Successfully Copied

सागमा नेपाली महिला : स्वर्णिम खुसी

एकातिर घरपरिवारको अनुमति लिनुपर्ने, अर्कातिर खेल्नका लागि अतिरिक्त समय मिलाउनुपर्ने । त्यसैगरी आफ्नै शारीरिक जटिलताहरूले पनि उनीहरूलाई रोक्न सक्छन् । मासिक स्राव, गर्भावस्था, बच्चा हुर्काउने, स्तनपानको अवस्थामा महिला खेलाडीको साझा बाध्यता हो । तर यस्ता अनेकौं बाध्यतामाथि धावा बोल्दै उनीहरू खुला मैदानमा उत्रन्छन्

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा स्वर्ण पदक जितेपछि आयशा शाक्यले खुसी हुँदै भनेकी थिइन्–‘दुई बच्चाका लागि दुई मेडल जितेजस्तो भइरहेको छ ।’कराँतेमा स्वर्ण पदक हात पारेपछि अनुपमा मगरले आफ्नो पदक दिवंगत आमाको नाममा समर्पण गरिन् । उसु खेलमा जितेको स्वर्ण पदक आफ्नी आमाको गलामा पहिर्‍याइदिइन्, निमा घर्ती मगरले । कराँतेमा स्वर्ण पदक जितेपछि सुनीता महर्जनले उक्त पदक आफ्ना पिता नाति महर्जनलाई लगाइदिइन् । 

१३ औं संस्करणअन्तर्गत भएका सागका केही झलक हुन् यी, जसले नेपाली महिला खेलाडीको मनोभाव पनि दर्शाउँछन् । मैदानमा कठोर संघर्षपछि जब जित हासिल गर्छन्, महिला खेलाडीहरूले आफ्ना बालबच्चा र आमाबुवाको स्मरण गर्छन् र आफ्नो जित एवं उपलब्धि तिनीहरूलाई समर्पण गर्न चाहन्छन् । 

मैदानमा उत्रनुअघि हरेक महिला आफ्नै किसिमका बाध्यता र जटिलताहरूले घेरिएका हुन्छन् । कसैकी छोरी, कसैकी श्रीमती, कसैकी बुहारी, कसैकी आमा बनेर खुल्ला स्पर्धामा भिड्न उनीहरूले अनेकौं प्रतिकूलता छिचोल्नुपर्छ । एकातिर घरपरिवारको अनुमति लिनुपर्ने, अर्कातिर खेल्नका लागि अतिरिक्त समय मिलाउनुपर्ने । त्यसैगरी आफ्नै शारीरिक जटिलताहरूले पनि उनीहरूलाई रोक्न सक्छन् । मासिक स्राव, गर्भावस्था, बच्चा हुर्काउने, स्तनपानको अवस्थामा महिला खेलाडीको साझा बाध्यता हो । तर यस्ता अनेकौं बाध्यतामाथि धावा बोल्दै उनीहरू खुला मैदानमा उत्रन्छन् र रोमाञ्चक जित हासिल गर्छन् ।

यहाँ त्यस्तै महिलाहरूको संक्षिप्त चिनारी प्रस्तुत गरिएको छ, जसले साग खेलकुदमा स्वर्ण पदक हासिल गरे । 

 

आमा आयशा, खेलाडी आयशा 

आयशा शाक्य खेलाडी मात्र होइनन् उनी श्रीमती, बुहारी र आमा पनि हुन् । यी अनेकौं भूमिकामा रहेर पनि उनले आफ्नो खेल–जीवनलाई गतिशील बनाएकी छिन् । दुई सन्तानकी आमा आयशाको विशेषता नै लामो समय उस्तै तीव्रता र उस्तै लयमा दौडिरहनु हो । उनले तेक्वान्दो खेल्न थालेको लामो समय बितिसकेको छ । तर यतिका समय गुज्रिसक्दा पनि उनले आफ्नो गति गुमाएकी छैनन् । 

