Successfully Copied

प्रविधिको पहुँच : महिलालाई अपरिहार्य

महिलामाथि ९० प्रतिशत साइबर अपराध हुने गरेको तथ्यांकले देखाएको छ, प्रविधिको सचेतना र सतर्कता अपनाउँदै महिलामाथि प्रविधिको पहुँच बढाउन आवश्यक छ

महिलामाथि ९० प्रतिशत साइबर अपराध हुने गरेको तथ्यांकले देखाएको छ, प्रविधिको सचेतना र सतर्कता अपनाउँदै महिलामाथि प्रविधिको पहुँच बढाउन आवश्यक छ । महिलाहरूलाई सशक्त बनाउन र नेतृत्व तथा निर्णायक भूमिकामा पुर्‍याउन प्रविधिको पहुँच अपरिहार्य बनेको छ । महिलाको संघर्ष, आर्थिक, सामाजिक तथा नेतृत्वदायी भूमिकालाई उजागर गर्ने उद्देश्यले कान्तिपुर दैनिकको सहप्रकाशन नारी मासिकले बुधबार काठमाडौंमा आयोजना गरेको ‘निर्भीक नारी’ कार्यक्रममा बोल्दै विज्ञ, अभियन्ता र सरोकारवालाहरूले यस्तो बताएका हुन् । पछिल्ला वर्षहरू हरेक निकायमा महिला सहभागिता, सशक्तीकरण अभियानमा वृद्धि भइरहे पनि नेतृत्वदायी र निर्णयात्मक भूमिकामा भने पर्याप्त अवसर छैन । अवसरका लागि प्रतिस्पर्धा गरिरहेको अवस्थामा प्रविधिको दुरुपयोग गर्दै महिलामाथि साइबर आक्रमण तथा अपराधका चुनौती थपिएको उद्घाटन सत्रमा मुख्य वक्ता रहेकी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले बताइन् । उनले ९० प्रतिशत साइबर अपराध महिलामाथि हुने गरेको तथ्यांकले देखाएको बताउँदै सबै प्रयोगकर्तालाई प्रविधिको सचेतना तथा सतर्कता अपनाउँदै महिलामाथि प्रविधिको पहुँच बढाउन आवश्यक रहेको बताइन् ।

उनले यसो भनिरहँदा ‘प्रविधिमा अब्बल, जीवनमा सबल’ सत्रकी वक्ता ‘फुड भ्लगर’ कान्छीमैया भण्डारीले प्रविधिकै माध्यमबाट आफूमा भएको पाककला संसारभर पुर्‍याउन सकेको सफलताको कथा सुनाइन् । धादिङको नीलकण्ठ–१२ सांकोस घर भएकी भण्डारीको नेपाली रैथाने खानाको पाककला बारेका भिडियो सामग्री युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमार्फत इन्टरनेट प्रयोकर्तामाझ पुर्‍याउन छोराले सघाएका छन् । उनको ‘कान्छी किचेन’ नामक युट्युब च्यानल सुरु गरेको दुई वर्षमा ३ लाख ५५ हजार सब्सक्राइबर्स भइसकेका छन् । उनले अहिले च्यानलबाट राम्रो आम्दानी भइरहेको बताइन् । उनले पहिलो भिडियोको स्मरण गर्दै भनिन्, ‘अहिले त ममा धेरै परिवर्तन आइसक्यो । बोल्न सक्ने भएँ । ग्रामीण महिला अझ धेरै पिछडिएका छन्, महिलालाई अघि बढ्नका लागि सीप र तालिम दिनुपर्छ ।’

