Successfully Copied

टेबल म्यानर

पाहुना भित्रिनु आधा घन्टाअघि नै सबै कुरा तयारी अवस्थामा रहनुपर्छ।

-    पाहुना भित्रिनु आधा घन्टाअघि नै सबै कुरा तयारी अवस्थामा रहनुपर्छ।

-    कस्तो पार्टी वा कार्यक्रम हो र कस्ता पाहुना आउँदैछन् विचार पुर्‍याउनुपर्छ। कर्पोरेट पार्टी छ भने मरुन, सिल्भर, रोयल ब्लु आदि एलिगेन्ट कलर कम्बिनेसनमा ध्यान दिनुपर्छ।  

-    भिआइपी पार्टीमा डेकोरेटिभ फुड आइटम, इम्पोर्टेट वाइन, स्ट्यान्डर्ड क्रिस्टल वाइन तथा डि्रंक्स ग्लास, क्यान्डल लाइट आवश्यक हुन्छ भने साधारण पार्टीका लागि काँटा, चम्चा, नेपकिन पेपर, ग्लास आदि सामग्री उचित ठाउँमा राख्नुपर्छ।

-    पार्टीअनुसार टेबललाई ताजा फूल, लाइट्स तथा कलरफुल पटहरूले सजाउनुपर्छ तर ती सबै कुरा टेबलको साइजमा निर्भर रहन्छ।

-    पाहुनाहरू टेबलमा बसेर खाना खाइरहेका बेला चनाखो र स्ट्यान्डबाइ हुनु जरुरी छ। खाना थप्नुपर्‍यो, ग्लासमा पानी सकियो वा काँटा-चम्चा भुइँमा खस्यो भने उपयुक्त समयमा गुणस्तरीय सेवा प्रदान गर्न हरदम तयार रहनुपर्छ।

निमफुटी शेर्पा, सञ्चालिका

नमस्ते लाउञ्ज एण्ड बार, बौद्ध

महिलाका लागि मार्केटिङ

-    आफ्ना ग्राहकको इच्छा तथा आवश्यकता राम्रोसँग बुझ्नुपर्छ।

-    आफ्नो कम्पनीका प्रोडक्ट तथा सर्भिसहरूका साथै अन्य कम्पनीका बारेमा पनि पूर्ण जानकारी राख्नुपर्छ।

-    बोली मीठो हुनुका साथै त्यसमा बोल्डनेस पनि झल्कनुपर्छ।

-    आफ्नो प्रोडक्ट मात्र प्रयोग गर्नुपर्छ भनेर कहिल्यै कुनै ग्राहकलाई दबाब दिनुहँुदैन, त्यस्तो व्यवहारले इरिटेड गर्छ।

-    सधंै अपटुडेट एवं प्रेजेन्टेबल हुनुपर्छ।

पूणिर्मा केसी, मार्केटिङ अफिसर

सिद्धिगणेश एडभरटाइजिङ एजेन्सी

भाँडाको सुरक्षा

-    भाँडा माझ्दा वा सफा गर्दा धेरै घोट्नु हुँदैन। यसो गर्दा भाँडा पातलो हुने भएकाले कम टिकाउ हुनुका साथै खानामा धातुका कण मिसिने सम्भावना हुन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पर्छ।

-    पित्तल, ढलोट, चरेस आदि धातुका भाँडालाई कागती,  चुक वा अमिलो मिसाइएको पानीमा डुबाएर छाडिदिने र केही समयपछि निकालेर जालीले सफा गर्दा चम्किलो एवं आकर्षक देखिन्छ।

-    तामाका भाँडा सफा गर्ने उत्तम वस्तु पीताम्बरी हो। पीताम्बरीको धूलोले तामाका भाँडा चम्किलो बनाउँछ।

-    अनावश्यक भाँडालाई स्टोर गर्नुपर्छ। स्टोर गर्दा भाँडाको पिँधमा भएको पानी तर्काएर सफा कपडाले पुछ्नुपर्छ ताकि भाँडामा खिया नलागोस्। स्टोर रुम बेलाबेलामा खोलेर सफा गरिरहनुपर्छ।

-    ठूला भाँडा थन्क्याउँदा भित्री पिँधमा कपूर राखिदिए भाँडामा ढुसी लाग्दैन।

संगीता सिलवाल

तिनाउ किचन इन्टरप्राइजेज

पुस्तकको छनोट तथा सुरक्षा

-    आफ्नो रुचिअनुरूप पुस्तक किन्नुपर्छ। मनोरञ्जक भन्दा ज्ञानवर्द्धक पुस्तकलाई प्राथमिकता दिनुपर्छ।

-    पुस्तक समय सान्दर्भिक तथा ठोस विषयवस्तुमा आधारित हुनुपर्छ जसले आफूलाई धेरै कुरामा अपडेट गर्न सहयोग पुग्छ।

-    काल्पनिक एवं तिलस्मी विषयवस्तुमा आधारित पुस्तकभन्दा वास्तविक तथा जीवन दर्शनमा आधारित पुस्तकको अध्ययनले जीवनोपयोगी बौद्धिक खुराक प्राप्त गर्न सकिन्छ।

-    संघर्षशील र सफल व्यक्ति तथा व्यक्तित्वको अटोबायोग्राफी पढ्दा छुट्टै किसिमको आत्मविश्वास विकसित हुन्छ। त्यसैले महिलाहरूले यस्ता पुस्तक पढ्नुपर्छ।

-    आफूले पढेका पुस्तकभित्रको मन छुने वाक्यलाई हाइलाइट वा अन्डरलाइन गर्नु राम्रो हुन्छ। समय कम भएका बेला पनि ती महत्वपूर्ण कुरा हेर्न सकिन्छ।

-    पुस्तक मागेर होइन भरसक किनेर पढ्ने बानी बसाल्नुपर्छ। आफूले पढेका पुस्तक आफैसँग सुरक्षित राखे आवश्यक परेको बेला दोहोर्‍याएर पढ्न सकिन्छ।

-    पढिसकेका पुस्तकलाई धूलोमैलोबाट टाढा जतनसाथ सुरक्षित राख्नुपर्छ।

प्रतिमा विवश राई, लेखिका

 Image