एक जमाना थियो, कुनै चाडपर्व, पूजा, संस्कार आउन लागे हातका औंला गन्न थालिन्थ्यो, तर अहिले समयअनुसार यी सबै पर्वको महत्व पनि परिवर्तन भएको छ । शिक्षा एवं सञ्चारको विकास तथा बदलिँदो सोच अनि ग्लोबराइजेसनसँगै संस्कार र संस्कृति पनि फेरिएको छ । सस्तो र सहज पहुँचका कारण भोज तथा उपहारप्रति धेरैलाई चासो छैन । किनभने फेसनमा जे भित्रिएको छ किनेर लगाइहाल्न सकिन्छ । नयाँ लुगा लगाउन कुनै चाडपर्व वा भोज कुर्नुपर्ने समय अहिले छैन ।
पहिले खसीको परिकार खान चाडपर्व नै कुर्नुपथ्र्यो तर अहिले हरेक दिन चाहेजस्तो परिकार खान पाइन्छ । घरमा परिकार बनाउने झन्झट पनि गर्नु पर्दैन । अनलाइन अर्डर गरेर समेत मगाउन सकिन्छ । चाडपर्वले गराउने पारिवारिक तथा सामाजिक अन्तक्र्रिया घट्दै गएको छ । पहिले मामाघर जाने भनेपछि खुसी हुने पुस्ता अहिले हराउँदै गएको छ । सकभर घरभित्रै मोबाइल, आइप्याड वा कम्प्युटरमा एक्लै रमाउन खोज्छ आजको पुस्ता । हिजोको सामाजिक सम्बन्ध तथा मान्यता अहिले खोज्नुपर्ने भएको छ ।’
मानव तथा समाजशास्त्रीहरू चाडपर्व एवं समाजमा सम्पन्न गरिने विभिन्न पूजाआजाको मानवीय, सामाजिक तथा राजनीतिक अर्थ र प्रयोजन हुन्छ भन्छन् । पहिलेको परिवार, समाज तथा परिवेशमा आफन्तहरूसँग भेटघाट गर्ने एवं सुख–दु:ख बाँड्ने अवसरलाई अहिलेको सञ्चारको तीव्र विकासले बदलिदियो’, डा. मनीषा सिंह भन्छिन् ।
संस्कृति विषयकी प्राध्यापक कमला कायस्थ हाम्रो सामाजिक–सांस्कृतिक परिवेश बदलिँदै जानुमा बढ्दो सहरीकरणलाई मुख्य कारण मान्छिन् । परिवारहरू एकल हुँदै गएका छन् । कामकाजी अभिभावकका कारण आफन्तहरूसित बालबालिकाहरूको अन्तरक्रिया घटेको छ । कायस्थ भन्छिन्–मानिसहरू समाजप्रति कम र आफूप्रति बढी केन्द्रित हुँदै गएका छन् । बढ्दो सञ्चार एवं सामाजिक सञ्जालले पछिल्लो पुस्तालाई खुसी तुल्याए पनि सामाजिक सम्बन्धसित अभ्यस्त बनाउन सकेको छैन ।
परिवारहरू संयुक्तबाट एकल हुँदै गएका छन् । युवा तथा बालबालिकाहरू पनि संयुक्तभन्दा एकल रूपमै आफूलाई सहज महसुस गर्न थालेका छन् । व्यक्ति बढी न्युक्लियर भयो भने सामाजिक सम्बन्ध खलबलिन्छ भन्ने कुरा अहिले धेरै नेपाली घरपरिवारको यथार्थ बन्दै गएको पाइन्छ ।
हरेक व्यक्तिको जीवनमा दौडधूप बढी हुन्छ । त्यसमाथि युवापुस्तालाई पढाइ, जागिर र करिअर सबै थोकको चिन्ता एकैपटक हुन्छ । व्यस्तताकै कारण आफन्तहरूसित उनीहरूको दूरी बढ्दै गएको छ । यसले मानिसहरूलाई यन्त्रजस्तै बनाउँदै लगेको छ ।