अर्का मुख्य वक्ता एनसेल आजियाटा लिमिटेडको मानव संसाधन विभागका प्रमुख तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले महिला सशक्तीकरणका लागि प्रविधिको प्रयोगमा मात्रै नभई रोजगारी तथा उद्यममा पनि उत्तिकै पहुँच अपरिहार्य रहेको औंल्याए । उनले आफ्नो कम्पनीमा ३५ प्रतिशत कर्मचारी महिला रहेको जनाउँदै भने, ‘तीमध्ये धेरै माथिल्लो तहमा छन्, विभिन्न उमेर समूहका महिलाहरू छन्, प्रविधिको हस्तक्षेपसँगै लैंगिक समानता पनि हुन जरुरी छ ।’

महिला सशक्तीकरणको कुरा गर्दा युवादेखि पाका पुस्तासम्मको समान सहभागितालाई बिर्सन नहुनेमा वक्ताहरूको जोड थियो । ‘युनिसेफ दक्षिण एसिया जलवायु परिवर्तन च्याम्पियन’ श्रेया केसीले राज्यले युवाहरूमा लगानी नै गर्न नसकेको बताइन् । ‘कुनै पनि क्षेत्रमा युवाहरूका लागि सरकारले के गरिरहेको छ ? स्थायी र सबल नेतृत्वको आवश्यकता छ, युवा शक्तिलाई पहिचान गरेर अघि बढ्नुपर्छ, समस्याको कुरा मात्र गर्ने तर समाधानको उपाय भने खोजिएको देखिँदैन,’ उनले भनिन् ।

महिलालाई हरेक क्षेत्रमा अब्बल बनाउन परिवार, समाज र राज्यमै महिला स्वास्थ्य पहिलो प्राथमिकतामा हुनुपर्नेमा वक्ताहरूको साझा धारणा थियो । ‘शून्यको मूल्य’ पुस्तकका लेखकसमेत रहेका डा. नवराज केसीले महिला स्वास्थ्यसँग राष्ट्रकै स्वास्थ्य जोडिएको बताए । उनले कर्णालीका दूरदराजमा उपचारका क्रममा खटिँदाको स्मरण गर्दै थपे, ‘५१ प्रतिशत आमाहरू कुपोषित भएकाले ४९ प्रतिशत बालबालिका पनि कुपोषित छन्, स्वस्थ महिला भए महिला मात्र नभई राष्ट्र नै स्वस्थ हुन्छ ।’

आत्मसम्मानसहित महिला स्वास्थ्य

‘निर्भीक नारी’ कार्यक्रमअन्तर्गतको पहिलो सत्रका सहभागीले महिलाको आत्मसम्मान र स्वास्थ्य सुविधाको पहुँचमा जोड दिए । पहिलो सत्र ‘स्वस्थ महिला, सबैमा पहिला’ का वक्ताहरूले महिलालाई आत्मसम्मान र गोपनीयतासहितको स्वास्थ्य सुविधाको पहुँच हुनुपर्ने बताए । सत्रकी एक वक्ता ‘होप फर्टिलिटी’ मा प्रजनन विशेषज्ञ डा. स्वस्ति शर्माको अनुभवमा पछिल्लो समय निःसन्तान महिलाहरूले खुलेर आफ्ना कुराहरू राख्न सक्ने भएका छन् । तर, निःसन्तान महिलाहरूलाई प्रयोग गरिने ‘बाँझोपन’ शब्दले मानसिक, सामाजिक रूपमा कमजोर बनाउने र यसैको कारण उनीहरू डिप्रेसनको सिकार हुने भएकाले यो शब्द नै हटाउन जरुरी रहेको बताइन् । निःसन्तान पुरुषलाई भने परिवारको साथ–सहयोग रहेको बताउँदै उनले भनिन्, ‘पत्नीका कारण सन्तान भएन भने परिवारै लागेर उसको अर्को बिहे गरिदिन्छन् तर पतिका कारण सन्तान भएन भनेर पत्नीले अर्को विवाह गरेको मैले सुनेको छैन ।’ मनोपरामर्शदाता तथा ‘साइकोथेरापिस्ट’ सजिना ढुंगानाले भनिन्, ‘हाम्रो समाजमा स्थापित कतिपय मान्यताभित्र नपरे पनि सही हुन सक्छौं, खुसीका साथ बाँच्न सक्छौं, बच्चा नहुँदा पनि इज्जतका साथ बाँच्न सक्छौं भन्ने परिपाटी स्थापित हुन जरुरी छ । बच्चा नभएकालाई पनि उचित मनोपरामर्श जरुरी छ ।’ अधिवक्ता सुबेक्ष्या पोखरेल फ्रिडमले आमा बन्ने सबै महिलामा ‘पोस्टपार्टम डिप्रेसन’ (सुत्केरीपछि हुने डिप्रेसन)का बारेमा वकालत गर्न जरुरी रहेको बताइन् ।

