चर्चित भारतीय साहित्यकार अमृता प्रीतमका छानिएका कविताहरू नेपालीमा अनुवाद गरेकी छिन्–कवि रिमा केसीले । किताबको नाम छ–‘अमृता प्रीतमका छानिएका कविता’ । यसअघि केसीको कवितासंग्रह ‘यात्रामा अक्षर’ प्रकाशित छ । रिमा केसीसँग अनुवाद र कविता–लेखनका विषयमा गरिएको वार्ताः
अमृता प्रीतमका कवितालाई नेपालीमा अनुवाद गर्नुभयो । अमृता नै किन छान्नुभयो ?
अमृता प्रीतमका कविताले मलाई धेरै आकर्षित गरे । उनका कवितामा भावको गहिराइ पाएँ । चाहे ती प्रेम, वेदना, विद्रोह वा जुनसुकै विषयका किन नहुन् । उनले बाँचेको जिन्दगी आफैंमा एउटा विद्रोहीकविता जस्तो पनि छ । त्यो जिन्दगीका भोगाइहरू नै उनका कविताहरू हुन् । ती कवितामा उनले आफूलाई छरपस्ट पोखेकी छन् । उनको कवित्वले मेरो मन तरंगित बनाइदियो ।
उनका कविताका विशेषता के हुन् ? उनलाई किन पढ्नुपर्छ ?
उनका कविताको मूल्यांकन गर्ने र विशेषता छुट्याउने त म को नै हुँ र ? तैपनि के भन्न चाहन्छु भने अमृता प्रीतम बाँचेको त्यतिबेलाको समय, उनले बाँचेको कविता वा कुनै उकृष्ट चलचित्रजस्तो विद्रोही जिन्दगी र उनले लेखेका गहिराइ छुने कविता सबैले एकपटक पढ्नैपर्छ । मनभित्रको गहिराइ छोएर निस्किन्छन् उनका कविता ।
मौलिक सिर्जना गर्नु र अनुवाद गर्नुमा के फरक रहेछ ?
मौलिक सिर्जना गर्नु भनेको आफ्नै विचार, भाव, विषय र आफ्नै स्वतन्त्रतामा खुल्ला रूपमा पोखिनु हो । नदीजस्तै आफ्ना मर्जीले स्वतन्त्र भएर जता मन लाग्छ त्यतै बग्न पाइन्छ । कवितालाई कस्तो रङ्गरोगन गर्ने । कसरी सिंगार्ने रकवितालाई भन्ने कुरा मौलिक सिर्जना गर्दा आफ्नो बौद्धिकता आफ्नै विवेक प्रयोग गरेर स्वतन्त्र रूपमा प्रयोग गर्न पाइन्छ । मैले कवितालाई एक भाषाबाट अर्काे भाषामा अनुवाद गर्नुअगाडि अनुवाद गर्न जटिल होला भनेरसोचेकी पनि थिइन । तर मैले गरेको कल्पनाभन्दा धेरै जटिल र कठिन पनि रहेछ अनुवाद गर्नलाई । अनुवाद गर्छु भनी आँट गरेर पछि हटिन ।
कविता अनुवाद झनै जटिल काम मानिन्छ । हाम्रा अनुवादकले अनुवादको प्राणपखेरु जोगाइरहेका छन् त ?
कविता अनुवाद एकदमै जटिल काम रहेछ । त्यसको अनुभव मसँग छ । एकातिर भाव पक्षमा ध्यान दिनुपर्ने हुन्छ अर्कातिर सर्जकको शैली, बिम्ब, प्रतीकमा विचार पु¥याउनुपर्ने हुन्छ । एक भाषाबाट अर्को भाषामा अनुवाद गर्नु भनेको एउटाले पकाइसकेको खानालाई आफ्नै तरिकाले फेरि आफ्नो स्वादमा पस्किनु हो । मेरो विचारमा अनुवाद गरे पनि सर्जकको सिर्जनालाई सकेसम्म सर्जककै शैलीमा अनुवाद मात्र गरिनुपर्छ जस्तो लाग्छ । त्यसो गर्दा उनको सिर्जना मर्न पाउँदैन ।
तपाईं नियमित कविता लेखिरहनुभएको छ । तपाईंका लागि कविता के हो ?
