मानसरोवरको यात्रा पवित्र र अद्वितीय अनुभव हो, जसले धार्मिक र सांस्कृतिक महत्व राख्छ । यो यात्रा भारत, नेपाल र तिब्बतको सीमा क्षेत्रमा रहेको पवित्र मानसरोवर तालको दर्शन गर्ने उद्देश्यले गरिन्छ । यो ताल हिन्दू धर्म, बौद्ध धर्म र जैन धर्ममा एकदमै महत्वपूर्ण स्थान हो ।
पर्यटनविज्ञ राजन सिम्खडाका अनुसार मानसरोवर जानका लागि मेदेखि सेप्टेम्बरउपयुक्त हुन्छ । यो विशेषगरी आध्यात्मिक तथा साहसिक यात्रा हो । अर्थवन्ड एक्सपिडिसन्सका प्रेसिडेन्ट समेत रहेका उनी भन्छन्, ‘मानसरोवर यात्रा सामान्य धार्मिक भ्रमणभन्दा बढी एक आत्मिक अनुभव हो । यहाँ तीर्थयात्रीहरू स्नान, पूजा तथा धार्मिक अनुष्ठान गर्न जाने गरेका छन् ।’
पछिल्लो समय कैलाश मानसरोवर यात्रा जानेको संख्या बढ्दै गएको उनले बताए । भन्छन्, ‘सन् १९९९ देखि सुरु गरेको यो यात्रा अहिले पहिलाभन्दा सहज र सस्तो भएकाले यात्रुहरूको आकर्षण बढिरहेको छ ।’
कैलाश मानसरोवर यात्रा उच्च हिमाली भेगमा पर्ने भएकाले कठिन यात्राको सूचीमा राखिन्छ । यो यात्रामा लेक लाग्ने, स्वास्थ्य समस्या देखिन सक्ने र आपत्कालीन अवस्थामा सहज उद्धार सम्भव नहुने जोखिम रहन्छ ।
यात्रा सुरक्षित बनाउन यात्रीहरूले विशेष सतर्कता अपनाउनुपर्ने सिम्खडाको सुझाव छ । लामो यात्रा अवधि, विकट भूगोल र प्रतिकूल मौसमका कारण खानपान तथा बसोबासको खर्च उच्च हुने भएकाले यात्राका लागि आवश्यक बजेट र सरसामानको उचित योजना बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
उच्च हिमाली क्षेत्र भएकाले धार्मिक र प्राकृतिक रूपमा महत्वपूर्ण मानिने कैलाश मानसरोवर यात्रा सहज हुँदै गएपछि नेपाली तथा अन्तर्राष्ट्रिय तीर्थयात्रीहरू यसप्रति आकर्षित भएका छन् ।
सडक मार्गबाट भारतका तीर्थयात्रीमानसरोवर पुग्न भारतको सिक्किम हुँदै यात्रा गर्न सक्छन्, तर मौसम र कठिन भौगोलिक परिस्थितिका कारण यो मार्ग प्रयोग गर्न गाह्रो मानिन्छ । साथै, भारत–चीनबीचको राजनीतिक उतारचढावले यो मार्गलाई अस्थिर बनाउने गरेको छ ।
त्यसैले, नेपालमार्फत कैलाश मानसरोवर यात्रा गर्ने तीर्थयात्रीहरूको संख्या बढिरहेको छ । नेपाल हुँदै यात्रा गर्दा धार्मिक यात्रुहरूलाई लामो अनुभवका साथ सहज पहुँच उपलब्ध हुने सिम्खडाको भनाइ छ ।
कसरी पुग्ने ?
मानसरोवरको यात्रा गर्ने विभिन्न मार्गछन्, जसमा प्रमुखतीन मार्गप्रचलित छन् । यी मार्गमा यात्राका लागि लाग्ने अवधि, खर्च र यातायातको माध्यमका आधारमा शुल्क निर्धारित हुन्छ ।
काठमाडौं–हिल्सा मार्ग
हिँड्न मनपराउने र साहसिक यात्रा रुचाउन ेसिमिकोट हुँदै जान्छन् । नेपालगञ्जबाट हुम्लाको सिमिकोटसम्म हवाई जहाजबाट यात्रा गर्नुपर्ने हुन्छ । सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टरबाट यात्रा गर्न सकिन्छ । हिल्सा पुगेर नेपालबाट तिब्बती सीमा छिरेलगत्तै सडकबाट एक दिनमा मानसरोवर पुग्न सकिन्छ । मानसरोवरबाट हिल्सा हुँदै जाँदाकै रुट प्रयोग गरी काठमाडौं फर्किन सकिन्छ । यो यात्राका लागि दुई लाखदेखि तीन लाख रुपैयाँ खर्च लाग्छ ।
काठमाडौं–केरुङ रुट
यो मार्गमार्फत स्थलमार्ग हुँदै कैलाश मानसरोवर पुग्न सकिन्छ । यो एकदमै प्रसिद्ध रुट हो । साथै सस्तो र छिटो पनि पुग्न सकिन्छ ।यसका लागि काठमाडौंबाट स्यारुबेसी हुँदै सागाबाट कैलाश मानसरोवर पुग्न सकिन्छ ।केरुङबाट तिब्बती सीमा पार गरी सडक यात्रा गर्दै मानसरोवर पुग्न सकिन्छ । तिब्बती भेगमा सडकको अवस्था एकदमै राम्रो छ । यस रुटबाट कैलाश मानसरोवर यात्रा डेढ लाखदेखि दुई लाख रुपैयाँसम्ममा गर्न सकिन्छ । होटलको सेवा–सुविधाअनुसार खर्च थपघट हुनसक्छ ।