यसपटक १३ औं सागमा उत्कृष्ट प्रदर्शन गर्दै आयशाले स्वर्ण पदक हासिल गरिन् । तेक्वान्दोको पुम्सेमा उनले एकल र समूह गरी दुई वटा स्वर्ण पदक आफ्नो नाममा लेखाएकी हुन् । जतिबेला उनी अविवाहित थिइन्, उनले आफ्नो नेम र फेम बनाइसकेकी थिइन् । तेक्वान्दो खेलबाट उदाएकी आयशाले तेक्वान्दोकै चर्चित खेलाडी दीपक विष्टसँग विवाह गरिन् । जबकि उक्त विवाहमा आयशाकै पिता सन्तुष्ट थिएनन् । 

पिता जुजुरत्न शाक्यले आयशालाई तेक्वान्दो खेलका लागि प्रेरित गर्ने र प्रशिक्षित गराउने काम गरेका हुन् । तर आफ्नो अस्वीकृतिमा छोरीले विवाह गरेपछि बाबु–छोरीको सम्बन्ध चिसियो । यद्यपि आयशा शाक्य आफ्नो खेल जीवनको प्रसंग कोट्याउनासाथ पिताको नाम लिन्छिन् । नारीसँग कुरा गर्दै आयशाले भनेकी थिइन्–‘बुवा नै मेरा प्रेरणा हुनुहुन्छ ।’ उनी आफ्ना उपलब्धिहरूका पछाडि पिताकै देन रहेको बताउँछिन् । आफ्नो खेल–कौशलबाट पिताको मन पगाल्ने प्रयासमा पनि छिन्–आयशा । 

उनी घरकी एक्ली छोरी हुन् । अलिअलि जिद्दी पनि थिइन् । उनको खेलकुदमा भने सानैदेखि रुचि थियो । नारीसँग कुरा गर्दै आयशाले भनेकी थिइन्–‘खेल्न पाइएन भने त्यत्तिकै दौडन्थें । पछि बाबाले खेलप्रतिको मेरो रुचि बुझ्नुभएछ ।’

पिता जुजुरत्नले आयशालाई तेक्वान्दो खेल्न सुझाए । जुजुरत्नका साथी ईश्वरमान बज्राचार्य तेक्वान्दोका प्रशिक्षक थिए । उनको घर पनि आयशाकै घर पाटनढोका नजिक थियो । आयाशाले उनै गुरु ईश्वरमानसँग तेक्वान्दो सिक्न थालिन् । 

पिता जुजुरत्न चाहन्थे–छोरीले तेक्वान्दो खेल्न जानेमा आफ्नो रक्षा गर्न सक्छे । शरीर तन्दुरुस्त हुन्छ । तर छोरी आयशा त्यतिमा सीमित रहिनन् । उनले पिताको अपेक्षाको दायरा फराकिलो बनाउँदै यही खेलबाट आफ्नो नाम चम्काइन् । 

यसपटक १३ औं संस्करणको सागमा लामो समयपछि उनी मैदानमा फर्किइन् र रोमाञ्चकारी ढंगले स्वर्ण पदक हासिल गरिन् । आयशाले तेक्वान्दोको पुम्सेमा २ वटा स्वर्ण पदक आफ्नो नाममा बनाइन् । भनिहालौं, सागमा पहिलो पटक समावेश गरिएको थियो पुम्से । यसमा आयशाले महिला एकलतर्फ ३० वर्षमाथि र समूहमा गरी दुई स्पर्धामा भाग लिएकी थिइन् । जितसँगै उनी श्रीमान् दीपक विष्ट र छोरालाई अंगालो हालेर धेरैबेर रोएकी थिइन् । उक्त पदक आफ्ना कलिला दुई छोराका नाममा समर्पण गरिरहँदा आयशाले पिता जुजुरत्नलाई पनि स्मरण गरिहोलिन् ।

