माथि देखिने चम्पादेवी र हरियो चोभार डाँडाले मन तान्छ । तल टौदह र शिवकाली फाँटले स्वागत गर्छ । शिवकाली फाँटको मनोरम दृश्यले मन चंगा बनाइदिन्छ । यी त भए वारिपारिका दृश्य । यद्यपि ठूला पत्रेढुंगाले छापेको सडक अनि ऐतिहासिक शैलीका बाक्लै घर एवं त्यहाँ कँुदिएका काष्ठ तथा शिल्पकलाले खोकनाको वास्तविक परिचय दिन्छन् । राजधानीबाट नजिकै रहेको ललितपुरको खोकना ऐतिहासिक तथा पुरातात्विक वस्तुलाई जीवन्त राखेर पर्यटकहरूलाई स्वागत गर्न आतुर छ ।
भनिन्छ-खोकनाका घरहरू भूकम्पले ढल्दैनन् । खोकनामा प्राचीन संस्कृति अझै जीवन्त छ भने हाँसको छोएला र स्थानीय रक्सी 'एला' पनि अझै ज्यूँकात्यूँ छन्् । स्वाद उस्तै छ, परिवेश उस्तै छ । मानिसको जीवन शैली बदलिएको छ तर संस्कृति नासिएको छैन । फूलको माला उनेजस्तो रातो लाम्चे खुर्सानी घरका झ्यालहरूमा झुन्ड्याइएको छ । खुर्सानी हावा खाएर सुकिरहेको छ र मसला बन्ने तयारीमा छ । घर आसपासमा कुखुरा र हाँसहरू चरिरहेका छन् । पाटीपौवाहरूमा पाकाहरू गफिइरहेका छन् । सानातिना तालहरूमा हाँस नाचिरहेका छन् । खोकनाको बीच भागमा अवस्थित रुद्रायणी मन्दिरमा भक्तजनहरू भगवान्को पाठपूजामा व्यस्त छन् अनि तेल मिलहरूमा स्थानीय बासिन्दालाई भ्याइनभ्याइ छ ।
वास्तवमा खोकनाको सामान्य परिवेश र परिचय यस्तै छ । यो ऐतिहासिक सहर आफ्नो घर-आँगनमा पर्यटकहरू भित्र्याउन चाहन्छ तर राज्यबाट उपेक्षित छ । राज्यसँग खोकनाको दिगो विकास गर्ने त्यस्तो कुनै योजना छैन । स्थानीय बासिन्दा राजेन्द्र महर्जन भन्छन्-'प्रयास धेरै भैरहेको छ तर सरकारको भरपर्दो योजना र उचित लगानी छैन ।' धेरै मेला-महोत्सव तथा प्रचार-प्रसार हुँदा पनि खोकनामा पर्यटकको उपस्थिति उतिसारो हुन नसकेको उनले बताए । यहाँका साना पाटीपौवा एवं पोखरीहरूका साथै ऐतिहासिक भवनहरू संरक्षणविहीन छन् ।
ऐतिहासिक कला-कौशल कुँदिएका टुँडाल एवं परम्परागत घर र मिलेर बसेको बजार खोकनाका आकर्षण हुन् । यहाँ लगभग १ हजार घर छन्, सबै परम्परागत शैलीका । त्यसलाई सानो खोकना र ठूलो खोकना भनेर छुट्टाइएको छ । दुवै नजिकै पर्छन् ।
ट्राभल कम्पनीहरूले पनि खोकनाका लागि विशेष प्याकेज तयार नगरिदिँदा त्यहाँको पर्यटन फस्टाउन नसकेको स्थानीय बासिन्दाहरूको दुखेसो छ । खोकना संग्रहालयको पनि उचित प्रचार-प्रसार र संरक्षण गरिएको छैन । फोहोर व्यवस्थापन उचित रूपमा हुन नसकेको तथा खोकनाका बारेमा जानकारी दिने सूचना केन्द्र र प्रचार सामग्री पनि भरपर्दो नभएको खोकना घुम्न पुगेका गुल्मीका राज शाहले बताए । हुक्का तानेर पर्यटक लोभ्याउने पुरानो परिपाटी पनि मेटिँदै गएकोमा शाहले दु:ख व्यक्त गरे ।
अनौठा पर्व र संस्कृति
