Successfully Copied

मेष
आफन्त एवं इष्टमित्रसित भेटघाट हुनेछ । बोली र व्यवहारमा सजग रहनुपर्ला । काममा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । व्यक्तिगत कामका लागि किनमेल हुनसक्छ । कुनै भौतिक सुखका साधनको जोहो हुनसक्छ । आर्थिक एवं व्यापारिक क्षेत्र सुदृढ रहनेछ । नयाँ साथीसित राम्ररी चिनजान गर्ने अवसर मिल्नसक्छ । कुनै प्रतिस्पर्धात्मक काममा सहभागी हुने मौका मिल्नसक्छ । कुनै कुराले नजानिँदो गरी टाउको दुखाउन सक्छ । आफू असम्बद्ध कामकुरामा चासो नदिनु नै तपाईंका लागि लाभप्रद रहनेछ ।
वृष
काम गर्ने जाँगर बढ्नेछ । शरीर स्वस्थ रहनेछ । मनमा भएको तनाव हटेर जानेछ । क्रमश: सबै कुरा मिल्दै जानेछन् । कुनै विशेष काममा सफलता मिल्नेछ । नयाँ ठाउँमा घुमघाम गर्ने मौका जुट्नसक्छ । कतैबाट नयाँ कामका लागि प्रस्ताव आउनसक्छ । मित्रवर्गसित कतै जमघट हुनसक्छ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्ने सम्भावना छ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । कुनै कामविशेषले इष्टमित्रसित भेटघाट हुनसक्छ । समयावस्था विचारेर चल्नसके जस्तोसुकै समस्याबाट पनि पार पाउन सकिनेछ ।
मिथुन
समयलाई आफूअनुकूल चलाउन खोजिनेछ । धेरैजसो कुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । स्वास्थ्यस्थिति राम्रो रहनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । एक–अर्काको कुरालाई राम्ररी बुझ्दा दाम्पत्य जीवन सुमधुर रहनेछ । काम गर्ने जाँगर बढ्नेछ । सबैतिरबाट अपेक्षित साथ र सहयोग पाइनेछ । कुनै काम विशेषले कतै जाने काम आइलाग्नसक्छ । जता जाँदा पनि तपाईंका सहजताको विचार गरिनेछ । कहिलेकाहीँ काम गर्दै गर्दा कुनै कुराले अनाहकमा टाउको दुखाउन सक्छ । झिनामसिना काम गर्दा सजग रहनुपर्नेछ । कुनै पनि सामान किन्नुपूर्व राम्ररी विचार गर्नुपर्नेछ । यात्रामा गर्दा आफ्नो सामानको ख्याल गर्नुपर्ने बेला छ ।
कर्कट
वैदेशिक यात्रा गर्ने सम्भावना छ । सानातिना कामकुरामा पनि आफै खट्नुपर्दा केही भ्याइनभ्याइ हुनसक्छ । प्राय: सबै कामकुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । जता जाँदा पनि आफ्नो कामकुरा, स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ । दाम्पत्य जीवनमा कुनै कुरालाई लिएर मतभेद हुनसक्छ । सकेसम्म समय–परिस्थिति विचारेर एक–अर्कालाई बुझ्ने प्रयास गरिनेछ । कुनै पनि काम गर्दा हतार गर्नु हुँदैन । पारिवारिक वातावरण सुखमय रहनेछ । कुनै इच्छाइएको कामकुरामा समय दिन पाइनेछ । विविध कामका लागि कुनै कुराको किनमेल हुनसक्छ ।
सिंह
दाम्पत्य जीवन सुमधुर रहनेछ । आफूले इच्छाइएको काम कुरामा समय दिन पाइनेछ । प्राय:जसो सबै कार्य आफ्नै अनुकूलतामा सम्पन्न हुनेछन् । विभिन्न सामग्रीको जोहो हुनेछ । कतैबाट कुनै आकस्मिक उपहार पाइनसक्छ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । समयको ख्याल गरी व्यक्तिगत खुसीमा पनि ध्यान दिइनेछ । जसरी पनि आफू खुसी सहने प्रयत्न गरिनेछ । व्यावहारिक काम गर्दा भने बोलीचालीमा ध्यान दिनुपर्ने बेला छ । कुनै पनि काम गर्दा सकारात्मक रहनु तपाईंका लागि लाभप्रद रहनेछ । साथीहरूसित कतै रमाइलो जमघट हुनसक्छ ।
कन्या
माइतीपक्षसित भेटघाट गर्ने मौका मिल्नेछ । दाम्पत्य जीवनमा अपेक्षित माया र सद्भाव कायम रहनेछ । शुभ समाचार सुन्न पाइएला । कतैको यात्रा हुनसक्छ । सन्तानबाट सुख–सन्तोष मिल्नेछ । मनमा भएको तनाव हट्दा तन स्वस्थ रहनेछ । उत्साह बढ्दै जाँदा सबै काम गर्न सहज लाग्नेछ । रक्तचापको मात्रामा घटबढ हुनसक्ने भएकाले मौसमी खानपानमा जोड दिनुहोला । पारिवारिक कामका लागि केही खर्च हुनसक्छ । कुनै–कुनै कुरा व्यक्तिगत खुसी विचारेर गरिनेछ । समग्रमा यो महिना अनुकूल नै रहनेछ ।
तुला
कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । मनमा भएको चिन्ता हट्दै जानेछ । काम गर्ने जाँगर बढनेछ । माइती एवं मावलीपक्षसित भेटघाट हुनेछ । प्रतिस्पर्धात्मक काममा पनि सफल भइनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । कहिलेकाहीँ काम गर्दा झिनामसिना कुरा आइलागे पनि दशम सूर्यले सबै समस्यालाई तह लगाउनेछन् । क्रमिक रूपमा सबै कुरा मिल्दै जानेछन् । व्यक्तिगत कामका लागि केही खर्च गर्नुपर्ला । घरायसी कामकाजमा पनि केही व्यस्त भइनेछ । नयाँ एवं पुराना साथीहरूसित जमघट हुनसक्छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ होला । विविध कामकुराहरूले गर्दा मन प्रसन्न रहला ।
वृश्चिक
कुनै विशेष काममा सफलता मिल्नेछ । प्रतियोगितात्मक काममा पनि सफल भइनेछ । समयलाई आफूअनुरूप तह लगाउन खोजिनेछ । कहिलेकाहीँ काममा अचानक बाधा आइलाग्न सक्छ । संयमतापूर्वक काम गर्नुपर्ने बेला छ । कुनै पनि काम गर्दा हतारिनु हुँदैन । आर्थिक पक्ष सुदृढ भए पनि कुनै पनि कुरामा लगानी गर्नुपूर्व राम्ररी विचार गर्नुपर्ने बेला छ । कतैबाट कुनै कुराको आकस्मिक लाभ हुनेछ । सोचेअनुसार सबै काम गर्न पाउँदा मन खुसी हुनेछ । नवीन वस्त्रप्राप्तिको पनि योग छ । पारिवारिक वातावरण सुखमय रहनेछ । व्यावहारिक काम गर्दा भने सजग रहनुपर्ने बेला छ । धेरैजसो कुरा आफू अनुकूल गर्न पाउने हुनाले यो महिना फलदायी नै रहनेछ ।
धनु
धार्मिक कार्यप्रति आस्था बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । केही समय माइती गएर बस्ने मौका मिल्नसक्छ । कामविशेषले टाढा भएका प्रियजनसित भेटघाट हुनसक्छ । महिनाको सुरुसुरुका दिनहरूमा काम गर्दा विविध कुराले गर्दा मनमा द्विविधा हुनसक्छ । काम गर्दा सानातिना बाधाहरू पनि आइलाग्नसक्छन् । काम गर्दै जाँदा क्रमश: सबै कुरा मिल्दै जानेछन् । २० गतेपछि समय केही राम्रो हुनेछ । कुनै बहुप्रतीक्षित काममा सफलता मिल्नेछ । कतैबाट नयाँ कामका लागि प्रस्ताव आउनसक्छ । मनमा भएको तुष हटेर जानेछ । व्यापारिक क्षेत्र सफल रहनेछ । सन्तानबाट राम्रो समाचार सुन्न पाइएला ।
मकर
दाम्पत्य जीवन सुमधुर रहनेछ । प्राय: सबै कुरा सोचेअनुरूप मिल्दै जानेछन् । आफ्नो कार्यक्षेत्रबाट राम्रो मान–सम्मान पाइनेछ । आर्थिक र व्यापारिक क्षेत्र सुदृढ रहनेछन् । कुनै विशेष काममा सफलता मिल्नेछ । कतैको यात्रा हुनसक्छ । कुनै प्रतियोगितात्मक काममा सफलता मिल्नेछ । पेटमा गडबडी हुनसक्ने भएकाले पेटका बिरामीले जतासुकै जाँदा पनि खानपानको ख्याल गर्नुपर्ने बेला छ । महिनाको उत्तराद्र्धमा कुनै कुरालाई लिएर मतभेद हुनसक्छ । शान्त र सौम्य तरिकाले आफ्ना कुरा राख्नसके समस्याको समाधान हुनेछ । नवविवाहिताहरूले पनि व्यावहारिक काम गर्दा सजगता अपनाउनुपर्ने बेला छ ।
कुम्भ
काम गर्ने जाँगर बढ्दा मन स्वस्थ रहनेछ । समस्याको समाधान हुनुका साथै मनमा भएको चिन्ता पनि हटेर जानेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । रिस गर्नेहरू पनि तपाईंको प्रशंसा गर्न थाल्नेछन् । क्रमश: सबै कुरा मिल्दै जानेछन् । दाम्पत्य जीवनमा कुनै मनमुटाव भए पनि एक–अर्काप्रतिको माया र सद्भाव भने कायमै रहनेछ । कुनै कुरालाई लिएर छलफल हुनसक्छ । समयको ख्याल गर्दै आफ्नो वैचारिक अभिव्यक्ति दिने प्रयास हुनेछ । महिनाको उत्तराद्र्धको समय तपाईंका निम्ति अझ बढी अनुकूल रहला । तपार्इंको कुरामाथि पुनर्विचार गरिएला । सकेसम्म सबैबाट सुखदु:ख बुझी काम गर्ने प्रयास हुनेछ ।
मीन
आत्मीयजनसित भेटघाट गर्ने मौका जुट्नेछ । कुनै रोकिएको काममा सफलता मिल्नेछ । कुनै कुराबाट राम्रो आय आर्जन हुनसक्छ । बेलाबेलामा विविध कुराले गर्दा काममा अलमल हुनसक्छ । सकभर आफ्नै सुझबुझले काम सल्टाउने प्रयास हुनेछ । काम गर्दा अपजस पाइनसक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयास गर्नुपर्नेछ । कुनै कुराले गर्दा दाम्पत्य जीवनजमा खट्पट् हुनसक्छ । शान्त र सभ्यरूपमा आफूलाई व्यक्त गर्नसके समस्याको समाधान होला । छोराछोरीले पनि अनाहकमा दु:ख दिनसक्छन् । अरू कुराहरू भने यथावतै रहनेछन् । बेलाबेलामा व्यक्तिगत कामका लागि पनि केही समय निस्कनेछ । 

 Image