Successfully Copied

मोनालिशा गिफ्ट अफ चेसकी एम्बासडर नियुक्त

संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ ।

संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ ।
न्यूयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले आफ्नो एक्स (पूर्वट्वीटर) र इन्स्टाग्राम अकाउन्टमार्फत बिहीबार खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन् । बोर्डभित्र र बाहिरका उपलब्धिका लागि मोनालिशा खम्बूलाई एम्बासडर चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ ।
उनको चेसमा दुई दशक बढी यात्राको कथा पोस्ट गर्दै गिफ्ट अफ चेसले खम्बूको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा १ हजार चेस सेट वितरण गर्ने उल्लेख गरेको छ । २०२० डिसेम्बरमा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन् २०३० सम्म विश्वभरि १० लाख चेस सेट वितरण गर्ने अभियानमा रहेको छ । उसले ७० देशमा २ लाख चेस सेट वितरण गरिसकेको बताएको छ ।
खम्बू महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन, हइएस्ट रेटेड खेलाडी (फिडे रेटिङ १८७७), पहिलो इन्टरनेसनल आबिर्टर (आइए) हुन् । १४ वर्षमै एसियन गेम्स (सन् २००६ दोहा) मा देशको प्रतिनिधित्व गरेकी उनले एसियन गेम्स २ पल्ट, इन्डोर एसियन गेम्स ३ पल्ट, चेस ओलम्पियाड ३ पल्ट खेलेकी छन् । उनी चेस ओलम्पियाड (सन् २०२२ चेन्नई) मा आर्बिटर बन्ने पहिलो नेपाली महिला पनि हुन् । नेपाल चेस महासंघमा उपमहासचिव रहेकी उनी विश्व चेस महासंघको फिडे कमिसन फर वुमेन्स चेसकी सदस्य पनि हुन् ।
उनले दुई वर्षअघि हिमालयन चेस एकेडेमी स्थापना गरेयता दुई सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हलमा प्रशिक्षण दिइसकेको छ । एकेडेमीले स्कुल, समुदाय, महिलासहित अटिजम प्रभावितलाई समेत नियमित चेस ट्रेनिङ दिइरहेको छ । दुई वर्षभित्रै क्लासिकल, ब्लिज र पजल सोल्भिङ गरी चेसका १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको एकेडेमीले करिब तीन दर्जन प्रतियोगिताको व्यवस्थापन पनि गरेको छ ।

 Image