नियमितभन्दा पनि फाट्टफुट्ट लेखिरहन्छु । मेरो लागि कविता मनका भावहरूलाई विचार र शब्दको माध्यमबाट स्वतन्त्रतापूर्वक प्रस्फुटन गर्ने एउटा उत्कृष्ट माध्यम हो । जसले मान्छेलाई दमित, कुण्ठित बनाएर डिप्रेसनको सिकार हुनबाट जोगाउँछ । जसले गर्दा मनका कुरा व्यक्त गर्न नसक्ने मान्छे वा एक्लो मान्छेले लेखेर आफूलाई रिलिज गर्छ र आत्महत्या गर्नबाट जोगिन्छ । अर्को अर्थमा कविताबाट धेरै कुरा बोल्न सकिन्छ ।
अग्रजहरूका विचार अनुकरण गरेर अघि बढ्दै जाँदा तपाईं आफूलाई चाहिँ कुन अग्रज कविको निकट मान्नुहुन्छ ?
अग्रजका विचार अनुकरण गर्नुभन्दा पनि सबैका कविता पढ्छु भ्याएसम्म । सबैका आ–आफ्नै शैली छन् । आ–आफ्नै विचार छन् । आ–आफ्नै विषय वस्तु हुन्छन् । आ–आफ्नै धार र चिन्तन हुन्छन् । सबैका कविता पढेर आनन्द लिन्छु म । तर कविता लेखनमा सबैको आ–आफ्नो शैली हुन्छ । मेरो पनि आफ्नै छ । त्यो कसैबाट अनुकरणभन्दा पनि स्वतस्फुर्त हुन्छ । मैले कसैको कविताबाट प्रभावित भएर कविता लेख्न सुरु गरेकी होइन । मेरा कविताको मूल्यांकन गरिदिने कोहीथिएन त्यतिबेला । लेखक पनि म थिए“ र पाठक पनि म नै थिएँ । मान्छेका दुःख, पीडा एवं दमनका आवाजले मलाई पिरोल्छन् । त्यसैले म महिला, दमित र शोषित वर्गको आवाजमा कविता लेख्न मन पराँउछु।कविहरूले आफू बाँचेको समयप्रति असन्तोष, आक्रोश र असहमति पोख्छन् । तपाईंको बुझाइमा आफू बाँचेको समयप्रति कविमा यतिविघ्न असन्तुष्टि आउनुका पछाडिको कारण के होला ?
कविले बा“चेको जिन्दगी सामान्य मान्छेको भन्दा जटिल हुन्छ । भावुक, कोमल र सहृदयी हुन्छन् कविहरू । अरुका दुःख, आँसु, पीडाले सहजै छुन्छ । त्यसैले जिन्दगी र समाजमा देखेका, भोगेका हरेक दमन, पीडा, आँसु, खुसी, विभेद, अन्याय र अत्याचारको आवाज बोल्छन् कविहरू । सायद त्यसैले असन्तुष्ट, विद्रोही स्वभावका हुन्छन् कविहरू । असहमति पोख्नु स्वाभाविक कुरा हो जस्तो लाग्छ ।
आफ्ना सुरुका र पछिल्ला कवितामा के परिवर्तन भेट्नुहुन्छ ?
सुरुका कविता थिए वा थिएनन् ती मसँग मात्र सीमित रहे । जुनमा भाव पक्ष बलियो थियो । बिम्ब, प्रतीक वा शैली कमजोर थिए होलान् तर मलाई कविता लेखनमा ती कविता नै मेरा पाइला हुन् आज यहाँसम्म मलाई डो¥याउने । तर विद्रोह थियो । भाव गज्जब थियो भन्छु । अहिले अलिक कविता भन्न लायक भए होलान् । त्यो छुट्याउने जिम्मा पाठकको हो । म अझै पनि उत्कृष्ट कविता लेख्न सिक्दैछु । जिन्दगी सिकाइको पाठशाला हो । सास रहुन्जेल कविता लेख्न सिकिरहन्छु ।