Successfully Copied

‘आलोचनाले नै अघि बढ्न हौसला दियो’

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन एसिया छनोट जित्दै ओलम्पिकमा पुगेकी छन् ।


पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन एसिया छनोट जित्दै ओलम्पिकमा पुगेकी छन् । चीनको ताइयाङमा आयोजित एसियाली पारा ओलम्पिक छनोटमा प्रतियोगिताको फाइनलमा इरानकी प्रतिद्वन्द्वी लीला मिर्जाइलाई हराउँदै सन् २०२४ मा हुने पेरिस पारालम्पिकमा उनी छानिइन् । यो उपलब्धिसँगै पलेशा ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी बनेकी छन् । चीनमा आर्किटेक्ट इन्जिनियरिङ पढ्दै खेललाई अगाडि बढाइरहेकी पलेशासँगको संवाद ः
खेल यात्रा कसरी सुरु भयो ?
विद्यालय स्तरदेखि नै खेल्दै आएकी हुँ । १० वर्षको उमेरदेखि नै मैले तेक्वान्दो खेल्न थालेँ । विद्यालयमा रहरका लागि खेल्दै गर्दा अगाडि बढेकी हुँ । तेक्वान्दोमा प्राक्टिकल र थेउरी दुवै हुन्थ्यो । मलाई हरेक कुरामा अगाडि आउनुपर्छ भन्ने सोच थियो । त्यही कारण पढाइदेखि खेलकुदमा पनि एकसाथ मेहनत गरेँ । २०१६ मा राष्ट्रिय टिममा आबद्ध भएर अगाडि बढेँ । करिअरका रूपमा अगाडि बढ्ला भन्ने सोचेकी थिइनँ ।
ओलम्पिकमा छनोट हुँदा कस्तो महसुस गरिरहनुभएको छ ?
मेरा लागि यो नसोचेको सफलता हो । ओलम्पिकसम्मको यात्रा गर्ने कुराकहिल्यै सोचेकी थिइनँ । अहिले त धेरैले बधाई दिइरहनुभएको छ । हौसला प्राप्त भइरहेको छ । चुनौती पनि थपिएको छ ।

एक हातले खेलेर ओलम्पिकमा पुग्न कत्तिको सहज थियो ?
यहाँसम्म आइपुग्न मेरो एउटै हातले सम्भव भएको हो । खेल्ने क्रममा थुप्रै आलोचना भएको थियो । एउटा हातले कसरी खेल्छे ? खेलकुदमा अगाडि बढ्न सक्दिन भनेर कुरा गर्थे । त्यसले पनि मलाई चुनौती थपिएको थियो । त्यही आलोचनाका कारणले पनि अगाडि बढ्न हौसला दियो भन्ने लाग्छ । यस खेलमा किक हान्ने भएकाले खुट्टा बढी चलाउनुपर्छ । शारीरिक क्षमता हेरेर खेलमा क्याटोगोरी छुट्याइएको हुन्छ ।
अन्तर्राष्ट्रिय स्तरका कति खेलमा सहभागिता जनाउनुभएको छ ?
धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेकी छु । दक्षिण कोरियामा तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, विश्व पारा तेक्वान्दो, टोकियोमा पारालिम्पक गेम्सको टेस्ट इभेन्ट, टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो, साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो आदि हुन् । अवार्डहरू पनि थुप्रै हासिल गरेकी छु ।
किन कम नेपाली खेलाडी मात्र ओलम्पिकमा पुग्ने गरेका छन् ?
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसक्नु हो । अन्तर्राष्ट्रिय स्तरमा सीमित सहभागिता हुन्छ । तेक्वान्दोमा जति खेल राम्रो गर्‍यो, त्यति पोइन्ट बढ्दै जान्छ । ओलम्पिकमा पुग्नका लागि धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्छ, तर हामीमा त्यो सम्भव छैन ।
खेलबाहेक केमा रुचि छ ?
आर्किटेक्ट इन्जिनियरिङमा ।

 Image