कीर्तिमानी जलपरी गौरिका 

नाम गौरिका सिंह, उमेर १७ वर्ष । यति नै काफी छ, गौरिकालाई चिनाउन । यो ‘गुलाबी उमेर’ मै उनले आफूलाई सर्वत्र चिनाइसकेकी छिन् । उनलाई चिनाउने विशेषण हो–पौडीवाज ।

नेपाली पौडीका लागि गौरिका सिंहको आगमन नै सुनौलो भइदियो । किशोरावस्थामा गौरिकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा आफूलाई अब्बल साबित गरिन् । १३ औं संस्करणको सागमा उनले जादु देखाइदिइन्, चार–चार वटा स्वर्ण पदक आफ्नो नाममा लेखाएर । भनिन्छ, नेपाली पौडीको इतिहासमा दुई दशकपछि नेपालले स्वर्ण जितेको हो । दुई सय मिटर फ्रि स्टाइल र ब्याकस्ट्रोकमा गौरिकाले छुट्टाछुट्टै दुई स्वर्ण हात पारिन् । त्यस्तै ४ सय मिटरको फ्रि स्टाइलमा उनले अर्को स्वर्ण थपिन् । त्यसपछि १ सय मिटरको फ्रि स्टाइलमा अर्को स्वर्ण थप्दै उनले ह्याट्रिक गरिन् । 

स्वर्ण पदक गलामा लगाउँदै गौरिकाले भनिन्–‘मेरो पहिलो स्वर्ण नेपाललाई थियो, दोस्रो मेरो च्यारिटीलाई भयो । तेस्रो स्वर्ण मेरा हजुरबालाई ।’ यसपटकको सागमा गौरिकाले चार स्वर्ण सहित २ रजत र २ कास्य पदक जितिन् । 

एउटै सागमा चार स्वर्ण जित्ने उनी प्रथम नेपाली खेलाडी हुन् । यसअघि दीपक बिष्टले सबैभन्दा धेरै स्वर्ण जितेर कीर्तिमान बनाएका थिए । गौरिकाले एकै सागमा चार स्वर्ण जितेकी हुन् भने दीपकले चारवटा सागमा चार स्वर्ण जितेका थिए । 

गौरिका वास्तवमै नेपालकी गौरव हुन्, जसले राष्ट्रिय झण्डा ओढेर ओलम्पिकदेखि सागसम्म आफ्नो अविछिन्न यात्रा तय गरिन् । सन् २०१६ को ओलम्पिकमा नेपालको तर्फबाट सहभागी सबैभन्दा कान्छी खेलाडी थिइन्–उनी । यसअघि उनले २०१६ मा सम्पन्न सागमा रजत पदक हासिल गरेकी थिइन् । गौरिकाको खेल–जीवन भने आठौं राष्ट्रिय खेलकुदबाट भयो । उक्त प्रतियोगितामा उनले पौडीका विभिन्न स्पर्धामा १२ वटा स्वर्ण जितेकी थिइन् । 

गौरिकाको पुख्र्याैली घर बझाङ हो । तर गौरिकाका परिवारका अन्य सदस्यहरू भने लन्डनमा बस्छन् । आमाबुवा र भाइसँग बसिरहेकी गौरिकालाई खेलले नै तानेर नेपालसम्म ल्याउँछ । उनी पौडीका लागि नेपाल आइरहन्छिन् । 

हँसमुख मुहार, छरितो शरीरकी गौरिका आफैमा एक सम्भावना पनि हुन् । किशोरावस्थामा हासिल गरेको उपलब्धि सामान्य छैन । गौरिकाले ब्राजिलमा भएको समर ओलम्पिक, २०१८ को एसियाली खेलकुदका साथै २०१६ मा आयरल्यान्डमा सम्पन्न आइरिस ओपन स्वीमिङ च्याम्पियनसीप, २०१५ मा युएईमा भएको फिना स्विमिङ विश्वकप, रसियामा भएको वल्र्ड एक्वेटिक्स च्याम्पियनसीपमा भाग लिइसकेकी छिन् । 

