अर्थशास्त्रमा स्नातकोत्तर मोनालिशा खम्बू प्रथम महिला नेपाल चेस च्याम्पियन हुन् । सन् २००६ मा इतिहासमै पहिलोपटक महिलाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चेस प्रतिस्पर्धामा कतारमा खेलेकी खम्बू सन् २०१० मा चीनमा सम्पन्न एसियन गेममा सहभागी भइन् । सन् २००९, २०१३, २०१७ मा भएका एसियन इन्डोर्स गेममा पनि उनको प्रस्तुति दमदार रह्यो । पहिलो पटक महिला सहभागी भएको सन् २०१४ को वर्ल्ड चेस ओलम्प्याड पछि सन् २०१६ र २०१८ अजरबैजान तथा जर्जियामा भएको ओलम्प्याडमा समेत दरिलो प्रस्तुति दिइन् । सन् २०२२ को ओलम्प्याडमा ९८ वर्षको चेस इतिहासमा प्रथम नेपाली महिला अर्विटर (रेफ्री) बन्न सफल भइन् । नेपाल बुद्धिचाल महासंघको उप–महासचिव तथा विश्व बुद्धिचाल महासंघ महिला आयोगकी सदस्यसमेत रहेकी मोनालिशाले भर्खरै मात्र हिमालयन चेस एकेडेमी सञ्चालनमा ल्याएकी छिन् ।
चेस एकेडेमीको अवधारणा कसरी आयो ?
विदेशतिर खेल्न जाँदा नेपालमा चेस सिकाउने प्राज्ञिक, सुरक्षित र उपयुक्त स्थानको कमी महसुस हुन्थ्यो । राष्ट्रिय–अन्तर्राष्ट्रिय प्लेटफर्ममा धेरै खेलियो । अब यही खेलको सम्वर्द्धन र प्रवर्द्धनका लागि थोरै भएपनि योगदान पुर्याउन सकियोस् भनेर हिमालयन चेस एकेडेमी सञ्चालनमा ल्याएकी हुँ ।
यसको उद्देश्य के हो ?
गुणस्तरीय खेलाडी उत्पादन गर्नुका साथै विशेषतः पाँचदेखि १८ वर्ष उमेरकाबालबालिकालाई सकारात्मक सोच्न सक्ने संस्कार दिने हाम्रो लक्ष्य हो । यो बौद्धिक खेल भएकाले यसमार्फत जीवनोपयोगी शिक्षाका साथै रोजगार सिर्जना गर्ने वातावरण बनोस् भन्ने चाहना पनि हो ।
यहाँ के–कस्ता क्रियाकलाप सिकाइन्छ ?
चेससम्बन्धीसैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ । लेभल टेस्ट गरेर भर्ना लिन्छौं । यहाँ १२ हप्ताको सुरुवाती, १४ हप्ताको एड्भान्स सुरुवाती, १६ हप्ताको इन्टरमिडियट र १८ हप्ताको एडभान्स कोर्स छन् । हाल शनिबार र आइतबार दुई घण्टा कक्षा सञ्चालन गरिएको छ ।
यो कुन उमेर समूहका लागि उपयुक्त छ र कत्तिको महँगो खेल हो ?
हरेक उमेर समूहका लागि यो खेल उपयोगी र सुलभ पनि छ ।
यहाँ आएपछि के–कस्ता फाइदा हुन्छन् ?
चेस खेलमार्फत जीवनोपयोगी ज्ञान र सीप सिक्न सकिन्छ । परिवार र साथीभाइसँग घुलमिल हुने बानीको विकास हुन्छ । अहिलेका बच्चा हार नस्वीकार गर्ने हुन्छन् । यहाँ हार पनि जितकै लागि हो भनेर सिकाउँछौ । फलस्वरूप हार स्वीकार गर्ने क्षमता बढ्छ । त्यसपछिजित्ने उपाय पनि सिकाउँछौं ।
नेपालमा यसको स्कोप कस्तो छ ?
राम्रो छ । किनभने अहिले धेरै बालबालिका मोबाइलमै व्यस्त देखिन्छन् । चेसमार्फत सामाजिक हुन सिकिन्छ । जीवनमा आइपर्ने कठिनाइबारे एक स्टेपअगाडि नै कसरी कदम चाल्ने भन्ने कला सिकिन्छ । यसले बुझाइको शक्ति बढाउने भएकाले पढाइमा सहयोग पुग्छ । काठमाडौंमा खेल्न खाली स्थान नभएकाले इन्डोर गेममा ‘चेस इज बेस्ट ’हुन्छ ।
यो एकेडेमीले समाज र मुलुकलाई के–कस्तो योगदान गर्न सक्ला ?
चेसले एउटा सजग र सचेत नागरिक निर्माणमा सहयोगी भूमिका खेल्नुका साथै राम्रो जनशक्ति पैदा गर्छ ।
चेस र महिलालाई कसरी जोड्न सकिएला ?
एकेडेमीमा हरेक बुधबारलाई वुमन्स डेका रूपमा चेससँग सेलिब्रेसन गर्ने गरेका छौं । खेल भन्नेबित्तिकै प्रायः पुरुषले खेल्ने भन्ने बुझिन्छ तर चेस बौद्धिक खेल हो । यसमा लैंगिक विभेदको कुरै आउँदैन । बौद्धिक रूपमा महिला र पुरुष फरक छैनन् । महिलाले आफ्नो कला, बौद्धिकता, सोच र क्षमता अभिवृद्धिका लागि पनि चेससँग जोडिनु आवश्यक छ ।
चेस खेल्दा र खेलाउँदा के भिन्नता हुँदोरहेछ ?
खेल्दा ६४ वटा कोठाभित्र केन्द्रित भएर कसरी जित्ने भन्ने मात्रै हुन्थ्यो भने सिकाउँदा आफूसँगको ज्ञान अरुलाई कसरी दिने, बालमनोविज्ञानलाई बुझेर कसरी खेल अझ रोचक बनाउने, बालबालिकाहरूलाई जीवनज्ञान कसरी प्रदान गर्ने भन्ने हुन्छ ।
नयाँ योजना र सन्देश केही छन् कि ?
यही खेलको विकास र प्रवर्द्धनमा निरन्तर लागिरहनेछु । चेस खेलौं, बौद्धिकता बढाऔं भन्न चाहन्छु ।