Successfully Copied

महिला भलिबलको उत्साह

दर्शकबीच महिला भलिबलप्रतिको मोह अतुलनीय छ । यी दर्शक खासमा नेपाली भलिबलका प्रशंसक हुन्, उनीहरू यो खेलको विकासमा सक्दो योगदान दिन तत्पर पनि छन् ।

शब्द तथा तस्बिर - हेमन्त श्रेष्ठ

कम्तीमा एक मानक त तोडियो नै । यो हो, महिला भलिबलमा नेपालले भारतलाई हराउनै सक्दैन । सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) वुमेन्स नेसन्स लिग भलिबलमा नेपालले गज्जब नै गर्‍यो भन्दा हुन्छ । गज्जब के अर्थमा भने नेपालले लिग चरणको खेलमा भारतलाई हरायो । भारतमाथि महिला भलिबलमा यही नै नेपालको पहिलो जित हो । त्यसैले यसलाई ऐतिहासिक भन्न सकिन्छ । यसअघि भारतविरुद्ध खेल्दा एउटै नियति हुन्थ्यो, हार । त्यो पनि एकपक्षीय ।


अब काभास्तरमा हुने प्रतियोगितामा नेपालको चुनौती कमजोर रहने छैन । यसका लागि अरुणा शाहीको नेतृत्वमा रहेको टिमलाई धेरै जस दिनैपर्छ । यी खेलाडीले दिनरात मेहनत गरेका छन् र नेपाली महिलाको स्तरलाई एक पाइलाअगाडि बढाएका छन् । यिनै खेलाडीलाई के पनि राम्रोसँग थाहा छ भने गर्नुपर्ने काम धेरै बाँकी छ । नेपाली महिला भलिबल त्यहाँ पनि पुगेको छैन, जसलाई उच्च अन्तर्राष्ट्रिय स्तरकै छ भन्न सकियोस् । प्रतियोगिताका क्रममा फेरि एकपल्ट के प्रमाणित भएको छ भने भलिबल नेपालमा असाध्यै लोकप्रिय खेल रहेको छ । दर्शकबीच यसको मोह अतुलनीय छ, विशेषतः महिला भलिबलमा । यी दर्शक खासमा नेपाली भलिबलका प्रशंसक हुन् र उनीहरू यो खेलको विकासमा सक्दो योगदान दिन तत्पर पनि छन् । नेपाली फुटबलको एउटा अर्को उल्लेखनीय पक्ष भनेको यही त हो, समर्थकको अपार उपस्थिति र त्यसलाई सुहाउँदो माया पनि ।

तर अब यस्तो हुने छैन, यही नै यो प्रतियोगिताको उपलब्धि भयो । अब यसलाई गज्जब नभने के भन्ने त ? फाइनलमा भारत र नेपाल नै भिडेका थिए । त्यसमा भने भारत विजयी रह्यो । फाइनलमा कडा प्रतिस्पर्धा चल्यो । खेल पाँच सेट लम्बियो । अन्त्यमा भारत नै विजयी रह्यो, किनभने यस्तो निर्णायक मोडमा कसरी खेल जित्नुपर्छ, त्यो भारतलाई राम्रोसँग थाहा थियो । भारतलाई अर्को एउटा तथ्य पनि थाहा भएको छ ।अब नेपाललाई महिला भलिबलमा सजिलै हराउन सकिँदैन । कुल पाँच टिमको सहभागिता रहेको प्रतियोगितामा नेपालले सेमिफाइनलमा इरानलाई हराएको थियो । यसअघि लिग चरणकै खेलमा नेपाल इरानको हातबाट पराजित भएको थियो । श्रीलंका र माल्दिभ्सविरुद्धका दुई खेलमा भने नेपालको जित सहज नै रह्यो । त्यस अर्थमा नेपाली महिला भलिबलले एउटा निश्चित स्तर भने छोएको छ ।


 Image