खोकनामा केही आश्यर्चलाग्दा विशेषता छन् । यहाँ लामो केश पालेका ४६ जना पुजारी छन् । जसलाई टाढैबाट छुट्याउन सकिन्छ । दसैं आउनुपूर्व सिद्धकाली जात्रा मनाउँदा ती पुजारीको काम आउँछ । यो जात्रामा बेला राँगाको बलि दिने चलन छ । राँगाको रगत सिफल चौरस्थित पुरानो मन्दिरमा चढाउन लगिन्छ । चौथीका दिन बाजागाजाका साथ ४६ जना पूजारीले देवताको विधिपूर्वक पूजा गर्छन् । पञ्चमीका दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ । गाउँलेहरूले इच्छानुसार पशु-पक्षीको बलि चढाउँछन् । सरकारी पूजा पनि यही दिन हुन्छ । गाविसले यो दिन एउटा राँगाको बलि दिन्छ । ४६ जना देवतालाई भोज पनि ख्वाउँछ । यही दिन मूर्तिलाई खटमा राखेर सिफल चौरस्थित पुरानो मन्दिर पुर्याइन्छ । षष्ठीमा ४६ जना पुजारीले मन्दिर परिक्रमा गर्छन् । स्थानीय बासिन्दाहरूले ती पुजारीलाई देवता मान्छन् ।
यसैगरी देवपोखरी जात्रा पनि खोकनाको अर्को पहिचान हो । नेवार समुदायले गाईजात्राको भोलिपल्ट मनाउने यो जात्रा अनौठो छ । यसै दिन बार्ह वर्षको एकपटक मात्र लाग्ने रुद्रायणी देवीको मेला पनि सुरु हुन्छ । देवपोखरीमा बाख्राको बलि दिइन्छ । जिउँदो बाख्रालाई पोखरीमा फालेपछि उक्त बाख्रा लिन युवाहरूबीच तँछाडमछाड हुन्छ । खोकनाको यो संस्कृति रुद्रायणी देवी मन्दिरको स्थापनादेखि नै चल्दै आएको छ । करिब ५ सय वर्षअघि नेपाल सम्वत् ६३३ मा अमर मल्लको पालामा रुद्रायणी देवीको मन्दिर स्थापना भएपछि रुद्रायणी देवीको मेला प्रत्येक बार्ह वर्षमा एकपटक लाग्दै आएको छ । इन्द्रजात्राका दिनदेखि १२ बर्ष पुगेका बालिकाहरूलाई गुफामा एक महिनासम्म राख्ने चलन छ । एक महिनासम्म सूर्यको प्रकाश छिर्न नदिई बालिकाहरूलाई गुफामा राखिन्छ । खोकनाको दसैं पनि अचम्मले मनाइन्छ । त्यहाँ दसैंमा टीका र जमरा लगाउने चलन छैन ।
विविध कला, संस्कृति र मनोरम प्रकृतिले सजिएको खोकना पर्यटकहरूका लागि उपयुक्त गन्तव्य हो । शुद्ध तोरीको तेल पेल्ने परम्परागत यन्त्र 'कोल' पनि खोकनाको मौलिक पहिचान हो । त्यसलाई हेर्न मात्र धेरै पर्यटक खोकना पुग्छन् । ७२ वर्षीय मानभक्त महर्जनका अनुसार खोज्दै जाने हो भने यहाँ अनेकौं आश्चर्य फेला पर्छन् तर भएकैलाई उचित संरक्षण गर्न सकिएको छैन । महर्जन भन्छन्-'नेपालमा बिजुली बाल्ने काम यहीँबाट सुरु भएको हो । त्यो बिजुली बलेको घरमा संग्रहालय बनाइएको छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले फर्पिङको चन्द्रज्योति बिजुलीको परीक्षण त्यही घरमा गरेको इतिहास छ ।
कसरी पुग्ने खोकना ?
खोकना पुग्न काठमाडौंको रत्नपार्कबाट सार्वजनिक यातायात पाइन्छ । ललितपुरको एकान्तकुनाबाट पनि सीधा गाडी जान्छ । मिनी र माइक्रो बसहरू खोकनाका लागि सधैं तयार छन् । एकान्तकुनाबाट खोकना पुग्न ६ किलोमिटरको यात्रा तय गर्नुपर्छ । बस्नका लागि केही घरमा होम स्टे सेवा उपलब्ध छ भने सीमित मात्रामा गेस्ट हाउस पनि छन् ।