केही समय पहिले रियल जुस दूषित भई मानिसहरू बिरामी परेको खबरले सञ्चार माध्यम तातेका थिए । त्यसपछि प्रश्न उठ्यो, हामीले खाएका सम्पूर्ण खाद्यपदार्थ सुरक्षित छन् त ?
सत्य यही हो कि हामीले खाएका अन्न, फलफूल, दाल आदि विषालु रसायनबाट अछुतो छैनन् । खाद्यपदार्थमा पाइने पेस्टिसाइड धेरै छन् । कुन खानामा यसको उपस्थिति छ त्यो पत्ता लगाउन कठिन हुन्छ । तर सावधानी अपनाउने हो भने यसबाट बच्न सकिन्छ ।
गहुँ
उपस्थित दूषित पदार्थ डीडीटी, एचसीएच, एफ्लाटाक्सिन, मल, मुसाको रौं ।
स्वास्थ्यमाथि प्रभाव
यसले प्रजनन् र ह्दय शक्तिमा नकारात्मक असर पुर्याउँछ । यसले रगतलाई दूषित बनाउँछ, मस्तिष्क एवं छातीको क्यान्सर हुने सम्भावना बढ्छ ।
उपाय
भुस निकाल्दा किटनाशक औषधि पनि निस्कन्छ । बाँकी रहेको किटनाशक रोटी सेक्दा नष्ट हुन्छ । तसर्थ गहुँ खरिद गरेपछि त्यसलाई राम्रोसँग सफा गरी पिस्नुपर्छ ।
चामल
उपस्थित दूषित पदार्थ–चामलमा डीडीटी र आरसेनिक ।
स्वास्थ्यमा प्रभाव–ह्दय र प्रजनन् शक्तिमा यसले असर पुर्याउँछ । रगतमा खराबी पैदा हुन्छ । मस्तिष्क तथा छातीको क्यान्सर हुन सक्छ ।
उपाय
पहिले काँचो चामलको रंग कस्तो छ पत्ता लगाउनुपर्छ । नराम्रो रंगको चामलमा एफ्लाटाक्सिन हुन्छ । यो चामललाई धेरै समयसम्म पकाउनुपर्छ । चामललाई आधा घन्टा पानीमा भिजाएर ४ पटक धोएपछि मात्र पकाउनुपर्छ ।
दाल
उपस्थित दूषित पदार्थ–एचसीएच, मुसाको कपाल
स्वास्थ्यमा प्रभाव–यसले ह्दय र प्रजनन् शक्तिलाई असर पुर्याउँछ । रगतलाई दूषित बनाउँछ, छाती तथा मस्तिष्कको क्यान्सर हुन्छ ।
उपाय
दाललाई कम्तीमा १ घन्टा पानीमा भिजाउनुपर्छ । त्यसपछि ४ पटक राम्रोसँग धोएर प्रेसर कुकरमा पकाउनुपर्छ । दाललाई राम्रोसँग गलाएर खानुपर्छ ।
दूध
उपस्थित दूषित पदार्थ–डीडीटी एवं एचसीएच, एन्डासुलफोन, सिन्थेटिक दूध, हाइट्रोजन प्यारोअक्साइड ।
स्वास्थ्यमा प्रभाव– हेक्साक्लोरोसाइक्लोहेक्सिन तथा डीडीटीले किड्नीलाई असर पुर्याउँछ । यसले लिभरलाई प्रभावित गराउँछ । मांसपेशीमा असर पुर्याउँछ र पेटमा अल्सर हुने सम्भावना हुन्छ ।
उपाय
बाटोमा हिँड्नेहरूसँग दूध खरिद गर्नु हँुदैन किनकि यसमा मिसावट हुन्छ । राम्रो डेरीको दूध प्रयोगमा ल्याउनुपर्छ । पास्चुराइजेसनपछि पेस्टिसाइडको प्रभाव कम हुन्छ । दूधलाई प्रयोग गर्नुभन्दा पहिले राम्रोसँग उमाल्नुपर्छ ।
फलफूल तथा तरकारी