युवा महिलालाई विश्वास र लगानीको जरुरी

कार्यक्रमको दोस्रो सत्र ‘युवा दृष्टिकोण’ मा बोल्दै बीडीओ, बीआईसी टेक्नोलोजी सहसंस्थापक प्रार्थना साखाः ले युवाहरूलाई स्टार्टअप बिजनेसका लागि राज्यले करमा सहुलियत दिँदै प्रोत्साहनमूलक नीति ल्याउनुपर्ने बताइन् । व्यवसाय गर्न पढाइले मात्रै नहुने भएकाले परिवार, आफन्त र राज्यबाट सहयोग पनि हुनुपर्ने उनको भनाइ छ । उनले नयाँ उद्यम गर्नका लागि आफूलाई पारिवारिक रूपमा सहयोग भएकै कारण सफलता मिलेको बताइन् ।

राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले छोरीले खेल्नु हुँदैन भन्ने समाजको मान्यतालाई चिर्दै आफू अगाडि आएको बताइन् । पामचोक, लमजुङ स्थायी घर भएकी उनले राज्यले खेलाडीको योगदानको उचित मूल्यांकन गर्नुपर्ने बताउँदै भनिन्, ‘अधिकांश खेलाडी ग्रामीण भेगबाटै छन्, हामी गरिब परिवारबाटै आएका हौं । खेलकुद क्षेत्रमा कम लगानी भए पनि साथीहरूले मिहिनेत गर्नुभएको छ, खेलुन्जेल त बाँचिन्छ तर त्यसपछि खेलाडीको जीवन कसरी सहज बनाउने भन्नेबारे सरकारले सोच्नुपर्छ । २०२२ की मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीले युवाको चासो अहिले प्रविधिदेखि व्यवसाय, विभिन्न उपलब्धितर्फ बढ्न थालेको हुँदा जीवनयापन, करिअरलगायत हरेक क्षेत्रमा स्वतन्त्रता खोजिरहेको बताइन् ।

महिलालाई प्रविधिमा अवसरको ढोका खुल्दै

प्रविधिको तीव्र विकास र बढ्दो प्रयोग तथा उपलब्धताले महिला सशक्तीकरणका लागि अवसरको ढोका खुल्दै गएका छन् । तेस्रो सत्र ‘प्रविधिमा अब्बल, जीवनमा सबल’ की वक्ता आईटी विशेषज्ञ तिमिला यमी थापाले भनिन्, ‘अहिले प्रविधि घरघरमा पुगेको छ, हाम्रो पालोमा फेसबुक चलाउनुलाई नराम्रो रूपमा लिइन्थ्यो । फेसबुक चलाउने केटीलाई बिहे गर्नु हुँदैन भन्ने हुन्थ्यो । टेक्नोलोजी महिलाले चलाउन सक्दैनन् भनिन्थ्यो तर अहिले यसको चेन्जमेकरहरू घरघरमा देखिन थालेका छन् ।’ कोभिडपछि प्रविधिको प्रयोग र पहुँच बढ्दै गएको स्थितिमा यही माध्यमबाटै स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्न सकिने किम्बु टेककी सीईओ कार्विका थापाले बताइन् । डिजिटल प्रविधिलाई स्थानीय उत्पादन प्रवर्द्धन गर्न सकिने उदाहरणका रूपमा कान्छीमैया भण्डारीलाई लिन सकिने उनले बताइन् ।