घरेलु भूमिमै स्वर्ण जित्दा गौरिका एकदमै खुसी हुँदै त्यसलाई व्यक्त गर्ने शब्द नै नभएको बताएकी थिइन् । बेलायतमा हुर्किएर उतै बस्दै आएकी उनी बेलाबखत आलोचित हुन्छिन् । त्यसलाई इंगित गर्दै उनले पाएको उपलब्धि नेपाल र नेपालीलाई समर्पित गर्दै भनिन्–‘म नेपाली हुँ र यो मेडल नेपालको हो ।’

अनुपमा मगर

विधा–कराँते

अनुपमा मगरले यसपटक कराँतेमा स्वर्ण पदक हासिल गरिन् । रमाइलो त के छ भने अघिल्लो महिना बंगलादेशमा भएको कराँतेको दक्षिण एसियाली च्याम्पियनसीपमा जुन प्रतिद्वन्द्वीले उनलाई रजत पदकमै रोकेकी थिइन्, यसपटक सागमा उनैलाई हराएर फाइनलमा पुगिन् । सागमा पहिलो पटक सहभागी भएकी अनुपमाले ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पाकिस्तानी खेलाडीलाई ६.३ को सेटमा पराजित गरेकी थिइन् । 

मगरको खेल–यात्रा माओवादी शिविरबाट भयो, जतिबेला उनी लडाकु बनेर सशस्त्र विद्रोहमा होमिएकी थिइन् । कलाकारका रूपमा माओवादीमा प्रवेश गरेकी उनको पछि खेलबाट उदय भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन माओवादी लडाकुहरूका तर्फबाट बनेको पीएलए क्लबबाट प्रतियोगितामा कांस्य पदक जितिन् । उनले सातौं र आठौं राष्ट्रिय खेलकुदमा भने नेपाल पुलिस क्लबबाट खेलिन् । सातौंमा कांस्य पदक जितेकी उनले आठौंमा स्वर्ण जितेकी थिइन् । 

कुसुम खड्का

विधा–कँराते 

कराँते खेलबाट कुसुम खड्काले १३ औं सागमा स्वर्ण पदक हासिल गरिन् । उनी महिलातर्फ ४५ केजीमुनि समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । कुसुमले बंगलादेशी खेलाडीलाई हराएकी हुन् । यसअघि कुसुमले श्रीलंकाली आराचिगेलाई ७–६ अंकले पराजित गर्दै फाइनलको यात्रा तय गरेकी थिइन् । 

अनु अधिकारी

विधा–कराँते

५० केजीमुनी अनु अधिकारीले स्वर्ण जितेकी हुन् । उनले कराँतेको कुमुतेतर्फ ५० केजीमुनिको समूहमा स्वर्ण जितेकी हुन् । अनुले श्रीलंकाली खेलाडीलाई ८.० अंकले पराजित गरेकी हुन् । फाइनलमा टेक्निकल नतिजा निकाल्ने उनी एक्ली खेलाडी पनि बनिन् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा उनी चिनिइन् ।

निर्मला तामाङ, रञ्जिता मगर र सरु कार्की

विधा–कराँते

कराँतेको महिलातर्फको टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र संगीता मगर सम्मिलित टोलीले पाकिस्तानलाई हराउँदै स्वर्ण जितेको हो । नेपाली टोलीले २४.८८ अंक प्राप्त गरेका थिए भने पाकिस्तानी टोलीले २३.०३ अंक प्राप्त गरेका थिए ।

सुनीता महर्जन

विधा–कराँते

कराँतेको कुमुतेतर्फ ६८ केजी तौल समूहको खेलमा सुनीता महर्जनले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । जितपछि उनले पदक आफ्ना पिता नाति महर्जनलाई लगाइदिएकी थिइन् । 