यस्तो अवस्थामा स्वदेश वा विदेश घुमेर रमाउनेहरू बढ्दै गएका छन् । विशेषगरी अहिले साथीहरूको समूहमा विदेश वा स्वदेशमै घुम्ने चलन बढ्दो छ । धार्मिक आस्था राख्ने कतिपय व्यक्ति पनि मौका पारेर तीर्थस्थलहरू पुग्छन् ।
तीर्थ यात्रा
अरू बेला काममा व्यस्त हुने, लामो बिदा मिलाउन कठिन हुने पल्स ब्युटिपार्लरकी वरिष्ठ ब्युटिसियन लक्ष्मी श्रेष्ठ ५–६ जना दिदीबहिनी, भाइबुहारी एवं साथीहरूसँग गत वर्ष भारतको वैष्णोदेवी पुगिन् । हरेक वर्षको दसैं धूमधामसँगै पूजापाठमा बिताउने श्रेष्ठ दसैं मौसम र फुर्सदको हिसाबले पनि घुमघामका लागि उपयुक्त हुने कुरा बताउँछिन् । उनकी कान्छी बहिनी संगीता पनि तीर्थ यात्रालगायत लामो समय कतै जान दसैं–तिहारकै समयलाई उपयुक्त मान्छिन् । उनीहरू दसैं–तिहारका अतिरिक्त महिनामा एकपटक समय मिलाएर नजिकका तीर्थस्थलहरू पुग्छन् । पूजापाठमा निकै आस्था राख्ने लक्ष्मी श्रेष्ठ सपरिवार, साथीहरू तथा आफ्ना विद्यार्थीहरूलाई लिएर समेत विभिन्न ठाउँमा पुगिरहन्छन् । श्रेष्ठका अनुसार यसले उनलाई काममा ऊर्जा प्रदान गर्छ ।
साथीहरूसँग रमाइलो
रेस्टुराँ व्यवसायी शीताष्मा आरएल राणाको वनस्थली पढ्दाका साथीहरूसँग अहिले पनि उत्तिकै जमघट भैरहन्छ । विभिन्न काममा संलग्न उनका साथीहरू कसैको जन्मदिन भयो भने भेटघाट गरी रमाइलो गरिहाल्छन् । उनीहरूको ६–७ जनाको यो समूह कम्तीमा महिनामा एकपटक कतै न कतै जमिरहेको हुन्छ । शीताष्मा आरएल राणा, परिन्दा श्रेष्ठ, ऋतु राणा चन्द, प्रभा कार्की, रोजी राणा कार्की, शिवाष्मा आरएल राणाबीच टिनएजदेखि नै यस्तो जमघट भैरहन्थ्यो । दसैंमा सबैको फुर्सद हुने हुँदा मन मिल्ने साथीहरू घुम्न जाँदा मन चंगा हुने अनुभव छ, यो समूहसँग । जीवन भनेको के हो र ? घरमै मोबाइलमा झुन्डिएर एकलकाँटे हुनुभन्दा साथीहरूसँग घुम्न जाँदा ऊर्जा प्राप्त हुने परिन्दा बताउँछिन् । यसरी समय–समयमा भेटघाट हुँदा मनमा दबिएर रहेका कुराहरू बाहिर निस्कने हुँदा फ्रेस पनि भइने प्रभा कार्की बताउँछिन् ।
फुर्सदमा रमाइलो
किस्ट अस्पतालमा कार्यरत महिला डाक्टरहरूबीच एउटा घनिष्ठ सम्बन्ध छ । डा. मनीषा सिंह, डा. प्रज्ञा बस्नेत, डा. एञ्जिला बस्नेत, डा. रीमा श्रेष्ठ, डा. निना राई तथा डा. संगीता रेग्मी कसैको जन्मदिन पर्यो भने कुनै रेस्टुराँ पुगिहाल्छन् । त्यति मात्र होइन किनमेल, घुमघाम अनि मन्दिर पनि सकभर सँगै जान्छन् । कुनै पर्व आयो कि समय मिलाएर पालैपालो सबैको घरमा खान बोलाउने, रमाइलो गर्ने मौका पनि खोजिरहन्छन् ।
