कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को अन्तिम सत्र 'अवरोधहरू छिचोल्दै उडान' मा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी पौड्यालले कतिपय अवस्थामा आर्थिक विपन्नताका साथै समाजमा कायम रहेका कुरीति पनि बाधक बन्ने गरेको बताएकी हुन् ।
'आर्थिक विपन्नताले मात्र छोरीहरूले पढ्न नपाएका होइनन्, कतिपय अवस्थामा समाजमा रहेका कुरीतिका कारण पनि शिक्षाबाट वञ्चित भएका छन्,' उनले भनिन् ।
आफूलाई आफ्नी आमाले चिया बेचेरै पढाएको पनि उनले सुनाइन् । मेहनतपूर्वक अध्ययन गरेकाले नै आफूले विद्यावारिधि(पीएचडी) पूरा गरेको उनले सुनाइन् । उनले भनिन्, 'जहाँजहाँ छात्रवृत्ति थियो, त्यहाँ मरेर पढेँ । मैले पीएचडी गरेँ, अहिलेसम्म फी तिर्नुपर्या छैन ।'
महिनाबारी हुँदा छोरीहरूलाई विद्यालय पठाउन हुँदैन भन्ने मान्यताका बीच आफू आएको पनि उनले बताइन् । उनले भनिन्, 'पहिलो पटक महिनाबारी हुँदा २१ दिनसम्म किताब छुन हुँदैन भन्ने मान्यता थियो तर म ६ दिनमै विद्यालय गएँ । महिनाबारी हुँदा किताब छुँदा पाप लाग्छ भन्ने मान्यता भएका बेला आमाले किताब पढिनस् भनेचाहिँ तेरो भविष्य बिग्रिन्छ भनेर हौसला दिनुभयो ।'
पौड्यालले बेलायतको म्यानचेस्टर विश्वविद्यालयबाट विकास प्रशासनमा प्रोस्ट ग्य्राजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्तानकोत्तरको अध्ययन गरेकी छिन् । उनले नेदरल्यान्ड्सको इन्स्टिच्युट फर सोसल स्टडिजबाट विकास अध्ययनमा पीएचडी गरेकी हुन् । पौड्यालले राष्ट्रिय योजना आयोगको सदस्यको भूमिका निर्वाह गरिसकेकी छिन् । उनले कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अस्थायी रूपमा विकास अध्ययन विषय अध्यापन पनि गर्दै आएकी छिन् ।
महिलाहरूलाई पुरुषले भन्दा बढी काम गर्नुपर्ने चुनौती रहेको पनि पूर्वपरराष्ट्रमन्त्री पौड्यालले बताइन् । 'मेरो अनुभवमा पुरुषले जत्ति गरेर मात्र हुँदैन । उनीहरूले भन्दा बढी काम गर्नुपर्छ । पुरुषको हकमा कहिल्यै पनि यसले यो काम गर्न सक्छ त भनेर सोधिन्न तर महिलालाई यसले गर्न सक्छे त भनेर प्रश्न तेर्स्याइन्छ ।' उनले समाजले गरेको विभेदको आफ्नै भोगाइ पनि सुनाइन् ,'कृषि विकास अधिकृतका रूपमा फिल्डमा जाँदा मेरा सहयोगी पुरुषलाई सबैले नमस्कार गर्थे । तर मलाई गर्दैनथे । जब सहयोगीले उहाँ सरनी हो भनेर चिनाउँथे तब मात्र उनीहरू मलाई हात जोड्थे ।' उनले महिलाहरूको क्षमतामा समाजले प्रश्न गर्न नछाडेको बताइन् ।
कतिपय पुरुष सहकर्मीहरू मैले काम लगाउँदा महिलाले पनि हामीलाई काम अह्राउने भनेर रिसाउँछन् । महिला यो ठाउँमा आउनै सक्दैनन् भन्ने मानसिकता छ । कतिपय हामी महिला स्वयंमा पनि यो मेरो ठाउँ नै होइन भन्ने कुरा दिमागमा गढेर बसेको छ । अब यो परिवर्तन हुनु जरुरी छ ।’