सिना मादेन लिम्बू

विधा–तेक्वान्दो 

सिना मादेन लिम्बूले तेक्वान्दोको पुम्सेतर्फ महिला एकलको १७–२३ वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले ११ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी हुन् 

निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना

विधा–तेक्वान्दो

पुम्सेको महिला १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिनाले स्वर्ण पदक जितेका हुन् । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा नेपालले भारतीय टोलीलाई हराएको थियो ।

नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई 

विधा–तेक्वान्दो 

२३ देखि २९ वर्ष उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले नेपाललाई स्वर्ण पदक दिलाएको छ ।

पार्वती गुरुङ

विधा–तेक्वान्दो

२३ देखि २९ वर्ष उमेर समूह महिलाको पुम्सेतर्फ तेक्वान्दो पार्वती गुरुङले स्वर्ण पदक जितिन् । उनले श्रीलंकाकी जयावीरालाई हराएकी थिइन् । पार्वतीले ८.२५० अंक ल्याएकी थिइन् भने जयावीराले ८.१४० अंक ल्याएकी थिइन् ।

काजल श्रेष्ठ

विधा–तेक्वान्दो

सागमा काजल श्रेष्ठले तेक्वान्दोमा स्वर्ण पदक जितेकी हुन् । ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् । स्वर्ण जितेपछि उनले खुसी वर्णन गर्न नसक्ने बताएकी थिइन् । उनले यहाँसम्म आइपुग्न सहयोग गर्ने परिवार र गुरुलाई पनि धन्यवाद दिइन् । 

संगीता बस्याल

विधा–तेक्वान्दो 

संगीता बस्यालले तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन् । ६७ केजीमुनि प्रतिस्पर्धा गरेकी उनले भारतीय खेलाडीलाई १९.८ को स्कोरमा हराएकी हुन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । १२ औं सागको छनोट राउन्डमा आयशा शाक्यसँग पराजित भएर उनको सागमा खेल्ने सपना अधूरो रहेको थियो । आयशा शाक्यले तेक्वान्दोमा केही समय ब्रेक लिएपछि उनले राष्ट्रिय टोलीमा पर्ने अवसर पाएकी थिइन् । 

 

निमा घर्ती मगर

विधा–उसु

निमा घर्तीमगर उसु खेलाडी हुन् । उनले १३ औं संस्करणको सागमा उसुको नाच्छन् अल राउन्डबाट स्वर्ण पदक जितिन् । त्यो पनि लगातार दुई वटा स्वर्ण पदक । खासमा उनलाई जुडो खेल्न मन लाग्थ्यो । तर घर नजिक उसु सिकाइन्थ्यो । उनले उसु सिकिन् । त्यसबेला निमा कक्षा सातमा पढ्दै थिइन् । आफ्नो सुरक्षा र शारीरिक तन्दुरुस्तीका लागि खेलमा लागेकी निमालाई पदक र चर्चाको मोह थिएन । यद्यपि निरन्तरको अभ्यास, लगाव र कठोर संघर्षले उनलाई सफलताको उचाइमा पुर्‍यायो । 

निमाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् । उनले रसियाको कजानमा भएको १४ औं विश्व उसु च्याम्पियनसीपमा भाग लिएकी थिइन् । इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पदक त जितिनन् तर राम्रो अंक ल्याएर राष्ट्रिय कीर्तिमान बनाइन् । उनी एक सम्भावनायुक्त महिला खेलाडी हुन् । 

जुनी राई

विधा–उसु

सान्सौको महिला ५६ केजी तौल समूहमा जुनी राईले स्वर्ण पदक जितिन् । यसअघिको सागमा उनले रजत पदकमै चित्त बुझाउनुपरेको थियो । संयोग त के भने उनी १२ औं सागमा भारतसँग पराजित भएकी थिइन् भने १३ औं सागमा भारतलाई नै हराउँदै उनले स्वर्ण पदक हात पारेकी हुन् । 