‘अहिले पनि धेरैले अनलाइन माध्यमबाटै बिजनेस गरिरहनुभएको छ । डिजिटल रूपमै कारोबार गरिरहनुभएको छ,’ उनले भनिन्, ‘डिजिटल पहुँचका लागि हरेक क्षेत्रमा इन्टरनेट चाहिने भएकाले ग्रामीण तहसम्म विस्तार गर्नु जरुरत छ ।’ जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना घिमिरे पाण्डेले पनि सामाजिक सञ्जालहरूको प्रयोग गरेर विभिन्न उत्पादनहरू बजारमा लैजान सकिने बताइन् ।

अब्बल बन्न मिहिनेत अनिवार्य

‘अवरोधहरू छिचोल्दै उडान’ सत्रमा बोल्दै पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले सदियौंदेखिको लैंगिक असमानता र विभेदलाई चिर्दै अब्बलता देखाउन क्षमताको विकासमा महिला आफैं लागिपर्नुपर्ने बताइन् । महिलालाई पुरुषले भन्दा बढी काम गर्नुपर्ने चुनौती रहेको बताउँदै उनले भनिन्, ‘मेरो अनुभवमा पुरुषले जति गरेर मात्र पुग्दैन । उनीहरूले भन्दा बढी काम गर्नुपर्छ । पुरुषको हकमा कहिल्यै पनि यसले यो काम गर्न सक्छ भनेर सोधिन्न तर महिलालाई यसले गर्न सक्छे त भनेर प्रश्न तेर्स्याइन्छ । महिलालाई अघि बढाउन शिक्षाको अवसर नै महत्त्वपूर्ण रहेको बताउँदै उनले अझै पनि शिक्षाबाट महिलालाई वञ्चित गराइने कुरीतिहरू यथावत् रहेको बताइन् । आफूलाई सामाजिक मानसिकता र विभेदका विरुद्ध लड्न आमाले सधैं हौसला दिएकैले पीएचडी गर्नेसम्मको हैसियतमा पुगेको बताइन् । हरेक सन्तानका लागि आमा साँच्चिकै पहिलो पाठशाला हुने गरेको बताउँदै भनिन्, ‘महिनावारी हुँदा किताब छुँदा पाप लाग्छ भन्ने मान्यता भएका बेला मेरी आमाले किताब पढिनस् भनेचाहिँ तेरो भविष्य बिग्रिन्छ भनेर पढ्ने हौसला दिनुभयो ।’

चिया घरकी उद्यमी विमला पराजुलीले आफ्नो पहिचान चिया घरबाटै बनेको र यही व्यवसायबाट हाल छोरालाई अमेरिकामा अध्ययन गर्ने हैसियतमा पुर्‍याउन सकेको बताइन् । १३ वर्षको उमेरमा भोजपुरबाट काठमाडौं आएपछि उनले अपांगता भएको बच्चा स्याहार्ने गरिन् । पछि ५ सय रुपैयाँबाट सुरु गरेको चिया व्यापारले नै उनको परिचय निर्माण गरेको बताइन् । 

छाला तथा सौन्दर्य विशेषज्ञ डा. सिर्जना श्रेष्ठ समाजमा आफ्नो छुट्टै पहिचान बनाउनु नै अहिलेको आफ्नो संघर्ष रहेको बताइन् । एब्सुलेट एस्थेटिक्सका कार्यकारी निर्देशकसमेत रहेकी उनी आफूले विदेशमा गएर सिकेको नयाँ प्रक्रियालाई अरूसँग पनि बाँड्दै आएकी छन् । यसै सत्रकी वक्ता नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले भनिन्, ‘एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भनेर सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।’

 Image