ । तर, सबैले प्रोटिनजन्य खानेकुराबारे जानकारी राख्न आवश्यक छ । शरीरको तौलअनुसार मानिसलाई प्रोटिनको आवश्यकता पर्छ । उदाहरणका लागि एक किलोग्राम तौल भएका मानिसलाई दैनिक एक ग्राम प्रोटिन आवश्यक पर्छ । यसैलाई आधार मानेर आफ्नो तौलअनुसार आफूलाई चाहिने प्रोटिनको मात्रा निर्धारण गर्न सकिन्छ । मांसाहारीले खाने मासुजन्य पदार्थमा प्रोटिनको मात्रा बढी हुन्छ । खासगरी, माछा–मासु खानेहरूका लागि रातो मासु प्रोटिनको राम्रो स्रोत हो । तर, माछा–मासु नखानेहरूले यसको विकल्पका रूपमा सोयाबिनको प्रयोग गर्नुपर्छ । शाकाहारीका लागि यो प्रोटिनको उपयुक्त स्रोत हो । त्यस्तै, आलमण्ड, ड्राइफुड्स पनि खान सकिन्छ ।


खानामाभिटामिन ‘बी’ आवश्यक
चाउरीपन रोक्नका लागि भिटामिन ‘बी’ पनि शरीरका लागि आवश्यक छ । यसका स्रोतहरू दुग्धजन्य पदार्थ–दूध, दही, पनीर, चीज आदि हुन् । खानामा यी दुग्धजन्य पदार्थहरूको प्रयोग गर्न छुटाउनु हुँदैन ।

(डा. सिटौला ‘फेस फरवार्ड एन्टी एजिङ क्लिनिक’ की सञ्चालिका र ‘कन्सल्टेन्ट डर्माटोलोजी’ हुन् ।)

 Image