जुनीले उसु खेल्न थालेको ८ वर्ष भयो । उसु खेल्न थालेको १ वर्षमै छैठौं राष्ट्रिय खेलमा पूर्वाञ्चल टिमबाट प्रतिनिधित्व गर्दै रजत पदक जितेकी थिइन् । १२ औं सागमा रजत जितेको ५ महिनापछि उनी नेपाल प्रहरीको असई (प्रहरी सहायक निरीक्षक) बनिन् । सातौं र आठौं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण पदक हात पारेकी थिइन् । 

सुस्मिता तामाङ–उसु

निरन्तरको प्रयासले सफलता चुम्न सकिन्छ । सुस्मिता तामाङ यसकै उदाहरण हुन् । अघिल्लो संस्करणको सागमा बेहोरेको हारले यसपटक उनलाई थप परिपक्व बनायो । १३ औं संस्करणको सागमा उसुको थाउलुतर्फ महिला प्रतिस्पर्धामा सुस्मिताले स्वर्ण पदक हासिल गरिन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । जितपछि उनले भनेकी थिइन्–‘गोल्ड जित्छु भनेर मेहनत गरेकी थिएँ, आज सफल भएकी छु ।’ एसियन गेम आफ्नो लक्ष्य भएको उनले सुनाएकी छिन् । 

सञ्जु चौधरी

विधा–भारोत्तोलन

पाखुराको बलमा आफ्नो लोभलाग्दो चिनारी बनाएकी छिन्–सञ्जु चौधरीले । उनी भारोत्तोलनकी खेलाडी हुन् । १३ औं सागमा भार उचालेरै उनले स्वर्ण पदक हात पारिन् । उनले ५९ केजी तौल समूहमा स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल १ सय ७१ केजी उचालेकी थिइन् । 

नेपाली भारोत्तोलनकै इतिहासका लागि यो दोस्रो उपाधि थियो । उनले दुई वर्षअघि कोरियामा सिनियर र जुनियर दुवै क्याटोगोरीमा कांस्य पदक जितेकी थिइन् । 

हुन त उनी क्रिकेटर बन्न चाहन्थिन् । जतिबेला उनी विद्यालय तहमा पढ्दै थिइन्, त्यतिबेला स्थानीय स्तरको क्रिकेट प्रतियोगितामा सहभागी भएकी थिइन् । यद्यपि घरपरिवारले उनलाई खेलमा लागेको हेर्न चाहँदैनथे । छोरीले पढेर आयआर्जनको काम गरोस् भन्ने अपेक्षा राख्थे । त्यही कारण उनले क्रिकेटलाई निरन्तरता दिन पाइनन् । तर खेलप्रतिको मोह हट्दै हटेन । उनले क्रिकेट छाडिनन् र भारोत्तोलनमा आफूलाई अभ्यस्त गराउन थालिन् । उनले यसका बारेमा परिवारलाई कुनै जानकारी दिइनन् । जब सञ्जुले सागमा स्वर्ण पदक हासिल गरिन् तब बुवाले फोन गरेर भने– ‘परिवारको नाम राखिस्, खुसी लाग्यो ।’ 

संगीता धामी

विधा–कुस्ती

कुस्ती खेलमा ५५ किलो ग्राम तौल समूहमा संगीता धामीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाउन सफल भइन् । उनले बंगलादेशकी रिमी सरकारलाई ५–१ ले पराजित गर्दै नेपाललाई कुस्तीमा पहिलो स्वर्ण पदक दिलाइन् । जितपछि संगीताले खुसीको आँसु थाम्न सकिनन् । उनी भक्कानिएर रोएपछि कवर्ड हलमा उपस्थित दर्शकसमेत भावुक भएका थिए ।