सधै दौडधूप मात्र हुने हुँदा साथीहरू मिलेर रमाइलो गर्नुको मज्जा बेग्लै हुने डा. मनीषा बताउँछिन् । उनीहरू कतै पार्टी जानुपर्यो कि लुगा किन्न वा बालबालिकाहरूको सपिङ गर्न सकभर सँगै जान्छन् । फुर्सदमा मन मिल्ने साथीहरूसँग तास खेलेर, सँगै खाना खाएर, नाचगान गरेर रमाउनुपर्ने डा. प्रज्ञाको तर्क छ ।
नयाँ पुस्तालाई स्वदेश देखाउने अवसर
व्यवसायी रेखा कायस्थ नेपालकै विभिन्न रमणीय स्थलको यात्रा गर्न सार्है मन पराउँछिन् । रेखा परिवारका सदस्य वा साथीहरूसँग हरेक दसैं–तिहारको बीचमा १०–१२ दिन काठमाडौंबाट टाढा पुग्छिन् । त्यसका अतिरिक्त अरु बेला पनि साथीहरूका परिवारको समूह बनाई घुम्न जाने परिपाटी बसाइएको छ । घुम्नका लागि उनीहरू बालबालिकाहरूको जाडो वा गर्मी बिदाको सदपुयोग समेत गर्छन्, जसले गर्दा बालबालिकाहरूले आफ्नै देशका पाखा–पखेराहरू नजिकबाट नियाल्न पाउने कायस्थको धारणा छ । यसरी घुम्दा परिवारका सदस्यहरूबीच माया, सद्भाव पनि बढ्ने र स्वदेशका सुन्दर स्थानहरूको मज्जा पनि लिन पाइने रेखाले बताइन् । त्यति मात्र होइन नेपालमै घुम्न जाँदा बजेट पनि कमै भए पुग्ने उनीहरूको अनुभव छ ।
यसमा बालबालिकाहरूलाई पनि सहभागी बनाउँदा उनीहरूले नेपालको भौगोलिक अवस्था एवं सुन्दरता नियाल्न पाउने उनको सोच छ । यदि यसरी बालबालिकाहरूको लामो बिदा सदुपयोग गरी घुम्न निस्किएन भने कतै जाने अवसर नै नमिल्ने होटल व्यवसायी राजेश खाछिभोया बताउँछन् । उनकी छोरी रज्जु अहिले मेकअप आर्टिस्टका रूपमा परिचित छिन् । उनको पनि फुर्सद मिल्ने हुँदा दसैं–तिहारको समय नै घुम्ने उपयुक्त समय हो भन्ने लाग्छ उनीहरूलाई । उनीहरू ३–४ दिनको ट्रिप भए सप्तमीपछि टीका लगाउन फर्किने गरी जान्छन् भने लामो यात्रा छ भने टीकाका दिन सबैसँग टीका लगाई भ्रमणमा निस्कन्छन् । यसपटक उनीहरू राराको यात्रामा जाने योजनामा छन् ।
सपरिवार विदेश
व्यवसायी प्रकाश बज्र पनि छोरीहरूको छुट्टीको तालिका मिलाई श्रीमती तथा दुई छोरीलाई लिएर प्राय: विदेश जान्छन् । अरू बेला न त प्रकाशसँग समय छ न श्रीमती सेलिनासँग, न त दुई छोरीको स्कुल नै छुट्टी हुन्छ । त्यसैले केही वर्षयतादेखि दसैं र जाडो महिनाको मौका छोपेर उनीहरू विदेश पुग्न थालेका छन् । छोरीहरू ठूला हुँदै गएपछि उनीहरू आ–आफ्नै दुनियाँमा रमाउन खोज्छन् । त्यसैले अहिले नै सँगै समय बिताउने सोचका साथ दसैंमा सपरिवार होलीडे ट्रिपमा निस्किरहेको प्रकाश बताउँछन् ।