विशेषगरी फल तथा तरकारीमा डीडीटी, एचसीएच, एन्डासुलफोन, सिन्थेटिक फिरियथाइराइड, कारमोट्स र आर्गनोफस्फेट, आरसेनिक, लेड, जिंक, क्याडमियम, कपर र क्रोमियम आदि दूषित पदार्थ हुन्छन् र यिनले रगतलाई दूषित बनाउँछन् । त्यसैले बालबालिकाहरूमा मस्तिष्कको क्यान्सर हुन सक्छ । महिलाहरूमा पनि छातीको क्यान्सरको सम्भावना रहन्छ ।
आलु
आलुको बोक्रा छिलेर राम्रोसँग धुनुपर्छ । आलुलाई काटेर कम्तीमा पानीमा २० मिनेट भिजाउनुपर्छ । त्यसपछि राम्रोसँग धोएर राम्रो आँचमा पकाउनुपर्छ ।
टमाटर
कहिल्यै काँचो टमाटर खानु हुँदैन । टमाटर धोएर खानुपर्छ ।
पालुंगो
पालुंगोमा पेस्टिसाइडको मात्रा बढी हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानीले यसलाई धुनुपर्छ । पानी निकाली छानीमा राखी पानी निस्कन बन्द भएपछि उसिनेर मात्र पकाउनुपर्छ ।
गाजर
गाजरलाई पनि तेजिलो रापमा पकाएर खानुपर्छ । काँचो गाजर राम्रोसँग धोएर खानुपर्छ । केही समय नुनपानीमा भिजाएर गाजर खानुपर्छ ।
भन्टा
बजारमा चम्किलो भन्टा पाइन्छ । यसलाई कार्बोफ्लुराइन रसायन प्रयोग गरी चम्काइएको हुन्छ । यसलाई तेजिलो आँचमा पकाउनुपर्छ ।
बन्दाकोभी
बन्दाकोभी पकाउँदा सुरुका पात निकालेर फाल्नुपर्छ । किनभने बाहिरी पेस्टिसाइट कम हुन्छ । पात निकालेपछि ४ देखि ५ टुक्रा गरी यसलाई नुनयुक्त पानीमा डुबाएर राख्नुपर्छ । पातलाई निचोरेर काटी तेज आँचमा पकाउनुपर्छ ।
स्याउ
स्याउ दिनहुँ सेवन गरी स्वस्थकर हुने कुरालाई बिर्सेर यसलाई छिलेर खानुपर्छ ।
आँप
आँपको रंग हेरेर खान लाईक छ कि छैन थाहा पाउन सकिन्छ । आँपलाई क्याल्सियम कार्वाइडमा जबर्जस्ती पकाइन्छ । त्यसैले भरसक काँचो आँप खरिद गर्नुपर्छ । आँपलाई पत्रिका वा चामलका बोरामा हालेर पकाउनुपर्छ ।
मसला
दूषित पदार्थ, अप्राकृति रंग, माइक्रोटक्सिन, पेस्टिसाइट
स्वास्थ्यमा प्रभाव आँतको बिरामी हुने सम्भावना रहन्छ । यसले स्वास्थ्यलाई धेरै पक्षबाट असर गर्छ ।
बेसार
बेसारको रंग पहेंलो हुन्छ । बजारमा बिक्री गर्न राखिएको बेसारको रंग धेरै पहेंलो देखिए यसमा मिसावट छ भनी थाहा पाउनुपर्छ । यसमा क्रोमाइड नामक रसायन हुन्छ ।
खुर्सानीको धूलो
अतिरिक्त सुकेको रातो खुर्सानीले तरकारीको रंगलाई रातो बनाउँछ । यसमा पनि दूषित पदार्थ मिसाइएको हुन्छ । त्यसैले खुर्सानीको धूलो घरैमा पिस्नुपर्छ ।
मरिच, जिरा, अलैंची, दालचिनी एवं धनियाँ आदि खरिद गरी पिस्नुपर्छ । भण्डारण गर्ने भए समय–समयमा जाँच गर्नुपर्छ ।