कक्षा १० मा पढ्दा नै उनले कुस्ती खेल्न सुरु गरेकी हुन् । संगीताले अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको १, राष्ट्रिय स्तरका २ र घरेलु स्तरका ३ गरी जम्मा ६ वटा स्वर्ण पदक जितिसकेकी छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले आमाले दूध बेचेर उनीसहित ३ दिदीबहिनीको लालनपालन गरिरहेकी छिन् । छोरीमात्र जन्माएको भनेर बुवाले आमालाई छाडेर गएपछि सबै जिम्मेवारी उनकी आमाले एक्लै सम्हाल्दै आएकी छन् । बीएडमा अध्ययनरत संगीताले स्वर्ण पदक जितेपछि खुसी हुँदै ‘यो स्वर्ण दूध बेचेर मलाई पढाउने मेरी आमालाई’ भन्दै आमालाई समर्पण गरेकी थिइन् । 

सन्तोषी श्रेष्ठ

विधा–एथलेटिक्स

एथलेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचिन् । उनले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । सन्तोषी सागमा स्वर्ण जित्ने नेपालकै प्रथम महिला धाविका हुन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । उनले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गरिन् ।

स्कुले जीवनमा उनलाई खेलकुदप्रति खासै चासो थिएन ।

स्कुलका साथीहरूले १५ सय मिटर दौडमा भाग लिन आग्रह गरेपछि उनले पनि आफ्नो नाम लेखाइन् । तर उनीसँग दौडन जुत्ता थिएनन् । बुवाले किनिदिएका चप्पल नै लगाएर उनले विष्णुमती किनारमा डेढ किलोमिटरको दूरी पार मात्र गरिनन् पहिलो नै भइन् । त्यसपछि उनले खेललाई निरन्तरता दिइन् । पब्लिक हेल्थमा स्नातक गरेकी सन्तोषीले पाँच हजार मिटर दौडमा भने उनले चौथो स्थानमा चित्त बुझाउनुपर्‍यो । 

सोनी गुरुङ

विधा–ट्रायथलन 

२०१६ मा भारतमा भएको १२ औं संस्करणबाट समावेश भएको ट्रायथलनमा नेपालले पहिलो स्वर्ण जितेको हो । महिलातर्फ सोनी गुरुङले नेपाललाई स्वर्ण र महिला मिक्स रिले ट्रायथलनमा रजत पदक दिलाएकी हुन् । यो नेपालको दोस्रो स्वर्ण पदक हो । पोखरा लेकसाइडमा भएको ट्रायथलन खेलमा उनले निर्धारित दूरी १ घन्टा १३ मिनेट ४५ सेकेन्डमा पार गरेकी थिइन् ।  

निस्मा श्रेष्ठ

विधा–साइक्लिङ

पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउन हिलमा महिलातर्फबाट निस्मा श्रेष्ठले स्वर्ण जितेकी हुन् । गोकर्णमा बुधबार साइक्लिङअन्तर्गत डाउन हिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दूरीमा उनले जितेकी हुन् ।

लक्ष्मी मगर

विधा–साइक्लिङ

महिला क्रस कन्ट्री स्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितिन् । साइक्लिङमा उनले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन् । लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेन्डमा पूरा गरेकी हुन् ।

देविका खड्का

विधा–जुडो

देविका खड्काले जुडोमा स्वर्ण जितिन् । ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् । उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।

पूनम श्रेष्ठ

विधा–जुडो

जुडोमा पूनम श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । उनले ७८ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।

मिनु गुरुङ

विधा–बक्सिङ

बक्सिङमा मिनु गुरुङले स्वर्ण पदक जितिन् । फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलंकन र भारतीय खेलाडीलाई हराएकी हुन् । सागमा बक्सिङबाट जितेको यो २० वर्षपछिको स्वर्ण पदक हो । उनी सागमा स्वर्ण पदक जित्ने प्रथम नेपाली महिला बक्सर बनेकी छन् । १२ औं सागमा उनले कांस्य पदक जितेकी थिइन् । 

 

 Image