काठमाडौं–ल्हासा रुट
काठमाडौंबाट हवाईमार्ग हुँदै ल्हासा पुग्न सकिन्छ । यस रुटमा खर्च भने अरुमा भन्दा बढी लाग्छ । यो रुट काठमाडौं–ल्हासा हवाई यात्राबाट सुरु हुन्छ । यो रुटबाट यात्रा गर्दा धेरै दिन लाग्छ । यो रुटबाट मानसरोवर पुग्न १८ दिनसम्म लाग्छ । कम्तीमा पनि तीनदेखि चार लाखसम्म खर्च लाग्छ ।
यात्राको तयारी
मानसरोवर यात्रा गर्नलाई पासपोर्टको आवश्यकता पर्छ, जुन यात्राको मितिबाट कम्तीमा छ महिना वैध हुनुपर्छ । मानसरोवरको यात्रा कठिन र चुनौतीपूर्ण हुनसक्छ । यसका लागि निश्चित तयारी आवश्यक हुन्छ । धेरै उचाइमाभएको हुनाले अक्सिजनको कमी, हाइल्यान्डर रोग र अन्य स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्छन् । त्यसैले यात्राअघि स्वास्थ्य जाँच गराउनु महत्वपूर्ण छ ।
उच्च पर्वतीय वातावरणका लागि अत्यावश्यक कपडाहरू, मोटा स्वेटर, टोपी, पञ्जा, मोजा, प्रोटेक्टिभ गियर, प्राथमिक स्वास्थ्य सामग्रीआदि बोक्नुपर्छ । धेरै उचाइमा यात्रा गर्दा अक्सिजनको कमीको समस्या हुनसक्छ । यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा भनेको उच्च उचाइमा शारीरिक कमजोरी र श्वासप्रश्वास समस्यामा पर्ने सम्भावना हुन्छ । माथिल्लो उचाइमा स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले पहिले नै शारीरिक परीक्षण गर्नु र यात्रा गर्दा विस्तारै उचाइ बढाउने उपाय अपनाउनुपर्छ ।
त्यसैगरी, घामबाट जोगिन युभी प्रोटेक्टिभ सन ग्लास, सन स्क्रिन, टेक्ने लठ्ठी, पानीको बोतल अनिवार्य लैजानुपर्छ । खानका लागि आवश्यक सामग्री बोक्नुपर्छ । त्यसैगरी ट्वाइलेट पेपर साथमा लैजानुपर्छ । यात्रामा पानी नभएको ठाउँमा, बाटोको वरिपरि नै ट्वाइलेट जानुपर्ने हुनसक्छ ।
यात्राको समय
मानसरोवर भ्रमण गर्नका लागि शरद ऋतु र गर्मीको मौसम उपयुक्त मानिन्छ। विशेषतः मेदेखि सेप्टेम्बरसम्मको समय बढी उपयुक्त मानिन्छ, यतिबेला मौसम बढी चिसो हुँदैन र यात्रा गर्न सहज हुन्छ।
‘मानसरोवरको सकारात्मक ऊर्जा’
यात्राको अनुभव
विनीता गुरागाईं
मानसरोवरको यात्रा अत्यन्तै विशेष रह्यो । म, मेराश्रीमान् र साथीहरूसँग हामी गत साउन ३१ गते काठमाडौंबाट हिँडेका थियौं । हामी स्यारुबेसी केरुङ हुँदै गएका थियौं । ९ रात १० दिनको यात्रामा जीवनको एक अविस्मरणीय क्षण महसुस गर्यौं । मलाई कैलाश पर्वत जीवनमा एकपटक पुग्नुपर्छ भन्ने लाग्थ्यो । मैले यो यात्रा धार्मिकभन्दा साहसिक हुन्छ भन्ने सोचेकी थिएँ तर, पुगिसकेपछि भगवान्को घरमा पुगेको जस्तो अनुभव भयो । सकारात्मक ऊर्जा महसुस भएको थियो । मानसरोवरको वातावरण र प्राकृतिक सौन्दर्य विशेष लाग्यो । तालको शान्त र पवित्र पानीलाई महसुस गर्ने, हिमालय पर्वतको दृश्य हेर्ने र धार्मिक स्थलहरूको दर्शन गर्ने अद्वितीय अनुभव प्राप्त गर्यौं ।
त्यहाँको सडक एकदमै राम्रो थियो । गाडीमा यात्रा गरिरहेका छौं भन्ने अनुभव नै नहुने तर त्यहाँ शौचालयहरूको पर्याप्त सुविधा थिएन । कतै–कतै भेटिने शौचालयहरू पनि एकदमै फोहोर भएकाले प्रयोग गर्नै नसकिने थिए । होटलहरूको सुविधा भएपनि शौचालयको व्यवस्था राम्रो थिएन ।